अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी सोमबारदेखि , १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदै
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । ‘कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा छन्’, अध्यक्ष रानाले भने, ‘कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।’ कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त ‘कुक’ बोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने देखिएको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ । यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीषबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख १० हजार, यमबहादुर श्रीषबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ । स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् । रासस
दिपायल विमानस्थलमा कालोपत्रकाे काम सम्पन्न
डाेटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो । विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।’ विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उनले जानकारी दिएका छन् । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो, अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करिब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ । विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “विमानस्थलको काम अलपत्र पर्छ कि भन्ने सोचेका थियौँ, अहिले पक्कीको काम सकिएको छ, अब त जहाज चल्ला कि ?” विमानस्थल कालोपत्रसँगै वरिपरिको जमिन सम्याउने, भवनमा रङरोगन लगाउने र गेट निर्माणको काम पनि सञ्चालन भइरहेको छ । दिपायलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ । उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटल व्यवसायी नन्दनसिंह कार्कीले बताएका छन् । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकास आफैँ हुनेछ ।’ दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताए । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुनेछ ।’रासस
म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै
बेनी । म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी सङ्घीय र प्रदेश सरकारले सात स्थानमा मोटरेबल पुल निर्माण गर्न थालेका हुन् । केही वर्षभित्र ती स्थानमा पक्की पुल निर्माण भई बस्तीहरु सडक सञ्जालसँग सिधा जोडिनेछन् । सङ्घीय सरकारअन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुई पक्की पुल निर्माण गर्दैछ भने प्रदेशअन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा पाँच स्थानमा पुल निर्माण हुनेछन् । बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने गरी निर्माण गर्न लागिएको पुलले वरङ्जाको बस्तीलाई सडक सञ्जालसँग जोड्ने छ । एक वर्षअघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत निर्माण थालेको उक्त पुलको अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल लागत रु १० करोड ७२ लाख १२ हजार ४०३ मा लुम्बिनी प्राकृतिक जेभीसँग विसं २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए । यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बावियाचौरदेखि वडा नं ५ अर्मनलाई सडक यातायातसँग जोड्ने गरी रु ११ करोड २४ लाख २५ हजार ५२ मा म्याग्दीखोलामा पक्की पुल निर्माण थालिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ४० प्रतिशत छ । पुल निर्माणपछि अर्मनको ठूलो बस्ती सडक सञ्जालसँग सिधा जोडिने छ । अर्मनमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पु¥याउन र स्थानीयवासीहरु आवतजावत गर्न सहयोग पुग्ने वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । साथै यो पुलबाट बागलुङको ताराखोलासम्मका स्थानीयवासी पनि लाभान्वित हुनेछन् । यसैगरी, धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण थालिएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दीखोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण थालेको हो । मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दीखोलामा ४० मिटर लामो पुल बन्ने छ । मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुन लागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाख २३ हजारमा ठेक्का लिएको छ । यस्तै फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि निर्माणाधीन जलविद्युत् आयोजनाका कारण समस्या भएकाले पुलको पुनः डिजाइन गरी निर्माणकार्यलाई अगाडि बढाउने तयारी भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार भारवाङघाटको पुल १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भई कार्यस्थलमा निर्माण कम्पनी खटिएको छ । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भएको छ । पुल निर्माण भएपछि दरवाङदेखि मुनासम्म सिधा सडक यातायात सञ्चालन हुनेछ । दाङखोलामा बन्ने पुलले ताकमको ठूलो बस्तीलाई सडक सञ्जालसँग जोड्न सहयोग मिल्ने छ । बिमदेखि मराङ जोड्ने अर्कलामा पक्की पुल बन्ने भएको छ । पुलको डिजाइन स्टिमेट तयार भएको कार्यालयले जनाएको छ । यसैगरी छिसबाङको बस्तीलाई मालिका गाउँपालिकाको केन्द्र दरवाङसँग जोड्न छ्याछ्यारेस्थित म्याग्दीखोलामाथि पक्की पुल निर्माणका लागि पनि डिजाइन स्टिमेट तयार भएको छ । यता बेनी नगरपालिका सिङ्गादेखि आगेबगर जोड्नका लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि डिजाइन सर्भेको काम अगाडि बढेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ढुङ्गानाले जानकारी दिएका छन् । ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी आवश्यक पर्ने स्थानमा पक्की पुल निर्माणका लागि जिल्लाले सिफारिस गरी पठाएका योजनालाई सङ्घ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । पुल निर्माणले ती बस्तीको जीवनयापनमा सकारात्मक परिवर्तन आउने र आर्थिक विकासमा टेवा मिल्ने उनको भनाइ छ । रासस
सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने
बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो । बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको बित्थडचीर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका यी स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरको व्यवस्थाको रूपमा विकास गर्ने भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा परेकाहरुलाई तत्काल स्वास्थ्य सेवा दिन र उनीहरुलाई सुरक्षित रूपमा अस्पतालमा पुर्याउने काममा सहयोग गर्न ट्रमा कर्नरले भूमिका निर्वाह गर्नेछ । उनले भने, ‘ट्रमा कर्नरको स्थापनाले दुर्घटनाका कारण ज्यान जानेको सङ्ख्यामा कमी आउनेछ ।’ सरकारले सुदूरपश्चिमका चारसहित देशका ५४ ठाउँमा ट्रमा कर्नर स्थापनाको तयारी भएको हो । प्रत्येक ठाउँमा ट्रमा कर्नर स्थापनाका लागि सम्बन्धित स्थानीय तहमा रु एक लाख ७० हजारका दरले बजेट विनियोजन गरिएको छ । राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा कर्नरमा चोटपटक लागेका नेपालका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । रासस
मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि
काठमाडौं । मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । २०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो । मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
नेपाली कम्पनीलाई लक्षित गर्दै एनसेलले ल्यायो माइक्रोसफ्टका तीन सेवा, के हो र कसरी लिने फाइदा ?
काठमाडौं । एनसेल प्राईभेट कम्पनीले नेपाली कम्पनीहरुलाई काक्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु दिने भएको छ । कम्पनीले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गत उक्त सेवाहरु प्रदान गर्न लागेको हो । उक्त सेवा शुरु गर्न एनसलले माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित एक कार्यक्रममा एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउने छ । अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्नदेखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझ नवीन कामहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् । त्यसैगरी, माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी परिचालन गर्न सक्ने छन् । त्यस्तै, कार्यलयभित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नयाँ सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलय भित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ । उक्त कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापक रुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तीव्र रुपमा विकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लागि एक रणनीतिक बजार हो ।”
एनआईसी एशियाको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालत परिसरमा
काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए । हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।
सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा चितवनमा
काठमाडौं । सनराइज बैंकले आफ्नो ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनीको गवै चितवनमा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले उक्त स्थनामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुखसुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो । सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि धुर्वकुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन भएको गरिएको कम्पनीले जनाएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ । हालसम्म बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैंकिङ्ग सेवा संचालन गर्दै जाने योजना बनाएको जानकारी गराएको छ ।