प्रभु बैंकले ल्यायो ७ प्रकारका सहुलियतपूर्ण कर्जा योजना, यस्ता छन् विशेषता
काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार विभिन्न ७ प्रकारका कर्जा योजना संचालनमा ल्याएको छ । बैंकले विभिन्न वर्ग तथा क्षेत्रलाई उच्च प्राथमिकता दिई व्याज अनुदान सहित सहुलियतपूर्ण कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले “श्रमशील कर्जा”, “उज्वल कर्जा”, “हातेमालो कर्जा”, “उजेली कर्जा”, “कर्मवीर कर्जा”, “ज्ञान कर्जा” र “साहसी कर्जा” गरी ७ वटा कर्जा सञ्चालनामा ल्याएको हो । यी सबै कर्जाको अवधि अधिकतम ५ वर्षे रहेको बैंकले जनाएको छ । (कुन कुन र के कस्तो विशेषता हेर्न यसमा क्लिक गर्नुहोस् ।) बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीको विकासको लागि “श्रमशील कर्जा” योजना ल्याएको हो जसको सीमा बढीमा ५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, शिक्षित युवा स्वरोजगारको लागि “उज्वल कर्जा” जसको सीमा बढीमा ७ लाख रुपैयाँ रहेको छ । विदेशबाट फर्केका युवाहरुको लागि “हातेमालो कर्जा” र दलित समुदाय व्यवसाय विकाशको लागि “कर्मवीर कर्जा” योजना ल्याएको छ । यी दुबै कर्जाको सीमा बढीमा १०/१० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । त्यसैगरी, महिला उद्ममशीलताको लागि “उजेली कर्जा” जसको सीमा १५ लाख रुपैयाँ रहेकाे छ । त्यस्तै, बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि “ज्ञान कर्जा” र भूकम्प पीडितहरुको निजी आवास निमार्णको लागि “साहसी कर्जा” योजना ल्याएको छ । यी दुई कर्जाको सीमा अवधि क्रमशः ५ लाख र ३ लाख रुपैयाँ रहेको बैंकले बताएको छ । बैंकले मुलुकको कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रर्वद्र्धन गरी उत्पादन र रोजगारी वृद्धि गर्न, शिक्षित वेरोजगार युवाहरुलाई देशभित्रै रोजगारका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न र भुकम्प पिडीतहरुलाई निजी आवास निर्माण गर्न सघाउ पुर्याउने नेपाल सरकारको लक्ष्यलाई मध्येनजर गर्दै यी कर्जा योजनाहरु संचालनमा ल्याएको बैंकले बताएकाे छ ।
नगरकोटमा कोर्पोरेट मेडिटेशन तथा स्ट्रेस्स म्यानेजमेन्ट कार्यक्रम
काठमाडौं । इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल योगा एकेडेमिक रिटिट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्स लगायतका संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो । कर्पोरेट मेडिटेशनः स्ट्रेस्स म्यानेजमेन्ट नाम दिइएको उक्त कार्यक्रममा योग गुरु डा. चिन्तामणि गौतमले तनाव मुक्त हुने उपाय सहितको योग प्रशिक्षण दिएका थिए । योग गुरु गौतमले दैनिक योगा गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योगा गर्दा दिनभर तनाबमुक्त हुन सकिने बताए । तनाब मुक्त कोर्पोरेट कल्चरको बिकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इम्प्रेसन इभेन्ट म्यानेजमेन्टका बिजिनेस डिरेक्टर पूजा श्रेष्ठले बताइन् । जीवन बीमा कम्पनीहरुमा काम गर्नेहरुका लागि स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङ अति नै उपयोगी हुने सानीमा लाईफ इन्स्योरेन्सका कर्पोरेट हेड गुणराज श्रेष्ठ बताए । त्यस्तै स्ट्रेस्स म्यानेजमेन्ट ट्रैनिङमा सहभागी भय पछी आफुलाई स्फुर्त बनाएको यामाहा मोटरसाइकलका म्यानेजर सन्देश कटुवाल बताए ।
सिप्रदीको आयोजनामा टाटा मोटर्सका प्राविधिकहरुको स्किलफेस्ट सम्पन्न
काठमाडौँ । टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यले काठमाण्डौमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्क स्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी, प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए । पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल याक एण्ड यतिमा भएको थियो । दुवै बर्गका पुरस्कार विजेता तीन-तीनजना प्रतियोगी भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सार्कस्तरीय प्रतियोगिता हुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरी तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए । त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो ।
मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, अब मलेसियाबाट पनि रेमिट सेवा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ । मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । ‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।
