विकासन्युज

कृषि विकास बैंकको नाफा १ अर्ब ५८ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यो वर्ष बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा बढाएको छ । बैंकले सर्वसाधारणलाई १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब ८ अर्ब ८० करोड ६६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । गत पुस मसान्तसम्ममा कृषि विकास बैंकमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप थियो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च बढेको छ । गत वर्षको ६ महिनामा बैंकले ३ अर्ब ७० करोड ३७ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च ४ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ व्याज खर्च छ । गत वर्ष ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ६२ करोड १० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्ष ३ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ३.१९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ४.५ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.२ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.२३ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.१२ प्रतिशत छ । गत वर्ष ७८.६८ प्रतिशत थियो । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । कृषि विकास बैंकको आधार दर १०.१७ प्रतिशत छ । गत वर्ष आधार दर ११.१५ प्रतिशत थियो । आधार दर धेरै हुदाँ कर्जाको व्याज महंगो पर्छ । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ६.७३ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्ममा ५.२९ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

हेटौँडामा अवैध दश बालुवा प्रशोधन केन्द्र भत्काइयो

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा  सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सशस्त्र प्रहरी बल १४ नं गणका सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, डिभिजन वन कार्यालयका प्रमुखलगायतको सहभागितामा अनुगमन भएको थियो । यसक्रममा कुखरेनीखोल अवैध रूपमा सञ्चालन भएका बालुवा प्रशोधन केन्द्र भत्काइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।सो टोलीले कुष्माण्डा सरोवर त्रिवेणीधामदेखि दक्षिणमा मानव सेवा अश्रमसम्मको कुखरेनीखोलाको बगर अनुगमन गरेको थियो । ती क्षेत्रमा १० बालुवा प्लान्ट अवैध रूपमा सञ्चालन भएको पाइएको छ । त्यस्तै सो क्षेत्रमा चार वटा क्रसर उद्योगसमेत सञ्चालन भएको पाइएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिएका छन् । अनुगमन टोलीले उक्त क्षेत्रमा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा प्रयोग गरिएका उपकरणसमेत जफत गरेको जनाइएको छ । चुरे क्षेत्रमा अवैध रूपमा बालुवा प्रशोधन केन्द्र सञ्चालन भएको भन्ने सूचनाका आधारमा अनुगमन टोलीले उक्त क्षेत्रको अनुगमन गरेको उनले जानकारी दिए । ती क्षेत्रमा अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको संयोजक खुलालले बताए । अनुगमनपछि बसेको समितिको बैठकले नदीजन्य पदार्थको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया र वाग्मती गाउँपालिका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा तीन समूह बनाई नियमित अनुगमन गर्ने जनाइएको छ । ती क्षेत्रमा डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन हुने छ ।त्यस्तै, हेटौँडादेखि पश्चिम लोथरसम्म, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा तीन समूह बनाई डिभिजन वन कार्यालय मनहरिका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा निरन्तर अनुगमन हुने छ ।रासस

काठमाडौं-पोखरा नियमित उडान गर्दै श्री एयरलाइन्स, माघ २४ गतेबाट संचालन हुने

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको हो । उक्त सेवा माघ २४ गतेबाट संचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले हालै जनकपुरमा नियमित उडान शुरु गरेको छ । क्यानाडाको बोमबारडिएरबाट निर्माण गरिएको ड्यास ८ क्विु४०० (९एन-एएनई/९एन-एएनएफ) विमानहरुबाट पोखरा, जनकपुर, सिमरा लगायत विमानस्थलमा लक्षित गरी जनकपुरमा नियमित उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिबन्धित चिनियाँ पे एपले वैधानिक बाटो समाते, एनएमबी र हिमालयन बैंक सेटलमेन्ट पार्टनर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ महिनाअघि प्रतिबन्ध गरेको भुक्तानी सम्बन्धि दुई चिनियाँ एपले बैधानिक बाटो समातेका छन् । दुबै एपले नेपाली बैंकमार्फत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएका छन् । राष्ट्र बैंकबाट स्वीकृत नलिई नेपालमा डिजिटल भुक्तानीको काम गर्दै आएका चिनियाँ चर्चित एपहरु वीच्याट पे वा अली पेलाई नेपाल राष्ट्र बैंकले गत जेठ ६ गते नेपालमा प्रतिवन्ध लगाएको थियो । नेपाल भ्रमणमा आउने र नेपालमा व्यवसाय गर्ने चिनियाँले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा वीच्याट पे अथवा अलीपेबाट भुक्तानी गर्ने गरेका थिए । उनीहरुले गर्ने कारोबार नेपाली अर्थतन्त्रमा रेकर्डट नभएको, कर छलि भएको, नेपालले आर्जन गर्न सक्ने विदेशी मुद्रा गुमाएको भन्दै नेपाल राष्ट्र बैंकले यस्तो कारोबारमा रोक लगाएको थियो । राष्ट्र बैंकले रोक लगाएपछि बैधानिक बाटो समाउन बाध्य यी दुई एपलाई कारोबार गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । दुई वाणिज्य बैंकलाई चिनियाँ पेमेन्ट गेटवेको बैकिङ सेटलमेन्ट कार्य गर्न स्वीकृत दिएको राष्ट्र बैंक स्रोतले बतायो । केन्द्रीय बैंकले एनएमबी बैंकलाई ‘वीच्याट पे’को कारोबार सेटलमेन्ट गर्न स्वीकृत दिएको छ । त्यस्तै, हिमालयन बैंकलाई ‘अलीपे’को कारोबार सेटलमेन्ट गर्न स्वीकृत दिएको हो । वीच्याट पे चीनमा सर्वाधिक प्रयोग हुने एप हो । इन्टरनेटमा आधारित संचार र भुक्तानी दुबै प्रकारको सेवा भएकोले वीच्याट निकै प्रयोगमा छ । चिनियाँ नागरिकले मात्र होइन, चीन भ्रमणमा जाने, चीनमा बसोबास गर्ने विदेशीले पनि वीच्याट पे प्रयोग गर्दछन् । विदेश भ्रमणमा निष्कदा पनि चिनियाँले वस्तु तथा सेवा खरिद गर्दा वीच्याट पे वा अलीपेबाट भुक्तानी गर्दछन् ।

