इँट्टाको सात लाख नदिएको भन्दै अपहरणमा परेका खड्काको सकुशल उद्धार
गोरखा । इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम अधिकारीले जानकारी दिएका छन् । इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेकोे एसपी अधिकारीले बताए । खड्कालाई बुधबार राति राजीवको घर नजिकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायब उपरीक्षक तुलसी अर्यालले जानकारी दिएका छन् । “घर नजिकै गोठ जस्तोमा कोठाभित्र खड्कालाई थुनेर बाहिरबाट चाबी लगाई बन्धक अवस्थामा राखिएको रहेछ”, एसपी अधिकारीले भने, “प्रहरीले खबर पाएलगत्तै पुगेर उद्धार गर्न सफल भयो ।” पक्राउ परेका कुहारविरुद्ध अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका खड्कालाई आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । रासस
अब कर्णालीमा विकास निश्चित, डिजिटल नक्सा तयार हुँदै
जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताएका हुन् । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिए । अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौँ, उनले भने, तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ । सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै उनले भने, प्रदेशको समानुपातिक विकासका लागि हामीले २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेका छौँ । कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमिनको व्यवस्थीकरण गर्ने उनको भनाइ थियो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको उनले बताए । कर्णालीको निरक्षरतालाई पूर्णरुपले हटाउन प्रदेश सरकारले लिएको साक्षरता अभियानलाई लक्ष्यविन्दुमा पुर्याउने उनको भनाइ थियो । राजनीतिका लागि विकास गर्ने संस्कार हटाउनु आजको आवश्यकता रहेको बताउँदै उनले सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको जानकारी दिए । सङ्घीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो । रासस
एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
तस्करीमा संलग्न छ मोटरसाइकलसहित तीन लाख बराबरको मरिच बरामद
लहान । सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करिब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र स५प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका चार वटै मोटरसाइकलमा करिब चार क्विन्टल मरिच लोड गरिएको थियो । यस्तै सादा पोशाकमा खटिएका प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका १८ अराहाबाट भन्सार छलि नेपालतर्फ तस्करी भइरहेको सुर्तिजन्य पदार्थसहित स२प ६४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्तै, प्रहरीले भगवानपुर गाउँपालिका–५ इनरुवाबाट अवैध सोफिया मदिरासहित मदिरा लोड गरिएको बिआर३२डी २१५५ नंको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मदिरासहित सो मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् । बरामद भएका मोटरसाइकल र सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ । रासस
नेशनल लाइफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, कर पनि तिरिदिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ । नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपश्चात् लागु हुने पनि कम्पनीले स्पष्ठ पारेको छ ।
वीरगञ्जमा १५ वर्षीया युवतीमाथि तेजाब प्रहार
पर्सा । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् । मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा उनलाई पक्राउ गर्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् । उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् । रासस
आईपीओ निष्कासनको तयारी गर्दै नयाँ बीमा कम्पनीहरु, सवा ८ अर्बको आईपीओ आउने, बजारले कसरी धान्ला ?
