सम्भावना वैकल्पिक उर्जाकोः घरेलु फोहरको व्यवस्थापनबाट होम बायोग्याँस
काठमाडौँ । फोहोर व्यवस्थापन संसारकै सबैभन्दा ठूलो समस्या बनेको छ । नेपालमा पनि स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ । यस्तो समस्या व्यहोरिरहेका बेला घरकै कुहिने फोहरको व्यवस्थापन गरी आफैँले जैविक ग्याँस उत्पादन गरी प्रयोग गर्न सकिने आधुनिक प्रविधिको ‘होम बायोग्याँस’ भित्रिएको छ । दुई दुरदर्शी युवा उद्यमी राम अग्रवाल र विपीन खेतानले खाना पकाउने इन्धन र अटोमोबाइलमा नवीकरणीय उर्जामा नयाँ सम्भावनाको खोजीका क्रममा यो प्रविधि नेपाल भित्र्याएका हुन् । क्लिन इनर्जी नेपाल मार्फत उनीहरूले खाना पकाउने गैर–नविकरणीय उर्जाको विकल्पको रुपमा उनीहरुले होम बायोग्याँसको प्रबद्र्धन गरिरहेका छन् । होम बायोग्याँस, बायोग्याँसकै एक उन्नत प्रविधि भएको क्लिन इनर्जी नेपालले जनाएको छ । यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्याँसको रुपमा परिचित बायोग्याँसमा भन्दा फरक छ । होम बायोग्याँसबाट निर्माण हुने उर्जाको उपयोग गर्न विद्युतमा जस्तो ग्रिड प्रणाली नचाहिने क्लिन इनर्जी नेपालले उल्लेख गरेको छ । लागतको हिसाबले यो गोबरग्याँस प्रविधिभन्दा निकै सस्तो छ, बढीमा ६० हजार रुपैयाँमा यो प्रविधि स्थापना गर्न सकिन्छ । सबैभन्दा मुख्य फरक के हो भने होमबायोग्याँसले गोबर ग्याँसले जस्तो ठाउँ ओगट्दैन । गोबरग्याँसको लागि ढलान ट्यांकी चाहिन्छ । होम बायोग्याँस भने घरभित्रै अटाउँछ । यसले बढीमा एउटा सोफाले लिने ठाउँ ओगट्छ । यो निर्माण गर्न मिस्त्री, इन्जिनियर कोही पनि चाहिँदैन । होम बायोग्याँसको सबै संरचना बनिबनाउ हुन्छ, जुन एउटा मध्यम आकारको प्याकेटमा अटाउँछ । प्रभावकारिताको हिसाबले पनि होमबायोग्याँस निकै अगाडि रहेको क्लिन इनर्जी नेपालले जनाउको छ । खासगरी भान्साबाट निस्कने फोहोरमैला, गाईवस्तुको मलबाटै यसबाट ऊर्जा उत्पन्न हुन्छ । थोरै फोहोरबाट पनि एउटा परिवारलाई पुग्ने ऊर्जा उत्पन्न हुने भएकाले गाईवस्तु नपालिने शहरी क्षेत्रमा पनि यो उपयोगी छ । भान्सामा उत्पन्न हुने सड्ने फोहोरबाटै ऊर्जा उत्पन्न गर्न सकिन्छ । ऊर्जासँगै उत्पन्न हुने प्रांगरिक मलले घरमै तरकारी उब्जाउन सकिन्छ भने बजारमा बिक्री गरेर आर्थिक लाभ पनि लिन सकिने जनाइएको छ । अहिले पनि पोखरा महानगरपालिका लगायतका केही स्थानीय सरकारले बायोग्याँसका लागि अनुदान दिने गरेका छन् । त्यो अभ्यास अरु स्थानीय सरकारले पनि गर्नु उपयुक्त हुनेछ । खाना पकाउने इन्धनको विकल्प धेरै भए पनि सहज, सुपथ र प्रभावकारी विकल्प भने कम छन् । अनविकरणीय उर्जाप्रतिको अत्याधिक निर्भरताले हामीलाई आर्थिक, वातावरणीय र स्वास्थ्य तीनै पक्षमा कमजोर बनाइरहेको छ । यो अघोषित संकटको अवस्था हो जसको विकल्प खोज्न गरिने थोरै पनि ढिलाई अकल्पनिय दुर्घटनाको निमन्त्रणा हुनेछ । २०७२ सालमा नेपालले उर्जाको गम्भिर संकट भोग्नुपरेको थियो । त्यतिबेला ग्याँस र मट्टितेलको लाम बस्नुपर्दा नेपाली जनताले त्यसको भरपर्दो विकल्प खोजेका थिए । घर–घरमा ग्याँस पाइप लाइन जोड्ने सपना देखेका थिए नेपालीले । होमबायोग्याँसले त्यो सपना पूरा गर्नसक्छ । अहिलेसम्म खेर गईरहेको र त्यसको व्यवस्थापनको लागि स्थानीय सरकारको चुनौती बनिरहेको फोहोर होमबायोग्याँसको माध्यमबाट उर्जा र अथोपार्जनको स्रोत बन्नसक्छ । बायोग्याँस प्रविधि नेपालमा सफलतापूर्वक अभ्यास भईरहेछ तर सरकारले यसमा दिनुपर्ने जति चासो दिएको छैन । जुन तदारुकता र उत्साह सरकारले देखाउनुपर्ने हो त्यो देखिँदैन । अहिले स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ । झण्डै शुन्य लागतमा फोहोरबाट उर्जा र प्रांगरिक मल दिने यो प्रविधिलाई जनस्तरमा लोकप्रिय बनाउन सरकारले तदारुकता देखाउन जरुरी छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले पनि होम बायोग्याँस जस्ता प्रविधिलाई प्राथमिकता दिनु आवश्यक भइसकेको छ । खाना पकाउने इन्धनको नवीरकणीय विकल्पको रुपमा होमबायोग्याँस ल्याएका यी दुई उद्यमीले उन्नत प्रकारको विद्युतीय कारका लागि पनि पहल गरिरहेका बुझिएको छ ।
छ महिनादेखि बन्द विद्युत् सेवा पुनः सञ्चालन
काठमाडौं । हिमाली जिल्ला डोल्पामा छ महिनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करिब छ महिनापछि पुनःसञ्चालन भएको हो । लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि सर्वसाधारण खुशी भएका छन् । विद्युत्को नहरमा गत फागुनमा करिब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो । नेपाल विद्युत प्राधिकरणको रु ५५ लाखको लागतमा भत्केको नहर मर्मत गरी विद्युत् सेवा पुनःसञ्चालन गरिएको इञ्जिनीयर बादल बुढामगरले जानकारी दिएका छन् । विद्युत् नहुँदा लामो समयसम्म अन्धकार खेप्न बाध्य सदरमुकाम दुनै, जुफाललगायतका गाउँबस्तीका सर्वसाधारणहरु बत्ती बलेसँगै खुशी भएका हुन् । भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । विद्युत् खपत बड्दै गएकाले विद्युत् भार कटौती जारी हुने वितरण केन्द्रको भनाइ छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवा पाएका छन् । रासस
भारतीयले गरे एक नेपाली युवकको जबर्जस्ती लिङ्ग परिवर्तन
सुरेन्द्र सिंह माल काठमाडौं। काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन । मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन् । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ । उनले भनिन्,‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’ सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाईन् । उनले घट्ना स्मरण गर्दैै भनिन्,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।’ एक/दुई दिन आफुलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाई छ । आफुलाई चार/पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाईन् । उनले थपिन्,‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’ आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाईन् । आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्माेन’ विकास भएको उनले स्पष्ट पारिन् । आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताईन्। आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफुलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ । अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जनाईन् । उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाईन् । उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आएपनि आफु पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि सुनाईन् । ‘मलाई नपुसक बनाईयो । मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन । परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो ।’–उनको भनाई छ । आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पु¥याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरिन् । आफुलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफु मिडियामा उनको भनाई छ । मालले भनिन्,‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ।’ ‘मलाई बाच्न शक्तिको आवश्यकत्ता छ । सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’–उनले विलौना गरिन् । ‘अब मेरो परिवार छैन । मैले सन्तान जन्माउन सक्दिन । न त केटानै बन्न सक्छु । पिसाव गर्दा पहिला राम्रैसंग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रो संग नहुने जस्ता समस्या देखिँदै आएका छन्’–उनले दुःखेसो पोखिन् । अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्थापनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पूनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ । ‘म पनि मानिस हुँ । मेरो पनि बाँच्ने रहर छ । तर, सरकारले कानून नै छैन भन्ने गरेको छ । अब यस्तो बिषयमा म के गरेर जीवन बिताउने ?’