‘दरबार हाई स्कुल’ डेढ महिनाभित्र हस्तान्तरण हुँदै
काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी रहेकाे छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमिनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताएका छन् । गोर्खा भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ । यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको हाे । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ । विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको उक्त हाई स्कूलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । विद्यार्थी सङ्ख्या कम दरबार हाई स्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सुन्दर यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउँछन् । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याको आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात यस विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस
अमेरिकी इलेक्ट्रिक साइबर ट्रक, सार्वजनिक भएको दुई दिनमै डेढ लाख युनिट अर्डर
काठमाडौं । अमेरिकन अटोमोटिभ एण्ड इनर्जी कम्पनी टेस्लाले ‘साइबरट्रक’ नामक अल–इलेक्ट्रिक पिकअप ट्रकलाई विश्वसामु अनावरण गरेको एक महिना पूरा भएको छ । कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर, डुअल मोटर र ट्रिपल मोटर गरी तीन अलग भेरियन्टलाई प्रदर्शन गरेको थियो । सिङ्गल मोटर भेरियन्ट रियर व्हिल ड्राइभ हो भने बाँकी दुई भेरियन्टहरु अल व्हिल ड्राइभ मोडेल हुन् । साइवर ट्रकलाई प्रदर्शन गरेको दुई दिनभित्रै १ लाख ४६ लाख अर्डर प्राप्त गरेको कुरा कम्पनीका सीइओ एलर मस्कले ट्वीटर मार्फत् जानकारी दिएका थिए । उनका अनुसार डुअल मोटर भेरियन्टको अर्डर ४२ प्रतिशत रहेको छ भने ट्रिपल मोटर भेरियन्टको ४१ प्रतिशत र सिङ्गल मोटर भेरियन्टको १७ प्रतिशत रहेको छ । यस्ता छन् विशेषता साइवर ट्रकको बाहिरी सतह अल्ट्रा हार्ड कोल्ड–रोल्ड स्टेनलेश स्टिलले बनेको छ, जसलाई कम्पनीले बुलेटप्रुफको संज्ञा दिएको छ । यसले ९ मिलिमिटर क्यालिवरका बुलेटलाई समेत सजिलै छेक्ने दावी कम्पनीले गरेको छ । त्यसैगरी, यसमा अल्ट्रा–स्ट्रङ्ग ग्लासको प्रयोगसमेत गरिएको छ, जसले ठूलै चोट पनि सजिलै झेल्न सक्छ । साइवर ट्रकको इन्टेरियरको कुरा गर्नुपर्दा यसमा १७–इञ्च सेन्टर डिस्प्ले, ६ जनाको लागि सिट, डिजिटल रियर–भ्यू क्यामेरा जडित मिरर, रेस कारको स्टाइलमा आधारित स्टेयरिङ्ग लगातको विशेषता समावेश छ । त्यसैगरी, यसका सवै भेरियन्टहरुमा टेस्ला अटोपाइलटको फिचर समावेश गरिएको छ । यो टेस्लाको एड्भान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम हो, जसले लेन सेन्टरिङ्ग, एडेप्टिभ क्रुज कन्ट्रोल, सेल्फ–पार्किङ्ग, अटोमेटिक लेन चेञ्ज लगायतलाई परिचालन गर्दछ । यो ट्रक सान्दार अफरोडिङ्ग क्षमताले भरिपूण रहेको छ । सेल्फ–लेभलिङ्ग सस्पेन्सनको प्रयोग गरिएको यस ट्रकमा १६ इञ्च अर्थात् ४०६ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । भेरियन्टहरुको पर्फमेन्स सिङ्गल मोटरः टेस्लाका अनुसार सिङ्गल मोटर भेरियन्टले फुल चार्जमा ४ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ६.५ सेकेण्डमै ० देखि १ सय किलोमिटरको रफ्तार पक्ड्न सक्छ । त्यसैगरी, १ सय ७५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ३ हजार ४ सय केजीसम्मको वाहनलाई तान्न सक्छ । डुअल मोटरः साइवर ट्रकको डुअल मोटर भेरियन्टले फुल चार्जमा ४ सय ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ४.५ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी १ सय ९५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ४ हजार ५ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । ट्रिपल मोटरः साइवर ट्रकको ट्रिपल मोटर भेरियन्टले भने फुल चार्जमा ८ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने २.९ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी २ सय १० किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ६ हजार ३ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । कम्पनीका सीइओ एलन मस्कका अनुसार यी सवै भेरियन्टहरुमा सोलार पावरको अप्शन पनि हुनेछ जसले गाडिलाई थप २४ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ । मूल्य र डेलिभरी कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर भेरियन्टको मूल्य ३९ हजार ९ सय अमेरिकी डलर, डुअल मोटर भेरियन्टको मूल्य ४९ हजार ९ सय डलर र ट्रिपल मोटर भेरियन्टको मूल्य ६९ हजार ९ सय डलर तोकेको छ । टेस्लाले साइवर ट्रकको उत्पादन भने सन् २०२१ को अन्त्यमा शुरु गर्ने र डेलिभरी भने सन् २०२२ को शुरुबाटै चालु गर्ने जनाएको छ । एजेन्सीहरुको सहयोगमा
नबिल बैंक कर्जा लगानीमा आक्रामक, डेढ करोडसम्मको कर्जा ९.९९% व्याजमा
काठमाडौं । नबिल बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा, नविल सजिलो एक्स्प्रेस कर्जा योजना सार्वजनिक गरेको छ । तीनै प्रकारका कर्जामा तुलनात्मक रुपमा सस्तो व्याजदर तोकिएको छ भने छोटो अवधिमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ । बैंकले ९.९९ प्रतिशत व्याजमा १ करोड ५० लाखसम्म कर्जा दिने भएको छ । नविल नारी कर्जा योजना अन्तर्गत बैंकले नारीहरुको लागि कम्तिमा ५ लाख र बढीमा १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । यसमा ५० हजारसम्मका क्रेडिट कार्ड सुविधा हुनेछ । बैंकमा बचत खाता पनि खोलिएको अवस्थामा उनीहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । नबिल नारी कर्जामा जस्तै सुविधा भएको ‘नबिल सजिलो एसएमई कर्जा’ योजना पनि बैंकले ल्याएको छ । तर यस कर्जाको व्याज १० दशमलव ५० प्रतिशत तोकिएको छ । दुबै प्रकारको कर्जा बढीमा ५ दिनमा स्वीकृत हुने बैंकले जनाएको छ । छिटो कर्जा लिन चाहानेहरुको लागि बैंकले नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको छ, जुन ३५ घण्टामा स्वीकृत गरिने अनिल शाहले बताए । यस्तो कर्जा १५ देखि ७५ लाख रुपैयाँसम्मको हुने र व्याज एक वर्षको लागि १० दशमलव ५० प्रतिशत हुने बैंकले जनाएको छ । क्रेडिट स्क्रोरिङ मोडलको यस्तो कर्जा सुविधा नेपालमा पहिलो पटक ल्याइएको बैंकको प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकले यस कर्जामा बीमाका सुविधाहरु नभएको जनाएको छ । केही वर्षयता बैंकहरूले कर्जामा १२ देखि १५ प्रतिशतसम्म लिने गरेका छन् । पछिल्लाे समय बैंकहरूमा कर्जाकाे माग नभएकाे समाचारहरू सार्वजनिक भइरहेकाे बेलामा नबिल बैंकले केही कम व्याजदरका कर्जा याेजना ल्याएकाे हाे ।
एनबी बैंकः २५ वर्ष पुरानो इतिहास, लगानीको लागि कत्तिको उत्तम ? (समग्र विश्लेषण)
काठमाडौं । २३ जेठ २०५१ मा सञ्चालनमा आएको नेपाल बंगलादेश (एनबी) बैंक बंगलादेशको आइएफआइसी बैंकको संयुक्त लागनीमा स्थापना भएको हो । बैंकले ०६८/६९ सालमा नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई मर्ज गरेको थियो । बैंकमा हाल आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा छ । बंगलादेशकै अर्को ‘बैंक एशिया’को १५ प्रतिशत सेयर र अन्य संस्थापकबाट सेयर किनेर आइएफआइसीले आफ्नो स्वामित्व १० प्रतिशतबाट बढाएर ४१ पुर्याएको हो । कुनै समय खराब कर्जाको अनुपात ४० प्रतिशतसम्म पुगेको एनबी बैंकलाई राष्ट्र बैंकले व्यवस्थापन सम्हालेर सुधारेको हो । यो सुधारको क्रममा नै आइएफआइसीले आफ्नो स्वामित्व वृद्धि गरेको हो ।