विकासन्युज

प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।

५७ वर्षको विरासत बोकेको साल्ट ट्रेडिङ अब शुद्ध तोरीको तेल उत्पादन र एसएसपी मल बिक्रीमा

काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको तेल उत्पादनका लागि हेटौडामा प्लाण्ट स्थापना गरिएको कर्पाेरेशनका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले जानकारी दिए । हेटौडामा प्लाण्ट स्थापनाका लागि काम भइरहेको छ । तेल उत्पादनमा प्रयोग हुने मेसिन आयात भइसकेको छ । ‘उत्पादन विविधिकरण र बजारको आवश्यकता पूरा गर्नको लागि शुद्ध तोरीको तेल उत्पादन गर्ने अभियानमा लागेका छौं, यसैको लागि हेटौडामा प्लाण्ट राख्ने काम भइरहेको छ,’ म्यानेजर झाले विकासन्यूजसँग भने । एसएसपी मल बिक्री गर्ने कर्पाेरेशनले रासायनिक मल आयात गरेर बिक्री गर्दै आएको छ । अहिलेसम्म नेपालमा युरिया, डीएपी र पोटाम मलको बिक्री वितरण हुने गरेको थियो । तर, नियम उत्पादन वृद्धि गर्ने नयाँ प्रविधि प्रयोग भएको मल आयात गरेर बिक्री गर्ने तयारीमा छ । भारतबाट युरिया, डीएपी र पोटासको आवश्यक परिमाण राखिएको एसएसपी मल आयात गरेर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको झाले जानकारी दिए । ‘रासायनिक मलको प्रयोगले जमिनको उत्पादन क्षमता घट्यो भन्ने गुनासो पनि छ, हामीले ल्याउन लागेको एसएसपी मलले माटोको उर्वराशक्ति कम गर्ने होइन, बढाउँछ, २० वर्ष अघि जमिनमा जे जस्तो उत्पादन हुन्थ्यो, एसएसपी मलको प्रयोगले त्यस्तै उत्पादनहुन्छ,’ डिभिजनल म्यानेजर झाले भने । बनस्पति घ्यू पुनः उत्पादनको लक्ष्य कर्पाेरेशनले बनस्पति घ्यू उत्पादनको फेरि सुरु गर्ने तयारी गरेको छ । यसअघि पनि कर्पाेरेशनले बनस्पति घ्यू उत्पादन गर्ने गथ्र्याे । तर, बनपस्पति घ्यू उत्पादनमा निजी क्षेत्रको पनि व्यापक उपस्थिति भएपछि अवस्थ्य प्रतिस्पर्धाका कारण केही निजी उद्योगसँगै कर्पाेरेशनको उत्पादन पनि बन्द भएको थियो । बनस्पति घ्यू उत्पादन गर्ने प्लाण्ट हेटौडाको औद्योगिक क्षेत्रमा राखिएको थियो । अहिले पनि प्लाण्ट हेटौडामा नै छ । तर, घ्यू उत्पादन भने रोकिएको छ । अब नयाँ अत्याधुनिक मेसिन ल्याएर बनस्पति घ्यू उत्पादन गर्ने तयारी कर्पाेरेशनको छ । व्यापारमा ५७ वर्षको विरासत ५७ वर्षअघि अर्थात २०२० सालमा सर्वसाधारणलाई सस्तो मूल्य र सहज रुपमामा उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएर साल्ट ट्रेडिङ कर्पाेरेशनको स्थापना भएको थियो । तत्कालीन राजा महेन्द्रको निर्देशनमा २०२० सालमा स्थापना भएको कर्पाेरेशन अहिले सर्वसाधरणको घरदैलोमा पुगेको छ । कर्पाेरेशनले सुरुमा नुन बिक्रीका हात हाल्यो । सन् १९६५ मा युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता अन्तराष्ट्रिय संस्थाहरुसमेतको संलग्नतामा भएको अध्ययनले ५५ प्रतिशत नेपालीमा आयोडिनको कमी भएको देखायो । नुनमा आयोडिन मिसाएर बेच्ने र त्यसैको माध्यमबाट आयोडिन कमीको आवश्यकता परिपूर्ति गर्ने लक्ष्य सरकारले बनायो । र, नुन बेच्ने जिम्मा थियो–साल्ट ट्रेडिङ कर्पाेरेशनकै । ब्रजेशकुमार झा आयोडिनको कमीले सर्वसाधारणमा गलगाँढको समस्या भयावह थियो । सरकारले आयोडिनको कमी कम गर्न नूनमा आयोडिन मिसाएर बिक्री वितरण गर्ने योजना बनायो । त्यो योजना कार्यान्वयन गर्ने प्रभावकारी माध्यमको रुपमा कर्पाेरेशन आएको थियो । कर्पाेरेशनले नै आयोडिन मिसाइएको नुन बिक्री गर्ने जिम्मा पायो । आयोडिनयुक्त नुनकै कारण अहिले नेपालीमा आयोडिन कमीको समस्या छैन भनिन्छ । कर्पाेरेशनले स्थापनाकालमा राजधानीलगायत देशका प्रमुख नाकाहरु वीरगञ्ज र भैरहवाबाट करोबार सुरु गरेको थियो । मौसम, परिवेश, समय रुचि जस्ता कुराहरुले उपभोक्ताको चाहना परिवर्तन गर्छ । उपभोक्ताको चाहनामा आएको परिवर्तनलाई सम्बोधन गर्न सक्ने गरी उत्पादक र बिक्रेताले आफ्नो उत्पादनको स्वरुप र ढाँचा पनि परिवर्तन गर्न सक्नुपर्छ । यसैकारण कर्पाेरेशन पनि आवश्यक र बजारको माग अनुसार आफ्नो शैली र ढाँचा परिवर्तन गर्दै आएको छ । कुशल व्यवस्थापनका कारण साल्ट ट्रेडिङ पछिल्लो समय नयाँ गति र उचाइमा पुगेकोे छ । संस्थाले लामो फड्को मारेको छ । साल्ट ट्रेडिङको वर्तमान संरचना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) को नमूना पनि बनेको छ । गुणस्तरीय नून र खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ । अहिले कृषि विकास केन्द्रमार्फत देशका झण्डै एक चौथाई किसानहरूलाई मल–खाद्य, वीउ–विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । साल्ट ट्रेडिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पिठो, सुजी, चामल दालजस्ता खाद्य सामग्री बिक्री गरिरहेको छ । यस्तै, सरकारी अनुदानको मल, गैरअनुदानको मल, खाद्यान्न, गेडागुडी, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण पनि गर्दै आएको छ ।

