सूर्या लाइफका सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउने, वार्षिक साधारण सभाबाट पारित
काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । बुधबार सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे
काठमाडौं । हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करिब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म करिब १६ किलोमिटर सडकमा कालोपत्रे सकिएको छ । यही असार २१ गतेभित्र उद्घाटन गर्ने तयारी भएको उक्त सडकका कन्ट्रयाक्टर म्यानेजर विनोद गौतमले जानकारी दिएका छन् । ठेकेदार कम्पनी दिवा निर्माण प्राइभेट लिमिटेड काठमाडौँले चैत मसान्तभित्र काम सक्ने गरी तयारी गरिए पनि सडक निर्माणका क्रममा विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न केही ढिलाइ भएको गौतमले बताए । पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा क्षेत्र स्वर्णपट्टिसम्म करिब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्र बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ । विसं २०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको करिब ९५ प्रतिशत भागमा कालोपत्रे सकिएको छ, गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भड निर्माण भइसक्यो अहिले एक हजार ४०० मिटर दाँयाबाँया पैदलमार्गसँगै नाला निर्माणको समेत अन्तिम चरणमा पुगेको छ ।” त्यसका साथै सडकमा सङ्केत चिह्न राख्ने कामसमेत भइरहेकाले ती सबै काम सकेर असार २१ गते विधिवत् उद्घाटन गरी हस्तान्तरण गरिने बताइएको छ । सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराजमा तीन वटा मुद्दा दायर गरिएको थियो । ती तीनवटै मुद्दामा अदालतबाट फैसला आइसकेकाले कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे गर्ने कार्यसँगै नाला निर्माण तीव्ररुपमा भइरहेको उनले बताए । मूल्य अभिवृद्धि कर(भ्याट) बाहेक रु ५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणाधीन सडकको काम यही असार २० गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । रासस
नेपाल महिला चेम्बरको सफल उद्यमी सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । नेपाल महिला चेम्बरले सफल उद्यमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मंगलवार जमल स्थित नाचघरमा आयोजनामा आएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उद्यशीलता विज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उद्यमी बन्न अपनाउनु पर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । प्रस्तुती एवम् सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयरधनीबीच समझदारी, परिकल्पनाकार उद्यमीप्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए । त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उद्यमी बन्न उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउँदै नेपाल महिला चेम्बर उद्यमशीलताको बिकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिब लिमा अधिकारी एवम् पदाधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उद्यमी लगायत अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकममा भने सुधार
काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो । परिसूचक ०.२२ प्रतिशतले घट्दा १२५८.२९ बिन्दुमा पुगेको छ । अघिल्लो दिन ३६ करोडको कारोबार भएकोमा आज बढेर आधा अर्ब नाघेको छ । बुधबार १६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर कारोबार हुँदा ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन ट्रेडिङ समूह, होटल समूह, अन्य समूह र म्युचुअल फण्ड बाहेकका अन्य समूह बढेका हुन् । ट्रेडिङ २.५३, होटल ०.६, अन्य ०.४६ र म्यूचुअल फण्ड ०.६२ अंकले बढेका हुन् । त्यसैगरी बैंकिङ समूह ३.२३, विकास बैंक समूह ०.९४, जलविद्युत समूह ५.७१, वित्त समूह ०.५६, निर्जीवन बीमा समूह ४.९, उत्पादनमूलक समूह ६.१२, लघुवित्त समूह ३.८६ र जीवन बीमा समूह ११.१८ अंकले घटेृका हुन् । आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १९ करोड, ४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोश्रोमा नेपाल बैंक लिमिटेडको ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैया र तेश्रोमा प्रभु बैंकको २ करोड ७१ लाख ५२ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका सेयरधनीहरुले सबैभन्दा बढी ९.९५ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका सेयरधनीहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले गुमाएका छन् ।
प्रदेश नं २ मा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवा तयारी कक्षा आरम्भ
काठमाडौं । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत बुधबारदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको बताए । प्रदेश सरकारले सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको तथा सरकारले महिलाहरूको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि सारेको बताएका छन् । “सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशत आरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ”, उनले भने । प्रदेश सरकारले कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा सो कक्षा सञ्चालन गरेको छ । रासस
