बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक
काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :
सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार
काठमाडौं । बिहिबार सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन १ सय रुपैयाँले बढेको हो । त्यस्तै बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बिहिबार ५९ हजार ९ सय रुपैयाँमा बिक्री भईरहेको छ । चाँदी भने बुधबारकै मूल्यमा कारोबार भईरहेको छ ।
नयाँ वर्षको शुरुआतसँगै काठमाडौँ महानगरका पाँच ठाउँमा स्मार्ट पार्किङ, शुल्क कति ?
काठमाडौँ । नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको शुरुआतसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ । काठमाडौँ शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलले बताए । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उनले भने । स्मार्ट पार्किङ सञ्चालनमा ल्याइने स्थानमा एक पटकमा करीब ८०० दुईपाङ्ग्रे सवारीसाधन र ४० चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिनेछ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ । पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् । सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान, समय र पार्किङ शुल्कजस्ता विवरण आवश्यकताअनुरुप हेर्न सकिनेछ । त्यसैगरी कामपाले सफा शहर निर्माणका लागि विगत दुई हप्तादेखि अत्याधुनिक ब्रुमरको माध्यमबाट सडक सफा गरिरहेको छ । पाँच रुट निर्धारण गरेर हरेक दिन बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म काठमाडौँका सडक सफा गर्दै आएको छ । यससँगै कामपाले स्मार्ट प्रतीक्षालय, हरियाली काडमाडौँ, सार्वजनिक शौचालय निर्माणजस्ता कामको शुरुआत गर्न बाँकी नै छ । रासस
कामना सेवाबाट शिखर इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
पुतली बगैँचामा १० अर्बको संसद भवन
काठमाडौं । सिंहदरबारको पुतली बगैँचामा १० अर्ब लागतमा संसद भवन निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न संसद भवनको नक्सा तयार पारिसकेको छ । ‘हामीले नक्सा तयार पारिसकेका छौं, केहि समयभित्रै टेण्डर निकाल्ने तयारी छ’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासन्युजसँग भने । अर्थमन्त्रालयले संसद भवन निर्माणका लागि १० अर्बको बजेट सुनिश्चितता गरिदिएको छ । ‘१० अर्बको बजेट सुनिश्चितता पाएका छौं, अब श्रोतको अभाव हुन्न हामी ३ बर्षभित्र आधुनिक संसद भवन तयार हुनेछ’, मन्त्री राईले भने । मन्त्रालयले साढे २ बर्षमा निर्माण सम्पन्न हुने गरि ठेक्का लगाउने तयारी गरिरहेको छ । साढे २ बर्षको निर्माण अवधी र ६ महिनाको अतिरिक्त(ग्रेस) समय उपलब्ध गराईने मन्त्री राईले बताए । बैशाखसम्म खरिद प्रक्रिया सम्पन्न गरेर जेठदेखि निर्माण आरम्भ गरिने तयारी भैरहेको छ । योजना अनुसार अघि बढेका २०७८ असार मसान्तमा नयाँ संसद भवन तयार हुनेछ । आफ्नै संसद भवनको अभावमा २०६४ सालदेखि भाडाको भवनमा संसद सञ्चालन हुँदै आएको छ । संसद भवन भाडाका लागि सरकारले बर्षेनी करोडौं रुपैंयाँ खर्चँदै आएको छ ।
महोत्तरीको बर्दिवासमा ग्लोबल आइएमई बैंकका शाखा सञ्चालन
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ । महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
डा. भिष्म भुषाललाई वैरो विभागको कमाण्ड, अवैध बाटोबाट विदेश जान रोक्ने प्रतिवद्धता
