विकासन्युज

चितवनको विकास खर्च निरासाजक, ६ महिनामा ५ प्रतिशत मात्र

काठमाडौं । जिल्लाका प्रदेश कार्यालयमा विकासका लागि विनियोजन गरिएको बजेट छ महिनामा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको छ । सङ्घीय कार्यालयको पनि विकास खर्च निरासाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयमा विनियोजन गरिएको बजेट ३ अर्ब २३ लाख चार हजार रुपैयाँमध्ये पूँजीगततर्फ २ अर्ब १६ करोड ५३ लाख ३ हजार रुपैयाँ बजेट रहेको छ । पुस मसान्तसम्ममा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको उनले जानकारी दिए । प्रदेश सरकारको बजेटको चालुतर्फ पनि खर्च न्यून रहेको छ । गत छ महिनामा चालुतर्फ १८ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फको बजेट ८३ करोड ७० लाख एक हजार रुपैयाँ रहेको छ । त्यस्तै सङ्घीय सरकारले विकासका लागि विनियोजन गरेको बजेटको खर्च छ महिनामा २० दशमलव ७० प्रतिशत मात्र रहेको छ । भट्टराईका अनुसार सङ्घीय सरकारको १५ अर्ब ८३ करोड २२ लाख ८८ हजार बजेटमध्ये पूँजीगत खर्चतर्फ रु पाँच अर्ब ६७ करोड ७३ लाख रहेको छ । जसको २० दशमलव ७० प्रतिशत मात्र खर्च भएको हो । चालु आर्थिक वर्षतर्फ १० अर्ब १५ करोड ४९ लाख ८५ हजार रुपैयाँको ४८ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ । भट्टराईका अनुसार पुस मसान्तसम्ममा सङ्घीयतर्फ १५ अर्ब ४५ करोड २८ लाख ८८ हजार रुपैयाँ र प्रदेशतर्फ रु ३३ करोड २९ लाख ८५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । प्रदेश र सङ्घीय सरकारको विकासका आयोजनाको बोलपत्र आह्वान गर्ने, विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नेजस्ता काम भइरहेकाले खर्च कम भएको जनाइएको छ । यद्यपि शुरुका महिनामा काम नहुने र आर्थिक वर्षको अन्तिममा हतारमा काम हुने जनगुनासो रहने गरेको छ । रासस

गायिका आस्था राउत प्रहरीमा हाजिर

काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

रसुवागढीबाट झोला र पोका सामान आयातमा प्रतिबन्ध

काठमाडौं । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो । कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताए । उनले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने जानकारी दिए। स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले आग्रह समेत गरेको छ । सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने जनाएका छन् । यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार रुपैयाँ राजश्व आर्जन भएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अह्रोरात्र योगदान दिने सबैमा कृतज्ञता प्रकट गरे । सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पुर्याउनु हुने भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठलाई सर्वोकृष्ट कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो । यस्तै नेपाल र चीनबीच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ । सीमा क्षेत्रमा त्यस्ता रोग लागेका व्यक्तिलाई आवतजावतमा रोक लगाउने अस्पताल पठाउने र शङ्कास्पद व्यक्ति देखिएमा रसुवागढीमा रहेको हेल्थडेस्कमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको प्रजिअ भण्डारीले जानकारी दिए । रासस

‘वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न’

काठमाडाैं । “राष्ट्र का लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ्ग ” भन्ने नाराका साथ शुरू भएकाे तीन दिने एघारौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गतेबाट सुरु भएको उक्त प्रदर्शनी तथा प्रतियोगिता माघ १२ गते सम्पन्न भएकाे हाे । प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा “ राष्ट्र का लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ्ग ” नारा सहित ३ दिनसम्म चलेको थियो । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट ब्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर ब्राण्ड उत्पादन गर्दछ । गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देशवासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । यसका अलवा विभिन्न क्षेत्रहरुमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफनो सामाजिक दायित्व निर्वाहमा अहं भुमिका बहन गरेको छ ।

