भन्सार दिवसमा नाडाले गर्यो करसम्बन्धी प्रशिक्षण कार्यक्रम
काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको बताए । उनले सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अघि बढाइने बताउँदै सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताएका छन् । भन्सार विभागका महानिर्देशक सुमन दाहालले काठमाडौंमा १३ वटा कर कार्यालय भए पनि एउटा मात्रै भन्सार कार्यालय भएको बताउँदै भन्सारसँग नागरिकको साक्षात्कार हुन नसकेको उल्लेख गरे । साथै, भन्सारका गतिविधि, कामहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने दाहालले बताए ।
सिद्धार्थ बैंकको नाफा १ अर्ब २ करोड, कर्जा प्रवाहमा आक्रामक
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिकोतुलनामा यो वर्षको ६ महिनामा सिद्धार्थको नाफा करिब साढे ४ करोड रुपैयाँले घटेको छ । बैंकमा ग्राहकको १ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप छ । गत असार मसान्तमा यस्तो निक्षेप १ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा बैंकमा करिब १२ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत असार मसान्तमा यस्तो कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा कर्जा तथा लगानी भने करिब १४ अर्ब रुपैयाँले बढेको छ । यो तथ्यांकले कर्जा तथा लगानीमा सिद्धार्थ बैंक आक्राम भएको संकेत गर्छ । गत पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा खुद व्याज आम्दानी २ अर्ब २८ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात १.५५ प्रतिशत छ । बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ११५.३४ प्रतिशत रकम राखेको छ । पुँजीको लागत ७.२७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत, आधार दर १०.०४ प्रतिशत, व्याज अन्तर ५.१७ प्रतिशत र रिटर्न अन इक्वीटी (आरओई) १३.८२ प्रतिशत छ ।
सागका पदक विजेता खेलाडीलाई एनआईसी एशियाले दियो १० लाख
काठमाडौं । एनआईसी एशिया बैंकले १३ औं दक्षिण एशियाली खेलकुदका विजेतालाई ९ लाख ९५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा खेलकुदमा सहभागी विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप सो रकम बराबरको चेक प्रदान गरेको हो । उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन् । कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख आतिथ्यता रहेको थियो । यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हो । २१ लाखभन्दा बढी ग्राहक यस बैंकबाट प्रभावित छन् । उक्त बैंकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको नाफा १ अर्ब १४ करोड, निक्षेप १० अर्ब बढ्यो
काठमाडौं । सानिमा बैंकले ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकसँग ग्राहकको ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । गत असार मसान्तमा सानिमा बैंकमा ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप थियो । ६ महिनाको अवधिमा सानिमाले करिब १० अर्ब रुपैयाँ निक्षेप बढाएको छ । सानिमा बैंकले पुस मसान्तसम्ममा ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत असार मसान्तसम्ममा बैंकको कर्जा तथा लगानी ८१ अर्ब ४१ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा बैंकमा करिब १० अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा तथा लगानी भने करिब ७ अर्ब रुपैयाँ बढेको छ । बैंकले ६ महिनामा २ अर्ब १६ करोड ६७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । पुससम्मको नाफाको आधारमा बैंकले सेयरधनीलाई ९५ करोड रुपैयाँ बाढ्न सक्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । यस्तै, आधार दर ९.२९ प्रतिशत र व्याज अन्तर (स्प्रेड) दर ५.०४ प्रतिशत छ ।
