विकासन्युज

पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै ६ अंकले बढ्यो नेप्से

काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे । १२ लाख ६१ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ३६ हजार १ सय ८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेको १ सूचक रातो रहँदा अन्य सबै हरियो रहेका छन् । विकास बैक समूह ०.८४ अंकले घटेको हो । बैंक समूह २.०३, ट्रेडिङ् समूह ३.२२, होटल समूह ५.७३, जलविद्युत समूह ०.१७ वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५३.९६, उत्पादनमूलक समूह १३.३२, अन्य २.२८, माईक्रोफाईनान्स ५२.४५, जीवन बीमा समूह ४६.५ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले बढेका छन् । आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

वैदेशिक रोजगार कसुरमा फरार पूजा नेपाली पक्राउ, केन्द्रीय कारागार लगियो

काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पूजा नेपाली पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलबार सितापाइलाबाट उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले २०६९ असार ३ गते वैदेशिक रोजगारमा मानिस पठाउने इजाजत पत्र बिना नै शान्तकुमार तामाङसँग साइप्रस पठाई दिन भन्दै २०६६ असार २१ गते १० लाख ५० हजार ठगी गरेको ठहर गर्दै नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनको लागि नेपालीलाई बुधबार जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा पठाएको जनाइएको छ ।

वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो

काठमााडौं । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको साउन सात गतेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो । वल्र्ड मर्चेन्टलाई २०७० वैशाख १३ मा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो । राष्ट्र बैंकले २०७० वैशाख ५ गते नेपाल राष्ट्र बैंक ऐन २०५८ को लफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी समस्या ग्रस्त घोषणा गरिएको हो ।

सिद्धार्थ बैंकको १६०औँ शाखा धापासीमा

काठमाडौं ।  सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालै सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत्  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौं । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनेछन् । ती होटल/रेष्टुराँसँगको सहकार्यमा कामपाले चालू आवभित्रै यो योजना शुरु गर्न लागेको हो । आगामी दिनमा अरु होटलमा समेत विस्तार गर्दै जाने कामपाको योजना छ । महानगरभित्रका ५० वटा होटलसँग सम्झौता भइसकेको कामपाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार यी होटलमा महानगरवासीले कुनै पनि खानेकुरा नखाँदा पनि पैसा तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय प्रयोग गरेबापत तिनुपर्ने शुल्कलगायतका विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए । उनले भने, “सबै कुराको टुङ्गो लागेपछि नै ती शौचालय सञ्चालनमा आउने छन् ।” आयोगले केही समय पहिले प्रतिष्पर्धाबाट नै महानगरका लागि नयाँ योजनाको छनोट गर्दा शौचालयमा होटल÷रेष्टुराँसँग सहकार्य गर्ने अवधारणा प्रथम भएको थियो । उक्त अवधारणानुसार नै होटल÷रेष्टुराँसँग कुराकानी गरिएको उनले बताए । देशको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो छ । महानगरभित्र शौचालयको सङ्ख्या बढाउनुपर्ने र भएका सफासुग्घर गरेर सञ्चालन गर्नुपर्ने महानगरवासीले माग गरेपछि कामपाले यस्तो योजना बनाएको उपाध्यक्ष बस्नेतले बताएका छन् । कामपाले विभिन्न स्थानमा शौचालय निर्माण गर्ने र भएकाको स्तरोन्नतिको समेत योजना बनाएको बताउँदै भने, “बढी आवश्यकता भएका ठाउँमा शौचालय निर्माणका लागि पनि डिजाइन गरिसकेका छौँ ।” महानगरमा अहिले सञ्चालनमा रहेका ५७ वटा सार्वजनिक शौचालयमध्ये अधिकांशको अवस्था राम्रो नभएको बस्नेतले बताए । महानगरले गरेको अनुगमनका आधारमा ती शौचालयलाई स्तरोन्नतिको योजना बनाइएको छ । सार्वजनिक शौचालय बनाइएका ठाउँसँगै विभिन्न पसल सञ्चालनमा छन् । उनले भने, “जसले निर्माण ग¥यो र पैसा उठाइरहेको छ उसले पनि शौचालयको व्यवस्थापनका चासो देखाएको पाइएन ।” काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयका विषयमा अनुसन्धानकर्ता प्रकाश अमात्यले अनुसन्धान गरेका थिए । काठमाडौँ उपत्यकाका सबै सार्वजनिक शौचालयको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका अमात्यले एक महिना पहिले मात्रै अध्ययन पूरा गरेका थिए । अध्ययनका क्रममा शौचालयको सङ्ख्या कम रहेको र भएका पनि अवस्था खराब रहेको पाइएको बताए । सार्वजनिक शौचालयको जिम्मेवारी स्थानीय तहको भए पनि तीनले व्यवस्थापनमा वास्ता नगरेको र शौचालयमा पैसा उठाउँदै आएकाले पनि व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ । सार्वजनिक शौचालय कामपाको कुन शाखाले हेर्ने भन्ने टुङ्गो नहुँदा पनि सधैँ दूरावस्था भइरहेको उनले बताए । उनले भने, “सार्वजनिक शौचालय राम्रो र सफा गरेर सञ्चालन गर्नेलाई पुरस्कार र फोहर गर्नेलाई दण्डको पनि व्यवस्था हुनुपर्छ ।” कामपाले यस वर्षको बजेटमा शौचालय निर्माणका लागि रु एक करोड ५० लाख छुट्टाएको थियो । यो रकमबाट ४० शौचालय निर्माण गर्ने कामपाको योजना छ । शौचालय निर्माणमा कतिपय व्यावसायिक प्रतिष्ठान, सरकारी र गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । ती संस्थालाई पनि समेटेर जाने कामपाको योजना छ । निजी–सार्वजनिक साझेदारीमा निर्माण हुँदा त्यसबाट बचेको रकम अर्को कुनै परियोजनामा खर्च गर्न सकिने कामपाले जनाएको छ । आयोगले गत छ महिनामा इञ्जिनीयरिङ अध्ययनरत ३२ विद्यार्थी सहभागी गराएर ४० आयोजनाको डिजाइन गरेकामा सार्वजनिक शौचालय पनि एक हो । रासस

लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौँ । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।” यसरी, प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न पनि आग्रह गरे । “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन शुरु गर्यौँ भने साउनको शुरुबाटै काम गर्न सकिन्छ भन्ने सोचले हो”, उनले भने, “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्यो भने फेरि ठेक्का लाग्दा नलाग्दै पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।” प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना कार्यान्वयन सम्झौता भएकाले अब कामले तीव्रता पाउने विश्वास व्यक्त गरेका छन् । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरुबीच पनि सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढङ्गले अघि बढेको बताउँदै भने “भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ । कारवाही दृढताका साथ अघि बढाइएको छ ।” कतिपय बेला संसद्मा प्रतिपक्षीहरुले अनावश्यक रूपमा व्यवधान खडा गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छ ।” जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उत्तरदायी भएर काम गर्ने उनको भनाइ थियो । आजको बैठकमा राजधानीमा उपलब्ध सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग प्रतिबद्दता व्यक्त गर्दै कार्ययोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरे भने यस्तै सम्झौता सचिवहरुले पनि मन्त्रीहरुसँग गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । सम्झौताको परिपाटी नेपालको इतिहासमै पहिलोपटक शुरु गरिएको बताउँदै उनले यसबाट विकास निर्माणका कामको गति बढ्ने विश्वास लिइएको पनि बताएका छन् । रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालीन पर्यटन मन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओलीले नै सम्हाल्दै आएका थिए । नव नियुक्त पर्यटन मन्त्रीले अहिले ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण कार्यक्रमको तयारी गरिएको छ । नव नियुक्त पर्यटन मन्त्री तत्कालीन नेकपा(एमाले)का सचिव हुन् । उनी स्पष्टवक्ता र युवाहरु माझ लोकप्रिय छन् । प्रतिनिधि सभामा ताप्लेजुङ जिल्लाबाट उनी निर्वाचित सांसद हुन् ।

