करोडौँ राजस्व छली गरेको आरोपमा चार सरकारी कर्मचारीसहित १५ जना विरुद्ध मुद्दा
काठमाडौं । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित १५ जनाविरुद्ध मुद्दा चलाइएको विभागका निर्देशक राजीव पोखरेलले जानकारी दिएका छन् । उनीहरुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा रु ४७ करोड ८९ लाख बिगो मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले हिमालयन कार्गो तथा वनबोरी माता ट्रेडर्सका मुख्य कारोवारी विनोदकुमार गुप्तासहित, अन्य कारोवारी मधुकुमारी गुप्ता, रवीन्द्रकुमार गुप्ता, वीरेन्द्रकुमार गुप्ता, राहुलकुमार गुप्ता र चार सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध बिगो असुलउपर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार सजायको माग दाबी गरी मुद्दा चलाएको हो । नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी बटुकृष्ण अधिकारी, सुवास श्रेष्ठ, वसन्त सुवेदी र देवीबहादुर थापा राजस्व छलीको घटनामा सङ्लग्न रहेको आरोप छ । उनीहरु उक्त मुद्दामा निलम्वनमा परेका थिए । ती सम्पूर्ण फर्मले भन्सार महसुलतर्फको बिगो रु १४ करोड ९९ लाख मूल्य अभिवृद्धितर्फ २१ करोड ५७ लाख र आयकरतर्फको बिगो रु नौ करोड गरी ४५ करोड, ६४ लाख तीन हजार कायम गरी उक्त रकम असुलउपर गर्न कानूनअनुसार सजायको माग गरिएको छ । उनीहरुमाथि रु दुई करोड २४ लाख विदेशी विनिमय अपचलन गरेको आरोप छ । उनीहरुले वनबोरीमाता ट्रेडर्स प्रालि तथा भिआर इन्टरनेशनलले हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको विभागका निर्देशक पोखरेलले जानकारी दिएका छन् । उनीहरुले आपसी मिलेमतोमा सञ्चालक रोहित अग्रवाल रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआइसिआई ट्रेडर्स, बृजलाल रावत प्रोपाइटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाइटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ प्रालि, ईश्वर दयाल प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्म दर्ता गरी हिमालयन कार्गोमार्फत कारोवार गरेको खुल्न आएको दावी गरिएको छ । उक्त फर्मको नामबाट मालवस्तु आयात तथा बिक्री गरी कर विवरण नदेखाइ तथा आय विवरण नबुझाई राजस्व चुहावट गरेको विभागको ठहर छ । विदेशी विनिमय अपचलन मुद्दा राजस्व छलीका आरोपी विनोदकुमार गुप्ता, रवीन्द्र गुप्ता, वीरेन्द्र गुप्ता, राहुलकुमार गुप्ता, मधुकुमारी चौधरीले आपसी मिलेमतोमा विदेशी विनिमय अपचलन गरेको खुल्न आएको विभागले जनाएको छ । हिमालयन कार्गोबाट कारोवारको व्यवस्थापन गर्नेगरी एभरेष्ट बैंकमा रवीन्द्र गुप्ता र राहुलकुमार गुप्ताको नामबाट खाता सञ्चालन भई मालवस्तु आयात गर्ने प्रयोजनार्थ रकम विदेश पठाई सामान आयात नगरी रु दुई करोड २४ लाख बिगो बराबर विदेशी मुद्रा अपचलन गरेको विभागले जनाएको हो । बिगो असुलउपर गरी उनीहरुलाई बिगोबमोजिम जरिवाना र बिगोको तीन गुणासम्म थप जरिवाना गरी कानूनअनुसार कैद सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको विभागका निर्देशक टङ्कप्रसाद पाण्डेले जानकारी दिएका छन् । रासस
त्रिविको कामु उपकुलपतिमा सुधा त्रिपाठी, अन्य ३ विश्वविद्यालयका पनि तोकिए
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय विश्वविद्यालयको कायममुकायम उपकुलपति नियुक्त गरेको छ। त्रिभुवन विश्वविद्यालयसँगै सरकारले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति नियुक्त गरेको हो। बिहीबार बसेको कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपति नियुक्त गरेको हो। त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर सुधा त्रिपाठी नियुक्त भएकी छिन्। यस्तै संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर रमेश ढकाल, पूर्वाञ्चलको कामु उपकुलपतिमा सिनियर डिन विजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलिया नियुक्त भएका छन्।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगाना धितोपत्र बोर्डको विज्ञ सदस्य नियुक्त
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका छन् । गत चैत महिनादेखि रिक्त रहेको बोर्डको विज्ञ सदस्यमा ढुंगानालाई नियुक्त गरिएको हो । निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि ढुङ्गाना विज्ञ सदस्य नियुक्त भएका हुन् । कात्तिक १ गतेबाट बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल सकिँदैछ। कार्कीको कार्यकाल सकिएपछि ढुंगानालाई अध्यक्ष नियुक्त गर्ने गरी विज्ञ सदस्य नियुक्त गरिएको बताइएको छ । लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका ढुङ्गाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए। तीन महिनाअघि ढुंगाना राष्ट्र बैंकबाट अवकाश भएका थिए ।
वार्षिक दुई लाख कमाउने जिल्लाकै नमूना विद्यालय….