कर्णालीमा स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा हमालसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । ‘यसपालि, घुमौं कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । ‘यसपालि, घुमौँ कर्णाली’ सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरेका हुन् । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमित रुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो । रासस

झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण हुँदै, ५७ करोड बजेट विनियोजन

सुरुङ्गा । झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो । नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । जिल्लाकै पुरानो सदरमुकाम भए पनि आवश्यक पूर्वाधारको अभावमा पछि परेको झापामा सडक निर्माण सम्पन्नसँगै त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज हुने अध्यक्ष साहको भनाइ छ । सडक निर्माण शुरु भएसँगै कनकाई नगरपालिकाको दक्षिणी क्षेत्र र झापा गाउँपालिकाका स्थानीयमा खुशियाली छाएको छ । समयमै सडक निर्माण सम्पन्न गर्नका लागि सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउन आफूहरु तयार रहेको भन्दै स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । बाटो निर्माणका क्रममा कुनै पनि कमीकमजोरी भए खबरदारी गर्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष साहले समयमै गुणस्तरयुक्त बाटो निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । सडक निर्माण शुरु भएसँगै झापा गाउँपालिका–३ का अध्यक्ष मोतिलाल गणेश, ६ का अध्यक्ष हरिबहादुर बानियाँ र ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती, नेपाली काङ्ग्रेस ४ नं क्षेत्रीय सचिव शिव कँडेल, नेकपाका गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईंलगायतले सडक निर्माणका क्रममा ८२ फुट क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना हटाउन आफूहरुको समेत सहयोग रहने प्रतिबद्धता जनाए । झापा गाउँपालिकाले अमरपथ सडक निर्माणलाई गौरवको आयोजना भनेको छ । रासस

साढे २ अर्ब लागतमा निर्माणधीन नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माणमा स्थानीयको अवरोध

