डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् । रासस
डेडो आँखाको समयमै उपचार नगरे आँखाको ज्योति गुम्ने: डा. सुजता भण्डारी
नेपाल आँखा अस्पतालमा बच्चाको आँखा जाँच्दै डा. सुजता भण्डारी काठमाडौं। आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। संवेदनशील भएको कारण यसमा सानो चोटपटक लाग्दापनि धेरै समस्या आउने गर्दछ, त्यसैले यसको राम्रोसँग हेरचाह गर्नुपर्छ । ठूलाहरुले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय समयमा आफ्नो आँखामा समस्या छ वा छैन भन्ने कुरामा अलमल हुन्छ, त्यसैले अभिभावकहरुले बच्चाको आँखामा आउने समस्याहरुमा ध्यान दिन जरुरी छ। बच्चाहरुमा विभिन्न कारणले आँखामा समस्या आउने गर्दछ । खेल्दा लडेर बच्चाहरुले आँखा गुमाउने, धुलो धुवाको कारण आँखाको एलर्जी हुने, लामो समय कम्प्युटर तथा मोबाइलको स्क्रिनमा हेरेको कारण आँखा कमजोर हुदै जाने डा. सुजता भण्डारी बताउँछिन्। यससंगै बच्चाहरुमा जन्मजात पनि आँखामा समस्या आउने गर्दछ । बच्चाहरुमा सबैभन्दा बढी देखिने आँखाको समस्या चस्मा लगाउनु पर्ने समस्या, डेडो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु र जन्मजात जलविन्दु रहेको भण्डारीले बताईन् । आँखामा आउने एलर्जी, आँखा पाक्ने समस्या बच्चाको आँखामा देखिने सामान्य समस्यामा पर्दछन् भने जटिल समस्यामा डेडो आँखा, मोती बिन्दु, जल बिन्दु, अल्छि आँखा र आँखाको क्यान्सर पर्दछन्। मोतिविन्दु बच्चाहरुमा जन्मजात देखिन्छ भने डेढो आँखा जन्मने बित्तिकै र जन्मिएको केही महिनामा देखिने गर्दछ । बच्चाले नदेखेको कारण आँखा डेडो हुने गर्दछन्, जसलाई अभिभावकले गलत बुझ्छन् । समयमा यसको उपचार नगरेको खण्डमा बच्चाले पछि गएर आफ्नो ज्योति नै गुमाउन सक्छन् । बच्चाहरुले चस्मा किन लगाउनु पर्छ ? – आँखाको आकार फरक-फरक भएको कारणले बच्चाहरुले चस्मा लगाउनु पर्ने हुन्छ । कसैको आँखाको नानी फ्ल्याट, स्टिफ हुन्छ, जसकारण उनिहरुको आँखाको फरक फरक पावर हुने गर्दछ । समयमै यसको समस्या पत्ता लगाएर चस्माको प्रयोग गर्ने हो भने आँखाको समस्या निर्मुल भएर जान्छ, तर नगरेको खण्डमा आँखा अल्छि हुँदै गएर समस्या निम्ताउँछ । बच्चालाई हामीले ८ बर्षको उमेर सम्ममा अल्छि आँखाबाट बचाउन सक्छौं । अल्छि आँखामा बच्चाले आँखाको आकार सबै ठीक हुँदाहुँदै पनि आँखा देख्न नसक्ने भएर जान्छ । जन्मजात आँखाको समस्या परिवारमा कसैलाई पहिलै आँखामा समस्या भएको धेरै जस्तो अवस्थामा जन्मजात आँखामा समस्या देखिने गर्दछ । यसका साथै आमाले गर्भवती अवस्थामा केही कारण औषधी खाएको अथवा मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ । त्यस्तै एउटा बच्चा मोतिविन्दु भएको जन्मियो भने अर्को बच्चामा पनि मोतिविन्दु देखिने गर्दछ । गर्भवती अवस्थामा महिलालाई कुनै संक्रमण, रुवेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ। स्क्रिनमा धेरै समय बिताउँदा मोबाईल तथा ल्यापटममा लामो समय बिताउँदा बच्चाहरुको आँखा सुख्खा हुन्छ। आँखा सुख्खा हुँदा अन्य समस्याहरु निम्तिनुको साथै चस्मा लाउनु पर्ने अवस्था पनि सिर्जना हुन्छ । आँखाको क्यान्सर आँखामा क्यान्सर बिशेष गरेर १-३ बर्षको बच्चामा देखिने गर्दछ र त्यो भन्दा पछी पनि देखिन सक्छ । यसको कारण भने अझैपनि खुल्न सकेको छैन । यो भएको समयमा आँखामा सेतो जस्तो देखिने, आँखा टल्किने, बिरालो जस्तो आँखा हुने, आँखा डेढो हुने र जटिल अवस्थामा आँखाको भाग नै बाहिर निस्कने गर्दछ। यसको उपचार यो कुन अवस्थामा छ भन्ने कुरा हेरेर हुन्छ। ( डा. सुजता भण्डारीसँगको कुराकानीमा आधारित, डा. भण्डारी हाल नेपाल आँखा अस्पतालमा पेडाट्रिसियन अन्कोलोजिस्टको रुपमा कार्यरत हुनुहुन्छ। )
