बैदेशिक रोजगारीमा महिलाः जागिर घरेलु कामदार, देश खाडीदेखि युरोपसम्म
काठमाडौं । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको छ । हालसम्म १ लाख ९ हजार १ सय ९९ जना महिलाहरु संस्थागत प्रणाली हुनै वैदेशिक रोजगारीमा गएका हुन् । बेरोजगारीले सिर्जना गरेको समस्या तथा घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै महिलाहरुले पनि देश छोड्ने क्रममा बढदै गएको छ । नेपालमा रोजगारीको अवसर नपाएसँगै वैदेशिक रोजगारमा जाने महिलाको उल्लेख्य स्वरुप बढेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा अधिकांश तराईका जिल्ला तथा प्रदेश २ का महिलाको बाहुल्यता छ । त्यस्तै बागमती प्रदेशको पहाडी जिल्लाका महिलाको बाहुल्यता भएसँगै मिश्रित समुदायको बसाई भएका तराईका जिल्ला बाहेक पनि बढ्दो छ । मुख्यतः काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लाबाट महिला बाहिरिने क्रम बढेको छ । पछिल्लो समय व्यक्तिगत प्रयासले नै वैदेशिक रोजगार महिलाको गन्तव्यको संख्या बढ्दै गएको छ । कुवेतमा सबैभन्दा धेरै महिला जाने गर्छन् भने त्यसपछि महिलाको गन्तव्य मुलुकको रुपमा जर्मनी स्थापित भएको छ । वैदेशिक रोजगारमा जाने अधिकांश महिलाहरु झापा र सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, मोरङ्ग, नुवाकोटका छन् । कुवेतमा २९ हजार ४ सय ६२ नेपाली महिला काम गरिरहेका छन् । ५ हजार १ सय ५१ संस्थागत र व्यक्तिगततर्फ २४ हजार ३ सय ११ जना रहेका छन् । हाल माल्दिभ्स जाने नेपाली महिलाको संख्या ५ हजार ४ सय ९५ जना रहेका छन् । त्यस्तै जर्मनी २ हजार १ सय ६३ जना गएका छन्, भने नेपाली श्रमिकको अर्काे गन्तव्य माल्टामा १ हजार ७ सय ८० जना नेपाली महिला काम गरिरहेका छन् । त्यस्तै, डेनमार्कमा १ सय ६५, टर्की २ सय ३०, इजरायलमा ८६, इजिप्टमा १ सय ५२, लेबनानमा ६८, स्वीडेनमा ४२ नेपाली महिला श्रमिक रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । अधिकांश महिलाहरु घरेलु कामका लागि रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा पछिल्लो समय व्यक्तिगत माध्यमद्धारा जानेको संख्या पनि बढ्दै गएको विभागले जनाएको छ ।
डिप्रोक्स लघुवित्तको सीईओमा शेषरमण आचार्य
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत(सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आचार्यलाई माघ २० गतेदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ आचार्यले आगामी चार वर्षसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
सेयर बजार बढ्ने क्रम जारी, नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको बढी कारोबार
काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । सोमबारको बजारमा नेप्से परिसूचक २.४९ अंकले बढेर १३४९.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले बढेर २८७.९१ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको एक अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँ एक लाख रुपैयाँ बराबरकोे सेयर किनबेच भएको छ । सोमबार तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनी र छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.०९ प्रतिशतले बढेको छ । सोमबार निर्जीवन बीमा समूह ५९, हाइड्रोपावर ४८ र विकास बैंक ३० अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४२ अंक र होटल समूह १७ अंकले ओरालो लागेका छन् । मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा ३.९२ प्रतिशत गुमाएका छन् ।
सवारी साधन पैठारी सहज गर्न आपूर्ति मन्त्रालयलाई अनुराेध
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधन पैठारी सहज गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुराेध गरेका छन् । अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आईपरेको भन्दै मन्त्रालयलाई उक्त अनुराेध गरेका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसीय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग सोमबार भेटवार्ता भएकाे छ । उक्त भेटमा सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले सवारी साधन पैठारीबारे थप स्पष्ट पारेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ड अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताए ।