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म कुमार भुषाल नियुक्त भएका छन् । श्रम मन्त्रालयले डा. भुषाललाई विभागमा यथेष्ठ सुधारको म्याण्डेटसहित नेतृत्व सुम्पेको हो । पुननिर्माण प्राधिकरणको प्रवक्ता हुँदै बिरगञ्ज महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका भुषालले एक महिना श्रम मन्त्रालयमा खटिएपछि विभागको नेतृत्व पाएका हुन् । नेपालीहरुलाई अवैध बाटोबाट विदेश पठाउने गिरोह विरुद्ध कठोर कदम चाल्ने घोषणा गरेका छन् । विकासन्युजसँग कुरा गर्दै उनले भने ‘अवैध बाटोबाट विदेश पठाउने गिरोहको अड्डामा धावा बोल्नु पर्नेछ, त्यस बाहेक विदेशमा रहेका ४३ लाख नेपालीको हितको पक्षपोषण गर्नेछु’, भुषालले भने । यसो भन्छन् भुषाल विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ । वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुःख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुःखमा मलहम पट्टी लगाउन म र मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन् । यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन् तथापि हाम्रो सम्पूर्ण मन वचन र कर्म यहाँहरुको सेवामा लाग्नेछ । वैदेशिक रोजगार व्यवसायी मित्रहरु ! यहाँहरुको पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला । वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हाते मालौ गरौं ।
स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, सेवा प्रवाह अवरुद्ध
काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगेको छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ । विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरूले बताएका छन् । समायोजनपछि कर्मचारीहरू भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरूले समायोजनका क्रममा संघलाई नै रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका निमित्त सचिव सुरेश अधिकारीले स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा गम्भीर समस्या परिरहेको बताए । मन्त्रालयका अनुसार ५० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासनिक अधिकृत छैनन् । ती निकायमा निमित्तको भरमा प्रशासन चलाउनुपर्ने बाध्यता छ । मन्त्रालयका निमित्त सचिव अधिकारीले स्थानीय तहमा रिक्त कर्मचारी पूर्तिका लागि छिटोभन्दा छिटो लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया खुला गर्नुपर्ने बताए । स्थानीय तहमा रिक्त रहेका १६ हजार दरबन्दीमध्ये प्रशासनका नासु, खरिदार र जेटीएको संख्या अत्यधिक छ । कर्मचारी नहुँदा कैयौं नगरपालिका र गाउँपालिकामा वडा सचिव पदसमेत रिक्त हुन पुगेको छ । वडा सचिव फ्रन्ट लाइनमा रहेर सेवा दिने पद हो । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी रिक्त रहे पनि प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन नभएकाले उनीहरूले भर्ना प्रक्रिया सञ्चालन गर्न सकेका छैनन् । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संघीय लोकसेवा आयोगद्वारा नै पदपूर्ति गर्नुपर्ने कानुनी प्रावधान छ । संघीय मामिला मन्त्रालयले संघीय लोकसेवा आयोगद्वारा पदपूर्ति गराउने लक्ष्यका साथ सबै स्थानीय तहसँग रिक्त दरबन्दीको विवरणसहितको मागपत्र पठाउन पत्राचार गरिसकेको छ तर स्थानीय तहले पदपूर्तिको माग गर्दै मन्त्रालयमा पत्र नपठाएकाले पदपूर्ति प्रक्रिया सुचारु हुन सकेको छैन । ‘स्थानीय तहले आफ्नो निकायमा रिक्त रहेका पदहरूको विवरणसहित माग गरेर पठाएमा हामी संघीय लोकसेवालाई पदपूर्तिका लागि पत्र पठाउने तयारीमा छौं,’ मन्त्रालयका निमित्त सचिव अधिकारीले भने । स्थानीय तथा प्रदेश तहमा समायोजन भएका कर्मचारीहरूले समायोजनपत्र बुझे पनि उनीहरू सम्बन्धित तहमा पुग्न सकेका छैनन् । स्थानीय तह र प्रदेशमा समायोजनको पत्र लिएका कतिपयले भने सच्याउन माग गर्दै पुनः निवेदन दिएपछि झनै समस्या परेको मन्त्रालयले जनाएको छ । समायोजनपत्र बुझेकालाई मन्त्रालयले दबाब दिएर सम्बन्धित ठाउँमा पठाउन नसकेकाले उनीहरू नपुगेको मन्त्रालयकै अधिकारीहरूको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।