हिमालयन बैंकको नयाँ शाखा लहानमा
काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सञ्चालित उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास गरेका छन् । । उक्त नयाँ शाखासहित बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।
उपेन्द्र यादवले सरकार छोड्ने, संविधान संसोधनकाे विषयमा विवाद
काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले सरकार छोड्ने भएको छ । संविधान संसोधनको विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपासँग कुरा नमिलेपछि समाजवादीले सरकार छोड्ने भएको हो । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारका थियो । आज बसेको शिर्ष नेताको बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो । पार्टीको तर्फबाट अध्यक्ष यादव उपप्रधान तथा कानून मन्त्री थिए । यादव यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा थिए । मन्त्रिपरिषद पुनर्गठनमा उनको मन्त्रालय परिवर्तन गरेर कानुन मन्त्रालयमा लगिएको थियो भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संसोधनको प्रस्ताव पेश गर्न चाहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव राख्न नदिएपछि यादव सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।
कुलमान घिसिङ र डा. सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कार
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारमा २०७३ सालकाे पुरस्कार घिसिङ र २०७४ सालकाे पुरस्कार डा. रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो । कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो । घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गर्ने अभियान्ताको रुपमा र डा. सुनदुकलाई नेत्रज्योती विशषेज्ञका रुपमा सम्मानित गर्ने जनाइएको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ । हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०५९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ । विगतमा यस पुरस्कारबाट डा. भगवान काेइराला, डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन, भाेजराज पाेखरेल लगायत ११ जना सम्मानित भएका थिए ।
सिटी सेन्टर विन्टर फेष्टमा ८० प्रतिशत सम्मको विशेष छुट
काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् । युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।
वहसमा सिमेन्ट उद्योगः दर्ता भएका ५४ प्रतिशत उद्योग किन संचालनमा आएनन् ?
काठमाडौं । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । दर्ता भएका आधाभन्दा बढी उद्योग संचालनमा किन आएनन् भन्ने प्रश्न उठ्न थालेको छ । विभागमा दर्ता भएका ४६ प्रतिशत उद्योग मात्रै संचालनमा छन् । अर्थात ५४ प्रतिशत उद्योग संचालनमा छैनन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन । विभागमा २०४९ सालदेखि निजी क्षेत्रको लगनीमा नेपालमा सिमेन्ट उद्योगहरुको स्थापना हुन सुरु भएको हो । उद्योग विभागको तथ्याङक अनुसार नेपालको पहिलो सिमेन्ट कम्पनी प्रिमस्ट नेपाल हो । गत आर्थिक वर्ष १० वटा नयाँ सिमेन्ट उद्योगहरु दर्ता भए । तर, यो वर्षसम्म आइपुग्दा सिमेन्ट उद्योग स्थापनाको उत्साह कम भएको देखियो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा एउटा पनि नयाँ उद्योग दर्ता भएको छैन । अहिले भने निजी क्षेत्रको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगहरुले पनि आफ्नो उत्पादन घटाउन थालेका छन् । उत्पादन क्षमतासगँसगै मूल्य घटाउने क्रम पनि सुरु भएको छ । सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले भने लगानी वृद्धि गरेर उद्योगलाई आधुनिकिकरण गर्न थालेका छन् । निजी क्षेत्रले उत्पादन गरेको सिमेन्ट मात्रै होइन, सरकारी लगानीमा संचालिन सिमेन्ट उद्योगहरुले पनि मूल्य घटाएर बेच्न थालेका छन् । विक्री कम हुन थालेपछि मूल्य घटाउन थालिएको हो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा भने सिमेन्ट उद्योगका लागि समस्या रहेको बताउँछन् । उद्योगका लागि आवश्यक खानी उपलब्ध नहुनु, उत्पादनको तुलनामा बजारमा सिमेन्टको माग कम हुनु तथा मागको कमीका कारण मूल्यमा घटाएर विक्री गर्नुपर्ने जस्ता कारणले उद्योगहरु विस्थापित हुन थालेको थापाको भनाइ छ । २०७४ सालमा सबैभन्दा धेरै सिमेन्ट उद्योगहरु स्थापना भएका थिए । सो वर्ष १५ वटा नयाँ उद्योग दर्ता भए ।
निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका लागि काटिए २८ हजार रूख
निजगढ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताएका छन् । तत्काल काट्नै पर्ने भएकाले सो सङ्ख्यामा रूख काटिएको र बाँकी ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने उनको भनाइ छ । सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १ सय मिटरसम्मका रूख काट्नुपर्ने भएकाले वन मन्त्रालयसँग अनुमति लिएर ती परिमाणको रुख काटिएको माहाशाखा प्रमुख पहाडीले बताए । द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् । वन मन्त्रालय मातहत रहेका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वन सरोकारवाला निकायको रोहवरमा बुझाएको नेपाली सेनाले जनाएको छ । वातावरणीय मापदण्डअनुसार एउटा रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ । सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु गरिसकेको छ । सोअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेको जनाएको छ । बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ । रासस
नगरपालिकाले शुरु गर्यो निःशुल्क लोकसेवा तयारी कक्षा
वालिङ । शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । उनले भने, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित यो प्रशिक्षण सञ्चालन गरिएको छ ।” पहिलो चरणमा निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि तयारी गरिरहेको नगरप्रमुख खाँणले बताए । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगरउपप्रमुख कल्पना तिवारीले दाबी गरे । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको भनाइ छ । “तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौं”, अधिकृत सुवेदीले भने, “लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान वालिङ नगरपालिकामै पहिलो पनि हो ।” नायब सुब्बा र खरिदारका लागि सञ्चालन भएको तयारी कक्षा तीन–तीन महिना अवधिका लागि हुने शिक्षा शाखाप्रमुख उपसचिव बाबुराम सापकोटाले बताए । लोक सेवा आयोगको तयारी कक्षाका लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष ननाघेका महिलालाई सहभागी बनाइएको शाखाप्रमुख सापकोटाले बताएका छन् । नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि १५ दिनको सूचना प्रकाशन गरेकामा ३ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट १५५ जना छनौट गरी निःशुल्क तयारी प्रशिक्षण कक्षामा सहभागी बनाइएको छ । सहभागी भएकाहरुलाई बिहान र बेलुकामा कक्षा सञ्चालन थालिएको शिक्षा शाखाप्रमुख सापकोटाले बताए । रासस
पुस १० गते सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाे हो । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । रासस