काठमाडौं । एनआरएफएस प्रणालीअनुसार वित्तीय विवरण बनाउने झन्झटलाई पार लगाएसँगै नयाँ बीमा कम्पनीहरु धमाधम आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका छन् । पुरानो एनएएस प्रणालीलाई एनएफआरएस प्रणालीमा रुपान्तरण गर्नुपर्दा लामो समय गुजारेका कम्पनीहरु अब भने धमाधम आईपीओ निष्कासन गर्नेतर्फ अग्रसर भएका हुन् । धेरैजसो बीमा कम्पनीका सञ्चालक वा उच्च व्यवस्थापकहरु यसै बर्ष आईपीओ निष्कासन गर्ने बताउन थालेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले इन्स्योरेन्सको साधारणसभामा आईपीओ प्रस्ताव आउने र त्यससँगै यसे वर्ष आईपीओ निष्कासन गर्नेगरी अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले पनि ७० करोडको चुक्तापुँजी भएको जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ यसैवर्ष जारी गरी न्यूनतम चुक्ता पुँजी पुर्याउने जानकारी दिए । त्यसो त, ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण तयार गरेसँगै सो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षक नियुक्त गर्न बोलाएको साधारणसभामा आईपीओ प्रस्तावउपर छलफल गर्ने एजेन्डा समेत तय गरेको छ । पौने ९ अर्बको आईपीओका लागि तयारी जीबनबीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनी समेत गरी बीमा क्षेत्रबाट पौने ९ अर्ब भन्दा बढी आईपीओ आउन बाँकी छ । अघिल्लो वर्ष मात्रै लाइसेन्स पाएका १० बीमा कम्पनीहरुको ६ अर्ब २८ करोड ५० लाख बराबर, निर्जीवन बीमा कम्पनीका तर्फबाट ९० करोड र नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६० करोड समेत गरी कुल ८ अर्ब ७८ करोड ५० लाख रुपैंया बराबरको आईपीओ निष्कासन हुन लागेको हो । हाल नयाँ जीवनबीमा कम्पनीहरुको कुल चुक्तापुँजी १४ अर्ब ६६ करोड ५० लाख तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब १० करोड छ । यो पुँजीलाई ७० प्रतिशत मान्दा थप ३० प्रतिशत आईपीओ ल्याउँदा उक्त परिमाणमा आईपीओ आउने भएको हो । नेपाल पुनर्बीमा कम्पनी भने सरकारी लगानी समेतको कम्पनी भएकोले यसलाई ७०ः३० को अनुपातमा आईपीओ निष्कासन गर्नुपर्ने बाध्यता छैन । त्यसैले उसले १६ प्रतिशतले हुने अर्ब ६० करोड रुपैंया बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ । यद्यपि महालक्ष्मी लाईफ इन्स्योरेन्सले भने १ वर्ष पछि मात्रै लाइसेन्स प्राप्त गरेको कारण सो कम्पनीको आईपीओ यो वर्ष आउने सम्भावना कम छ । त्यसो हुँदा पनि करिब सव ८ अर्बको आईपीओको लागि यही वर्ष प्रक्रिया सुरु हुन्छ । शेयरको ओभरफ्लो हुँदै, व्यवस्थापन कसरी होला ? ठूलो लगानीसहित एकैपटक ठूलो संख्यामा भित्रिएको र एकै समयमा आईपीओ आउने तयारी गरेको अवस्थामा यसलाई बजारले कसरी धान्छ भन्ने चासो देखिन चालेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अनिवार्य रुपमा ऋणपत्र जारी गर्न निर्देशन दिएको, वास्तविक क्षेत्रका कम्पनीहरु पनि आईपीओमा अग्रसर देखिएको र बीमा कम्पनीहरुको समेत एकैपटक ठूलो परिमाणमा आईपीओ आउन लागेको अवस्थामा ती सबै आपूर्तिलाई बजारले कसरी धान्छ भन्ने सवाल उठ्न थालेको हो । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोट पनि यसका लागि बीमा कम्पनीहरु मिलेर आईपीओ निष्काशन गर्ने समय व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।
होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः अर्याल
तहट । होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन भएका छन् ।रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी, सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ । सङ्घका अनुसार सदस्यहरुमा अरुण लामा, सुमन कार्की, गङ्गा खड्का, सरिता पौडेल, रुपक तिमल्सिना, पप्पु तिवारी, वीरेन्द्र साह र रामयण साह रहेका छन् भने वरिष्ठ सल्लाहकारमा खड्ग बम्जन तथा विनोद गुप्तालाई चयन गरिएको छ । गौर तथा गरुडाबाट दुई–दुई र वाग्मतीबाट एक सदस्यलाई मनोनित गर्न बाँकी रहेको सङ्घका जिल्ला अध्यक्ष देवेन्द्र अर्यालले बताए। सो अवसरमा अध्यक्ष अर्यालले चन्द्रनिगापुरमा साना तथा ठूला होटलको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै नगरलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रदेशसभाका सदस्य धनलाल ठोकरले व्यवसायमा देखिएको नकरात्मक र खराब प्रवृत्तिलाई अन्त्य गर्दै नमूनायोग्य होटल बनाउन व्यवसायीलाई अनुरोध गरेका छन् । होटल तथा लजका कारण चन्द्रनिगाहपुर क्षेत्र प्रख्यात रहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारले व्यवसाय प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले होटल क्षेत्रबाट नै आपराधिक तथा अन्य क्रियाकलाप हुने भएकाले यसतर्फ सजग र सचेत रहन तथा ग्राहकको सम्पूर्ण विवरण सुरक्षित राख्न होटल व्यवसायीलाई आग्रह गरेका छन् । रासस