विकासन्युज

प्रभु टीभीले सुरु गर्‍यो ओटीटी सेवा, टीभी अब मोबाइलमै

काठमाडौं । प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा शुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको प्रभु ग्रुपले इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा शुरु गरेको जनाएको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाइने छ । प्रभु ग्रुपले मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको जनाएको छ । मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिने छ । ग्राहकहरुले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न रअन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् । प्रभु टीभीले काठमाण्डौ उपत्यका, चितवन, कास्की, सुनसरी, झापा, रुपन्देही नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा यो सेवा शुरु गरिसकेको छ । छिट्टै जनकपुर र वीरगञ्जमा पनि सेवा शुरु गर्ने तयारी गरेको जनाएको छ ।

एनआईसी एशिया बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो । बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो । त्यसैगरी ब्राञ्च म्यानेजर केही, रिलेशनसीप म्यानेजर केही, सर्भिस म्याजेजर केही, क्रेडिट अफिसर केही, सेन्ट्रल सर्पोट अफिसर केही, इन्फरमेशन टेक्नोलोजी अफिसर केही, डिजिटल च्यानल सिनियर अफिसर केही, फाइनान्स अफिसर केही, जेनरल एडमिनिस्ट्रशन अफिसर केही, ट्रेजरी अफिसर केही, कम्प्लायन्स अफिसर केही र चार्टर्ड एकाउन्टेण्ट केही संख्यामा माग गरेको हो । बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुलेको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुलेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, शास्त्रीय मान्यताअनुसार भोजन निषेध

काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ । रासस

काठमाडौँ फन भ्यालीद्वारा लाखौँ कर छली, राजश्वले मार्यो छापा

भक्तपुर । सूर्यविनायक नगरपालिका-१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छली गर्दै ‘वाटर वल्र्ड ट्रेडर्स प्रालि’ को नाममा लाखौँ रुपैयाँको बिल काटेर कर छली गरेको बताइएको छ । दोहोरो बिल बनाएर व्यापक रुपमा कर छली गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । फन भ्यालीले सयौँ विद्यालयका हजारौँ विद्यार्थीलाई दर्ताबिनाको नक्कली बिल दिएर लाखौँ रुपैयाँ कर छली गरेको उजुरी परेपछि राजश्व कार्यालयले उक्त कम्पनीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले आज यसबारे जानकारी दिँदै कार्यालयमा उजुरी आएपछि काठमाडौँ फन भ्यालीका कागजपत्र नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको बताए । फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गरे । काठमाडौँ फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूर्यविनायक नपा–१०ले समेत कारवाहीका लागि पत्राचार गरेको थियो । वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूलाठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानवीय स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी पुनः सोही खोलमा फ्याक्ने गरेकाले पानीको स्रोतसमेत दूषित पारेको भन्दै कारबाहीको माग गरेका थिए । रासस

आफ्नै ठूलोबुवा र ससुराको चिर्पट प्रहार गरी हत्या

अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए । मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो । आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन् । अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । रासस

२.९२ अंकले बढ्यो नेप्से, परिसूचक बढ्यो, ४६ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद-बिक्री भए । कारोवार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । बैंक ३.८७, विकास बैंक ४.१८, जलविद्युत् २.२४, वित्त ४.९४, उत्पादन ३.०८, अन्य १.२६ र जीवन बीमा २४.१२ अङ्कले बढ्दा होटल ५.६४, निर्जीवन बीमा ३७.०५, लघुवित्त ०.४१ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटे । स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको छ करोड दुई लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोवार भयो । यस्तै लक्ष्मी बैंकको रु चार करोड १३ लाख ३५ हजार २७७, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६८ लाख ११ हजार ८५३, एनआइसी एशिया बैंकको रु एक करोड ८९ लाख ५८ हजार ४२९ र मेगा बैंक नेपालको शेयर रु एक करोड ७० लाख ८८ हजार ९३० मा खरीद बिक्री भए । परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.२८ प्रशितले गुमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३.९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३.८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २.९६ प्रतिशतले गुमाए । इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९.८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८.००, राधी विद्युत् कम्पनी ७.१४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले कमाए ।

नेपालको आफ्नै रेलः दशैंपछि मात्रै आउने, गुडाउने अझै टुङ्गो लागेन

काठमाडौं । दशैं अघि नेपालको आफ्नै रेल नआउने भएको छ । सरकारले भारतको कोँकण रेलवे कर्पाेरेशन लिमिटेडसँ २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेको भुक्तानी समेत पठाईसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोँकण रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाईसकेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए ।’कात्तिकको पहिलो हप्ता एउटा रेल नेपाल आईपुग्छ, कहिले गुडाउने भन्नेबारे अहिल्यै केहि भन्न सकिन्न’, चित्रकारले भने । सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको थियो । सरकारले जनकपुर–जयनगर खण्डमा भारत सरकारको पूर्ण सहयोगमा रेलवे निर्माण सम्पन्न गरिसकेको छ । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको छ । ३५ किलोमिटर लामो जनकपुर–जयनगर–कुर्थाको रेलमार्गमा रेल गुडाउने मिति भने अझै सुनिश्चित भैसकेको छैन् ।