त्रिभुवन विमानस्थल आजदेखि चार महिनासम्म दैनिक ७ घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने जानकारी दिएका छन् । रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा (राति २ देखि साढे २ बजेसम्म) विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ । गत बिहीबारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ । “निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्ण रूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ”, क्यानका महानिर्देशक पोखरेलले भने, “हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ, ३० मिनेटमा निगमले उडान गरिसक्नुपर्ने हुन्छ ।” ओसाका उडानको समय र विमानस्थल मर्मतको काम शुरु हुने समय जुधेपछि निगमले क्यानलाई उडानको समयमा विमानस्थल सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो । पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो । विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको एक हजार रुपैयाँ सङ्कलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको हो । रासस
एटीएम ह्याकिङ प्रकरणबारे बैंकरहरुकाे आकस्मिक बैठक बोलाउदै राष्ट्र बैंक
काठमाडौं । कार्डमार्फत् हुने अनलाइन भुक्तानीमा समस्या देखिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक बाेलाउने तयारी गरेको छ । नबिल बैंकसहित ६ ओटा बैंकको सिस्टम ह्याक गरेर पैसा निकालिएको थाहा भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आकस्मिक छलफल गर्न लागेको राष्ट बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । अहिलेसम्म ६/७ ओटा बैंकको एटीएम ह्याक भएको र डेढ करोड रकम हराएको भन्ने जानकारी आएको छ, उहाँहरुलाई बोलाएर छलफल के भएको रहेछ र अब कसरी अगाडी बढ्ने भन्नेबारे छलफल गर्छौँ, सुरक्षा प्रत्याभूतिका लागि सबै एटीएमहरु बन्द गर्नुपर्ने अवस्था पनि हुनसक्छ’- शिवाकोटीले विकासन्यूजसँग भने । यसबारे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेम्स)ले समेत बैंकरहरुसँग बैठक बोलाएर आकस्मिक रुपमा अहिले छलफल गरिरहेको छ । यता, नबिल बैंकको एटीएमबाट पैसा चोर्दा चोर्दै पाँच चिनियाँ नागरिक पक्राउ परेको घटनाबारे महानगरीय प्रहरी परिशर काठमाडौँले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।
नेपाल बैंक र एनविआईबीच सम्झौता सम्पन्न
काठमाडौं । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बालले गरेका हुन् । एनबीआईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौता भएको थियो । बैकिंग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडबीच भएको यस समझदारीबाट बैंकको मानव पुंजीलाई अझ बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ । उक्त समारोहमा बैकको मानव श्रोत व्यवस्थापन विभागका प्रमुख दिपेन्द्र राज काफले र नेपाल बैक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्याल तथा एनविआईका वरिष्ठ अधिकृत दर्पण श्रेष्ठ लगायतको उपस्थिति थियो ।
आर्जन बचतको साधारण सभाबाट १५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित
काठमाडौं । आर्जनबचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको याक प्यालेसमा भएको सभाले आर्थिक वर्ष ०७५/०७६ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । चुक्तापूँजी १ करोड ३८ लाख ८० हजार ८ सय रहको संस्थाले आव. ०७५/०७६ मा रु. ६६ लाख १३ हजार दुईसय पाँच खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७४/०७५ मा यस्तो नाफा २९ लाख २२ हजार ८१ रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा १२६.३२ प्रतिशतले वृद्धि हो । कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहरकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गरे ।
यामाहा महा-एक्सेञ्ज मेला शुरु, १ लाखसम्म नगद छुट
काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् । मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ । यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआई रहेका छन् । यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलतथा स्कूटर दिएर बजार मुल्याङ्कनको सबैभन्दाउच्च रु.२०,०००/- अतिरिक्त ग्यारेन्टी मुल्यका साथनयाँ ब्राण्डको यामाहामाआफ्नो स्तरोन्नति गर्न पाउनु हो । ६ दिनसम्म चल्ने महा–एक्सचेञ्ज मेला भदौ १४ देखि १९ गतेसम्म राष्ट्रिय सभा गृहभवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्य चकितबनाउने कारोबार उपलब्ध हुनेछ । रु.१,००,०००/-सम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् । महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनिविशेष आकर्षण रहेका छन् । एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामाआउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निःशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवापनि प्राप्त गर्नु हुनेछ । अब नयाँ बाइक र दशैंअफरको साथमा यो एक्सेञ्जले बाइकका शौखिनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको जनाएको छ ।
कोलकातामा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालन
काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउ हो । सीएफएस निर्माण र संचालनमा नेपाल सरकारबाट भएको महत्वपूर्ण पहल र प्राप्त सफलताका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाई आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्ने तर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्न जाने महासंघको विश्वास छ । आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अव कम खर्चमै कार्गो राख्न सक्ने छन् । उक्त सीएफएसमा करिव ५ सय कन्टेनर राख्न सकिने वुझिएको छ । सीएफएसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले विहीवार एक समारोहका बीच शुभारम्भ गरे । शुभारम्भ समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, कोलकत्तास्थित महावाणिज्य दूत, नेपाली उद्यमी व्यवसायीहरू, कोलकाता पोर्टका उच्च अधिकारीहरूको उपस्थिति थियो । उक्त समारोहमा भाग लिइरहनु भएका महासंघका उपाध्यक्ष प्रधानले नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्ने बताउनु भयो । कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैया ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दावी छ । यसले एकातिर व्यवसायीको लागत घटाउंछ भने अर्कोतिर त्यसको फाइदा अन्ततोगत्वा नेपाली उपभोक्तामा पर्ने उनले बताए । २०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू भएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।
नबिल बैंकबाट पैसा चाेर्दाचाेर्दै ५ चिनियाँ नागरिक पक्राउ, साथमा १ कराेड ३४ लाख नगद बरामद
काठमाडौँ । नविल बैंकबाट पैसा चाेर्दै गर्दा ५ जना चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूकाे साथबाट १ कराेड ३६ लाख रूपैयाँ भन्दा बढी नगद समेत प्रहरीले पक्रेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले बताए । पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ । पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ । खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । ३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उनले जानकारी दिइ । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।