विकासन्युज

शिक्षक सेवा आयोगले खुलायो शिक्षक लाइसेन्स, शिक्षाशास्त्र नपढेकाहरुलाई समेत खुला

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि शिक्षक लाइसेन्स खुला गरेको छ । आयोगले प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका लागि स्थायी अनुमतिपत्र तथा माध्यामिक तहमा लागि अस्थायी अनुमतिपत्र समेतका लागि त्यस्तो लाइसेन्स खुला गरेको हो । स्थायी अनुमतिपत्रका लागि आयोगले प्राथमिक तह र निम्न माध्यामिक तहका लागि लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उर्तीण भई कम्तीमा १० महिना शिक्षा विषयमा तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । माध्यामिक तहको स्थायी अध्यपन अनुमतिपत्रका लागि पनि स्नातक तह उर्तीण भई १० महिनाको तालिमको ब्यवस्था गरिएको छ । अस्थायी अनुमतिपत्रका हकमा भने शैक्षिक योग्यता नै पर्याप्त हुनेछ । उक्त अनुमतिपत्र परीक्षाको पाठ्यक्रम आयोगको वेभसाइटमा रहेको समेत जनाइएको छ । उक्त परीक्षाको फर्म भर्ने अवधि असार २२ गतेसम्म तोकिएको छ, परीक्षाको तालिका भने पछि सार्वजनिक गरिने आयोगले जनाएको छ । फाराम अनलाइनमार्फत् भर्न सकिन्छ ।

१० बैंकलाई ब्रोकरको काम गर्न राष्ट्र बैंकको अनुमति

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० ओटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स लिएर शेयर ब्रोकरका लागि आवश्यक प्रक्रिया बढाउने अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईशी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक र सानिमा बैंकलाई ब्रोकर सेवाका लागि सहायक कम्पनी खोल्ने सम्बन्धमा राष्ट्र बैंकले स्वीकृति दिएको हो । सिभिल बैंकको स्वीकृति प्रक्रियामा रहेको र नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बै‌ंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र सनराइज बैंकले पनि सहायक कम्पनी स्थापनाका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई सहायक कम्पनीमार्फत् ब्रोकर कारोबार सञ्चालन गर्न पाउने व्यवस्थाअनुरुप सहायक कम्पनी खोल्न स्वीकृति दिइएको राष्ट्र बैंकले जनाएकाे छ ।

राजश्व अनुसन्धान विभागले सुन कारोबारीमाथि दर्ता गर्यो १ अर्ब ६६ करोडको मुद्दा

काठमाडौं । १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरु बिरुद्ध १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । विभागका अनुसार रौतहट जिल्लाको गौर नगरपालिकाका अनुकेश साह र विजयकुमार साहले उक्त परिमाणको सुन चोरीपैठारी गरी ल्याएको विभागको भनाई छ । विभागले अनुकेशको साथबाट ९९९ ग्राम, ८२० मिलिग्राम सुन बरामद गरेको जनाएको छ । विभागले कारोबार भएको र बरामद सुनको मूल्य ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँ कायम गरी ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको राजश्व चुहावट भएको ठहर गरेको छ । यस्तै, ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको विदेशी विनिमय अपचलनको आरोपमा कूल १ अर्ब ६६ करोड २० लाख ९५ हजार रुपैयाँ विगो दावी गरिएको जनाइएको छ । उनीहरुविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको गरिएको हो ।

सुविधानगरमा अपराध नियन्त्रणका लागि सिसी टिभी जडान

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने अपराध नियन्त्रणका लागि ७४ वटा सिसी टीभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सामुदायिक विकास समिति र एकीकृत उपभोक्ता सङ्घ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा उक्त सिसी टीभी जडान गरिएको हो । प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जडान गरिएको उक्त सिसी टिभीको आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन तथा प्रहरीलाई हस्तान्तरण गर्दै समाजसँगको सहकार्यमा प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताए । उनले अपराध र अपराधी समाजको वरिपरि रहने भएकाले प्रहरीले अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोग लिनु आवश्यक रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अङ्गीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे । सिसी टिभी क्यामेराले प्रहरीको काम कारवाहीमा थप चुस्त हुने उनको भनाइ थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन नसक्ने भन्दै सिसी टीभीले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । सिसी टिभीमार्फत २०७५ सालमा १६ हजारभन्दा बढी ट्राफिक नियम उल्लङ्घनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा ‘हिट एण्ड रन’मा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको उहाँले जानकारी दिए । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले कूल रु ३७ लाख ३५ हजारको लागतमा हाल ५७ वटा सिसी टिभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।

मङ्गलबारदेखि गर्मी कम हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि-मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो । सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए । नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मङ्लबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । आज काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भइरहेको छ । उपत्यकामा यो साता ३३ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । त्यस्तै मौसमविद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडी र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली विकास हुँदा मनसुनी गतिविधि अघि बढ्न नसकेको हो । अहिले नेपालमा कुनै प्रणाली विकसित हुन् नसक्दा अत्यधिक गर्मी महसुस भएको हो । “अझै मनसुन सक्रिय हुन चार÷पाँच दिन लाग्नेछ”, मौसमविद् श्रेष्ठले भन्नुभयो । मनसुन शुरु नहुँदा यसको प्रत्यक्ष असर खेती बालीमा पर्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ । रासस