जुम्ला । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महिने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ । विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताएका छन् । “विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्”, उनले भने, “१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौँ ।” विद्यालय स्याउ, घाँस बेच्छ विद्यालयको करिब तीन हेक्टर जमिनमा स्याउको बगैँचा बनाइएको छ । स्याउ र घाँस बेचेर वार्षिक एक लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैँचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए । “हामीले स्याउ तथा घाँस बेचेर पैसा कमाउने गरेको छ”, उनले भने, “ बगैँचाको हेरचाह विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।” विद्यालयका नाममा रहेको खेतीयोग्य जमिन भाडा स्थानीयलाई दिएको र स्थानीयले त्यो जमिनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमाल बताउँछन् । प्राविधिक क्षेत्रमा विद्यार्थीको आकर्षण महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले जानकारी दिए । “हिमाली जिल्लाका विद्यार्थीको प्राविधिक शिक्षामा निकै आक्रर्षण रहेको छ”, उनले भने, “यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।” यसरी, विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महिने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया भन्छिन् । “होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता”, उनले भनिन्, “होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।” प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्छन् । काम विशेषले बाहिर गएमात्र नत्र भने हेडसर २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । हेड सरकै मेहनतले विद्यालय राम्रो हुन सकेको वडाध्यक्ष शाही बताउँछन् । “विद्यालयमा यो अवस्था आउनुमा हेडसरको प्रमुख भूमिका छ”, उनले भने, “उनकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।” रासस
प्रधानमन्त्री ओली धर्मपत्नीसहित सिङ्गापुर प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी साउन २७ गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले आज यहाँ प्रकाशित गरेका विज्ञप्तिमा भनिएको छ, “ मिर्गौलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी त्यसतर्फ जान लागेका हुन् । सिङ्गापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।” रासस
सेञ्चुरी बैंकले शुरु गर्यो नयाँ बचत खाता, ७ लाख रुपैयाँको आकस्मिक दुर्घटना बीमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु.१,०००/- मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले जनाएको छ । ग्राहकहरुले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउने छन् । साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने जनाइएको छ ।
झुटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा दुई पक्राउ
धादिङ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताएका छन् । वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो । वडाध्यक्ष अमरबहादुर गुरुङले आफू नभएको बेला वडा कर्मचारीले सिफारिश लेखिदिएको र सही गर्ने बेलामा शंका लागेर सोधपुछ गर्दा छिमेकीले समेत बुद्धि बहादुरको भाइ हो भनेकाले सिफारिश गरेको बताए । बुद्धिबहादुर प्रजासँग प्रहरीले झुक्याएर नागरिकता लिएका व्यक्तिको विवरण खुलाएको छैन । कीर्ते नागरिकता लिने व्यक्तिको परिचय खुलाउन नसकिएको प्रहरी उपरीक्षक बैदवारको भनाइ छ । पक्राउ परेकाहरुबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षहरुलाई अनुसन्धानको दायरामा ल्याइने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट झुक्याएर नागरिकता लिएको प्रमाणित भएमा बेनिघाटरोराङ गाउँपालिका–१० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता प्रमाणपत्र खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् । रासस
हुन्डाईको ‘भेन्यू कार’ नेपाली बजारमा, ३५ देखि ५५ लाख पर्ने कारका यस्ता छन् विशेषता
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘भेन्यू कार’ नेपालमा सार्वजनिक गरेको छ । हुन्डाई मोटर्सको पछिल्लो उत्पादन ‘भेन्यू’ नेपाली बजारमा बिहीबारदेखि सार्वजनिक भएको हो । नेपाली बजाम भेन्यू कारको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । भेन्यू इ कारको ३४ लाख ९६ हजार, भेन्यू एसको ३७ लाख ९६ हजार, भेन्यू एसको ३७ लाख ९६ हजार, भेन्यू एसएक्स ह्याचको ४८ लाख ९६ हजार, भेन्यू एसएक्स ओको ५३ लाख ५६ हजार, भेन्यू एसएक्स ह्याच ७ डिसिटीको ५५ लाख ९६ हजार मूल्य तोकिएको हो । हुन्डाई कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा ल्याएको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ । १ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन रहेको छ । १ लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड डिसिटी रहेको छ । हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल रे सुसज्जित छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ । कारमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको कम्पनीले जानकारी दिएको छ । हुन्डाईले भदौ १० गतेदेखि हुने नाडा अटो शोलाई मध्यनजर गर्दै आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको हो ।