टेलिकमको फोरजी डाटाबाट बढी फाइदा लिन कुन सेट प्रयोग गर्ने ?
काठमाडौं । नेपाल टेलिकमकाे फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि ग्राहकले छुट्टाछुट्टै मेगाहर्ज भएकाे दुई ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्ने छ । उपभोक्ताले १८०० र ८०० मेगाहर्ज ब्यान्डमा चल्ने जुनसुकै माेबाइल सेट प्रयोग गर्दा फोरजी डाटा सेवाबाट बढीभन्दा बढी फाइदा लिन सक्ने टेलिकमले जनाएकाे छ । कम्पनीका अनुसार मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ । फोरजीको अधिकतम फाइदाको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ । हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ ।
प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, प्लस २ पास गरेकाले पनि आवेदन दिन पाउने
काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो । इच्छुकले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । उक्त सबै पदका लागि न्यूनतम स्नातक गरेको हुनुपर्ने छ । साथै, बीमा व्यवसायमा लामो समय आवद्द भई अनुभव हासिल गरेकाहरुको हकमा प्लस २ उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने इन्स्योरेन्सले जनाएको छ । सो मध्ये शाखा प्रबन्धक र उपशाखा प्रमुख पदको लागि जीवन बीमा व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने सीप तथा क्षमता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । त्यस्तै, अप्रेशन सपोर्ट कर्मचारी पदको लागि शाखा संचालन सम्बन्धी सीप भएको व्यक्ति तथा अनुभवीलाई विशेष प्राथमिकता दिने इन्स्योरेन्सले जानकारी दिएको छ । योग्यता पुगेका तथा बीमा क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आगामी पुस २७ गते साँझ ५ बजेसम्म आवेदन दिनसक्नु पर्ने छ । आवेदक मध्ये राम्रो संचार, प्रस्तुति तथा कम्प्युटरमा दक्ष भएका तथा स्थानीयले बढी प्राथमिकता पाउने छन् ।
इरानमा गयाे ५.८ म्याग्नीच्युडको भूकम्प
तेहरान । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । रासस
भारतीय बसको ठक्करबाट एकको मृत्यु, पूर्वपश्चिम राजमार्ग दैजी–झलारी सडक अवरुद्ध
भीमदत्तनगर । पूर्वपश्चिम राजमार्ग दैजी–झलारी खण्ड सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले मङ्गलबार राति बेदकोट नगरपालिका–३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले आज बिहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नम्बरको बसले विपरीतदिशाबाट म १ प ९०२७ नम्बरको बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो । मृतकका आफन्तले शव बुझ्नसमेत मानेका छैनन् । मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन
वासिङ्टन डिसी । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दूध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ । चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो । ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए । अध्ययनको नेतृत्व गरेका डा. जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए । रासस
राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा बसेपछि बैंकले रिक्त प्रवक्ता पदमा डा. भट्टलाई नियुक्त गरेको हो । नियुक्त भएको दिनदेखिनै डा.भट्टले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो । बैतडीमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको हाे । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए । हिमपातले बाहिर निस्कनसमेत मुश्किल भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिए । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् । सिँचाइ नभएका क्षेत्रमा भने वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छन् । रासस
जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारीमा स्याङ्जा
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताए । “सरकारको १५औँ योजनामा समावेश गरिएअनुसार नै हामीले सबै वडामा जमिनको वर्गीकरण गर्नेछौँ”, नगरप्रमुख अधिकारीले भने, “प्राविधिकसँगको समन्वयमा भूमि वर्गीकरणको काम माघ मसान्तसम्म सक्न वडाध्यक्ष तथा जनप्रतिनिधिलाई सूचना जारी गरिएको छ ।” जग्गा धनीलाई जमिन बाँझो नराख्न आफैंले खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति अगाडि सारेको नगरप्रमुख अधिकारीले बताए । “आफ्नो जमिन बाँझो राख्ने तर अर्कालाई भाडामा दिन दुःख मान्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ”, नगरप्रमुख अधिकारीले भने, “तपाईको आफ्नो जग्गा कुन खेतीका लागि उपयुक्त छ त्यो यकिन गरी सोहीअनुसारको खेती थाल्नुहोस्, जग्गाको अवस्था हेरी जुन सम्भव छ त्यही गर्नुहोस् तर जमिन बाँझो राख्दै नराख्नुहोस् ।” जमिन बाँझै हुने अवस्था आएमा नगरपालिकाले बाँझो जमिनको कर बढाउने नीति लिने नगरप्रमुख अधिकारीको भनाइ थियो । “वैदेशिक रोजगारीका लागि यहाँका युवायुवती बाहिर जाने गरेका छन्”, नगरप्रमुख अधिकारीले भने, “ कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै वैदेशिक रोजगार र बसाइँसराइलाई निरुत्साहित गर्दै कृषिकै माध्यमबाट भू–उपयोग नीतिको कार्यान्वयन र भूमि बैंक स्थापनाको विकल्प गर्नुको छैन ।” नेपालको २७ प्रतिशत जमिन कृषियोग्य भए पनि भूमि बैंकको अभावका कारण कार्यान्वयनमा कठिनाइ रहेको मालपोत कार्यालय वालिङका प्रमुख हरिबहादुर भुजेलले बताए । विसं २०६८ को जनगणना अनुसार देशको ७४ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर भए पनि ५३ प्रतिशत जनतासँग आधा हेक्टरभन्दा थोरै जमिन भएको मालपोत अधिकृत भुजेल बताउँछन् । भूमि बैंक स्थापनले सामूहिक वा व्यक्तिगत रुपमा व्यवसाय गर्न खोज्नेका लागि जमिनको अभाव नहुने गल्याङ नगरपालिका– १ का वडाध्यक्ष एवं नगर प्रवक्ता गणेश बस्यालले बताए । ठाउँअनुसार जमिनको वर्गीकरण हुन आवश्यक रहेको प्रवक्ता बस्यालको भनाइ थियो । रासस