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडाैं । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले साेमबार(आज) राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रूपैयाँ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रूपैयाँ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर ९९ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए । निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ । रासस

बालबालिकामा ब्लड क्यान्सरको निको हुने दर ९० प्रतिशत, नेपालमा छैनन् विशेषज्ञ डाक्टर

यो एकदमै छिटो रक्तप्रवाहको माध्यमबाट स्वस्थ कोषहरुमा सर्दछ । यसले शरीरमा संक्रमणको साथै अन्य समस्याहरु निम्ताउने गर्दछ । बच्चालाई क्यान्सर हुन जति गाह्रो छ तर धेरै जसो बच्चा र किशोरकिशोरीलाई हुने ल्युकेमियाको सफलता पूर्वक उपचार गर्न सकिने विज्ञले बताएका छन् । किन हुन्छ ल्युकेमिया ? के कारणले ब्लड क्यान्सर हुन्छ भन्ने यकिन नभएको बालबालिका क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउँछन् । ‘यही कारणले बालबालिकामा क्यान्सर हुन्छ भन्ने नदेखिए पनि केही यस्ता कारणहरु छन्, जसले ब्लड क्यान्सर हुने सम्भावन बढेर जान्छ । आमाले गर्भवती अवस्थामा धुम्रपान गर्नु, परिवारमा कसैलाई क्यान्सर हुनु यसका कारण हुन सक्छन्,’ डा. सापकोटाले भने । लक्षण ब्लड क्यान्सरको प्रारम्भिक अवस्थामा पहिचान गर्न सके यसको सफल उपचार हुन्छ । सामान्य लक्षणहरु –लामो समयसम्म ज्वरो आउनु –अत्याधिक थकान तथा कमजोर महसुुस हुनु –खोकी लाग्नु –सास फेर्न गाह्रो हुनु –सजिलै चोटपटक लाग्नु र रगत बग्न बन्द नहुनु अन्य लक्षणहरु –हाडजाेर्नी दुख्ने –अनुहार, हात, पेट सुन्निने –भोक नलाग्ने, ताैल घट्ने –वान्ता हुने विकसित देशमा निको हुने दर धेरै कुनै पनि विकसित देशमा जन्मिएको बालबालिकामा क्यान्सर निको हुने दर ८० प्रतिशत छ । अफ्रिका जस्तो देशमा जन्मिएका बालबालिकाको निको हुने दर २० प्रतिशत हुने विभिन्न अध्यनले देखाएकाे डा. सापकोटा बताउँछन् । नेपालमा यसको यकिन तथ्यांक नभए पनि निको हुने सम्भावना करिब ४० प्रतिशत रहेको उनको भनाइ छ । नेपालमा बालबालिकाको क्यान्सरको अवस्था सन् २०१८ मा विश्वभर थप ३ लाख बालबालिकामा क्यान्सर लागेकाे फेला पर्याे । याे तथ्यांक अनुसार प्रतिदिन ८ सयभन्दा बढी बालबालिकामा क्यान्सरका नयाँ केसहरु देखिन्छन् । नेपालमा १५ वर्षसम्मका बालबालिकाको संख्या कूल जनसंख्याको ३५ प्रतिशत छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनले देखाए अनुसार नेपालमा पनि प्रत्येक वर्ष १५ सयदेखि २ हजार बालबालिकामा क्यान्सर लागेको हुन सक्ने भएपनि जम्मा ३ सय ५० बालबालिकामा क्यान्सर भएको फेला परेको छ । प्राथमिक तहमा क्यान्सर भए नभएको परीक्षण हुनै नसकेका कारण नेपालमा क्यान्सर पीडितको संख्या कम भएको हुन सक्ने विज्ञले बताए ।यसैकारण क्यान्सर भएको यकिन तथ्यांक नआउने र क्यान्सर भए नभएको पत्ता लगाउने दक्ष जनशक्ति र उपकरणको अभाव रहेको डाक्टरहरुको भनाइ छ । बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर सरकारी निकायसँग नेपालमा क्यान्सर पीडित बालबालिकाकाे यकिन तथ्यांक छैन । तर, ग्राण्डी अस्पतालको तथ्यांक अनुसार क्यान्सर भएकामध्ये ४५ प्रतिशत बालबालिकामा ब्लड क्यान्सर देखिएको छ, जुन अन्तराष्ट्रियस्तरको तथ्यांकसँग मिल्न जान्छ । यस्तै, १४ प्रतिशतमा आँखाको क्यान्सर (रेटिनोब्लास्ट), ११ प्रतिशतमा किड्नीको क्यान्सर (विल्मस ट्युमर), ९ प्रतिशतमा लिम्पलोमा क्यान्सर, ७ प्रतिशतमा न्युरोब्लास्टोमा, ४ प्रतिशत जेलसेल ट्युमर र बाँकी अन्य क्यान्सर रहेको छ । निको हुने दर ९० प्रतिशत अन्तराष्ट्रिय तथ्यांक हेर्दा बालबालिकामा देखिने क्यान्सर समग्रमा निको हुने दर ८८ प्रतिशत छ । यसमा सबैभन्दा धेरै होडकिन लिमफोमाको ९७ प्रतिशत छ । यस्तै, ब्लड क्यान्सरको निको हुने दर ९०.६ प्रतिशत छ । नेपालको अवस्थामा हेर्ने हो भने टाईफाईड जस्तो रोगको पनि निको हुने दर ९० प्रतिशतभन्दा माथि जाँदैन, जबकि क्यान्सर जस्तो भयावह मानिने यो रोग बालबालिकामा भने सजिलै निको हुन सक्ने डा. सापकोटा बताउँछन् । बच्चाले केमोथेरापी धान्दैन भन्नु गलत सानो उमेर भएकोले बालबालिकाको शरीरले केमोथेरापी धान्न सक्दैनन् भन्ने धेरैको बुझाई छ । तर, यो बुझाई गलत रहेको डा. सापकोटा बताउँछन् । ठुलो मानिसमा विभिन्न प्रकारको रोग हुने तर बालबालिकाहरुमा कुनै पनि प्रकारको रोग नभएको कारण उनीहरुले सजिलै केमोथेरापी लिन सक्ने र जसले उपचारको सम्भावना बढी हुने डा. सापकोटाले बताए । ३ वटा मात्रै सरकारी अस्पताल बालबालिकामा देखिने क्यान्सरको उपचार गर्न नेपालमा ३ वटा मात्रै सरकारी अस्पताल छन् । काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र यसको उपचार हुन्छ । २ जना मात्रै विशेषज्ञ डाक्टर नेपालमा हाल सरकारीस्तरमा दुईजना मात्रै तालिम प्राप्त बालबालिका क्यान्सर रोग विशेषज्ञ छन् । यसबाहेक थोरै संख्यामा केही प्राईभेट अस्पतालमा रहेका छन् । यस्तै तालिम प्राप्त नर्स एक जना पनि छैनन् ।

