विकासन्युज

राजनीतिक भ्रष्टाचार नै विकासको बाधक, पाँच महिनामा ८ हजार उजुरी

काठमाडाैं । आइतबार काठमाडौंमा आयोजित प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा धेरै वक्ताहरुले राजनीतिक भ्रष्टाचार नै विकासको बाधक भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा धेरै वक्ताहरुले भ्रष्टाचारको मूख्य जरा राजनीति भएको औंल्याएका हुन् ।  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सामाजिक, आर्थिक, कानुनी र प्रशासनिक क्षेत्रहरु भ्रष्टाचारका कारण भएपनि राजनीतिक मुख्य कारण भएको बताए । भ्रष्टाचार विषयमा प्रस्तुती दिँदै उनले कर्मचारीहरुलाई कम तलब हुनु, कर्मचारीहरु राजनीतिक दलहरुको संरक्षणमा हुनु, कमजोर कानुनी व्यवस्था लगायत कारणले पनि नेपालमा भ्रष्टाचार मौलाएको उल्लेख गरे । पछिल्लो समय राजनीतिक दल, सरकारी कर्मचारीहरु नै बढी भ्रष्टाचारमा संलग्न देखिएका छन् । ‘सुब्बा तहका कर्मचारीले मात्र ठूलो मात्रामा अकुत आर्जन गर्न सक्दैनन् राजनीतिक आडविना यो हदको भ्रष्टाचार सम्भव हुँदैन। राजनीतिक नेताहरू, कर्मचारीतन्त्र र व्यापारी/व्यवसायी समुदायको ठूलो नेक्ससले भ्रष्टाचारको माहोल सिर्जना गरेको हुन्छ। त्यसैले नै भ्रष्टाचारलाई संगठित अपराधसरह मानिन्छ ।’ उनले भने । उनले भ्रष्टाचारको कारण पहिचान, राजनीतिक प्रतिवद्धता, विश्वसनिय प्रशासनिक निकाय र पेशेवर एकता उजागर गरी भ्रष्टाचार न्युनिकरण गर्न सकिने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले किर्ते, गैर कानुनी अभ्यास, अधिकारको दुरुपयोग, घुस, स्वार्थकाे द्धन्द्ध लगायत भ्रष्टाचारका स्वरुप भएको बताए । उनले आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार ८५ उजुरी, त्यसमध्ये ६५ प्रतिशत फछ्र्यौट, विस्तृत अनुसन्धानमा ८ सय ८१, ३ सय ५१ मुद्धा दर्ता र त्यसको ८५ प्रतिशत फैसला भइसकेको बताए । चालु आर्थिक वर्षको पाँच महिनामा ८ हजार ३ सय उजुरी आएको उनको भनाइ छ । त्यसमा १ सय ४१ रङ्गेहात पक्राउ परेका छन् भने त्यसको ४ सय ४७ मुद्धाको फैसला भइसकेको उनले बताए । सार्क राष्ट्रकाे भ्रष्टाचार अनुभूति सुचकाङ्कमा नेपाल १२४ औं स्थानमा छ । कार्यक्रममा वक्ताहरुले जबसम्म राजनीतिक तहबाटै भ्रष्टाचार नियन्त्रण गरिँदैन तबसम्म भ्रष्टाचार न्यूनीकरणको प्रतिबद्धता केवल बोलीमा मात्र सिमित हुने बताएका छन् । त्यसको न्युनिकरण तथा अन्त्यका लागि राजनीतिक दल तथा व्यक्तिको संरक्षण गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

सिद्धार्थ बैंकको मुर्लीचौक शाखा उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका थिए । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । बैंकले हाल १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ८१ करोड नाघ्यो

काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(पुस ६ गते) सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । आ.व. २०७५/७६मा ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ७७ अर्ब ८४ करोड कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १०६ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । साथै, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

