राष्ट्र बैंक छलफलमा जुट्यो, बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव
काठमाडौं । बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव दिने योजना सहित राष्ट्र बैंक छलफलमा जुटेको छ । आज बिहान ११ बजेदेखि गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागीय प्रमुख र २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुबीच छलफल भइरहेको छ । आज विभिन्न चरणमा हुने छलफलमा आगामी आवको मौद्रिक नीतिले लिने नीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा जान प्रेरिण गर्नेछ । छलफलमा राष्ट्र बैंककातर्फकाट बजेटले वित्तीय क्षेत्रमा गरेको व्यवस्थाका विषयमा औपचारिक जानकारी गराउने जनाइएको छ । सोही विषयमा छलफल गर्न आजै दिउँसो विकास बैंक र बेलुका फाइनान्स कम्पनीसँग बैठक बस्दैछ । मौद्रिक नीतिको तयारी गर्दै गर्दा राष्ट्र बैंकले सरोकारवालाहरूसँग सरकारले गरेको व्यवस्थाको विषयमा छलफल गर्ने तयारीका साथ बैठक बोलाएको हो । ‘बैठकको मुख्य एजेण्डा बजेटले व्यवस्था गरेका विषयमा छलफल गर्ने भनिएपनि बिग मर्जरले प्राथमिकता पाउने छ’-राष्ट्र बैंक श्रोतले भन्यो । ।
रुख कटानीकाे आरोपमा अध्यक्ष सहित तीन पक्राउ
काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी बयान लिने कार्य शुरु गरिएको हो । पक्राउ परेका तीन र अन्य केही व्यक्तिको संलग्नतामा सामुदायिक वनमा अवैधरूपमा रुख कटानी भएको खुल्न आएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत निरञ्जन कँडेलले बताएका छन् । “पक्राउ परेका रामकृष्ण चौधरीसँग बयान लिने कार्य पूरा भएको छ”, उनले भने, “अन्यसँग सामान्य सोधपुछ गरिएको छ, केही अन्य व्यक्तिसमेत काठ कटानीमा संलग्न भएको पाइएकाले खोजी कार्य शुरु गरेका छौँ ।” बयानका क्रममा जेठ २७ गतेदेखि सामुदायिक वनमा स्वीकृति नलिई अवैध रूपमा सालका रुख कटानी गर्दै आएको पक्राउ परेकाहरुले बताएको अधिकृत कँडेलले बर्ताउँछन् । पक्राउ परेकाहरुको संलग्नतामा काटिएका २६ गोलिया (२३६ दशमलव ३६ घनफिट) काठ बरामद गरी सवडिभिजन कार्यालयमा घाटगद्दी गरी राखिएको छ । अदालतबाट सात दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । स्थानीयवासी उपभोक्ताको सहयोगमा अवैधरूपमा काठ कटानीमा संलग्न तीनै जनालाई असार ९ गते पक्राउ गरिएको थियो । अवैधरूपमा काठ कटानीमा संलग्न अन्यका लागि पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने कार्य सकिएपछि सरकारी वकिलको राय लिएर अदालतमा पेश गरिने अनुसन्धान अधिकृत कँडेलले बताए । वन ऐनअनुसार अवैध रूपमा रुख कटानी गरी हानी नोक्सानी गर्नेलाई बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद हुने व्यवस्था रहेको छ । रासस
लाखौँ ठगी गर्ने लम्साल पक्राउ
काठमाडौं । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो । लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै रु ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन् । लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । रासस
नेपाली काङ्ग्रेसको जागरण अभियान, प्रतिनिधिसँगअन्तरक्रिया जारी
काठमाडौं । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहीबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो । बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए । छलफल तथा अन्तरक्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन् । अभियानका क्रममा काङ्ग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । छलफल तथा अन्तरक्रियामा उठेका विचारलाई असार २२ देखि शुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ । रासस
सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार कम्पनीको साधारण सभा असार २८ मा, सञ्चालक समिति चयन गरिने
काठमाडौँ । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको तेश्रो, चौथो, पाँचौ र छैठौँ वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा काठमाडौँ रामशाह पथमा रहेको योगम्बर पार्टी भेन्यूमा हुने जनाइएको छ । साधारण सभा प्रयोजनको लागि असार ८ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज(बुक क्लोज) हुने कम्पनीले जनाएको छ । साधारण सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गर्नेछ । निर्वाचन सम्बन्धी कार्यक्रम सभा शुरु हुनु भन्दा ५ दिन अघि अर्थात असार २३ गते प्रकाशित गर्ने जनाइएको छ । यो समाचार पनि पढ्नुहोस्: सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर
मेलम्ची खानेपानी आयोजना : तीन दिनभित्र रकम दाबी गर्न कार्यदलकाे आग्रह
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताएका छन् । रासस
असार भित्रै नागढुंगा-नौबिसे सुरुङ मार्गको निर्माण आरम्भ हुँदै
काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको काम असार महिनाभित्रै आरम्भ हुने भएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङ मार्ग निर्माणको काम असार भित्रै ठेकेदार परिचालन गर्ने तयारी भएको हो । ठेक्का आव्हान भएको झण्डै एक वर्षपछि मात्रै निर्माण आरम्भ गर्न लागिएको हो । ‘असार मसान्तभित्रै निर्माण आरम्भ गर्ने तयारी भैरहेको छ, केहि दिनभित्रै निर्माण व्यवसायी छनौट हुन्छ’, आयोजनाका इञ्जिनियर छविलाल पौडेलले भने । पाँच वटा चिनियाँ र एउटा जापानी कम्पनीले निर्माणका लागि आवेदन दिएका थिए । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि २०७५ साउन २४ गते ग्लोबल टेण्डर निकालेको थियो । तोकिएको ६० दिने अवधि अर्थात कात्तिक ८ गतेभित्र ६ वटा कम्पनीहरुले निर्माणको इच्छा जाहेर गरेर आवेदन दिए । निर्माण आरम्भ भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने योजना थियो तर अझै कसले जिम्मेवारी पाउने भन्ने नै एकिन भएको छैन । यस्तो हुनेछ सुरुङ मार्ग नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५ र ३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ । सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ । सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।
तनहुँमा सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गरिएको रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक विस्तारकार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको हो । गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र भौतिक संरचना हटाई बाटो फराकिलो बनाउने क्रममा निवेदकको सहमति र मञ्जुरीविना निर्माणकार्य अगाडि बढाउँदा नागरिकको सम्पत्तिको अधिकारमा प्रतिकूल असर पुग्ने भएकाले सडक विस्तारकार्य तत्कालका लागि रोक्न जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ ९१० बमोजिम अन्तरिम आदेश जारी भएको तनहँु जिल्ला अदालतले जनाएको छ । हाल निवेदकको सहमति र मञ्जुरीविना निवेदनमा उल्लिखित कित्ता जग्गा र सोमा भएका भौतिक संरचनामा असर पुग्ने गरी कुनै पनि निर्माणकार्य नगर्न÷नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र अधिवक्ता भानुभक्त सुवेदी तथा विपक्षीको तर्फबाट अधिवक्ता रामचन्द्र न्यौपानेले अदालतमा बहस गरेका थिए । सडक विस्तारकार्य तत्कालका लागि रोकी सोको सूचना विपक्षीलाई दिन र लिखित जवाफ पेश भएपछि प्रस्तुत निवेदन पूर्ण सुनुवाइका लागि पेश गर्न अदालतले आदेश गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सडक विस्तारको क्रममा कुनै व्यक्तिको सम्पत्तिमा हस्तक्षेप नगरेको बताएका छन्। रासस