काठमाडौंमा आठौं घरजग्गा मेला हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ आगामी बैशाख ४ गतेदेखि मेलाकाे आयाेजना गर्ने भएकाे हाे । हरेक वर्ष आयोजना हुँदै आएको सो मेला यस वर्ष माईस इन्टरनेशल सर्भिस तथा सिन्थेसिस एक्जिविसन एण्ड इभेन्ट्सले संयुक्त रुपमा मेला आयोजना गर्न लागेका हुन् । नेपालको संविधानले आवासको हकलाई नागरिकको मौलिक हकको रुपमा अंगिकार गरेको यथार्थलाई मध्यनजर गरी प्रचलित कानुन तथा नीति बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास तथा जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायीहरु तथा उपभोक्तालाई लक्षित गरी मेला आयोजना गर्न लागिएकाे मेला संयोजक विदुर धमलाले बताए । भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आबद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादन तथा बिक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कल्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुसमेत मेलामा सहभागी हुने जनाइएकाे छ । उक्त मेलामा १ लाखले भ्रमण गर्ने आयोजकले अनुमान गरेको छ ।

सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

काठमाडौं । सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा विस्तार गरेको छ । बैंकले थप बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी)ले माघ २० गते संयुक्त रुपमा सम्पन्न गरका हुन् । उद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अन्य शाखाहरुबाट जस्तै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई बधाई दिँदै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिएका छन् । यससँगै बैंकको शाखा संख्या ७९ वटा पुगेको छ । बैंकले शाखा कार्यालयहरु तथा ७९ वटा एटीएमबाट सेवा दिँदै आएको छ ।