नेपालका रोकाले प्राप्त गरे विद्यावारिधि
काठमाडौं । चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्स (युआइबिई) बाट नेपालका कल्याण रोकाले राजनीतिक अर्थशास्त्र विषयमा विद्यावारिधि प्राप्त गरेका छन् । सन् २००६ देखि २०१६ सम्मको समयावधिमा विश्वका १२० देशको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरेर ‘खुशी’ शीर्षकमा उनले विद्यावारिधिको सोध सम्पन्न गरेका हुन् । विश्वका साढे सात अर्ब मानिसको साझा विषय के हुन सक्दछ भनेर खोजी गर्ने सन्दर्भमा गरिब, धनी, बालक, वयस्क, वृद्ध, महिला, पुरुष तथा जुनसुकै देशको जुनसुकै धर्म सम्प्रदायको नागरिक भए पनि मानिसहरुको साझा खोजीको विषय ‘खुशी’ हो भन्ने उनको सोध कार्यको निष्कर्ष छ । आर्थिक वृद्धिदर, व्यक्तिगत आम्दानी, आर्थिक स्वतन्त्रता, मानव विकास सूचकाङ्क आदिलाई आधार बनाएर राष्ट्रिय खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने उनको सोधकार्यमा आर्थिक वृद्धिदरले मात्र नागरिकको जीवनमा खुशी ल्याउन नसकिने उल्लेख छ । रासस
३ सय विद्युतीय बस खरिद गर्न अघि बढ्यो सरकार, ‘बजेटको अभाव हुन्न’
काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरिद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए । बस खरिद गर्दा एक सरकारबाट अर्को सरकार (जी टू जी) प्रक्रियाबाट वा सोझै कुनैपनि कम्पनीलाई ठेक्कामार्फत दिने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार सरकारले सार्वजनिक खरिद ऐनअनुसार नै खरिद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरिद गर्ने भन्ने केही समयभित्र निर्णय हुनेछ । प्रवक्ता ज्ञवालीले भने, “अहिले मन्त्रालयले सम्बन्धित सबैसँग छलफल गरिरहेकाले एक-दुई हप्ताभित्रै टुङ्गो लगाइनेछ ।” बस खरिद गर्ने प्रक्रियासँगै बस सञ्चालनको तरिकाका बारेमा समेत छलफल भइरहेको उनले बताए । उनका अनुसार अरू कुनै निकायसँगको सहकार्यमा वा आफैँले पनि सञ्चालन गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ । साझा यातायातलाई नै जिम्मेवारी दिने भन्ने निर्णय पनि भइसकेको छैन । उनले भने, “साझा वा अरू कुनै संस्थालाई जिम्मेवारी दिन पनि सकिन्छ वा हामी आफैँ कुनै एउटा संयन्त्र खडा गरेर त्यसैलाई विद्युतीय बस सञ्चालनको जिम्मेवारी दिन सकिन्छ ।” विद्युतीय बस खरिदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । अपुग भए थप बजेट निकासा गर्न सकिने उनले बताए । उनले भने, “बजेटकै अभावमा विद्युतीय बस सञ्चालन नहुने भन्ने हुँदैन ।” मन्त्रिपरिषद्को गत पुसमा बसेको बैठकले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले खरीद गर्ने भने पनि कसरी र कुन निकायमार्फत खरीद र सञ्चालन गर्ने निर्णय नगरेकाले अहिले यी विषय निर्णयका क्रममा रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।त्यस्तै एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा भित्रिएका पाँच विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बसको सङ्ख्या बढाइँदै लगिने बताएका थिए । फाइल तश्वीर नेपाल सरकारसँगै विद्युतीय बस खरीद र सञ्चालनमा प्रदेश सरकारले समेत चासो देखाएका छन् । प्रदेश नं ३ सरकारले आगामी आवमा विद्युतीय बस खरीद गर्नका लागि रु ३० करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्थासँगको सहकार्यमा बस सञ्चालनका लागि छलफल अघि बढाएको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । काठमाडौँ उपत्यकाका स्थानीय तहले पनि साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस खरीदको निर्णय गरिरहेका छन् । उनले भने, “साझाले पनि आगामी दिनमा विद्युतीय बस खरिदलाई नै प्राथमकिता दिने योजना छ ।” अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै विद्युतीय बसलाई प्रोत्साहन गरिने बताएका थिए । काठमाडौँ उपत्यका र सातै वटा प्रदेशको प्रमुख शहर र आसपासका स्थानमा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याइने उनले बताएका थिए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै लैजान नेपाल विद्युत् प्राधिकरणबाट विभिन्न स्थानमा चार्जिङ स्टेशनको स्थापना गर्ने पनि आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ । यातायात क्षेत्रमा नविकरणीय ऊर्जाको प्रयोग गरेर शहरी क्षेत्रको वायु प्रदूषण कम गर्न सरकारले विद्युतीय सवारीसाधन प्रोत्साहनको नीति लिएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनले सरकारले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाइरहँदा नागरिक पनि विद्युतीय सवारीसाधनमा आकर्षित भइरहेका छन् । काठमाडौँ उपत्यकामा दुई र चारपाङ्ग्रे विद्युतीय सवारीसाधन खरीद गर्नेको सङ्ख्या बढिरहेको छ । सन् २०२० सम्म देशभर गुड्ने सवारीसाधनमध्ये २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने सरकारको लक्ष्य छ । रासस
आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइसीएफसी फाइनान्सका खाताबाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।