विकासन्युज

ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव, ‘हाम्रो सुरक्षित बचत खाता’ सञ्चालन

काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको र १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इनेबल नेपाल संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । हाम्रो सुरक्षित बचत खाता सञ्चालन वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरेका हुन् । गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुलाई पनि सोहि अवसरमा सम्मान गरियो । हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंकले जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको जनाएको छ ।

नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

काठमाडौं । नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना मन्त्री गोकूल वास्कोटाले उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिएका हुन् । खनाल यस अघि प्राधिकरणको कार्यवहाक अध्यक्ष थिए । प्राधिकरणमा दिगम्बर झाले राजिनामा दिएपछि अध्यक्षको पद खाली थियो ।

विदेशी मुद्रामा लिइने ऋण बढ्दा बैंकको लगानी याेग्य पुँजी वृद्धि हुने

काठमाडौं । बढी ब्याज तिरेर विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्थासँगै वित्तीय बजारमा हाल देखिएको लगानी योग्य पुँजी अभावजन्य समस्या समाधान गर्न सहज हुने आँकलन राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले लाइवोर दरमा ४ प्रतिशतसम्म ब्याज थप गरी विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ । यसले वित्तीय बजारमा पुँजी पर्याप्तता बढाउने छ । थोरै ब्याजमा मात्रै विदेशी ऋण ल्याउन पाउने व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्रले आफूले चाहेको जति ऋण ल्याउन पाइरहेका थिएनन् । लाइवोर दरमा थप चार प्रतिशतसम्म ब्याज तिरेर ऋण ल्याउन पाउने व्यवस्था भएसँगै वित्तीय बजारमा लगानी योग्य पुँजी बढाउन सहयोग पुग्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले बताए । विदेशी मुद्रामा ऋण लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफ्नो अनुकूलता अनुसार सो सीमामा रहेर ऋण ल्याउन पाउने भए,’ उनले भने- ‘यसले बजारलाई विस्तारित गर्छ र हाल देखिएको कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी रेसियो) समायोजन गर्न सहज हुनेछ ।’ यसले सीसीडी गणना गर्न सहज हुने उनले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूले विदेश परिवर्त्य मुद्रामा ऋण ल्याउँदा ६ महिनाको लाइवोर दरमा ४ प्रतिशत ब्याज थप गर्न पाउने व्यवस्थाले वित्तीय बजारमा फन्टको उपलब्धता बढाउन सहयोग पुग्ने छ । बिहीबार लण्डन लाइवोर मार्केटमा कर्जाको ब्याजदर २.२१ प्रतिशत रहेको छ । सो ब्याजमा ४ प्रतिशतसम्म ब्याज थपेर बैंक तथा वित्तीय संस्थाले ऋण ल्याउन पाउने छन् । यसअघि लाइवोर दरमा ३ प्रतिशतसम्म ब्याज थपेर ऋण ल्याउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

पाचौं व्यवस्थापन तथा आईटि शैक्षिक मेला साउन १२ गतेदेखी हुँदै

काठमाडौं। नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराको साथ पाचौं व्यवस्थापन तथा आई.टि सम्बन्धी शैक्षिक मेला हुने भएको छ। पाठशाला एजुकेसन फाउन्डेशनले यही आउने आईतबार साउन १२ र १३ गते काठमाडौंको बानेश्वोर स्थित हिरा ब्यान्क्वेटमा शैक्षिक मेला आयोजना गर्न लागेको हो। मेलामा व्यवस्थापन र आईटी सम्बन्धी ३३ वटा शैक्षिक संस्थाहरुको सहभागीता र ४४ वटा भन्दा बढी स्टलहरु रहनेछन्। २ देखी ४ हजार विद्यार्थीहरुले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले बताएको छ। आयोजकले नेपालमै व्यवस्थापना तथा आई.टि तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तरराष्ट्रिय डिग्री हाँसिल गर्न सकिन्छ भन्ने कुरामा ५ बर्ष देखी जोड दिंदै आएको छ। यस बर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश : पोखरा विश्वविद्यालय गरी ५ वटा नेपाली विश्वविद्यालयका कलेजहरु, २ वटा सि।े र १ अन्य अध्यापन गराउने संस्थाहरु र युके, मलेशिया, अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ९ वटा विश्वविद्यालयको सहभागीता रहने आयोजकले बताएको छ। पाठशाला एजुकेसन फाउण्डेशनद्वारा आयोजित मेलाको टाईटल स्पोन्सरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज रहेको छ भने किङ्स कलेज, नामी कलेज, टेक्सस कलेज र आईआइएमएस कलेजको सहकार्य रहेको छ।

