टेलिकमले नविकरण शुल्क २० अर्ब रुपैयाँ बुझाउनु पर्ने, नाफा र बाेनसमा ठूलाे धक्का
काठमाडौं । नेपाल टेलिकमले दोस्रो नविकरण बापत २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनु पर्ने भएको छ । टेलिकमले हरेक पाँच वर्षमा लाईसेन्स नविकरण गर्नु पर्ने र प्रत्येक वर्ष ४ अर्ब रुपैयाँ सरकारलाई बुझाउनु पर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले हरेक पाँच वर्षमा दुरसञ्चार सेवा नविकरण गर्दा २० अर्ब रुपैयाँ राजश्व बुझाउनु पर्ने व्यवस्था छ । त्यसलाई ५ किस्तामा विभाजन गरी प्रत्येक वर्ष ४ अर्ब रुपैयाँका दरले बुझाउन सकिने व्यवस्था गरेको उनले बताए । ‘टेलिकमले दोस्रो नविकरणबापतको रकम बुझाउन बाँकी छ । त्यो रकम ५ किस्तामा बुझाउन टेलिकमलाई निर्देशन दिने निर्णय भएको छ’ बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै बास्कोटाले भने । टेलिकमले गत बैशाखमा १८ करोड ९० लाख रुपैयाँ बुझाएर दोस्रो नविकरण गरेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘नविकरण शुल्क कति गर्ने भन्ने विषयमा केही अस्पष्टता थियाे । हामीले १८ करोड ९० लाख तिरेर नविकरण गराईसकेका थियौं । सरकारले २० अर्ब रुपैयाँ लिने भनेको भए बाँकी रकम बुझाउनुपर्ने हुन्छ’ विकासन्युजसँग उनले भने । नविकरण शुल्क मात्र वार्षिक ४ अर्ब रुपैयाँ बुझाउनु पर्ने भएपछि टेलिकमको नाफा र सेयरधनीले पाउने लाभांश दुबै घट्ने भएको छ । सरकारले लक्ष्यअनुसार राजश्व उठाउन नसकिरहेको बेलामा टेलिकमसँग ठूलो रकम असुल गर्ने निर्णय लिएको हो । ९५ प्रतिशत सेयर सरकारी भएकाेले राजश्वकाे नाममा वा बाेनसकाे नाममा जसरी लिए पनि सरकारलाई त फरक पर्दैन तर सर्बसाधारण सेयरधनीकाे लागि भने सरकारी निर्णयले ठूलाे नाेक्सान पुर्याउने छ ।
ग्लोबल आईएमई बैंकबाट राष्ट्रिय बीमा संस्थानको बीमा सेवा पाइने
काठमाडौँ । राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक र बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् । सम्झौतासंगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ । यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्वास राखिएको राष्ट्रिय बीमा संस्थानले जनाएको छ ।
हाम्रो अस्पतालमा जनता बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हाम्रो अस्पतालका सञ्चालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपीडी सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने बताइएको छ । छुट सुविधा अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले एटिएम कार्ड अथवा ग्राहक खुल्ने कागजात पेश गरी लिन सक्ने बैंकले जनाएको छ ।
मोटरसाईकलको मूल्य घट्ने तर टायरको मूल्य बढ्ने, महँगा गाडी आयात बढ्ने
काठमाडौं । अटोमोवाईल क्षेत्रमा बजेटको प्रभाव मिश्रित पर्ने भएको छ । १५० देखि १५५ सीसीसम्मका मोटरसाईलकको भन्सार दर घटेको छ । ठूला सवारीको टाइरमा भन्सार दर बढेको छ । परिणाम नयाँ मोटरसाईकल किन्नेले केही सस्तोमा पाउने छन् भने ट्रक, ट्याक्टर, हेभी इक्वीप्टमेन्टमा प्रयोग हुने टायरको मूल्य बढ्ने छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट राम्रो भएको नाडा अटोमोवाईल एसोशियसनका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘यसपाली राम्रा मान्छेले बजेट बनाएछन् । समस्या पनि बुझेको देखियो र समाधान पनि खोजेको देखियो’ दाहालले विकासन्युजसँग भने–अटोमोवाइल क्षेत्रका लागि पनि बजेट राम्रो छ । सबै पाटा छोएको छ ।’ नयाँ बजेटले १५५ सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि १५० सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लगाएकोमा थियो । बजेटले ठूला सवारीसाधनमा प्रयोग हुने टायरमा ५ प्रतिशत भन्सार वृद्धि गरेको छ । यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सारदरलाई बढाएर २० प्रतिशत पुर्याइएको छ । यसको असर ढुवानी व्यवसायी र निर्माण व्यवसायीले बढी मूल्य तिर्नुपर्छ । बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावाभरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु र यन्त्रहरुमा प्रयोग गरिने रबका टायरमा भन्सार दर ५ प्रतिशतले वृद्धि गरिएको उल्लेख गरिएको छ । बैदेशिक व्यापार घाटा डरलाग्दो रुपमा बढेको बेलामा नेपालमा महँगा गाडीहरुको आयात पनि बढेको छ । यस्तो बेलामा अर्थमन्त्रीले १५०० सीसीभन्दा माथिका हुलुका सावारीमा भन्सार तथा अन्तशुल्क वृद्धि गर्न सक्ने अनुमान गरिएको थियो । तर सरकारलाई राजश्व बढाउनु पर्ने चुनौतिले गर्दा यस्ता सवारी आयातलाई निरन्तरता दिने सरकारी नीति देखिएको छ । पछिल्लो समय नेपालको सडकमा ५० लाख भन्दा बढी मूल्य पर्ने महँगा गाडीको संख्या बढ्दै गएको छ । सरकारको नीतिमा रहेको स्थीरताले यस्तो गाडी आयात झनै बढ्ने देखिन्छ । नेपाली समाजमा महँगा गाडी चड्ने संस्कार मौलाएको छ । खासगरी व्यवसायी, राजनीतिकर्मी, उच्च तहका प्रशासक तथा व्यवस्थापकहरु १ करोडभन्दा बढी मूल्य पर्ने गाडीका सवार गर्ने संस्कार बढ्दै गएको छ ।
रङ्गशाला भत्काउनेलाई कारवाही
काठमाडौं । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रमममा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा व्यक्त गरे । त्यसैगरी , उक्त घटनाले एउटा ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोक्न नहुने सन्देश समेत दिएको मन्त्री लामाले बताएका छन् । गणतन्त्र दिवसको रुपमा तीन दिनसम्म चलेको उक्त कार्यक्रमको तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गर्नुका साथै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदरगर्नूपर्ने समेत बताए । रासस
मोदीको सपथ ग्रहणमा भाग लिन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी दिल्ली प्रस्थान
काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहिबार विहान दिल्ली प्रस्थान गरेका हुन् । भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह विहिबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य डेढ/डेढ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हिजो राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकोे मूल्य वृद्धि गरेको हो । निगमले तीन वटै पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटरमा एक रुपैयाँ ५० पैसाले बढाएको हो । सरकारले आगामी आर्थिक विधेयक २०७६ मा प्रेटोलियम पदार्थमा पूर्वाधार विकास कर भन्सार विन्दुमै लगाउने व्यवस्था गरेसँगै प्रटोलियम पदार्थको मूल्य बढेको हो । सरकारले यस अघि पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ थियो । नयाँ मूल्य अनुसार काठमाडौंकोथानकोट डिपोको १५ कि.मि. परिसरसम्म एक सय ११ रुपैयाँमा उपभोक्ताले प्रतिलिटर पेट्रोल पाउने छन् भने डिजेल र मट्टितेलका लागि ९८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।
गोर्खा इको प्यानलका प्रडक्टले बन्याे प्रधानमन्त्री कार्यालयकाे एक्सन रूम, यस्ता छन् भित्री सुविधा
काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गरी एक्सन रुम निर्माण सम्पन्न गरेको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् । स्वेदशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गरी प्रत्येक वर्ष वढ्दो व्यापार घाटालाई न्युनीकरणमा सहयोग पु¥याउन साँंकेतिक रुपमा स्वदेशी निर्माण समाग्रीको प्रयोग गरिएको बताइएको छ । गोर्खा इको प्यानलको प्रयोग गरी निर्माण गरिएको उक्त एक्सन रुमको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए । गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट उत्पादित एक मात्र कम्पनी हो, जसले आईएसओ मान्यता प्राप्त गरेको छ । स्थायी आरसीसी पिलर, विम र ढलान भएको संरचनामा गोर्खा इको प्यानलको प्रयोग गरी उक्त कन्फरेन्स हल बनाइएको हो । धानमन्त्रीको कार्यालय सिंहदरवार परिसरभित्र उक्त हल बनाइएको हो । गोर्खा इको प्यानल हेर्दा चिटिक्क पर्ने, ध्वनि प्रतिरोधात्मक क्षमता भएको, बलियो, हलुका, चाँंडो जडान गर्न मिल्ने, भकम्प प्रतिरोधी भएको कारणले प्रयोग गरिएको बताइएको छ । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी निर्माण संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसका उत्पादनहरु देशभरि विक्रीवितरण भइरहेका छन् । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाारालाई आत्मसाथ गरी बनाइएका यसका उत्पादनहरु उर्जा किफायती तथा वातावणमैत्री छन् ।