महासंघ र नेपाल मेलमिलाप परिषद बीच सहमतीपत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषद बीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्व–तयारी गर्ने सम्बन्धी एक सहमतीपत्रमा हालै काठमाडौँमा हस्ताक्षर भयो । उद्योग, व्यापार, वाणिज्य तथा बैकिंङ क्षेत्रसंग सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुन सक्ने किसिमका विवादहरूको समाधान मेलमिलाप मार्फत गराउन आवश्यकता महशुस गर्दै सो सहमति भएको हो । सहमति पत्रमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल मेलमिलाप परिषदको तर्फबाट सदस्य सचिव नारायण प्रसाद पन्थीले हस्ताक्षर गरेका छन् । मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानूनी प्रक्रिया समग्र विषयमा अधिमुखीकरण गर्ने उद्देश्यले पूर्व न्यायधिस र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्र सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरी कार्यक्रम मार्फत प्राप्त पृष्ठ पोषणलाई आधार मानि केन्द्र स्थापना कार्य अगाडि बढाउने विषय सहमतिपत्रमा उल्लेख गरिएको छ ।
नागरिक लगानी कोषले यसरी पुर्याउँदै ३ अर्ब पुँजी, एफपीओ जारी हुन सक्ने
काठमाडौं । नागरिक लगानी कोषले ३ अर्ब पुँजी पुर्याउने भएको छ । कोषले बोनस, हकप्रद, एफपीओ निष्कासन गरेर ३ अर्ब चुक्ता पुँजी पुर्याउने योजना अघि सारेको हो । हाल कोषको ९० करोड ३१ लाख सेयर पुँजी रहेको छ । सोमबार कोषको २४ औं साधारणसभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश पारित गरेको छ । साधारणसभामा राष्ट्रियसभाले गत चैतमा पारित गरेको नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कोषको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्याउनु पर्ने लक्ष्य तोकिएको बताउँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले सो पुँजी पुर्याउन हकप्रद विकल्प रहेको बताए । साधारणसभामा शेयर लगानीकर्ताहरुले हकप्रदको सट्टा एफपीओ पनि निष्कासन गरेर पुँजी पुर्याउन सल्लाह दिएका छन् । यसको प्रति उत्तरमा कार्यकारी निर्देशक नेपालले पुँजी पुर्याउन एफपीओ पनि विकल्प हुन सक्ने बताएका हुन् । बोनस शेयर पारित पछि कोेषको शेयर पुँजी १ अर्ब १० करोड १८ लाख पुग्ने छ,’ उनले भने ‘अब २०७५/७६ मा पनि सोही अनुपातमा बोनस सेयर जारी गर्न सके नपुग शेयर पुँजी हकप्रद तथा एफपीओबाट पुर्याउन सकिन्छ ।’ नागरिक लगानी कोष ऐन, २०४७ स्वीकृत हुँदा दुई करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी थियो । प्रस्तावित संशोधित विधेयकमा शेयर नेपाल सरकारलाई २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३१.५५ प्रतिशत, नेपाल स्टक एक लिमिटेडको १० प्रतिशत र सर्वसाधारण २० प्रतिशत रह्ने गरी प्रस्ताव गरिएको छ । २०७६ असार मसान्तसम्म कोषमा सहभागीहरूबाट १ खर्ब २३ अर्ब १६ करोड बचत भएको छ । अघिल्लो असारमसान्तसम्म कोषमा १ खर्ब ११ अर्ब ७३ करोड बचत भएको थियो । २०७६ असार मसान्तसम्ममा कोषको लगानी १६.७४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ८७ करोड ९९ लाख पुगेको छ । २०७५ असार मसान्तसम्म कोषले विभिन्न क्षेत्रमा १ खर्ब ६ अर्ब ९७ करोड लगानी गरेको थियो । हाल कोषमा ४ हजार ८ सयभन्दा बढी संघ संस्थाका साढे ६ लाख सहभागीहरू आवद्ध छन् । कोषकोे लगानीको दायरा विस्तार गर्न निजी सार्वजनिक साझेदारी मोडेलका परियोजनाहरुमा लगानी गर्ने तथा संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरूको शेयर, डिवेन्चर र ब्रण्डमा लगानी गर्ने जस्ता कार्यक्रमहरु अगाडी बढाएको छ । कोषले उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी विस्तारको क्षेत्र पहिचान गर्न र विद्युत्तीय कारोवारलाई सुरक्षित बनाउनु चुनौतिपूर्ण रहेको बताएको छ ।
