विकासन्युज

निकासी पैठारी संघकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुनिलकुमार वंशल

काठमाडौं । आयात-निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४०औं साधारणसभाबाट सुनिलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । संघद्वारा जारी विज्ञप्ति अनुसार अध्यक्ष वंशलसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल छन् । त्यसैगरी, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता कार्यसमितिमा निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा चारजना सदस्य मनोनीत हुने व्यवस्था छ । निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ । संघको ४०औं साधारण सभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्सार र अन्तः शुल्कको मुद्दा सम्बोधन हुने भन्दै व्यापारमा विकृत व्यापार नगर्न आग्रह गरेका हुन् । पाम आयल भारत निकासीमा देखिएको समस्या सुल्झाउन सरकारले उच्चस्तरीय समिति गठन गरेको र चाँडै समस्या सुल्झने पनि बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीलाई नडराउन आग्रह गर्दै सरकार निजी क्षेत्रको साथमा रहेको बताए । स्वदेशी गार्मेन्टको निकासी बढाउन अमेरिकाको उच्च तहसम्म पुगेर पहल थालिएको उनकाे भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष हिमबहादुर रावलले मुलुकमा व्यवसायमैत्री वातावरण अझै बन्न नसक्दा निजी क्षेत्रको उत्साह सेलाउन थालेको बताए । साधारण सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका सतिषकुमार मोर र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सम्बोधन गरेका थिए । उनीहरुले अर्थतन्त्रको प्रगतिका लागि गर्नुपर्ने नीतिगत र प्रक्रियागत सुधार लगायत व्यवसायका समस्या बारे बोलेका थिए । साधारण सभाका अवसरमा संघका सदस्यमध्ये सबैभन्दा बढीलाई रोजगारी दिने रिलायन्स स्पिनिङ मिल्स, सबैभन्दा बढी राजस्व बुझाउने जिओ अटोमोबाइल्स प्रालि, निकासीबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अन्नपूर्ण भेजिटेबल प्रोटक्सटस प्रालि र महिला उद्यमी जमिला जोशीलाई सम्मान गरिएको थियो ।

आगामी माघ १७ गतेदेखि चौथो प्राङ्गारिक कृषि मेला, एक करोडको कारोबार हुने अनुमान

काठमाडौं । ललितपुरमा आगामी माघ १७ गतेदेखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला शुरु हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा पाटन संग्राहलय हुने उक्त मेलामा ५० भन्दा बढी स्टल राखिनेछ । चार दिनसम्म चल्ने सो मेला मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने भएका छन् । गरिने भएको छ । मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् । कार्यक्रममा बोल्दै मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढि स्टलहरु रहने जानकारी दिईन् । उनकाअनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसँग समन्वय गरेकाे बताइन् । कार्यक्रममा पूर्वमन्त्री समेत रहेका अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले पनि मेलाको बारेमा प्रकाश पारेका थिए । उनले नेपालको पूरानो वैदिक कृषि प्रणाली नै अहिलेको प्राङ्गारिक कृषि प्रणाली रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल सरकारले कृषि मन्त्रालयको तर्फबाट प्रत्यक्ष रुपमा किसान तथा कृषकहरुलाई लाभ हुनेगरि नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’ आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने रहेको छ । मेलाका लागि ३० लाख खर्च हुने र १ करोड कारोबार हुने अनुमान मेला आयोजक समितिले गरेको जानकारी दिएको छ ।

अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा प्रत्याभूतिमा ग्लोबल आईएमई र कुमारी क्यापिटल

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो । सो सम्बन्धि अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

१० अर्बको स्टक डिलर कम्पनी खोल्दै सीआईटी, एनटीसी र पुनर्बीमा कम्पनी पनि संस्थापक

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले स्टक डिलर कम्पनी खोल्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । सीआईटीले भोलि (१३ माघ) कम्पनी दर्ता गर्ने तयारी गरेको भएपनि नेपाल टेलिकम (एनटीसी) ले निर्णय गर्न ढिलाई भएका कारण रोकिएको छ । सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न स्टक डिलर कम्पनी स्थपना गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । डिलर स्थापनाको सबै प्रक्रिया पूरा भएकोले केही दिनमा नै दर्ता गरिने डा. कट्टेलले बताए । ‘सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गर्न लागेका हौं, बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम डिलरले गर्नेछ,’ डा. कट्टेलले भने । कम्पनीका सीआईटीको ५१ प्रतिशत सेयर रहनेछ । यस्तै, १० प्रतिशत सेयर लिने निर्णय नेपाल पुनर्बीमा कम्पनीले गरिसकेको छ । कम्पनीमा नेपाल टेलिकम पनि संस्थापक सेयरधनीको रुपमा रहने भएको छ । टेलिकमले ९ प्रतिशत सेयर लिनेछ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्टयाइनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । यसरी बजारबाट रकम उठाउँदा दुई विकल्पमा उठाउनेछ । ‘स्टक डिलर कम्पनीले एउटा बास्केट बनाउँछ, त्यो बास्केटमा ५ देखि १० अर्ब रुपैयाँ बजारबाट उठान्छ, यसरी बास्केटमा पैसा हाल्नेले बजारको व्याज दरअनुसार व्याज लिने वा सेयर खरिदविक्रीबाट प्राप्त हुने लाभहानीमा सहभागी हुन पनि पाउने छन्, जुनसुकै विकल्प पनि प्रयोग गर्न पाइने परिकल्पना गरेका छौं,’ डा. कट्टेलले भने । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको हो ।