बैंकमा व्यक्तिगत लगानीकर्ताहरुमा एनबी समूहको करीब ११ प्रतिशत लगानी हिस्सा छ । बैंकमा अध्यक्षमा आइएफआइसीबाट जलाल अहमदले प्रतिनिधित्व गरिरहेका छन् भने ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत छन् । बैंकको उपत्यका भित्र २१ र उपत्यका बाहिर ७४ शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, ६६ भन्दा बढी एटिएम बुथबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकले गृहणी बचत खाता, सरल बचत खाता, गौरव बचत खाता जस्ता उच्च व्याजदरका खाता सञ्चालन गरिरहेको छ । बैंकले स्वास्थ्य बीमासमेत समेटिने रजत बचत खाता पनि सञ्चालन गरिरहेको छ । विगत ५ वर्षमा बैंकले बार्षिक औसत १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । २ वर्षयता भने नाफा दर केही सुस्तिएको छ । यद्यपि नाफा अर्ब माथि छ । गत आवको नाफापछि १२ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको ५ वर्षमा बार्षिक औषत १९.६६ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवको पहिलो तीन महिनामा १४ करोड ८६ लाख रुपैयाँ बाड्न सक्ने उल्लेख गरेको छ । एनबीले ७ पुसमा २५औं बार्षिक साधारणसभा मनाइरहेको छ । बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश प्रस्ताव सभामा लैजादैछ । लाभांश वितरणको लागि मंसिर २६ मै बुक क्लोज भएको थियो । गत वर्षको लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाा पुग्नेछ । बैंकको ५ वर्षमा औसत प्रतिसेयर आम्दानी औसत २८.८१ हुँदा बजार मूल्य ४ सय ८४ कायम भएको छ । हाल भने बैंकको सेयर ३ सय मुनि कारोबार भइरहेको छ । पहिलो तीन महिना बैंकले आव २०७६/७७ को पहिलो तीन महिनामा नाफा भने ३३.३२ प्रतिशतले वृद्धि गरेर ४० करोड २५ लाख रुपैयाँ पु¥याएको छ । समग्र बैंकहरुको औसत नाफाभन्दा बैंकको नाफा तल छ । खुद व्याज आम्दानी, फि र कमिशन शुल्कबाट भएको आम्दानी, अन्य आम्दानीमा वृद्धि भएकोले नाफा वृद्धिमा सहयोग पुगेको हो । बैंकले यी शीर्षकबाट २५ करोड रुपैयाँभन्दा बढी कमाएको छ । बैदेशिक मुद्राको विनियम र अन्य सञ्चालन आम्दानीबाट थप ४ करोड ५० लाखभन्दा बढी आर्जन गरेको छ । । समग्र बैंकहरुको औसत खुद व्याज आम्दानीभन्दा बैंकको यस्तो आम्दानी निकै तल छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.४४ प्रतिशत छ । आगामी दिनमा बासेल थ्री अन्तरगत क्यापिटल कन्जरभेसन बफरमा केही वृद्धि र काउन्टर साइक्लिकल बफर लागू गराउन लागेको छ । यसो भएमा बैंकहरुले कुशनको रुपमा थप १.५० प्रतिशत रकम राख्नु पर्ने हुन्छ । बैंकको हालको पुँजी कोष पर्याप्तता अनुपातले कोष थप बढाउनुपर्ने अवस्था देखिएको छ । बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७५.७३ प्रतिशत छ । बैंकसँग लगानीको लागि स्पेस रहेको देखिन्छ । बैंकको सञ्चिति तथा जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ७.२९ भएको छ । बैंकलाई पुँजी महंगो परिरहेको छ । १ अर्ब ९० करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च १ अर्ब १५ करोड छ । बैंकमा अहिले खराब कर्जा १.९७ प्रतिशत छ । अघिल्लो आवमा भन्दा खराब कर्जा दर केही बढेको भने छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २४ प्रतिशत रकम राखेको छ । बैकले प्रावधानमा ८ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.