चेम्बर अध्यक्ष र र नेपालका लागि रसियाका राजदुत एलेक्सीबीच भेटवार्ता
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ बीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको थियो । सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० का बारेमा समेत छलफल भएको जनाइएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट सम्पन्न
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायत स्थानका २०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई स्वास्थ्य बीमा दाबी वापत रु. ४० लाख भुक्तानी
काठमाडौँ । कर्मचारी सञ्चय कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव रु. ४० लाख बराबरको औषधोपचार खर्च प्रदान गरिएको छ । यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्तबहादुर देउला, सावित्री आचार्य, शान्तबहादुर भुजेल र लेखनाथ खतिवडा रहेका छन् । कार्यक्रममा वक्ताको रुपमा विरामी सञ्चयकर्ताको तर्फबाट शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको यस प्रकारको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै नै राहत मिलेको अनुभव सुनाइन् । सञ्चय कोषका सह प्रशासक राजेन्द्र काफ्लेले कम्पनिलाई अझ कटिबद्ध भई कार्य गर्न सुझाए । कम्पनीको तर्फबाट प्रतिक्रिया राख्दै प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाईका बावजुत कम्पनीले बीमा दावी भूक्तानी प्रकृयालाई यहांसम्म ल्याईपुर्याईएको तथा आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट दावी प्रकृया अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रम कम्पनीका मुख्य ब्यवस्थापक सुवास कोईरालाले सञ्चालन गरेका थिए । राष्ट्रिय बीमा कम्पनी लि. र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको रु. १ लाख बराबरको औषधोपचार तथा रु. १० लाख बराबरको घातक रोगको उपचारको लागि बीमा गर्ने सम्वन्धमा २०७५ साल कार्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा ०७५ मंसिर १ गते देखि लागू हुने गरि बीमालेख जारी गरेको छ । हालसम्म ८५३ जना सञ्चयकर्ता विरामी हरुका लागि रु. तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी समेत गरिसकेको बताइएको छ ।
कार्यदल गठन गर्न निर्माण व्यवसायीको आग्रह
काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण व्यवसायलाई व्यवस्थित र दिर्घकालीन रुपमा सम्बोधन गर्नका लागि एक उच्चस्तरीय अधिकार प्राप्त कार्यदल गठन गर्न आग्रह गरेका छन् । निर्माण व्यवसायी संगठनले सोमबार राजधानीमा आयोजना गरेको भौतिक पूर्वाधारको विकास र नेपाली निर्माणमा व्यवसायीको अवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले निर्माण व्यवसायका विविध समस्या र चुनौतीहरुलाई सम्बोधन गर्नका लागि उच्च स्तरीय अधिकार प्राप्त कार्यदल बनाई अध्ययन तथा व्यापक छलफलको आधारमा विस्तृत कार्ययोजना तयार गर्नु पर्ने बताएका हुन् । देशभर १५ हजार भन्दा बढी साना र ठूला निर्माण व्यवसायी रहेको बताउँदै उनीहरुले विभिन्न वर्गका व्यवस्थाबीच तालमेल मिलाउनु पर्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