सव-स्टेशन निर्माणका लागि १७९ कित्ता जग्गा अधिग्रहण, मुआब्जा प्रतिरोपनी ५ लाख ५० हजार
काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडले जाजरकोट जिल्ला स्थित नलगाड सव-स्टेशन निर्माणका लागि १७९ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । नलगाड नगरपालिका ७(साविक खगेनकोट–३) दानापिपलमा नलगाड सव स्टेशन निर्माणका लागि आवश्यक जग्गा, जग्गामा रहेको बाली, घर तथा अन्य संरचनाहरु समेत जे जस्तो अवस्थामा छ, सोही अवस्थामा स्थायी रुपले अधिग्रहण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जग्गा प्राप्ती ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम बिहीबार सूचना प्रकाशित गरी १५ दिन भित्र मुआब्जा बुझ्नका लागि निवेदन दिन आह्वान गरेको छ । प्रशासन कार्यालयले जग्गाहरुको मुआब्जाका लागि प्रति रोपनी २ थरीका मूल्य निर्धारण गरेको छ । प्रति रोपनी ४ लाख ७५ हजार र ५ लाख ५० हजार मूल्य निर्धारण गरिएको प्रशासन कार्यालयले जनाएको छ । संखुवासभामा ५७ कित्ता अधिग्रहण गरिंदै यता, संखुवासभा जिल्ला स्थित अपर अरुण हब सवस्टेशन निर्माणका लागि ५७ कित्ता जग्गा अधिग्रहण गरिने भएको छ । साविक पावाखोला–४ हाल मकालु गाउँ पालिका वडा नम्बर ४ हाइटारका ५७ कित्ता जग्गाको मुआब्जाका लागि १५ दिन भित्र निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
भारतको धौलीगङ्गा बाँध खोलियो, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए । बाँध आज बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ । यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताएका छन् । यसरी, बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो । रासस
घोडीघोडा लघुवित्तको आईपीओ २० गतेदेखि, पहिलो कारोबार नै ३०२ रुपैंयासम्म
काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने कम्पनीले जनाएको छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।
एसइईको नतिजा आज, दिउँसो बस्दैछ बोर्ड बैठक
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले हिजो नै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेपनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा यसरी यसरी हेर्न सकिन्छः
पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध, काठमाडौँ भित्रने र बाहिरिने सवारी साधन १० किलोमिटरसम्म जाम
धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग आज बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए । सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाले बताए । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन् । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ । रासस
ग्लोबल आइएमई र आईएफसीबीच ऋण सम्झौता आदान-प्रदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान भएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।