श्रीमती हत्या गर्ने फरार अभियुक्त १५ वर्षपछि पक्राउ
गौशाला । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का फरार अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए । प्रहरी निरीक्षक किशोर अचार्यले रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिएका छन् । विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस
सरकारी नीति व्यापार मैत्री बन्न आवश्यक: हलेसि डेकोरका संचालक हेमराज कार्की
हलेसी डेकोरका सामानहरुले ग्राहकको मन जितेका छन् । नेपाली उत्पादन किन्दा ग्राहकहरुले नौलोपनको महसुश गरेको सञ्चालक हेमराज कार्की बताउँछन् । हलेसी डेकोरका संचालक कार्कीसँग विकासन्युजले गरेको कुराकानी: तपाईहरुले नयाँ उत्पादन केही ल्याउने तयारी गर्नु भएको छ कि ? हामी कुर्सीमा बस्नु राम्रो मान्छौँ, तर त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा चाँही त्यति विचार गर्दैनौँ । सोही कारण हामीले आगामी दिनमा सिङ्गापुरको कम्पनीले भारतमा उत्पादन गरेको सामान नेपाल भित्र्याउने तयारी गरेका छौँ । उक्त कुर्सी बस्दा ग्राहकको स्वास्थ्यमा समेत असर पर्दैन । उक्त कुर्सीमा बस्दा हुने फाइदाका बारेमा हामीले स्वास्थ्य विज्ञहरु मार्फत नै ग्राहकलाई जानकारी गराउने छौँ । ग्राहकहरुले अन्य कुर्सी किन्ने मूल्यमा नै स्वास्थ्यवद्र्धक कुर्सी खरिद गर्न पाउँछन् । हामी फर्निचर मेलामा बेच्न भन्दा पनि प्रदर्शन गर्न आएका हौँ । गत वर्षपनि हामीले प्रदर्शन गरेका थियौँ । हामीलाई सरकारी नीतिले केही समस्या पार्दै आएको छ । व्यापार मैत्री नीति नियम ल्याएमा विदेशी पूँजी समेत भित्रने सम्भावना धेरै छ । स्वदेशी तथा विदेशी सामानमा पाइने विविधता के हो ? नेपाली ग्राहकहरुले नेपाली उत्पादन देख्दा राम्रो मान्छन् ।विदेशी सामान प्रयोग गर्दै आएका ग्राहकहरुले नयाँपनको समेत महसुश गर्ने गरेको हामीले पाएका छौँ । सामानकै सन्दर्भमा भन्दा नेपालमा आफैँले उत्पादन गराउन सकेमा सामानको गुणस्तर धेरै हुने गर्छ । रातारात धनी हुने भन्दापनि पुस्तौँ पुस्ता जाने व्यापार आजको आवश्यकतामा पर्छ । विदेशी सामान बेच्दा र स्वदेशी फर्निचर बेच्दा व्यापारमा कुन चाही फाईदा जनक हुन्छ ? व्यापारिक दृष्टिकोणबाट हेर्दा विदेशी फर्निचर बेच्नु फाइदाजनक छ । जनशक्ती अभावको समस्या झेल्नु भएको छ कि छैन ? हामीलाई दक्ष जनशक्तीको समस्या छ । यसमा नेपालीहरुले विदेशी मुलुकमा गएर जस्तोपनि काम गर्न तयार हुने, तर आफ्नो देशमा भने कुचो लगाउन लजाउने प्रवृत्तिले पनि हुनसक्छ । तर सो कुरामा पनि पछिल्लो समय केही परिवर्तन भने आइरहेको छ । तपाईँहरुले कस्तो सेवा दिँदै आउनु भएको छ ? फ्लोरिङ्ग–फर्निसिङ लगायतका घर, कार्यालय संस्थाहरुमा चाहिने सम्पूर्ण सामाग्रीहरुको सेवा हामीले दिने गरेका छौँ । पर्दा चाहीँ कस्ता किसिमका छन् ? प्रतिमिटर सय रुपैयाँदेखी ४ हजारसम्मका पर्दाहरुले हामीले बेच्दै आएका छौँ । पर्दाको स्वदेशी उत्पादन कस्तो छ ? हामीले विभिन्न ब्राण्डका पर्दाहरु बिक्री गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने भन्दापनि बाहिरबाट ल्याएका पर्दाहरुको बिक्री वितरण गर्दै आएका छौँ । युरोपबाट चाँही कति पर्दा ल्याउँदै हुनुहन्छ ? हामीले युरोप लगायत विभिन्न ठाउँबाट पर्दाको आयात गर्दै आएका छौँ । भारत लगायतका मुलकबाट आउँछ । हामीले फर्निचरको समेत बिक्री वितरण गर्दै आएका छौँ । विदेशी राष्ट्रबाट हामीले सामाग्रीहरु मगाएर बिक्री गर्दै आएका हौँ । हामीले हलेसी डेकोरबाट सोफा लगायतका ब्राण्ड बनाएर बेच्छौँ ।
डोटीका तीन सडक कालोपत्र हुने, डेढ अर्ब बढीको ठेक्का, दुई वर्षमा सक्ने लक्ष्य
डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ । सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उनले जानकारी दिए । प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र/पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ । रासस
सहकारीद्वारा सबै शेयर सदस्यको निःशुल्क उपचार
सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ शेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको लिमिटेडले जनाएको छ । झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ । सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ । विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उहाँले भने, “अहिले सहकारीका शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ” रासस
बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ
राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पाँच दिनदेखि बन्द मनकामना केबलकार आजबाट पुनः सञ्चालनमा
मुग्लिन । मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिएका छन् । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताए। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेशन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् । मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ । दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ । रासस
सरकारले लागू गरेको स्वास्थ्य बीमा प्रभावकारी बन्दै
वालिङ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम स्याङ्जामा प्रभावकारी बन्दै गएको छ । गत फागुनदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा (छ महिनाको अवधिमा) हालसम्म स्याङ्जामा ३४ हजार ४०० आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जाका दर्ता सहयोगी ध्रुव हमालले बताएका छन् । उनका अनुसार गत फागुनबाट शुरु भएको दर्ता कार्य पहिलो चरणमा जेठसम्म १६ हजार र दोस्रो चरणअन्तर्गत हालसम्ममा १८ हजार ४०० गरी कूल ३४ हजार ४०० ले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा हालसम्म छ हजार ५१५ घरपरिवारका १८ हजार ३५७ महिला र १६ हजार ४३ पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका छन् रही प्रभावकारी रूपमा स्वास्थ्य सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको दर्ता अधिकारी हमालले बताएका हुन्। स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता जनाउन धेरै घर परिवारले तीव्र इच्छा प्रकट गरी स्वास्थ्य बीमाप्रति नागरिक उत्साहित भएकै कारण यो अभियान जिल्लाको हकमा प्रभावकारी बन्दै गएको हमालले बताएका हुन् । बीमितलाई पहिलो विन्दुको रूपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमुल स्वास्थ्य केन्द्र गरी तीन वटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ भने त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो विन्दुको रूपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रहेको दर्ता अधिकारी हमालले जानकारी दिए । जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै बीमित क्रमशः वालिङ, पुतलीबजार र गल्याङ नगरपालिका रहेका छन् । त्यस्तै हालसम्म धेरै बीमित भएका वडाहरुमा गल्याङ नगरपालिका–११, पुतलीबजार नगरपालिका–१ र वालिङ नगरपालिका–१ रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराई बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रमले विशेषगरी आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीलाई औषधि उपचारमा ठूलो राहत मिलेको सूचना अधिकारी भट्टराईले बताए । जिल्लाका ११ स्थानीय तहका ९७ वडामा ९७ दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमाको दर्ता अभियान गर्ने गरिएकोमा सबैभन्दा धेरै बीमा गर्नेको सङ्ख्या गल्याङ ११ मा रहेको दर्ता सहयोगी सीता अधिकारीले जानकारी दिए । “यहाँका स्थानीयले यसअघि नै छिमेकी जिल्ला पाल्पामा लागू भएको स्वास्थ्य बीमाबाट सेवा लिएको बुझेकाले पनि यस वडामा बीमामा आबद्ध हुनेको सङ्ख्या धेरै भएको हो जस्तो लाग्छ”, दर्ता सहयोगी अधिकारीको भनाइ थियो । पाँच जनाको परिवारले तीन हजार ५०० का दरले एक लाखसम्मको उपचार गर्न सक्नेछन् । दर्ता अधिकारी हमालका अनुसार अब बीमा गर्ने पाँच जनासम्मको परिवारले तीन हजार ५०० वार्षिक ‘प्रिमियम’ तिरेर रु एक लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछ भने सोभन्दा धेरै भएका परिवारले प्रतिव्यक्ति रु ७०० का दरले थप गर्दै जानुपर्ने छ । प्रतिव्यक्ति रु ७०० का दरले प्रिमियम थप गर्दा २० हजारका दरले उपचार रकम थपिने र अधिकतम दुई लाखसम्मको उपचार सुविधा पाउने छन् भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका, एचआइभी सङ्क्रमित लगायतलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था रहेको छ । रासस
जनता क्यापिटलको साधारण सभाले पारित गर्यो ८ प्रतिशत लाभांश
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको कार्यकारी सञ्चालक विश्व सुवेदीले जनाएका छन् ।