–उनले प्रश्न गरिन्। काठमाडौमा आफु न्याय माग्नको लागि आएको उनले सुनाईन । उनले थपिन्,‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनुपर्यो ।’ उनले काठमाडौंमा आफूलाई ‘न्यू संखुवासभा गेस्ट हाउस’ ले खाने र बस्ने व्यवस्था गरिदिएको जनाईन् । उनले भनिन्,‘अहिलेसम्म त यो गेष्टहाउले मलाई खाने बस्ने व्यवस्था गरिदिएको छ, अब आउने दिनमा के गर्ने र कता जाने ? भन्नेबारे मसँग कुनै आधार छैन् ।’ उक्त गेस्टहाउसका मालिक टंकलाई धन्यवाद दिँदै सरकारले पनि आफुमा कुनैै गुण लगाए बाँच्ने आशा पलाउने थियो भन्ने उनको भनाई थियो । गाँउमा आफ्न्तले छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें भन्दै मजाक उडाउने गरेको कारण आफुलाई गाउँ फर्कन मन नभएको उनले पीडा पोखिन् । करिव चार वर्षसम्म आफुले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन्। कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ । उनले भनिन्,‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो ।’ आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ । ‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु । म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन । अब मैले कसरी जीवन बिताउने ? मेरो आधार भन्ने केही छैन ?’–उनको भनाई छ । ‘सरकार म बाँच्न चाहान्छु । मलाई केहि गरेर खाने वातावरण बनाई दियोस ’उनको भनाई रहेको छ ।
गभर्नरले तोकेको मितिमा मौद्रिक नीति नआउने, यी हुन राष्ट्र बैंक भित्रका चार समस्या
काठमाडौं । गभर्नर डा. चिरञ्जीवि नेपालले तोकेको मितिमा मौद्रिक नीति नआउने भएको छ । गभर्नर नेपालले असार २७ गते मौद्रिक नीति जारी गर्ने बताएका थिए । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई भेला गराएर उनले मौद्रिक नीति सार्वजनिक गर्ने मितिको जानकारी गराएर त्यसअघि मर्जरको पार्टनर खेज्ने निर्देशन दिएका थिए । नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीतिको तयारीमा रहेको छ । तयारी पुरा नभएकोले २७ गते मौद्रिक नीति सार्वजनिक हुन नसक्ने परिस्थिति आएको राष्ट्र बैंकमा उच्च अधिकारीले बताए । ११ महिनाको तथ्याङ्क संकलन हुन नसकेको, मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई के कस्तो सुविधा दिने र त्यसको प्रभाव कस्तो पर्छ भन्नेमा यकिन गर्न राष्ट्र बैंकले थप अध्ययन गर्नु पर्ने भएको, व्यक्तिगत काम विशेषले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी विदामा बसेको लगायतका समस्याले मौद्रिक नीति गभर्नरले तोकेको मितिमा आउने सम्भावना टरेको स्रोतले बतायो । राष्ट्र बैंकभित्रको आन्तरिक समन्वयको कमी र बढ्दो असन्तुष्टिले पनि समस्या आएको बताईएको छ । सरकारले वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्न थालेपछि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति असारको अन्तिम साता सार्वजनिक गर्दै आएको छ ।
प्रदेश २ सरकारले आफ्नै बैंक स्थापना गर्ने, कार्यदल गठन
जनकपुरधाम । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित सङ्घीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा वीरेन्द्र मिश्र, नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्य-सचिव रहेका छन् । कार्यदललाई बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । कार्यदलका संयोजक डा हरिवंश झाले अवधारणा पत्रमाथि छलफल शुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप दिइने बताए । रासस
कृषि क्षेत्रमा २ अर्ब ९१ करोडका परियोजना, वर्सेनि बढ्दैछ वैदेशिक सहायता