२५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ छ । रेटिङ संस्थाको विश्लेषण बैंकले केही अघि मात्रै २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । हाल नेप्सेमा यसको सूचीकरण भइसकेको छ । इक्रा नेपालले करीब ८ महिनाअघि बैंकको ऋण पत्रको रेटिङ गरेको छ । बैंकको विश्लेषणको क्रममा इक्राले केही सकारात्मक र नकारात्मक पक्षहरु उल्लेख गरेको छ । –३ वर्षयता वृद्धिदर १८ प्रतिशत (समग्र क्षेत्रको २४ प्रतिशत) –खुद्रा र साना तथा मझौला व्यवसायमा समानदरमा लगानी (कुल कर्जा लगानीको ३७ प्रतिशत) –कर्जाका ३६ प्रतिशतको बार्षिक वृद्धि –लामो अवधिदेखि सञ्चालनमा रहेपनि अन्यको तुलनामा सम्पत्ति आधारमा सानो –कर्जा र निक्षेपको आधारमापनि सानो खेलाडी –भाका नाघेको कर्जा ११ प्रतिशतको दरमा रहेको प्रक्षेपण –खराब कर्जामा सुधार, अझै पनि १ प्रतिशत माथि –कम लागतको निक्षेपमा कटौतीले पुँजी लागत महंगो पर्दै –खुद व्याज आम्दानीमा सुधार, ३.३३ बाट वृद्धिभएर ४.३१ प्राविधिक विश्लेषण बैंकको सेयर एक वर्षयताकै न्युन विन्दु (१ सय ७८ ) नजिक आइपुगेको छ । हाल मूल्य १ सय ८७ रुपैयाँ छ । बैंकको मूल्य अधिक बिक्रीको क्षेत्रमा रहेको १४ दिने आरएसआईले देखाउँछ । यो स्केलको २५.९२ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । कम बोनस सेयर प्रस्ताव भएको र यो प्राप्त गर्ने अवधि समेत सकिएकोले बिक्री चाप बढेको देखिन्छ । सिम्पल मुभिङ एभरेज रेखाले केही समयदेखि नै मूल्य वियरिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । ७ दिने रेखालाई २१ दिने रेखाले काटेर माथि लागेको छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा १ सय ८१ मा पहिलो टेवा र घट्ने क्रममा रहे १ सय ९९ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । विगत सात दिनको कारोबारमा शुरुको दिन २ सय मूल्यभन्दा तल ओर्लिएको बैंकको सेयर मूल्य यो अवधिमा एक दिन मात्र बढ्यो । गत विहीवार मूल्य बढेको भएपनि यो साता कारोबार खुलेको पहिलो दिन मूल्य बढ्न सकेन । अन्तिम दिन ह्यामर डोजी आकृति बनेको छ । यसले मूल्य घट्न रोकिने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । तर, बजार मूल्य निकै तल (साथै, एक वर्षकै न्युन मूल्य नजिक) आएकोले मूल्य घट्न रोकिने सम्भावना उच्च छ । आगामी दिनको कारोबार हेरेर नै निर्णय लिनु सही हुनेछ ।
बाजुराका दुई गाउँपालिकामा हालसम्म पुगेनन् बैंक
मार्तडी । बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको दुखेसो गरेका छन् । स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन । पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोबार गर्न धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ । सात स्थानीय तहमा बैंक सञ्चालन सात स्थानीय तहमा बैंक सञ्चालन भएपछि स्थानीयलाई बैंकिङ कारोबार गर्न सहजता भएको छ । स्थानीयस्तरमा नै बैंक सञ्चालन हुँदा सदरमुकाम मार्तडी आउने समस्या हटेको बूढीनन्दा नगरपालिका–४ का स्थानीय छक्कबहादुर मल्लले जानकारी दिए । उहाँ गाउँमा बैंक नहुँदा दुई दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो तर स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि स्थानीयस्तरमा बैंक हुँदा निकै सहजता भएको बताउँछन् । जिल्लाका नौ स्थानीय तहमा फरक फरक बैंकले कारोबार गर्दै आएका छन् । पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तहमध्ये बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, हिमाली गाउँपालिका सानीमा बैंक, सञ्चालनमा आइरहेका छन् । यस्तै बूढीगङ्गा नगरपालिकामा सिद्धार्थ बैंक, त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक र बडीमालिका नगरपालिकामा राष्ट्रिय बैंक वाणिज्य सञ्चुरी, एनआइसी, महालक्ष्मी विकास बैंक रहेका छन् । यहाँस्थित गौमुल गाउँपालिकामा कुमारी बैंकले आइतबारदेखि औपचारिक रुपमा आफ्ना सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले गाउँपालिकाका नियमित बैंकिङ कारोवार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । बैंकको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् । रासस