अवैध उत्खननका कारण क्रसर उद्योग सञ्चालनमा रोक
महोत्तरी । क्रसर उद्योगले अवैध उत्खनन बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ । उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहलाई आआफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवाु प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए । जिल्लामा १५ स्थानीय तह रहेका छन् । उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमति विनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहेका सिंहले जानकारी दिएका छन् । चुरे पहाडि शृङ्खला र नदी एवं जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा ढुङ्गाको अवैध उत्खनन बढेको जन गुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन् । करिब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन् । आवश्यक कागजात उपलब्ध नगराउने र उत्खनन् कार्य जारी राखेका उद्योगलाई पूर्ण रुपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहतका नदी र नदीउकास जग्गामा क्रसर र बालु प्रशोधन उद्योग सञ्चालित छन् । उद्योगले जथाभावी उत्खखन् गर्दा बनेका खाल्डामा परेर बर्षेनी मानवीय क्षति हुँदै आएको छ । अवैध उत्खनन भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुुस २५ गते हत्या गरिएको थियो । रासस
सम्वृद्धिको मनसँगै उडे चरा (भिडियो सहित)
काठमाडौं । सङ्गितकार डम्बर खापुङको सङ्गितमाको सङ्गितमा “उडे चरा” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त खपुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्। भिडियोलाई जीवन शाहीले निर्देशन र छायांकन ओम प्रसाईले गरेका हुन् भने भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीको अभिनय हेर्न सकिन्छ ।
मन्दीको बेलामा टाटाकाे बजार हिस्सा बढ्यो, इकोस्पोर्ट र ब्रेजालाई नेक्सनको टक्कर
काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ । गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो । पुस मसान्तसम्ममा यो हिस्सा १३.८ प्रतिशत भएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले जनाएको छ । जतिबेला टाटाको हिस्सा १० प्रतिशत थियो त्यतिबेलासम्म उसका उत्पादनहरु सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट, जेस्ट, टिगोर, टियागो, नेक्शन र हेक्सा बिक्री हुने गरेकाे थियाे । यस अवधिमा टाटाले केही उत्पादनहरु बन्द गर्यो । नेपालमा पनि सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट र जेस्टको बिक्री बन्द भयो । जबकी एक वर्षअघिसम्म टाटाका कार जीपको कुल बजारको ६० प्रतिशत हिस्सा सुमो, स्ट्रोम र एम्बुलेन्सले लिएका थिए । हाल सिप्रदीले टाटाका जम्मा ४ वटा मोडेल मात्र बिक्री गर्दै आएको छ । त्यसमा टिगोर, टियागो, नेक्शन र एच५ रहेका छन् । पाँच प्रकारका उत्पादनहरु बन्द हुँदा पनि नेपाली अटो बजारमा टाटाकाे हिस्सा भने १० बाट बढेर १३.८ प्रतिशत पुगेको छ । भन्सारबाट नेपाल भित्र्याएका अन्य ब्राण्डका सवारी साधनको संख्यासँग सिप्रदीले बिक्री भईसकेको सवारी साधनको संख्यासँग तुलना गरिएको सिप्रदीले जनाएको छ । ‘भन्सारबाट भित्रिएका अन्य ब्राण्डका सवारी साधानको संख्यासँग टाटाको बिक्री भईसकेको संख्यासँग तुलना गरेका छौं । स्टकमा भएको सवारी हामीले यसमा जोडेका छैनौं’ सिप्रदीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । यदि टाटाले पनि भन्सारबाट भित्रिएका आफ्ना सम्पूर्ण मोडेलहरुलाई आधार मानेको थियो भने उसको बजार हिस्सा अझ बढेको देखिने थियो । ‘सुमो, स्ट्रोम र एम्बुलेन्स बजारमा भइरहन्थे भने त झन् अहिले टाटाको बजार सेयर २० प्रतिशतको हाराहारीमा पुग्ने थियो’ उनले भने । कसरी बढ्यो टाटाको सेयर ? टाटाको बजार हिस्सा बढ्नु मुख्य कारणका रुपमा उसले परिवर्तन गरेका सेल्स टेक्निकहरुलाई लिएको छ । ‘हामीले रिसर्च एण्ड डेभलपमेन्ट तर्फ बढि मिहिनेत गरिरहेका छौं । उपभोक्ताको चाहाना र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं’ उनले भने । कमर्सियल गाडीतर्फ बजारमा लगभग एकछत्र राज गरेको सिप्रदीले प्यासेन्जर सेगमेन्टमा ठिक समयमा प्रवेश गरेकोले नतिजा राम्रो ल्याउन सकेको सिप्रदीको विश्लेषण छ । सिप्रदी नेपाल हरेक वर्ष बढी कर तिर्ने कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित समेत हुदै आएको छ । प्रभावशाली ब्राण्ड ‘नेक्सन’ टाटाले नेक्सनलाई नेपाली बजारमा भित्र्याए पश्चात् नेक्सन हाल सीयूभी सेग्मेन्टमा ३० प्रतिशत बजार सेयर ओगट्दै हाइयेस्ट सेलिङ्ग प्रोडक्ट बन्न पुगेको कम्पनीकाे भनाइ छ। त्यसैगरी हाल सेडान सेग्मेन्ट तर्फ भने टिगोरले प्रथम स्थान ओगट्न सफल भएको सिप्रदीको जनाएको छ । नेपालकाे कार बजारमा सबैभन्दा ठूलो हिस्सा भनेको ह्याचब्याक सेग्मेन्टको हो जसमा प्रतिष्पर्धा गर्नका लागि टाटासित राम्रो प्रोडक्ट सुरुवातबाटै थिएन । सो सेग्मेन्टमा बृद्धि ल्याउनका लागि टाटाले उपलब्ध मोडेलको नयाँ भेरियन्टहरु लिएर आयो । यसले गर्दा टाटाको ह्याचब्याक तर्फको हिस्सा ६ प्रतिशतले बढ्दै हाल ८ प्रतिशतसम्म पुग्न सफल भएको छ । ६ प्रतिशत ह्याचब्याकमा बृद्धि हुनासाथ टाटाको कुल बजार हिस्सा बढेर १३.८ प्रतिशत हुन पुगेको हो । ब्रेजा र इकोस्पोटलाई चुनौति नेक्सनको बजार हिस्सा बढिरहँदा यसले मारुती सुजुकीको ब्रेजा र फोर्डको इकोस्पोर्टको बिक्रीमा ठूलो धक्का लाग्न पुगेको बताइएको छ । मारुती सुजुकीले नेक्सनसँग प्रतिष्पर्धा गर्नका लागि नै ब्रेजाको मूल्यमा ६ लाख रुपैयाँ घटाइसकेको छ । तैपति उपभोक्ताको रुची नेक्सनतर्फ बढी देखिन्छ । विगतमा बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको रोजाइमा रहेको इकोस्पोर्ट स्थान पनि टाटा लिन लागेको छ । ‘आज हरेक बैंकले एउटा न एउटा नेक्सन लिएका छन् । सुपरमार्केट वा विग कन्फेरेन्स एरियामा गएर हेर्नु भयो भने सीयूभी सेग्मेन्ट नेक्सन नै धेरै देख्न सक्नुुहुन्छ’ उनले भने । यसैगरी सेडान सेग्मेन्टमा मारुती सुजुकी डिजायरको बजार हिस्सा पनि टाटाको टिगोरले खाइदिएको, ह्याचब्याक तर्फको मारुती सुजुकी सेलेरियो र हुण्डाई आइ१० सँग टाटाको टियागोले कडा प्रतिष्पर्धा गरिरहेको पनि उनको दावी छ । युवा वर्गप्रति लक्षित आफ्नो विल्कुलै नयाँ उत्पादन अल्ट्रोज एसयूभीलाई टाटाले यहि माघ महिनाको अन्त्यतिर नेपाल भित्र्याउने तयारी गरेको छ । यस प्रिमियम एसयूभीको नेपाली बजार प्रवेष पश्चात् यसले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता मोडेलहरुसँग कडा प्रतिष्पर्धा गर्नेछ । गत नोभेम्वर महिनामा टाटाले एच५ लञ्च गर्यो जसले विस्तारै मार्केट लिँदै गइरहेको छ । यस्ता कारणले गर्दा कम्पनीको शेयर थप बढ्ने सिप्रदीको विश्वास छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट, के के सेवामा पाउँछन् छुट ?
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउने छन् । अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् । चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) ले आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध गराउँदै आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले हाल ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।