काठमाडौं । कृषि क्षेत्रमा हाल २ अर्ब ९१ करोड ४२ लाख ९० हजार रुपैयाँको सहयोगमा ८ आयोजना सञ्चालन भईरहेको छ । किसान तथा खाद्य सुरक्षा आयोजना, साना तथा मझौता कृषक आयस्तर बृद्धि परियोजना, नेपाल कृषि सेवा विकास कार्यक्रम, नेपाल कृषि बजार विकास कार्यक्रम, जलवायु प्रकोप समाधान निर्माण आयोजना, समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्रको आर्यक्रम, रानीजमरा कुलेरिया सिँचाई आयोजना र एनएलएसआईपी जस्ता आयोजना सञ्चालन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विकास महाशाखाका सहसचिव तथा प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार ती आयोजना वैदेशिक अनुदान ५० प्रतिशत, वैदेशिक ऋण ३६ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा संचालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय कृषि क्षेत्रमा वैदेशिक लगानी क्रमशः बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । विगत ६ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा ५ अर्ब ३६ करोड ५१ लख ९७ हजार, २०७१/७२ मा ६ अर्ब ३५ करोड २१ लाख १४ हजार, २०७२/७३ मा ६ अर्ब ८५ करोड ९८ लाख ६४ हजार, २०७३/७४ मा ७ अर्ब २५ करोड ४८ लाख ८० हजार, २०७४/७५ मा ७ अर्ब ४५ करोड १२ लाख २७ हजार रुपैयाँका कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिएको छ । कूल जनसंख्याको करिब ६३ प्रतिशत जनता कृषि क्षेत्रमा आबद्ध रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २६.९८ प्रतिशत योगदान रहेको अनुमान रहेको छ भने गत वर्ष २७.५९ प्रतिशत रहेको थियो । मन्त्रालयका अनुसार नेपालमा ७ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ । प्रत्येक वर्ष ६ लाख मेट्रिक टन चामल आयात हुँदै आएको छ भने गतवर्ष कृषि क्षेत्रमा वृद्धिदर २.७ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा लगभग ५.१ प्रतिशतले वृद्धिदर रहेको प्रवक्ता सुवेदीले बताए । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका सरकारी वैदेशिक सहयोगले मुख्य भूमिका निर्वाह गरेको उनले बताए । उनले भने– ‘दुई दशकको कृषि क्षेत्रको सर्वेक्षणलाई हेर्ने हो भने औसत ३.२ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।’ सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा १२ अर्ब बजेट विनियोजन गरेको थियो । हाल नेपालमा कुल वस्तु आयात हुँदै आएकोमा १४.६ प्रतिशत कृषि उत्पादन हो भने सोही अवधिमा कूल वस्तु निर्यातको ३१.१ प्रतिशत कृषि वस्तु मात्र निर्यात भएको छ । चालु आवमा वैदेशिक सहयोगमा सञ्चालित ८ आयोजना र बजेटः
१३ औं ईक्यान एजुकेसन फेयरको तयारी पुरा, असार २६ गते देखी भृकुटीमण्डपमा हुँदै
काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले असार २६ गते गतेबाट काठमाडौंको भ्रिकुटीमण्डपमा आयोजना गर्ना लागेको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको हो। फेयर असार २६ देखी २९ गते सम्म संचालन हुँदैछ। मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुको पनि उपस्थिती हुने जनाएको छ। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ। नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उदेश्य रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए। यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमा बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा निशुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।
चेम्बर चिनियाँँ व्यवसायीबीच भेटवार्ता, नेपालमा लगानी गर्न प्रतिबद्ध छ चीन
पोखरा । पोखरा चेम्बर अफ कमर्श कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधिमण्डलसँग दुई देशबीच व्यावसायिक आदानप्रदान र नागरिकस्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले जानकारी गराएका छन् । सो चिनियाँ प्रतिनिधिमण्डलसँग पोखरा चेम्बर्सका पदाधिकारीले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधिमण्डलले आफूहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुनारले बताए । व्यावसायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता बैठकमा नेपाल–चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बाँस्तोलालगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो । रासस