गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन
काठमाडौं । गरिमा विकास बैंकले सोमबार बन्दीपुरमा डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्०ा सिं थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले पौष ६ गतेसम्म ३६ अर्ब ७५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ । .
सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच छुट सम्बन्धि सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।
विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना
काठमाडौं । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत हाल सञ्चालनमा रहेका वितरण केन्द्रलाई चुहावट घटाउन र चोरी नियन्त्रणका लागि लक्ष्य नै निर्धारण गरेर काम शुरु गरेको हो । प्राधिकरणले वितरणतर्फको विद्युत् चुहावटलाई नेपालगञ्ज क्षेत्रमा ८.०५ र सुदूरपश्चिम क्षेत्रमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई आर्थिक वर्ष २०७५/७६मा रहेको १३.६९ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालयको चालू आवको कात्तिकसम्मको विद्युत् चुहावट ९.६२ प्रतिशत छ । कार्यालय मातहत सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १२ वितरण केन्द्र छन् । प्राधिकरणको प्रणालीमार्फत सो प्रदेशमा ६५.६५ प्रतिशत विद्युतीकरण भएको छ भने ग्राहक सङ्ख्या दुई लाख ४१ हजार रहेका छन् । प्राधिकरणले डिभिजन कार्यालय नेपालगञ्जलाई गत आवमा १०।६४ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालू आवमा ८.०५ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ । चालू आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १०.१९ प्रतिशत छ । कार्यालयअन्तर्गत ६ जिल्लाका १० वितरण केन्द्रहरुमा तीन लाख १३ हजार ग्राहक छन् । प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, राजश्व सङ्कलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई नेपालगञ्ज र अत्तरिया कार्यालय मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतासमेत गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले र प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख शतिसकुमार कर्णले सोमबार कार्यसम्पादन सम्झौता गर्नुभएको प्राधिकरणले जनाएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग दुवै कार्यालय मातहतका वितरण केन्द्र प्रमुखले सम्झौता गरेका छन् । कार्यक्रममा प्राधिकरणका सञ्चालक चेतराज जोशीले विभिन्न कारणले जीर्ण बनेका वितरणतर्फका प्रसारण तथा सबस्टेशनको निर्माण सम्पन्न गर्न, विद्युत खपत बढाउन थ्रीफेज मिटर प्रयोगलाई प्रोत्साहन गर्न र विद्युतीकरणमा केन्द्रित हुन निर्देशन दिएको प्राधिकरणले जनाएको छ । विश्वसनीय र भरपर्दो विद्युत् आपूर्ति जनताको अपेक्षा भएकाले यसलाई पूरा गर्न अनुशासित भएर ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन र विद्युतीकरणलाई अभियानकै रूपमा चलाउन कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका छन् । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याङ्कन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्नेलगायतका कार्यसम्पादन सूचकाङ्क निर्धारण गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १, २, ३, गण्डकी, कर्णालीका प्रादेशिक र प्रदेश ३ को डिभिजन कार्यालय हेटौँडाका कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ । प्राधिकरणका अनुसार अब प्रदेश नं ५ को प्रादेशिक कार्यालय बुटवल र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्न बाँकी छ । रासस
हिमालयन बैंकको नयाँ शाखा निजगढमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उक्त शाखासहित बैंकको देशभरि ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।
काठमाडौंमा बसेर शंकास्पद गतिविधि गर्ने ७५ जना चिनियाँ नागरिक पक्राउ, मनमैजु एरिया प्रहरीकाे घेरामा
काठमाडाैं । काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गैर कानुनी काम गरेकाे आरोपमा उनीहरुलाई साेमबार पक्राउ गरेकाे जनाइएकाे हाे । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । सोमबार मनमैजु, बाँसबारी र सामाखुसी प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन् । ती स्थानमा थुप्रै चिनियाँ नागरिकहरु पक्राउ गरेको स्रोतले बताएकाे छ । अपरेशन अहिले पनि जारी छ । प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्ने बारे खुलाएको छैन । केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएका थिए । सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन् ।
महालक्ष्मी विकास बैंकले घर बनाउन ९० प्रतिशत र किन्न ७० प्रतिशतसम्म ऋण दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर बनाउन चाहनेलाई ९० प्रतिशत र किन्न चाहनेलाई ७० प्रतिशत कर्जा(ऋण) दिने भएको छ । बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा दिने भएको हो । अधिकतम २५ वर्ष अवधि रहेको यस योजना अन्तर्गत ग्राहकले वार्षिक ११.९९ प्रतिशत व्याजदरमा कर्जा लिन सक्ने छन् । कर्जा लिन चाहनेहरुको लागि बैंकले बढीमा ५ दिनमा कर्जा स्वीकृत गर्ने जनाएको छ । बैंकले घर निर्माणमा अग्रिम कर्जा प्रवाह गर्ने छ जसमा अग्रिम भुक्तानी शुल्क नलाग्ने कम्पनीले जनाएको छ । साथै, निशुल्क दुर्घटना बीमा गरिने बैंकले बताएको छ । बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत्रहन पनि सक्ने व्यवस्था छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
कर्णाली प्रदेशका सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरू
जाजरकोट । कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षेनी कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् । दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले विश्वास व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो । दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै यहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीवासीले अपेक्षा लिएका छन् । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने कर्णालीवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै खटाइने स्वास्थ्यकर्मीले समस्या हल गर्ने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले बताए । उनले भने, “कर्णाली प्रदेशमा देखिएको समस्या केही हदसम्म नयाँ कार्यक्रमले हल गर्नेछ, जनशक्ति पनि आवश्यकतानुसार परिचालन गरिनेछ ।” उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य शुरु भइसकेको छ । जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य शुरु भएको हो । मन्त्रालयले कर्णालीका अन्य रुकुम, सुर्खेत, सल्यान, दैलेख, जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ । त्यस्तै प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल शुरु भएको छ । सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने गरी जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले बजेट वितरण गरेको थियो । चालू आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख थियो । सोहीबमोजिम स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन् । गत वर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ । कार्यविधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५÷७६ मा एक हजार २०० वडामा र चालू आवमा एक हजार ३९० गरी जम्मा दुई हजार ५९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्यविधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो । स्वीकृत कार्यविधिबमोजिम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था रु पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान रु ६३ लाख ४६ हजार ६३० र टाइप २ को रु ३८ लाख ८६ हजार ९२० निकासा गरेको छ । रासस
भारतको नयाँ दिल्लीमा आगलागी हुँदा नौ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो । दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सबैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिएका छन् । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उनले बताए । भारतको केन्द्रीय राजधानी सहर नयाँ दिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो । घटनामा पीडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए । रासस