नेप्से परिसूचक झण्डै दोहोरो अंकले बृद्धि, कारोबार रकमपनि बढ्यो
काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ८ समूह हरिया देखिए भने २ समूह राताम्मे भए । बैंक समूह ४.९८, विकास बैंक समूह १.८३, जलविद्युत समूह ०.६९, वित्त समूह १.२७, निर्जीवन बीमा समूह १५३.७, उत्पादनमूलक समूह ०.३१, लघुवित्त समूह ३६.५१ र जीवन बीमा समूह १६७.५ अंकले बढेका छन् । होटल समूह ५.५ र अन्य समूह २.५६ अंकले घटेका छन् । सम्मीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरे भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
कामना सेवाका ग्राहकलाई साहारा हस्पिटलमा विशेष छुट
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुखसुवास भट्टराई र साहारा हस्पिटल प्रालिको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।
सिटिजन्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै गणेशराज पोखरेल नियुक्त भएपछि नायव प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको थियो । नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत देवकोटाले स्थापनाकाल देखि नै बैंकसंग आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यस बैंकमा आबद्ध हुनु अघि उनले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।
पाँच ओटा बैंकहरुको निक्षेप घट्यो, धेरै निक्षेप घटाउनेमा ‘ठूला बैंकहरु’ नै अगाडि
काठमाडौं । सबैभन्दा धेरै निक्षेप उठाउने दुई वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको एनआईशी एशिया बैंकको निक्षेप फागुन महिनामा क्रमशः ३ अर्ब र सवा ६ अर्ब रुपैंयाले घटेको हो । माघ मसान्तमा १ खर्ब ८१ अर्ब रुपैंया रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेसँगै निक्षेप आकार १७८ अर्बमा झर्दा एनआईशी एशियाको निक्षेप १ अर्ब ७६ करोड रुपैंयाबाट करिब १ अर्ब ७० करोड रुपैंयामा झरेको हो । निक्षेपको गिरावटका बाबजुद पनि ती बैंकहरु निक्षेप संकलन गर्ने वाणिज्य बैंकहरुको सूचीमा पहिलो र दोस्रो नम्बरमै छन् । ती बैंकहरुबाहेक सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्य अन्य ३ वाणिज्य बैंकहरुले फागुन महिनामा निक्षेपको आकार घटेको छ ।े नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र मेगा बैंकको समेत उक्त अवधिमा निक्षेपको आकार घटेको छ । नेपाल राष्ट्र बैंकको फागुन मसान्तको वित्तीय अवस्थामा आधारित तथ्याङ्क अनुसार बाँकी २३ बैंकहरुमध्ये २२ बैंकहरुको निक्षेप बढेको भए पनि सानिमा बैंकको निक्षेपमा भने कुनैपनि वृद्धि नभएको देखाइएको छ । नेपाल एसबीआई बैंकको २ अर्ब ४३ करोड, एभरेष्ट बैंकको ७३ करोड र मेगा बैंकको ३५ करोड रुपैंयाले निक्षेप घट्न पुगेको हो । निक्षेप बढाउने बैंकहरुमा भने सिद्धार्थ बैंक सबैभन्दा अघि देखिएको छ । सिद्धार्थले एक महिनामा ३ अर्ब २२ करोडले निक्षेप बढाएको छ भने त्यसपछि हिमालयन बैंकले २ अर्ब ८२ करोड, एनएमबि बैंकले २ अर्ब ५८ करोड, लक्ष्मी बैंकले २ अर्ब ५४ करोड, प्राइमले २ अर्ब १८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ११ करोडले निक्षेप घटेको छ । त्यसैगरी कुमारी बैंकले १ अर्ब ५१ करोड तथा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३५ करोड निक्षेप बढाउँदा बाँकी १२ ओटा बैंकहरुको भने १ अर्ब रुपैंयाभन्दा कममात्र निक्षेप बढेको छ । फागुन महिनामा निक्षेप घटेका सबै बैंकहरुले माघ महिनामा भने निक्षेप बढाएका थिए भने माघमा निक्षेप घटाएका वाणिज्य बैंकहरुको ९ वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा सबै बैंकहरुले फागुन महिनामा निक्षेको आकारमा सुधार गरेका थिए ।
सरकार आर्थिक क्रान्तिका लागि जस्तो सुकै कदम चाल्न तयार छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि जस्तो सुकै कदम चाल्न सरकार तयार गरेको बताएका छन् । उनले भने-‘देशमा औद्योगिक वाताबरण बनाउन ऐन कानून संसोधन/परिमार्जन गर्न सरकार तयार छ ।’ नेपाल उद्योग परिसंघको १६ औँ साधारण सभालाई सोमबार राजधानीमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उद्योग क्षेत्रको प्रवद्र्धन र आर्थिक क्रान्तिलाई अघि बढाउने सवालमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ जस्ता निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए । देशले अभाव र समस्य झेल्दै आएका बताउँदै विगतमा जनता निराश भएपनि अब आशावादी बन्दै गएको उनको भनाई थियो । मुलुकको संविधान, कानून, नियम बदल्न सकिने बताउँदै उनले भने–मुलुकमा विकासको लहर सिर्जना गर्न निजी क्षेत्रपनि उत्साहित भएर अघि बढ्नु पर्छ । आगामी ४ वर्षमा आर्थिक क्रान्तिको माध्यमबाट मुलुकका नागरिकलाई निरपेक्ष गरीबी रेखाबाट माथि उकास्ने उनले बताए । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका संघसंस्थाहरुलाई एक हुन आह्वान गरे । भर्खरै सकिएको लगानी सम्मेलनबाट सरकार उत्साहित भएको बताउँदै अर्थमन्त्री खतिवडाले अब काम गर्ने बेला आएको बताए । कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले आर्थिक क्षेत्रलाई अगाडि बढाउन सबै क्षेत्र सकारात्मक हुँदा समेत सरकारले सोचेजति काम गर्न नसकेको बताए । परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा साधारण सभा उद्घाटन भएको हो । सो अवसरमा अध्यक्ष शर्माले अहिलेको सरकराले पनि काम गरेन भने देश पछाडि पर्ने बताए । उनले भने-देशलाई अघि बढाउका लागि उद्योगीहरुले अबिभावक खोजि रहेका थिए, अहिले देशमा स्थिर सरकार बनेको छ, यो सरकारले पनि काम गर्न सकेन भने देश पछि पर्छ । अध्यक्ष शर्माले मेरो बुवाको पालाको कानुन खारेज गरेर नयाँ कानुन बनाउन आवश्यक छ रहेको बताए । बिश्व बजारसग प्रतिस्पर्धा गर्न प्रविधि चाहिएको छ । सबै मिलेर काम गर्यौँ भने मुलुक बन्न धेरै समय लाग्दैन-उनले भने ।
सिन्धुलीको भीमानमा सेन्ट्रल फाइनान्सको नवौँ शाखा बिस्तार
काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको नवौँ शाखा सिन्धुली जिल्लाको भीमानमा उद्घाटन भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रजोजमान श्रेष्ठ, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटा र सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको पनि उपस्थिति रहेको थियो । कमलामाई क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसुलभ रुपले बैंकिङ सेवाहरु प्रदान गर्ने उद्देश्यले नवौँ शाखा खोलेको र संस्थाको शाखा सञ्जाल बिस्तार गर्ने योजना अनुरुप यो शाखा सञ्चालन भएको सिइओ श्रेष्ठले बताए । संस्थाले ८ प्रतिशतसम्म ब्याज रहेको विभिन्न प्रकारका बचत योजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्षको अवधिमा विभिन्न प्रकारका मुद्दती निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले २०७५ साल चैत ५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने एबीबीएस सुबिधा सहित काठमाडौँको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा कार्यालय सञ्चालनमा रहेको छ । संस्थाको चुक्तापूँजी ८२ करोड ३४ लाख, निक्षेप ३ अर्ब २० करोड र लगानी लगानी ३ अर्ब रहेको सिइओ श्रेष्ठले बताए । सेन्ट्रल फाईनान्स लिमिटेडले तत्कालिन कम्पनी ऐन २०२१ बमोजिम मिति २०५३ बैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५४ साल बैशाख २ मा वित्तीय कारोवार गर्ने राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त गरी विगत २२ बर्ष देखि वैकिङ्ग कारोवार संचालन गर्दै आएको छ ।
त्रिविको स्नातकोत्तरमा प्राइभेट परिक्षा दिनेलाई यो साल अन्तिम मौका
काठमाडौं। त्रिभुवन विश्वोविद्यालयमा स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषय पढ्ने विद्यार्थीले यो पटक पनि प्राइभेट परिक्षा दिन पाउने भएका छन्। बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ। अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। जोशिको अनुसार आउँदो सत्र देखी भने प्राइभेट परीक्षा फारम भर्ने पाईदैन। प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ। त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। सेमेस्टर प्रणाली अनुसार विद्यार्थी ८० प्रतिसत हाजिर हुनपर्छ।
बर्जर स्पेसेज आइडिया अवार्ड २०१८ को ग्राण्डफिनाले सम्पन्न
काठमाडाैं । बर्जर स्पेसेज इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड (आइडिया)–२०१८ को आयोजना स्पेस म्यागाजिनले प्रमुख पेन्ट उत्पादकको रुपमा चिरपरिचित बर्जर जेन्सन एण्डनिकल्सन (नेपाल)सँगको सहकार्यमा गरेको थियो । नेपालमा इन्टेरियर डिजाइनको उचाई बढाउन तथा इन्टेरियर डिजाइनसँग तल्लिन विद्यार्थीहरु र प्रोफेसनलहरुको सिर्जनात्मक कलालाई सम्मान प्रदानगर्ने उद्देश्यका साथ स्पेस म्यागाजिन र बर्जर पेन्ट्सले संयुक्त रुपमा बर्जर स्पेसेज इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड (आइडिया) को अवधारणा प्रस्तुत गरेका हुन् । यस अवार्डको स्थापनासँगैं इन्टेरियर डिजाइनको क्षेत्रमा धेरै प्रतिभाशाली विद्यार्थीहरु र पेशाकर्मीहरु देखा परेका छन् । आइडिया अवार्ड २०१८ का विजेताहरुलाई यही २०७५ साल चैत्र २२ गते शुक्रबार, होटल अन्नपूर्ण, दरवार मार्गमा आयोजित एक समारोहकाबीच पुरस्कृत गरिएको छ । उक्त समारोहको प्रमुख अतिथि इन्जिनियर शंकरनाथ रिमाल र विशेष अतिथिको रुपमा मिस नेपाल वल्र्ड २०१८ शृखला खतिवडा उपस्थित रहेको थियो । विद्यार्थी तहको प्रतिस्पर्धी समूहमा प्रथम पुरस्कार रिया स्थापितले प्राप्त गरेकी हुन् । भनें द्वितीय पुरस्कार स्नेहा श्रेष्ठ र तृतीय पुरस्कार सरिना शिल्पकारले प्राप्त गरेका थिए । बर्जर जेन्सन एण्डनिकल्सन (नेपाल) प्रा.लि. सन् २००० देखि नेपालमा सजावटी पेन्टहरुको उत्पादन र बजार प्रवद्र्धनमा सक्रिय रहँदै आएको छ ।