धनुषा चेम्बर अफ कमर्सद्वारा दाउरा तथा कम्बल वितरण

काठमाडौं । धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्बल वितरण गरेको छ । धनुषामा लागेको शितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई चेम्बरले दाउरा तथा कम्बल वितरण गरेको हो । जनकपुरधाम स्थित विभिन्न चौंकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष बिजय साहले जानकारी दिएका छन् यस वर्षको शितलहर तथा ठण्डीले जनकपुर धामका विपन्न र असहाय वर्गलाई समस्यामा पारेको छ । राहत वितरण कार्यक्रम जनकपुर उप महानगरपालिकाका प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त वितरण समारोहमा धनुषा चेम्बरका अध्यक्ष विजय साहले विपतमा परेका हरेक नेपालीलाई राहत उपलब्ध गराउनु कर्तव्य रहेको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सले उद्यमी व्यवसायी तथा उपभोक्ताहरुमा प्राकृतिक प्रकोपप्रति सजग, सचेत र जिम्मेवार रही सुरक्षित उपाय अवलम्बन गर्न अनुरोध समेत गरेको छ ।

सिभिल बैंकको साढे ६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रस्तावित ६.५७ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार डिल्लीबजारको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै सभाले आ.व. २०७६/०७७को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसियटस्लाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साथै, सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । बैंकले नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।

गरिमा विकास बैंककाे नयाँ शाखा धादिङमा

काठमाडौं । गरिमा विकास बैंकले आईतबार धादिङको धादिङ्गवेसीमा नयाँ शाखा सञ्चालनमा  ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

१५ वर्षको अनुभव संगालेर ५ करोडमा पशु फर्म स्थापना, अनुसन्धान केन्द्र बनाउने योजना

काठमाडौं । विदेश गएर रूखमै पैसा फल्छ भन्ने गलत मानसिकता धेरैकाे हुन्छ । स्वदेशमै साहु वा बैंकसँग ऋण निकालेर पनि विदेश जाने युवाहरूकाे संख्या कम छैन । तर विदेश गएर धेरै पैसा कमाउने र विदेशमा  रूखमै पैसा फल्छ भन्ने मानसिकता रूपन्देहीका शौरभ शेरचनलाई  कहिल्यै लागेन । बरू उनमा स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने साेच सानैदेखि पलायाे । रूपन्देहीको तिलोत्तमा नगरपालिका  वडा नम्बर १० मैनहवा घर भएका शेरचनले अहिले आफ्नै जग्गामा पशु फर्म स्थापना गरेका छन् । उनले २३ कठ्ठा क्षेत्रफलमा नमुना भैंसी, गाई र बधिया कुखुरा पालन गर्ने फर्म स्थापना गरेका हुन् । उनले  पाँच कराेडकाे लगानीमा कामधेनु क्याटल व्रिड एण्ड रिसर्च सेन्टर प्रालि (फार्म) दर्ता गरी फर्म सुरुवात गरेका हुन  । सानैदेखि केही फरक किसिमले काम गर्न चाहने उनकाे पशुपालन क्षेत्रमै १५ वर्षको अनुभव भएकाे बताउँछन्। १५ वर्ष अगाडि कास्कीकाे विभिन्न स्थानमा पशुपालन व्यवसाय गर्दै अाएका शेरचनले त्यहाँकाे वातावरण र माैसम पशुअनुकुल नभएपछि त्यसलाई रूपन्देहीमा ल्याएकाे बताए । नेपालका विभिन्न ठाउँबाट मात्र हाेइन उनले अहिले  भारतबाट पनि हरियाणा जातका भैसी ल्याएर फर्ममा राखेका छन् ।  पहिलो चरणमा ५० वटा भैंसीबाट व्यवसाय सुरु गरेका उनले अब छिट्टै ३ सय  भैंसी, २ सय गाई र एक हजार बधिय जातका लोकल कुखुरा पालन गर्ने योजना बनाएकाे विकासन्युजसँग सुनाए । हाल उनले  पाँचदेखि १० लिटर दुध दिने भैंसी र ६ देखि १२ लिटर दुध दिने गाई पालन गरेका छन् । अझ बढी पशु राख्नका लागि उनी फर्मकाे स्तरोन्नति तथा निर्माणको काम खटिरहेका छन् । गाई र भैंसीलाई  बाँध्ने उनीहरूकाे पालन गर्ने साेचमा शेरचन छन् । हाल निर्माण भइरहेकाे फर्ममा आधुनिक ढंगबाट करिव ३ सय  भैंसी, ४ सय गाई र ३ हजार कुखुरा पालन गर्न सकिने गरी  निर्माण भइरहेकाे उनकाे भनाइ छ । हाल उनीक दैनि २ सय लिटर दूध डेरीमा पठाउने गरेका छन् । गाई भैंसीका लागि आवश्यक पर्ने घाँस खेती प्राविधिकहरूको सल्लाह अनुसार काम गरिरहेको उनले बताए । उनले गाई भैंसी लागि करिब सात बिघा क्षेत्रफलमा घाँस खेती समेत सुरुवात गरेका छन् । हरियो घाँसमा आधारित पशुपालनबाट उत्पादन समेत वृद्धि हुने भएको कारण घाँस खेतीलाई बढी जोड दिएको भनाइ छ । कम्पाेष्ट मल उत्पादन गरेर पाेकामा बेच्ने  कृषक शेरचन केही फरक काम गर्ने मानसिकता बाेकेका व्यवसायी हुन्र । उनले दुध मात्र हाेइन गाई भैंसीकाे गाेबरलाई पनि पाेका बनाएर बेच्ने साेच बनाएकाे बताए । उनले गाई भैंसीकाे मल बालीनाली उब्जनीका लागि महत्वपूर्ण भएका कारण त्यसलाई बेच्ने साेच बनाएकाे सुनाए । कम्पाेष्ट मल उत्पादन गरेर पाेका बनाएर बिक्री गर्ने उनकाे भनाइ छ। एउटा आधुनिक फर्म मात्र हाेइन नेपालमै सबैभन्दा धेरै भैंसी पालन गर्ने गरी अनुसन्धान र नमुना फर्म स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । ‘आधुनिक फर्म निर्माणका लागि धेरै सामानकाे आवश्यकता पर्नेछ, जुन सामान विदेशबाट पनि आयात गर्नुपर्ने हुन्छ । यसलाई आधुनिक फर्म बनाएर अनुसन्धान केन्द्र बनाउने योजनामा छु ।’ उनले भने ।

हिमालयन डिष्टिलरीको १७१ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको १७१.०५ प्रतिशत लाभांश पारित भएको छ । पुस १ गते सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले बोनस र नगद गरी १०२.६३ प्रतिशत र अन्तरिम लाभांश ६८.४२ प्रतिशत गरी सो मात्राको लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत वोनस शेयर प्रस्ताव पारित गरेको हो । यसैगरी कम्पनीले आ.व.२०७५।०७६ मा संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा प्रतिशेयर अर्थात ६८.४२ प्रतिशत (६८.४२ रुपैयाँ) गरी कूल १७१.०५ प्रतिशत वितरण गरेको थियो । यसका साथै, बढी लाभांश घोषणा गर्ने नेपालका सुचीकृत कम्पनी मध्ये उत्कृष्ट भएको कम्पनीले जनाएको छ । १९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको छ । यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको छ । हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ । कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली(इफ्ल्युएन्ट ट्रिटमेन्ट प्लान्ट)समेत जडान गरिएको छ । हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा२३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाख रुपैयाँको संचालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ । विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको कम्पनीले जनाएको छ । यस कम्पनी सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योग मध्ये एक भएको जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.का गु्रप कार्यकारी निर्देशक शसिन जोशीले बताएका छन् । जस अनुसार यस उद्योगले गत आर्थिक वर्षमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख रुपैयाँ राजश्व दाखेला गरेको कम्पनीले जनाएको छ ।