आस्कमीको अनलाइन जब फेयर माघ १५ र १६ गते, मोबाइलबाटै जागिर खोज्न सकिने

काठमाडाैं । आस्कमी म्यानेजमेन्टले यहि माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो । कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चाल नगर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ । नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसीबसी ल्यापटप वा कम्प्युटर बाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यबस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताईन्। उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टल आस्कमीकन्सल्टडटकम(www.askmeconsult.com) मा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेशन दिन सकिन्छ । ‘कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी जब फेयर बाटलिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हुनेमा हामी विश्वस्त छौं’ क्षेत्रीले भनिन् । क्षेत्रीका अनुसार यो नेपालको लागी बिल्कुलै नयाँ कन्सेप्ट हो । जब फेयर मा ५०भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्नेछन् भने कम्तीमा १ लाख जब सिकरहरुले अनलाईन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ । नेपालमात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन् । कुनै पनि कम्पनीले यो फेयरमा अनलाईन स्टल राख्न चाहेमा आस्कमीकन्सल्टडटकम (www.askmeconsult.com) मा जानुपर्नेछ भने जब खोज्नेहरुले आफूलाई पायक पर्ने स्थान र उपयुक्त जागिरमा आवेदन गर्न सक्छन् । यसरी प्राप्त आवेदन आस्कमीको सफ्टवेयरमार्फत सिधै सम्बन्धित कम्पनीमा पुग्नेछ भने कम्पनीहरुले आफूले खोजेको तथा योग्यता पुगेका आवेदकहरुलाई फोन गरेर अन्तर्वार्ताका लागि बोलाउने छन् । जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्कमीकन्सल्टडटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर एकाउण्ट बनाउनु पर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको प्रमूख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेज साथ रहेको छ । माछापु्च्छ्रे बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, इसेवा, फोन पे, लोन प्लस डिपोजिट डट कम जस्ता कम्पनीहरुले पनि सहकार्य गरेका छन्। रोजगारीका लागि पुलको काम गर्दै आएको आस्कमीले अनलाइन माध्यमबाट पनि पुलको काम गर्न लागेको हो ।

स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए । कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । त्यसैगरी, लघुवित्तको थर्पु शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ । तनँहुको म्याग्दे गा.पा- ४ घुम्तीमा माघ ७ गते देखि शुरु भई ९ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका २५ जना सदस्यहरु सहभागी भएका थिए । तालिममा डल/कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

इसेवा ११औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीकाे संघर्ष र सफलताको एक दशक

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ । एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् । दश वर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘यो एक दशक हाम्रालागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौं। आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । यस्तो छ इसेवाको दशवर्षे संघर्ष र सफलताको उतारचढाव सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ । इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्स्को टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले इसेवामार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् । सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए । आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा इसेवालेमोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा इसेवाले नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो । इसेवाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निःशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजनतथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।

टिभिएसको फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो सामाजिक सञ्जाल पेजबाट टिजर मार्फत् यस स्कुटरको एक झलक देखाएको थियो । यस स्कुटरमा फुल–एलईडी लाइटिङ्ग, फुल-डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टिभिएसको स्मार्टकनेक्ट टेक्नोलोजी लगायतका मोडर्न फिचरहरु समावेश गरिएको छ । स्मार्टकनेक्ट टेक्नोलोजी मार्फत् चालकले आफ्नो स्मार्टफोनलाई स्कुटरको इन्स्ट्रुमेन्ट क्लष्टरमा कनेक्ट गर्न सक्दछ । त्यसैगरी आइक्यूवमा लोकेशन देखाउनमा मद्दत पुर्याउने जियो-फेन्सिङ्ग, नेभिगेसन एसिस्ट, ओभर-स्पिड अलर्ट, लास्ट पार्क लोकेशन र इन्कमिङ्ग कल तथा म्यासेज अलर्ट्स देखिने डिस्प्ले लगायतका विशेषता पनि समावेश छन् । आइक्यूवको डिस्प्लेमा राम्रो भिजिविलिटीका लागि रात र दिनमा आफैं एड्जस्ट हुने गरेर लाइटिङ्ग मिलाइएको छ । आइक्यूवमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले स्कुटरलाई ७८ केएमपीएचको उच्चतम् गति प्रदान गर्न सक्दछ । त्यसैगरी यसमा रहेको २.२५ किलोवाटआवर लिथियम-आयन ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरको यात्रा तय गर्न सक्दछ । टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ । आइक्यूवमा इकोनोमी र पावर गरी दुइओटा राइडिङ्ग मोडहरु प्रदान गरिएको छ । अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडित यस स्कुटरमा सस्पेन्सनको काम टेलिस्कपिक फर्क र डुअल शक एब्जर्बर्सले गर्दछन् । बजाजले पनि आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई केहि दिन अघि भारतमा सार्वजनिक गरेको थियो जसको मूल्य पनि १ लाख १५ हजार रुपैयाँ नै तोकिएको थियो । हाल आइक्यूव चेतकको एउटा कडा प्रतिष्पर्धीको रुपमा रहेको छ ।