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने निमित्त मालपोत प्रमुख सहित १६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार जुम्लाको गुठीचौरस्थित गुठीचौर भेडाबाख्रा फार्मको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालयका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र फार्मसँग मिलेर करीब ९३ हजार वर्गमिटर जग्गा व्यक्तिको नाममा बाँडफाँट गरेको आरोप लागेको छ । सशस्त्र द्वन्द्वको समयमा जलेर नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुनः उजागर गरी एकापसमा मिलेमतो गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठलाई प्रभावमा पारी आर्थिक अनियमितता गरेको पाइएको छ । आयोगले तत्कालीन मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख न्यौपानेविरुद्ध रु ४५ लाख, हाल मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालीन खरिदार विजया शर्मा न्यौपाने र भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठीचौरका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठविरुद्ध जनही रु ४५ लाख बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । यस्तै जग्गा दर्ता गरी लिने हरिहर न्यौपानेविरुद्ध रु दुई लाख २५ हजार, मुनिसचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने र कविदत्त न्यौपानेविरुद्ध जनही रु तीन लाख बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । यस्तै विष्णु न्यौपानेले रु चार लाख ९५ हजार, देवेन्द्रप्रसाद उपाध्यायले रु एक लाख ९९ हजार, जानकीदत्त न्यौपानेले रु ३० हजार, गोमा न्यौपानेले रु पाँच लाख २७ हजार तथा केशवराज न्यौपानेले रु दुई लाख २५ बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई व्यक्तिको नाममा दर्ता गरेको र त्यसमा प्रत्यक्ष रुपमा संलग्न भएकाहरुलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस

सौन्दर्य सम्बन्धी मेगा शो ‘हेयर एन्ड बियोन्ड’मा ‘रेट्रो रिमिक्स’ पुनःसार्वजनिक

काठमाडौं । सन् २०१९ मा समकालीन फेसनलाई पुनः सबल तुल्याउनका लागि रेट्रो-प्रेरित शैलीहरू पुनः फर्किएका छन् । कपालको हेरचाह, रंग र शैलीका लागि स्ट्रिक्स प्रोफेसनलका विशिष्ट उत्पादनका श्रृङ्खला रहेका छन्, जुन विशेष रुपमा विशेषतः सैलुन पेशाकर्मीहरू र प्राविधिकका लागि विशेष रूपमा तयार गरिएका छन्, उसले रेट्रो रिमिक्सको शुभारम्भ गरेको छ । पुरानो शैलीका नयाँ संग्रह वर्तमान फेसनप्रेमीहरूका लागि लक्षित गरेर नयाँ ढंगबाट पुनः जोडिएको हो । काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी आफ्नो मेगा शो ‘हेयर एन्ड बियोन्ड’को २०१९ को संस्करणमा यो संग्रह सार्वजनिक गरिएको हो । आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खलाजस्ता उत्पादन प्रयोग गरेर आजका फेशन प्रति जागरुक महिलाहरूका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरोे (ताम्र रंग)का मिश्रण तथा खैरो सेडको मिश्रण प्रयोग गरिएको छ । स्ट्रिक्सका नयाँ संकलन ल्याइएको घोषणा गर्दै हाइजिन रिचर्स इन्स्टिच्यूटको प्रोफेसनल विभागकी प्रमुख रोशेल छावडाले भनिन्, “स्ट्रिक्स प्रोफेसनल यो नयाँ भिन्टेज श्रृङ्खला प्रस्तुत गर्नमा गर्व महसुस गरिएको छ ।

इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडर नेपालमा, किन्नेलाई थाइल्याण्ड भ्रमण

काठमाडौं । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडरको आधिकारिक बिक्रेता द हबी अटो ट्रेडिङ प्रालिले व्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त उपकरण सार्वजनिक गरेको हो । टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रिय स्तरको यो व्याकहो लोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगी रहेको कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले बताए । व्याकहो लोडरमा इस्कर्ट ई ४.३६८ टि सी आई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान गरिएको छ । जसको तौल ८४०० केजी रहेको छ । करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेशिनको लोडर डम्पिङ हाइट ३ मीटर र पे लोड १९८० केजी रहेकोे छ । यो मेशिनले ४.८ मिटर गहिराइसम्म खन्न सक्छ । न्यून इन्धन खपत गर्ने यस मेशिन सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायत पूर्वाधार निर्माणमा एक्सट्रीम व्याकहो लोडरले महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ । विगत २२ वर्षदेखि ट्रयाक्टर लगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रेडिङ नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेता समेत रहेको छ । साथै कम्पनीले २ वर्षदेखि चिनियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । एक्सट्रीम व्याकहो लोडर खरिदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा, नेपाल अधिराज्य भर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालयहरूबाट प्रदान गर्नेे कम्पनीका प्रवन्ध निर्देशक मानन्धरले जानकारी दिए । साथै बिक्रीको सुरुवातसँगै कम्पनीले प्रत्येक एक्सट्रीम व्याकहो लोडर खरिदमा एकजनालाई थाइल्याण्ड भ्रमणको स्कीम समेत सार्वजनिक गरेको छ ।