बल्ने ढुङ्गाको आशले गुमेको त्यो ५० लाख रुपैयाँ, जुन रुपैयाँले ६ जनालाई प्रहरी खोरमा पुर्यायो

काठमाडाैं । गत बिहिबार एउटा समूहले काठमाडौं महानगरपालिका वडा न. १५ भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरूङलाई अनेकन प्रलोभन देखाएर उनीबाट ५० लाख रुपैयाँ लुटे । लुटपाटमा संलग्न मध्येका एक हुन् भीमबहादुर घर्तीमगर । उनले गुरुङलाई ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ’ भन्दै प्रलोभनमा पारे ।  त्यही प्रलोभनमा परेर गुरुङले पनि ५० लाख रुपैयाँ ल्याएर त्यहीँ पुगे । उनको हातमा त्यो पैसा देख्ने बित्तिकै उनीहरुले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरी त्यहाँबाट भागे । गुरूङले उनीहरु विरुद्ध उजुरी गरेसँगै लुटपाटमा संलग्न ६ जनाको समूहलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा न. ५, गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया गाउँपालिका–२ खड्कुका ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाईबा रहेका छन्। महानगरीय अपराध अनुसन्धान टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले लुटेराहरूले काठमाडौं उपत्यकाभित्र अलौकिक वस्तुहरू बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान आफूसँग छ भनेर खरिदका लागि एकान्तमा बोलाई मिलेर लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । सिंहले लुटपाटमा संलग्नहरूलाई उपत्यकाको विभिन्न स्थानदेखि पक्राउ गरिएको बताए । लुटपाटमा संलग्नमध्येका मगरले गुरूङले उक्त रकम आफ्नै घर बैंकमा धरौटी राखेर लगेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जितको साथबाट २३ हजार ५ o रूपैयाँ, तेञ्जिङको साथबाट ५ लाख ८० हजार रूपैयाँ, भीमबहादुरको साथबाट ३ लाख ५ हजार रूपैयाँ, नकुरको साथबाट ४ लाख ३१ हजार रूपैयाँ, कुमारको साथबाट २ लाख २ हजार रूपैयाँ र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रूपैयाँ बरामद गरिएको छ। लुटपाटपछि पाएको ५ लाखमध्ये सञ्जितले २ लाख ११ हजार सानिमा विकास बैंकमा बचत गरेको, ७७ हजारमा सुनको औंठी बनाएको, ओप्पो मोबाइल १९ हजारमा खरिद गरेको र घर बनाएको ऋण तिर्न दिदीलाई १ लाख रूपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। भीमबहादुरले भने लुटपाटपछि पाएको ७ लाखमध्ये लु ५९ प २१३५ न. को २२० सिसीको पल्सर मोटरसाइकल ३ लाख ३० हजार रूपैयाँमा किनेको र नगरकोटमा एकरात बसी होटलमा खर्च गरेको पाइएको छ। दावाछिरिङले भने पाएको ५ लाखमध्ये १ लाख ५० हजार रूपैयाँ ऋण तिरेको, कुमारले पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार रूपैयाँ घरभाडा तिरेको, १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको र नकुरले भने पाएको ५ लाखमध्ये ३० हजार फाइनान्समा किस्ता तिरेको र अन्य खाएर मासेको सिंहले बताए। उनीहरूबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँ, लुटपाटमा प्रयोग गरिएका ३ थान मोटरसाइकल, लुटिएको पैसाले किनेको १ थान मोटरसाइकल, लुटिएकै पैसाले किनेको सुनको औंठी १ थान, नागरिकता, मोबाइल, खुकुरी, फोल्डिङ हुने रड पनि बरामद गरिएको बताए ।

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यायो कपडा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित उक्त विद्यालयका ११० विद्यार्थीलाई सो सहयोग गरेको हो । उक्त न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

रुपन्देहीको धकधइमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले रुपन्देहीको धकधइमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै, प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए । बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् । त्यस्तै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

काठमाडाैं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । आइतबार अपरान्ह बसेको प्रतिनिधिसभामा बैठकमा ज्येष्ठ सदस्यका हैसियतले राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले पारित गरेको थियो। प्रस्तावको समर्थकको रुपमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रहेका थिए। सभामुख पदका लागि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। गत सोमबार नेकपाका तर्फबाट सापकोटाले सभामुखमा उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएको थिएन।