युएस बंगला विमान दुर्घटनाका पीडितले मागे २ अर्ब क्षतिपूर्ति, जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सात जना विद्यार्थीका परिवारले कम्पनी विरुद्ध २ अर्ब १० करोड रुपैंया (१ कराेड ९० लाख ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका छन् । उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेका हुन् । दुर्घटना भएको १६ महिना अवधि व्यतीत भइसकेता पनि कम्पनीको तर्फबाट अन्तराष्ट्रिय कानून बमोजिम मागदावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरुकाे तर्फबाट न्यायलयमा मुद्दा दायर गरेकाे पीडितहरुको प्रमुख कानूनी सल्लाहाकार अधिवक्ता अमृत खरेलले जानकारी दिए । वायुयान धनी/सञ्चालकको दायित्व सम्बन्धी अन्तर्राष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको तीन वटा अन्तराष्ट्रिय महासन्धि एवं दुष्कृति कानूनबमोजिम रङफूल डेथ बापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ठ दिलाउने भराउने सम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता खरेलले जानकारी दिए । दुर्घटनाको सम्बन्धमा जाँचबुझ गर्नका लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोग, २०१८ ले आइकाउ अनुसूची १३ को सिद्धान्तहरु समेतको आधारमा दुर्घटनाको कारणबारे अनुसन्धान गरी तयार पारेको अन्तिम प्रतिवेदन अनुसार पीडित यात्रुहरुको ज्यान जाने गरी भएको उक्त युएस–बंगला बीएस–२११ विमान दुर्घटना प्रतिवादी वायुयान धनी/ सञ्चालक  युएस–बंगला एयरलाइन्स लिमिटेड र सो कम्पनीबाट उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधि/सेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरवाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दावी गरेका छन् । ग्लोबल रिस्क कन्सल्टेन्ट्सले गरेको एक्चुरियल मूल्यांकन प्रतिवेदन समेतको आधारमा बिआरएस नेउपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको क्षतिपूर्तिको प्रक्षेपित प्रतिवेदनमा उक्त दुर्घटनाबाट मृतकको परिवारलाई भएको क्षतिबापत निम्न बमोजिम रकम क्षतिपूर्ति निर्धारण गरिएको छः Particulars Total Amount (NPR) Total Amount (USD) 1. Ashna Shakya     Total                  302,549,767                         2,750,362 2.Anjila Shrestha Total                  301,969,752                          2,745,089 3. Meeli Maharjan     Total                  305,363,088                          2,775,937 4. Neega Maharjan Total                  298,266,893                          2,711,426 5. Princy Dhami Total                  302,158,625                          2,746,806 6. Sanjaya Maharjan Total                  298,580,971                          2,714,282 7. Shreya Jha Total                  291,125,260                          2,646,502 Grand Total               2,100,014,357                        19,090,403 क्षतिपूर्ति रकम निर्धारण गर्नका लागि पीडित परिवारलाई भएको आर्थिक र गैर आर्थिक क्षतिको वर्गीकरण गरी दायित्व निर्धारण गरी दावी गर्ने अन्तराष्ट्रिय परिपाटी अनुरुप नै दावी गरिएको अधिवक्ता खरेलले बताए । उक्त निर्धारित क्षतिपूर्ति रकमका अतिरिक्त मन्ट्रियल महासन्धिको धारा २१ अनुच्छेद १ बमोजिमको १ लाख १३ हजार स्पेशल ड्रइङ राइट्सले हुन आउने रकम र मन्ट्रियल महासन्धिको धारा २२ को अनुच्छेद ६ बमोजिम मुद्दामा लाग्ने अदालती शुल्क एवम् मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याज समेत थप गरी एकमुष्ठ रकम वायुयान धनी/सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेडबाट दिलाउन माग गरिएको छ । मन्ट्रियल महासन्धिको धारा २१ को अनुच्छेद २ र वार्सा महासन्धिको धारा २५ को व्यवस्था अनुसार वायुयानको हेलचेक्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ । मन्ट्रियल महासन्धिको उक्त व्यवस्थको आधारमा नेपालमा अन्तर्राष्ट्रिय वायुयान धनीका विरुद्धमा मुद्दा दायर भएको यो पहिलो पटक हो । मन्ट्रियल महासन्धिको धारा १७ को व्यवस्था अनुरुप यात्रुको विमानमा भएको दुर्घटनाबाट मृत्यु भएकोमा धारा ३३ अनुसार क्षतिपूर्ति दावीका गरी वायुयान सञ्चालक/धनीका विरुद्ध वायुयान दर्ता रहेको देशको अदालतमा वा वायुयानको मुख्य व्यवसाय रहेको देशमा वा दुर्घटना भएको विमानको गन्तव्य देशको अदालतमा वा विमानको टिकट खरीद गरेको वायुयानको व्यवसाय रहेको देशमा वा मृतक यात्रुको मुख्य र स्थायी बसोबास रहेको देशको अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था रहेको हुनाले पीडित सातजनाको परिवारले दुर्घटनाग्रस्त फ्लाइटको गन्तव्य देश एवं मृतक यात्रुको मुख्य र स्थायी बसोबास रहेको देशको अदालत भएको आधारमा नेपालकै अधिकारक्षेत्र छनोट गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।