सबैं स्थानीय तहको सम्पूर्ण तथ्यांक ह्याकरको कब्जामा, अनुसन्धान गर्दै सीआईबी
काठमाडौं । नेपालका सबै स्थानीय तहको तथ्यांक ह्याक भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएर महालेखा नियन्त्रकको कार्यालयले प्रयोगमा ल्याएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रहेका सबै तथ्यांक ह्याकरको कब्जामा पुगेको हो । गत १२ मंसिरदेखि ४ पुससम्मका सबै स्थानीय तहका बजेट अख्तियारी, खर्चको विवरण जस्ता सबै प्रकारका तथ्यांक ह्याक भएको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी निरज केसीले जानकारी दिए । यसरी प्रणाली ह्याक भएपछि आवश्यक अनुसन्धानको लागि महालेखाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई छानविन गर्न पत्राचार गरेको छ । ‘स्थानीय तहले आफ्नो सबै हिसाब किताब राख्न प्रयोग गरेको प्रणाली सुत्र नै ह्याक भएको छ, हामीले प्रयोग गरेको व्याकअपमा पनि आक्रमण भएकोले यसको छानविनको लागि सीआईबीलाई पत्राचार गरेका छौं,’ केसीले विकासन्यूजसँग भने । ह्याकरले स्थानीय तहका सबै विवरण ह्याक गरेको कारण महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा कार्यरत लेखा समुहका सबै कर्मचारीको सरुवा रोकेको छ । सरुवा भइसकेका कर्मचारीलाई पनि यसअघिको विवरण पुन प्रविष्ट गर्नुपर्ने भएकोले सो कार्य सकिएपछि मात्रै रमाना दिन सबै स्थानीय तहलाई महालेखाले परिपत्र नै गरेको छ । महालेखाले गरेको परिपत्रमा १२ मंसिरदेखि ९ पुससम्मको तथ्यांक ह्याक भएको उल्लेख गरिएको छ । तर, आज ७ पुस हो । सो परिपत्रमा मिति नै गलत लेखिएको छ । महालेखाका सुचना अधिकारी केसीले ४ पुस (गत शुक्रबार) सम्मको सबै तथ्यांक ह्याक भएको वताए ।
होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह
सुर्खेत । होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् । त्यस्तै, महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् । नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुखुरा र अण्डा व्यवसायी विचौलियाको चरम मारमा
बेझाड । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् । बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउँछन् । “कुखुरा बिक्री गर्न लायकका छन्, १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उनले भने । उनको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन् । अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए । “रामपुरमा दैनिक आठ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्”, उनले भने । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु नौ मा बिक्री भइरहे पनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य छन् । रु एक हजार १३५ दानाको मूल्य रहँदा रु १२० मा प्रतिकिलो जिउँदो कुखुरा बेचेका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर तीन हजार ५७५ पुग्दा पनि प्रतिकेजी रु १६० मा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताउँछन् । “केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य आकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ”, उनले भने । नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन् । रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको गुनासो छ । अहिले रामपुर क्षेत्रमा कुखुरापालन गर्ने व्यवसायी विचौलियाको चरम मारमा छन् । विदेशबाट फर्केर गाउँमै सम्भावना बोकेर केही गर्न खोजेका युवा कुखुराले बजार मूल्य नपाउँदा पुनः विदेश नै फर्कने मनस्थिति बनाउन थालेका छन् । रासस