विकासन्युज

सांग्रिलाका ग्राहकलाई नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गतेबाट लागु हुने गरी १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डाÞ. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

धान रोपाइँः गतवर्ष असार २३ सम्म ५३ प्रतिशत, यो वर्ष २३.७६ प्रतिशत मात्रै

काठमाडौं । असार महिना सकिन अब एक सातापनि बाँकी छैन । तर हालसम्म देशभर २३.७६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा २९.२४ प्रतिशत कम रोपाइँ भएको हो । गत वर्ष असार २३ गतेसम्मको तथ्याङ्ग हेर्ने हो भने ५३ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईका अनुसार असार महिनाको अन्त्यसम्म वर्षात नभएकाले रोपाईँ हुन नसकेको हो । यसले धानको उत्पादन घटाउने उनले बताए । तर, मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आर्थिक वर्षमा १.५ प्रतिशत उत्पादन बृद्धि हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा धानको उत्पादन र उत्पादकत्व क्रमश ८.९, ७.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कूल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसवर्ष कूल उत्पादनको सबैभन्दा बढी प्रदेश नम्बर २ मा २७.० प्रतिशत हुने अनुमान छ । त्यस्तै प्रदेश नम्बर ५ र १ मा क्रमश २२.० प्रतिशत र २१.० प्रतिशत उत्पादन हुने अनुमान रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत उत्पादन हुने अनुमान छ । असार २३ गतेसम्म कुन प्रदेशमा कति प्रतिशत रोपाइँ?

हुम्लाको दुर्गम गाउँमा प्रभु बैंकको शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखाको एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे । कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अघि बढ्यो रसुवागढीमा सुख्खा बन्दरगाह, ४० जना चिनियाँ प्राबिधिक आउँदै

काठमाडौं । रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दगाहको काम अघि बढेको छ । इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलका अनुसार निर्माण सामग्रीहरुको सूचि तयार भएर भन्सार छुट लगायतका प्रक्रिया अघि बढाउन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुर्याईएको छ । त्यस्तै, निर्माण कार्यमा संलग्न हुने ४० जना चिनियाँ प्राबिधिकहरुका लागि भिसा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढीसकेको छ । ‘समान ल्याउने सूची अर्थ मन्त्रालयमा पठाईसकेका छौं, चिनियाँ प्राविधिका लागि भिसाको प्रक्रिया पनि अघि बढिसकेको छ’, इन्टरमोडलका निर्देशक डंगोलले विकासन्युजसँग भने । निर्माणका उपयोग हुने उपकरणको आयात तातोपानी र रसुवागढी नाकाबाटै हुने पनि उनले बताए । सरकारले आगामी २ वर्षभित्रै टिमुरेको अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै टिमुरे बन्दरगाहले उच्च प्राथमिकता पाएको छ । चीन सरकारले शतप्रतिशत अनुदानमा निर्माण गरिदिने बन्दरगाहको लागत २ अर्ब रुपैंयाँ रहेको छ । सो बन्दरगाहको डिजाइन चीन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको हो । ड्राईपोर्टमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । ८ हेक्टर जमिनमा निर्माण हुने ड्राईपोर्टमा चिनियाँ लगानी र नेपाली निगरानी रहनेछ । अर्थात चीनले आफैं ड्राईपोर्टको निर्माण गरिदिनेछ भने नेपालले त्यसको गुणस्तर लगायतका प्राबिधिक पक्ष मात्रै हेर्नेछ । ड्राईपोर्टमा ५ हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, २०८० वर्ग्मिटरका २ वटा जाँचपास स्थल रहनेछ । ड्राईपोर्टले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी क्षेत्रफल ओगट्नेछ । स्थानीयको जमिन ५० करोड रुपैंयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो भने निकुञ्ज र अन्य सरकारी स्वामित्वका जमिन मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर उपलब्ध गराईएको थियो । टिमुरे ड्राईपोर्ट निर्माण भएपछि रसुवागढी नाकाबाट हुने नेपाली चीन व्यापारका लागि आगामी २० बर्षका लागि पुर्वाधारको समस्या नहुने गरि डिजाइन गरिएको दावी इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ ।

एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई जेभियर इन्टरनेशनलको शत प्रतिशत छात्रवृत्ति

काठमाडौ। एसएलसीमा ४ जिपिए ल्याएका विद्यार्थीलाई जेभियर ईन्टरनेसनल कलेजले छात्रवृत्ति दिएको छ। कालोपुलस्थित जेभियर ईन्टरनेसनल कलेजले एसएलसीमामा ४ जिपिए ल्याएर भर्ना भएका विद्यार्थीहरुलाई छात्रबृत्ति दिएको हो। कलेजले उत्कृष्ट, जेहेन्दार तथा आर्थिक स्थित कमजोर भएको विद्यार्थीहरुको लागि हरेक बर्ष छात्रबृत्तिको योजना ल्याउने गरेको छ। कलेजमा विदेशी व्यवस्थापकको प्रस्थानसँगै कलेज पछिल्लो समय अभिभावक र विद्यार्थीको छनोटमा परेको कलेजका प्रिन्सिपल गोपाल भण्डारीले बताए। कलेजमा ए लेभलका साथै, प्लस टु, बिएस्सी इन्भाइरोन्मेन्ट,बिएस्सी माइक्रोबायोलोजी,बिबिएम, बिबिएस,बिएसडब्लु, एमबिए जस्ता बिधामा अध्यापन हुने गरेको छ।

प्रभु लाईफ इन्स्योरेन्सले गर्यो ५३ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा ५३ लाख ८० हजार रुपैयाँ बराबरको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले उक्त गत आव र चालु आवमा ९ जना मृत बिमितको दाबी रकम भुक्तान गरेको हो । कम्पनीको हकवालाले पाउने भुक्तानी रकम भने ७१ लाख ५० हजार रुपैयाँ मध्ये ५३ लाख ८० हजार भुक्तान गरेको बीमा समितिको चैत्र मसान्तसम्मको तथ्याङ्कमा उल्लेख छ । मृत्यु भएका बिमितहरु काठमाडौ उपत्यका सहित पर्सा, अछाम, भक्तपूर, काठमाडौ, उदयपुर, प्यूठान, रुपन्देही र सुर्खेत जिल्लाका छन् । ती बिमितहरु मध्ये पुरुषको संख्या ४ जना र महिलाको संख्या ५ छ । मृत्युवरण गरेका बिमित मध्ये १ जना सुरक्षाकर्मी पेशामा अन्य सबैले व्यापार व्यवसाय संचालन गर्दै आएका थिए । यस्ता छन् प्रडक्टहरु : प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रडक्टहरु मार्फत बिमितलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श नामका बीमा प्रडक्ट बजारमा ल्याएको छ । सोही प्रडक्ट मार्फत मनि ब्याक प्लान, चाइल्ड इन्डोमेन्ट प्लान तथा टर्म प्लान लगायतका बीमा सेवा प्रदान गर्दै आएको छ ।

वर्षात् शुरु भएसँगै झाडावान्ताका बिरामी बढे

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात/आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताएका छन् । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ । सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनको भनाइ छ । तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ । २४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदुषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिए । दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । रासस

वार्षिकोत्सवको अवसरमा अजोडले वितरण गर्यो शैक्षिक सामाग्री

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिकोत्सवका अवसरमा असार २३ गते श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौँलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्णहरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्दप्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए ।