राजस्व नतिर्ने हेटौँडाका २५ व्यवसायी कालोसूचीमा, जग्गा रोक्का
हेटौंडा । आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर/राजस्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो । पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए । उक्त कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजश्व छली गरेको आरोपमा जरिवानासहित राजस्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको जनाइएको छ । प्राप्त विवरणअनुसार चालू आवको जेठ महिनासम्ममा उक्त कार्यालयबाट तीन हजार २०३ व्यवसायीले लेखा नम्बर, तीन हजार ६९९ ले स्थायी लेखा नम्बर, ४३७ ले मूल्य अभिवृद्धि कर(भ्याट) नम्बर, एक हजार ३५५ ले अन्तःशुल्क नम्बर लिएकोे बताइएको छ । कार्यालय प्रमुख ढकालका अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा तीन अर्ब ७१ करोड १३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको र सो रकम लक्ष्यभन्दा बढी छ । रासस
मदन पुरस्कारका लागि सात कृति छनोटमा, कुन कुन परे ?
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् । पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ । रासस
राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ । सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
अर्थ सचिव अमेरिका गएपछि मौद्रिक नीति आउन ढिलाई, अब कहिले ?
काठमाडौं । राष्ट्र बैंक संचालक समितिका सदस्य समेत रहेका अर्थ सचिव डा. राजन खनाल अमेरिका गएका कारण आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय केही पछि सर्ने भएको छ । सचिव खनाल मंगलबार राति अमेरिका गएका र उनी साउन २ गतेमात्रै नेपाल फर्कने कार्यक्रम रहेकोले यसअघि तय गरिएको असार २७ गते मौद्रिक नीति सार्वजनिकको मिति पछि सरेको हो । राष्ट्र बैंकले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग गरेको छलफल कार्यक्रममा असार २७ गते मौद्रिक नीति ल्याउने बताएको थियो । अर्थ सचिव बाहिर हुनुभएकोले साउन पहिलो सातामापनि मौद्रिक नीति आउन गाह्रो छ,’ राष्ट्र बैंक श्रोतले भन्यो-‘ सचिवज्यू आएपछि तीन/चार वटा त बैठक नै हुन्छ ।’ त्यसपछि मौद्रिक नीति आउने हो ।’
रोपाइँको रौनक फेरियाेः हलगोरुको ठाउँमा अब ट्याक्टर र मिनिटिलर
गलेश्वर । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झण्झटबाट पनि मुक्ति मिलेको कृषक बताउँछन् । “पहिला पहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नुपर्ने, दिनभरि गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगायतका धेरै झण्झट हुने गर्थे”, मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले भने, “अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसञ्चो हुन्छ । मिनिटिलर वा ट्र्याक्टर लगायो धने एकैछिनमा मेलो सकिन्छ ।” “गोरुले जोत्दा छ÷सात दिन लाग्ने मेलो (खेत) मा मिनिटिलर वा ट्र्याक्टरबाट एकै दिनमा सकिन्छ”, उनले भने, “लागत र झण्झट पनि कम हुनेहुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्धतितर्फ आकर्षण बढेको हो ।” “रोपाहार र बाउँसेको व्यवस्था हुने हो भने हलोले छ÷सात दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ”, बेनी नगरपालिका–२ का कृषक भीमबहादुर रिजाल भन्छन् । वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदूर र जनशक्तिको अभाव हुन थालेका बेला मिनिटिलर र ट्र्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकले बताउँछन् । अहिले म्याग्दीका सबै गाउँमा मिनिटिलरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झण्झट पनि हटेको कृषकको भनाइ छ । यसरी, प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षौंदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मङ्गला गाउँपालिकाले कृषिमा यान्त्रिकीरण र व्यवसायीकरण गर्दै बाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । “अब कृषि क्षेत्रमा पहिलाको जस्तो झण्झट छैन, प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी अग्र्यानिक खेतीमा जोड दिएका छौँ”, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका बताउँछन् । म्याग्दीका छवटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलरदेखि लिएर विभिन्न किसिमका कृषि उपकरण कृषकलाई निःशुल्क वा अनुदानमा वितरण गरेका छन् । म्याग्दीको तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९७८ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिएका छन् । म्याग्दीमा गौरी, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सी, ताकमारे, भट्टे पहेंलोलगायतका रैथाने र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण तीन, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गरेको छ । रासस
‘२-३ दिन वर्षा हुन्छ, सचेत हुनू’:मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भने । त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू-भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ ।
मौद्रिक नीतिमा राष्ट्र बैंककाे तयारी, ‘उत्पादनमूलक क्षेत्रको कर्जामा खुकुलो, अरुमा कडाई’
काठमाडौँ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा हायर पर्चेज (सवारी साधन), मार्जिन (सेयर धितो) र रियल स्टेल कर्जालाई कसेर उत्पादनमूलक क्षेत्रमा हुने कर्जा प्रवाहलाई खुकुलो बनाउने भएको छ । बैंकले अनुत्पादक क्षेत्रमा भएको लगानीबाट मुलुकले खासै प्रतिफल पाउन नसकेको भन्दै सो कर्जा प्रवाहलाई कस्न खोजेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आगामी आवको मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रको कर्जालाई कसेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बताए । उनले भने-‘अनुत्पादक क्षेत्रमा भएको लगानीले व्यापार घाटा वृद्धि गर्नुका साथै आन्तरिक उत्पादनमा समेत असर पार्छ ।’ सरकारले व्यापार घाटा न्यूनीकरण कार्ययोजना पनि पारित गरिसकेको छ । उनले भने-‘यसमा भएका विषयवस्तु र बजेटले सम्बोधन गरेका विषयवस्तुमा केन्द्रीकृत भएर मौद्रिक नीति आउने छ ।’ त्यस्तै, व्यक्तिगत घर निर्माणमा राष्ट्र बैंक लचिलो हुने, तर रियल स्टेटमा जाने कर्जा प्रवाहलाई भने लगाम लगाउने उनले बताए । हाल व्यक्तिगत आवास कर्जा उपत्यकाभित्र मूल्याङ्कनको ५० र उपत्यका बाहिर ६० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । व्यापार घाटा न्यूनीकरण कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने व्यवस्था गरिएको छ । सो योजना अनुसार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सवारी साधनमा ‘ट्रस्ट रिसिप्ट’(टिआर) ऋण नदिने व्यवस्था गर्दैछ । विद्युतीय सवारी साधनको आयातबाहेकका अन्य सवारी साधन र त्यसको पार्टपुर्जाको आयातमा टिआर कर्जा नदिने कार्ययोजनामा उल्लेख छ । यो यवस्था ६ महिनाभित्र लागू गर्ने भनिएकाेले मौद्रिक नीतिमा यसले प्राथमिकता पाउने भएको छ । सो व्यवस्था लागू भएमा उधारोमा गाडी ल्याउँदै बिक्री गर्दै गरेका व्यवसायीले नगद तिरेर मात्रै गाडी आयात गर्न पाउँछन् । विद्यामान व्यवस्था अनुसार गाडी बिक्रेताहरूले स्थानीय बैंकमा प्रतितपत्र (एलसी) खोलेर गाडी नेपाल आयात गर्न सक्छन् । गाडी ल्याउने देशको बैंकसँग नेपाली बैंकले सम्पर्क गर्छ र उताबाट गाडी हिँडेपछि त्यहाँको बैंकले नेपाली बैंकलाई गाडी हिँड्यो भन्दै कागजपत्र लेखेर पठाउँछ । माग अनुसारको होकी होइन भनेर चेकजाँच गरिसकेपछि रकम भुक्तानी गर्ने हो । सवारी साधन आयात गर्दा तिर्नुपर्ने जति रकम विक्रेताले स्थानीय बैंकसँग माग गर्छ । बैंकले बिक्रेतालाई ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्छ र स्थानीय बैंकले सवारी साधन आयात भएको देशको बैंकलाई सो रकम भुक्तानी दिन्छ। अब सवारी खरिदमा टिआर कर्जा नदिने भएपछि गाडी आयात गर्न बिक्रेतालाई गाह्रो हुनेछ । साथै, हाल ५० प्रतिशतसम्म अटोलोन लिन पाउने व्यवस्था छ । राष्ट्र बैंकले अघिल्ला वर्षको जस्तै नीति पनि लिन सक्ने जनाएको छ । अहिले निजी सवारी साधन खरिद गर्दा क्रेताले ५० प्रतिशत पहिलानै भुक्तान गर्नुपर्ने व्यवस्था छ । यसअघि ६५ प्रतिशतसम्म भुक्तान गर्नुपर्ने व्यवस्था थियो । त्योभन्दा अघि क्रेताले २० प्रतिशत तिरेर ८० प्रतिशतसम्म बैंकबाट कर्जा लिन पाउने व्यवस्था थियाे । मार्जिन लेण्डिङमा अहिले सेयरको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको छ । यसलाई कसेर ५० प्रतिशतमा झार्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोअन्तर्गत कृषि क्षेत्रको लागि १० प्रतिशत, ऊर्जा तथा पर्यटनमा गरी १५ प्रशितश कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । गभर्नरले तोकेको मितिमा मौद्रिक नीति नआउने, यी हुन राष्ट्र बैंक भित्रका चार समस्या
गुठीका चिनियाँ लामालाई हटाउन बौद्धबासीकाे विराेध प्रदर्शन
काठमाडौं । बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उालाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले राससलाई जानकारी दिए । “भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राखेका छन्, उनी को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उनलाई हामी सानैदेखि चिन्छौँ”, संयोजक लामाले भने । स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ । भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ । रासस