महासंघ निर्वाचनः गुणनीधि तिवारीलाई दिनेश श्रेष्ठले टक्कर दिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् । प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा सक्रिय थिए भने उनका प्रतिस्पर्धी स्पष्ट भएको थिएन । काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष तथा वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले पनि आफू जिल्ला नगर समूहको उपाध्यक्षको दावेदारी सहित चुनावी अभियान शुरु गरेका छन् । वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालको समूहबाट तिवारीले उम्मेदवारी दिदै छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानको समूहबाट श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पछि जिल्ला नगर समूहकाे उपाध्यक्ष बलियाे र तेस्राे बरियताकाे पद हाे । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो बढेको छ । अहिले महासंघको चुनावका लागि उद्योगी व्यवसायीहरु आफ्नो टिम तयार पार्न आन्तरिक कसरतमा छन् ।
जबरजस्ती करणी गरी फरार हेमन सिंह बस्नेत पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका आरोपी हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबार पक्राउ गरेको छ । धादिङ्ग घर भएका हाल सोही स्थानमा बस्ने बस्नेतले गजुरीस्थित हलेदेखाेला बस्ने स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी निजले बोल्न कराउन नसक्ने गरी मुख थुनी जबरजस्ती करणी गरी फरार भएका थिए । भारतमा लुकिछिपी बसी पछिल्लो समयमा नेपाल आएका बस्नेत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको माघ २७ गते बुक क्लोज, यस्तो छ कारण
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो । बुक क्लोजको मिति घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ९ रुपैयाँले बढिसकेको छ । बजार खुल्दा प्रतिकित्ता ६७६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य करिब दुई बज्दा १.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
बागलुङका पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
गलकाेट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ । आइतबार पाँच होटल तथा रेष्टुराँको स्तरीकरण गरी स्टिकर प्रदान गरिएको वर्गीकरण छुट्याएर स्टिकर प्रदान गरिएको गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताए । सदरमुकाम गलकोटको तन्दुरी रेष्टुराँ, पुन रेष्टुराँ र पर्वत रेष्टुराँले ‘ग’ वर्ग अर्थात् सन्तोषजनक एवं उत्सव होटल, मुखै रसायो खाजा घरलाई ‘घ’ वर्गको अर्थात् सामान्य स्तरको स्टिकर प्रदान गरिएको छ । नब्बे अङ्कभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अङ्क ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुराँ ‘घ’ वर्गमा पर्नेछ । होटल तथा रेष्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराको व्यवस्थापन, लेबल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ वा छैनलगायत ५० वटा मापदण्डमा होटलको मूल्याङ्कन गरिएको छ । यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयं होटल व्यवसायी बताउँछन् । बागलुङमा कार्यालय स्थापना भएको एक वर्षमै खाद्य सुरक्षाका विभिन्न कार्य प्रभावकारी रुपमा गर्दै आएको छ । हालसम्म बागलुङका २० भन्दा बढी होटल तथा रेष्टुराँ स्तरीकरण भइसकेका छन् । स्तरीकरणका लागि होटल तथा रेष्टुराँ सञ्चालकले कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । होटल तथा रेष्टुराँ स्तरीकरण हुँदा व्यवसायीलाई नै फाइदा पुग्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । स्तरीकरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सहयोग गरेका छन् । उपभोक्ताले स्तरीकरणको आधारमा होटल तथा रेष्टुराँको पहिचान गर्न सक्ने र होटल व्यवसायीले शुद्धतामा ध्यान दिने भएकाले मापदण्डका आधारमा स्टिकर प्रदान गर्नु राम्रो काम भएको नगरपालिकाका बजार अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए । रासस