अन्ततः छिमेक लघुवित्तले पायो ४० प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको २१२औं बैठकले गरेको हो । संस्थाले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो । तर राष्ट्र बैंकले २०७५ पुस १९ गते पठाएको पत्र अनुसार संस्थालाई सो मात्राको लाभांश वितरण गर्न अस्विकृत गरेको थियो । त्यसपछि संस्थाले राष्ट्र बैंकको विशेष निरिक्षणबाट औंल्याईएका समस्याहरु सुधार गरी पुनः राष्ट्र बैंकमा प्रस्तावित लाभांश समेत वितरण गर्ने स्वीकृतीको माग गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले अन्तत २०७६ वैशाख १ गते संस्थालाई सो मात्राको लाभांश वितरण गर्न स्वीकृति दिएको हो । साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
टुटलजस्तै अब ट्याक्सी पनि एपबाटै, अतिरिक्त शुल्क नलाग्ने, वालेटबाटै भुक्तानी
काठमाडौं । टुटल र पठाओ जस्तै अब मोबाइल एप्सबाटै तपाईले ट्याक्सी बोलाउन सक्नुहुनेछ। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यो सेवा सुरु गर्न लागेको हो। समाजले मोबाइल एप्स इजीट्याक्सीनेपाल मार्फत बैशाख दोस्रो सातादेखि परिक्षणकोरुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने जनाएको छ। समाजले हाल सरकारी मूल्यदरमा नै सेवा दिने र ट्याक्सी भाडा समायोजन भएपछी हुने नयाँ मिटर भाडा दरमा सेवा संचालन गर्ने बताएको छ । यस सेवा हालको लागि काठमाडौं उपत्यकामा मात्र संचालन गरिने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले बताएको छ। कसरी प्रयोग गर्ने इजी ट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ। यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । इजीट्याक्सीनेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्नेछ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ तर हामीपनि यहि समाजका नागरिक हौं, त्यसैले हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेका हौं ।’ सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे । हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा आउनेछ । यात्रुले इजी ट्याक्सी नेपालको वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मकरुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले काठमाडौंको ट्याक्सीसेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स संचालन गरेको बताए । ‘पुरानो तरिकाले यात्रुलाई सेवा दिनेभन्दा पनि इजीट्याक्सीनेपाल एप्समार्फत पारदर्शिरुपमा सेवा दिँदा हाम्रोपनि सम्मान हुने र यात्रु पनि खुशी हुने विश्वास लिएका छौं,’ महासचिव मोक्तानले भने । इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु दर्ता हुनेछन भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्ने सक्नेछन्। त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको बीमा गरिएको छ । काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं. २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ । यसले ट्याक्सीसेवालाई बिकृतीमुक्त बनाउने, चालकहरुलाई जिम्मेबार बनाउने र ट्याक्सीसेवालाई भरपर्दो र विश्वसनिय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिबिधिहरु गर्दै आएको छ । समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सीसेवा आगामी दिनमा अन्य शहरहरुमा पनि बिस्तार गर्ने योजना लिएको छ ।
नेपाल बैंकले वैशाख २२ गते डाक्यो वार्षिक साधारणसभा, कहिलेदेखि बुक क्लोज ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी वैशाख २२ गते आफ्नो ५९औँ वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि बैंकको आगामी वैशाख ९ गते एक दिन बुक क्लोज हुने भएको छ । बैंकको साधारणसभा सो दिन नेपाल एपीएफ क्लब हलचोक काठमाडौंमा बिहान ११ बजे बस्दै छ ।
सबै नेपालीको बैंक खातामा मुक्तिनाथको अफर, खाता खोल्दा मोबाइलमा १ सयको रिचार्ज !
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौँ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ । २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नु हुने व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले एक सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल मोवाइल नम्बरमा एक सय बराबरको रिचार्ज गरिदिने जनाएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध रहेको बैंकले जनाएको छ ।