अण्डाको मूल्य तथा बजारिकरणमा सरकारले ध्यान नदिएको उत्पादकको गुनासो
काठमाडौं । देशमा उत्पादन हुने अण्डाको बजारिकरण तथा मूल्य निर्धारणमा सरकारले ध्यान नदिएको हुँदा उत्पादकको अपत्ति जनाएका छन् । नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भनियता पनि उपयुक्त बजार र मूल्यका कारण अझैपछि समस्या भईरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । पशु सेवा विभाग तथा नेपाल अण्डा उत्पादक संघको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल अण्डा उत्पादक संघका अध्यक्ष केसीले भने ‘यदि सरकारले उत्पादकको माग एवं बजारको अवस्थालाई ध्यानमा राखि छिटोभन्दा छिटो बजारिकरण गरि समाजमा रहेको समस्यालाई सरकारले निर्मूल गर्नका ध्यान दिनु पर्ने र आगामी दिनमा समाधान नभए सडकमा उत्तिर्न पनि सक्ने बताए । पशु सेवा विभागका महानिर्देशक बंशी शर्माले अण्डा उत्पादक लागत निर्धारण र बजारिकरण लगायतका समस्यामा गम्भिर रहेको बताउँदै तत्काल कार्यदल गठन गरी प्रतिवेदनका आधारमा समस्या हल गर्ने बताए। विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धीत मन्त्रालय र वाणिज्य मन्त्रालयसँग सहकार्य गर्ने जानकारी दिए । विभागले धान, उखु र दुधको बाहेक अन्य मूल्य तोक्न नपाउने हुँदा उत्पादक आफु लागत मूल्य अनुसार मूल्य निर्धारण गर्नु पर्ने पशु सेवा विभागका महानिर्देशक शर्माले भने । अध्यक्ष केसीले भने ‘अण्डाको उत्पादन र खपत अवस्थ कति हो, कति लागत लाग्छ त्यो तथ्यांक पशु सेवा विभागले अझैपछि समावेश नगरेको र त्यसका आधारमा उत्पादक किसानलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भने, ‘लागतका आधारमा उचित मूल्य, बजारीकरण र अहिलेसम्म यो क्षेत्रमा सरकारले कुनै नीतिगत कुराहरु स्पष्ट पार्न सकेन ।’ अण्डा उत्पादक किसान र पोल्ट्री क्षेत्रका समस्याका बारेमा सरकार गम्भिर नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिले दाना र उत्पादन लागत बढेपनि अण्डाको मूल्य नबढ्दा किसान र व्यापारी यो पेशाबाट नै पलायन हुने अवस्था रहेको उनको भनाइ थियो । त्यस्तै राष्ट्रिय किसान आयोगकाे विज्ञ तथा केन्द्रिय सदस्य डा. उदयचन्द्र ठाकुरले कृषि क्षेत्रमा नेपाल संवृद्ध भई नसकेको र आगामी दिनमा आत्मनिर्भर हुने क्रम जारी रहेको बताए । कुन क्षेत्रमा कति उत्पादन तथा लगानी गर्नु पर्ने हो भन्ने विषयलाई ध्यानमा राखि क्षेत्रगत रुपमा अगाडी बढ्दा छिट्टै लक्ष्यमा पुग्ने जानकारी दिए । उनका अनुसार, विगत ३ बर्षअघि अण्डाको बजार मूल्य १५ रुपैयाँ थियो भने दानाको प्रतिकेजी मूल्य ३६ रुपैयाँ थियो । हाल दानाको मूल्य ५६ रुपैयाँ पुगेको र अण्डाको बजार मूल्य प्रतिगोटा ११ रुपैयाँ २ पैसा रहेको छ । तीनबर्षअघि अण्डा उत्पादक किसानले प्रतिटा अण्डा उत्पादन लागत १२ रुपैयाँ पाउने गरेपनि अहिले दाना र उत्पादन लागत बढ्दा प्रतिगोटा ८ रुपैयाँ मात्र मूल्य पाएको अध्यक्ष केसीले बताए । विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धित मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वयन गर्ने जनाएकाे छ ।
सेञ्चुरी बैंकले मकवानपुरको बज्रबाराहीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले मकवानपुरको थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले शुरु गरिरहेको जनाएको छ ।