आव २०७६/०७७ को मौद्रिक नीतिः ‘सम्बोधन भएन उद्योगी व्यवसायीको माग’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको आव २०७६/०७७ को मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीहरुले मिश्रित प्रतिक्रिया जनाएका छन । केही उद्योगी व्यवसायीले मौद्रिक नीति सन्तुलित रहेको प्रतिक्रिया दिए भने केहीले बैंकिङ क्षेत्रका लागि मात्रै आएको भन्दै आक्रोश पोखे । यसैक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्र बैंकले सार्वजानिक गरेको मौद्रिक नीति उद्योगीहरुले खोजेको अनुरुपको नआएको प्रतिक्रिया दिइन् । उनले भनिन्-‘ब्याजदर कसरी घट्छ र तरलताको सम्बोधन कसरी हुन्छ भन्ने उद्योगी व्यवसायीले अपेक्षा गरेका थिए, तर मौद्रिक नीतिमा ती कुराहरु नमेटिएनन् ।’ यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने–‘मौद्रिक नीति भएर बैैंकहरुका लागि मात्रै आएको जस्तो देखियो । राष्ट्र बैंक भनेकै बैंकहरुको नियामन निकाय भएरपनि होला ।’ उद्योगहरुका लागि पनि मौद्रिक नीतिले समेट्ला भनेर ठुलो आशा गरेको थिएँ, तर केही पनि समेटिएन–उनले भने । नेपालका युवा वर्ग जति सबै विदेश पलायन भैसके, सरकार र राष्ट्र बैंकको नीति पनि युवालाई आकर्षण गर्ने र व्यापार घाटालाई कम गर्ने नभएको उनको प्रतिक्रिया छ । यसैगरी, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सन्तुलित रहेको बताए । बैंकहरुलाई फोर्सफुली मर्जरमा लाने कुरा आएको थियो, तर राष्ट्र बैंकले त्यसो नगर्नु राम्रा भएको उनको भनाई छ । तर, मौद्रिक नीति महङ्गी नियन्त्रण र दिगो विकासको पक्षमा नदेखिएको उनले बताए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले उद्योग क्षेत्रमा भएका लगानीयोग्य पूँजीको अभाव र उच्च व्याजदरलाई मौद्रिक नीतिले समेटेको बताए । ‘तर, यो कसरी कार्यान्वयन हुन्छ हेर्न बाँकी छ’–उनले भने । २ प्रतिशत ब्याजमा १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा समेटिनु राम्रो भएको बताए । सो कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यो व्यवस्थाले पनि ब्याजदरमा कमि आउँछ कि भन्ने लागेको उनले बताए ।

सेञ्चुरी बैंकले नेपाल आखाँदान समाजलाई गर्यो सहयोग

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई सहयोग गरिएको बैंकले जनाएको छ । आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावश्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा, सबै परिसूचक राताम्मे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आव २०७६/०७७ को मौद्रिक नीति ल्याएको भोलिपल्ट बिहीबार सेयर बजारमा निराशा छाएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बुधबार ६.९० अंकले बढेको सेयर बजार आज भने १४.१५ अंकले घटेको छ । १.१० प्रतिशतले परिसूचक घट्दा १२६९.९२ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । हिजो ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो । आज नेप्से परिसूचकका सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह १२.५६, टेड्रिङ समूह २.६२, होटल समूह ३२.८४, विकास बैंक समूह १८.७६, जलविद्युत समूह २१.५४, वित्त समूह ३.८४, निर्जीवन बीमा समूह ८४.३५, उत्पादनमूलक समूह १५.४८, अन्य समूह ५.१४, लघुवित्त समूह १९.६८, जीवन बीमा समूह ५३.५४ र म्युचुअल फण्ड ०.११ अंकले घटेका छन् । ‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’ समग्र बजारमा निराशा छाएको दिन नेपाल ल्यूब आयल लिमिटेडका सेयरधनीले भने सबैभन्दा बढी ८.८१ अंकले नाफा कमाएका छन् भने यूनियन हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.५७ प्रतिशतले घाटा ब्यहोरेका छन् । मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा छाएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीहरु देखिएका छन् ।यसैक्रममा ब्रोकर एशोसियनशनका सदस्य नरेन्द्र सिजापतिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’

ओढारमा लुकाएकाे १६ किलो सुन प्रहरीद्वारा  बरामद

गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएका थिए । यसरी, लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् । असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए । खच्चडसहित झर्दै गर्दा गुरुङमाथि सँगै आएका चार जनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि हिजो पक्राउ परेका गुरुङ भागेका थिए । अपहरणमा परेको भनेर हल्ला गरिएको भए पनि गुरुङ भागेको हुनसक्ने प्रहरीको अनुमानमा उनलाई हिजो काठमाडौँमा पक्राउ गरिएको थियो । गुरुङले प्रहरीसमक्ष आफुले नै सुन ल्याएको बताएका छन् । रासस