पर्वत । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाइन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको मागसहित अवरोध गरेका हुन् । भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा रु दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । स्थानीय नवज्योति थम माविलाई प्रसारण लाइनले प्रत्यक्ष प्रभाव पर्ने दाबीसहित उनीहरुले स्थानान्तरण गर्न माग गरेका छन् । पर्वत भएर बग्ने मोदीखोला, कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामार्फत बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भइरहेको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो छ । प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहने छन् । त्यसमध्ये शेरार्बेसीका तीन वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग स्थानीयवासीको छ । “तीन वटा टावर स्थानान्तरण नगर्ने हो भने विद्यालयमा प्रत्यक्ष प्रभाव पर्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीले भने, “जुनसुकै मूल्य चुकाएर पनि हामीले स्थानान्तरण गराई छाड्छौं ।” अहिले डिजाइन भएको ठाउँभन्दा माथि र तलबाट लैजान सक्ने विकल्प रहेको अध्यक्ष अधिकारी बताउँछन । आगामी जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि पर्वतको देउपुर कोरुङ्गा र कास्कीको माछापुच्छे« गाउँपालिकाको लाहाचोकका दुई वटा सवस्टेशन अन्तिम चरणमा पुगेका छन् । प्रसारण लाइन निर्माणमा भने जग्गा विवाद र स्थानीयको अवरोधका कारण समयमा काम सम्पन्न कठिन भइरहेको नयाँमोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए । पर्वतमा कम विवाद भए पनि कास्कीमा प्रसारण लाइन बनाउन कठिन भएकाले परियोजना नै असफल हुने अवस्था आउन सक्ने चिन्ता आयोजना प्रमुख अग्रवालको छ । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीमा विद्यालयमा कुनै असर नै नपर्ने दाबी उनको छ । “अहिले डिजाइन भएको स्थानभन्दा माथिबाट लैजाँदा भिर र घर पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्गे पुलका कारण क्लियरिङ एरिया पुग्दैन”, उनले भने, “विद्यालयलाई पनि असर नपर्ने र सबै हिसाबले डिजाइन भएकाले स्थानान्तरण गर्ने सम्भावना नै छैन ।” प्रसारण लाइन बनेपछि देउपुरस्थित सवस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत् जोडिने छन् भने कास्कीको लहाचोक सवस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत् जोडिने छन् । रासस

झापामा ४ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल, अब धाउनुपर्दैन काठमाडौं-भारत

काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो। अत्याधुनिक उपकरण सहित बी एण्ड सी टिचिङ अस्पताल परिसरभित्रै अस्पताल संचालनमा ल्याईएको हो । सुरुवाती चरणमा अस्पताल १ सय शैया मात्र संचालनमा ल्याईएको र फागुनबाट पूर्ण रुपमा ३ सय शैया संचालन आउने निर्देशक प्रसाईले जानकारी दिए । अस्पतालमा रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार हुने उनले बताएका छन् । आफूहरुले संचालनमा ल्याएको मेसिनमध्ये टुयुबिम मेसिन र पेट सिटिस्क्यान नेपालमै पहिलोपल्ट संचालनमा ल्याईएको उनले दाबी गरे । अस्पताल पूर्ण रुपमा संचालनमा आउँदा १ हजार जनाले प्रत्यक्ष रोजगार पाउने प्रसाईले बताए । अस्पातलको अध्यक्षमा ईन्दिरा गिरी, प्रमुख कार्यकारी अधिकृतमा डा.निराजन प्रसाई र मेडिकल डिरेक्टरमा क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्र यादव रहेका छन् । भारतको मेदान्त अस्पतालमा ४ वर्ष काम गरेर फर्केका डा. विरेन्द्र यादवले अब पुर्वका क्यान्सर बिरामीहरुले भारत तथा काठमाडौंसम्म पनि धाएर दुःख पाउनु नपर्ने बताए ।

एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट हुने भएको छ । बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ८ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।  

श्रेष्ठ दम्पतीको हत्या भएको दुई महिनापछि फरार अभियुक्त पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताएका छन् । वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्त रूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौँबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी मादक पदार्थ सेवन गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राति खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेर पुरानो पैसा लुटेर फरार भएको पत्ता लागेको थियो । अभियुक्तको साथबाट लुटेर लगेको पुरानो पैसासहित अन्य सामग्रीसमेत बरामद गरिएको जनाइएको छ । अभियुक्तलाई बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरी प्रमुख पौडेलले बताए । रासस