विकासन्युज

डेल्टिन समूहले शुरु गर्यो पहिलो अन्तर्राष्ट्रिय क्यासिनो, म्यारिएट होटलबाट २५० जनाले पाए रोजगारी

काठमाडौं । डेल्टिन समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनो शुरु गरेको छ । समूहले काठमाडौंको नक्सालस्थित होटल म्यारिएटबाट उक्त क्यासिनोको शुभारम्भ गरेको हो । एभरेष्ट हस्पिट्यालिटी एण्ड होटलसँग सम्झौता गरेसँगै कम्पनीले यो नयाँ परियोजना शुरु गरेको हो । यसमार्फत समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो-पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै, पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ । डेल्टिन समूह भारतको एक सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि विस्तार हुँदै आइरहेको छ । क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमाअभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो । यो क्यासिनो संचालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको कम्पनीले जनाएको छ । क्यासिनो शुभारम्भको अवसरमा डेल्टिन समूहका अध्यक्ष तथा सीईओ अनिल मलानीले भने,- “हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालनहाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका संचालक एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि. सँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं । हामी दुवै कम्पनीहरु उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौं । हाम्रो समान अवधारणा र मूल्य मान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ ।”

सामाजिक सुरक्षा कोषको निक्षेपमा भेदभाव

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने बैंकले कोषबाट निक्षेप नपाउने भएका छन् । सामाजिक सुरक्षा कोषले यस कोषमा सहभागी नहुने बैंकको मुद्धती निक्षेपमा रोक लगाएसँगै काेषकाे रकम निक्षेप गर्न नपाउने भएका हुन् । सामाजिक सुरक्षा कोषले बैंकलाई पटक-पटक कोषमा आवद्ध हुन आग्रह गरे पनि कोषमा बैंकको सहभागिता न्यून देखिएपछि कोषले यो प्रक्रिया अपनाएको हाे । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा संलग्न नहुने बैंकको मुद्धती निक्षेप कारोबार बन्द गरिएको छ । कोषमा संलग्न नहुने बैंकहरुलाई यसमा आवद्ध गराउने उद्धेश्यले सामाजिक सुरक्षा कोषले यसको कारोबारमा रोक लगाएको हो । रोजगारदाता र श्रमिकमा आधारित सामाजिक सुरक्षा कोषले ल्याएको योजनाप्रति बैंकको आकर्षण न्यून देखिएसँगै कोषमा आवद्ध हुने मनासायले मुद्धती निक्षेप कारोबारमा रोक लगाइएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । कोषमा सहभागी भएका बैंकलाई मात्र निक्षेप रकम दिन सुरु गरिने उनको भनाइ छ । ‘कोषको विषयमा बाहिर नै बसेर कुरा गर्नुभन्दा बैंकका सञ्चालक तथा कर्मचारीले कोषमा आएर चित्त नबुझेको कुरा राख्नु पर्छ, हामीले साे गुनासोलाई समाधान गर्ने प्रयास गर्छौं,’ उनले भने । बैंकको कार्यविधि परिवर्तन भएसँगै कोषमा संलग्न नभएका बैंकले निक्षेप रकम नपाउने ऐन जारी गरेको थियो । उक्त ऐन अनुसार सामाजिक सुरक्षा कोषले सो नियम लागु गरेको उनको भनाइ छ । कोषले रोजगारदाता र श्रमिकको सहभागिता बढाउने उद्देश्यले सबै प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पटक-पटक निर्देशन दिँदै आएको छ । वित्तीय संस्थालाई दवाव दिएर कोषमा आवद्ध गराउनु उचित नभएको बैंकरहरुले धारणा राखेका छन् । कोषमा सहभागी नभएका वित्तीय संस्थामा निक्षेप जम्मा नगर्नु काेषकाे विभेदकारी नियम भएको उनीहरु बताउँछन् । एक महिना भित्र सबै होटल व्यवसायी कोषमा आउने होटल एसोसिएसन नेपालले एक महिना भित्र सबै होटललाई कोषमा सहभागी हुन निर्देशन दिएको छ । लगानीकर्ता र कर्मचारीलाई कोषमा आवद्ध हुनका लागि निर्देशन दिइसकेको होटल एसोसिएन नेपालकी अध्यक्ष सृजना राणाले बताइन् । एक महिनाभित्र श्रमिकहरु कोषमा आवद्ध नभएमा त्यो होटल व्यवसायीको समस्या नभई कोषप्रति श्रमिकको असन्तुष्टि भन्ने कुरा बुझ्नु पर्ने उनको भनाइ छ । पछिल्लो समय लगानीकर्ता सामाजिक सुरक्षा कोषमा जान सहमत भएको उनले बताइन् । सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम रोजगारदाताले होटलमा कार्यरत श्रमिकहरुलाई सूचिकरण गराउने जिम्मा सम्बन्धित रोजगारदाताकै हो भन्ने उल्लेख छ । सो ऐन बमोजिम कोषमा सूचिकृत नहुनेलाई कसुरको रुपमा परिभाषित गरिएको छ । हालसम्म ७ प्रदेशमा १२ हजार १ सय ४६ रोजगारदाता आवद्ध भएका छन् । १ लाख ४५ हजार ३ सय ५७ जना योगदानकर्ता कोषमा संलग्न छन् । कोषले ७४ जिल्लालाई सूचीकरणमा समेटेको छ भने सुरक्षा बीमा रकम दावी गर्ने ६ जना आश्रित परिवारलाई सहायता रकमसमेत प्रदान गरेको छ । हाल सम्म कोषमा ५९ करोड ५ लाख ८५ हजार ८ सय ९८ रुपैयाँ जम्मा भएको बताइएको छ ।

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार(माघ २८ गते) अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

तीन दिने बिल्डकन एक्स्पो सम्पन्न, बुकिङ्ग गर्ने ग्राहकलाई दुई वर्षसम्म विशेष छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने छैटौं ‘बिल्डकन इन्टरनेशनल एक्स्पो २०२०’ सम्पन्न भएको छ । भारतको कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले “आम्दानी जती तपाईको, खर्च जती हाम्रो” नाराका साथ उक्त प्रर्दशनी आयोजना गरी सम्पन्न गरेको हो । महिन्द्राले आफ्ना उत्पादनहरु मोटर ग्रेडर(जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखेको थियो । साथै, उक्त उत्पादनहरुमा विभिन्न स्किमहरु ल्याएको कम्पनीले ग्राहकहरुलाई जानकारी गराएको छ । प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको कम्पनीका निमार्ण उपकरणका प्रमुख तारा थापाले जानकारी दिए । साथै, कम्पनीले एसी क्याबिन तथा नन एसी क्याबिनमा ग्राहकहरुको छनौटको आधारमा ब्याकहोई लोडर उपलब्ध गराउँदै आएको छ । जसले बजारमा रहेका अन्य मेसिनभन्दा कम ईन्धन खपत गर्दै शीघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने ई मेसिनहरु २ वर्ष अनलिमिटेड हायोर वारेन्टीको सुविधा रहेको उनले बताए । आफ्ना उत्पादनहरु ग्राहकहरुमा बिक्री वितरणकाे लागि कम्पनीले स्पोर्ट फाईनान्सको व्यवस्था गर्दै आएको छ । साथै, उक्त एक्स्पोमा बुकिङ्/डेलिभरी लिएका ग्राहकलाई एक लाख रुपैयाँ नगद छुट, दुई वर्षसम्म सम्पूर्ण सर्भिस म्याटेरियल फ्रि अफ कष्टमा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।

सीआइपीबाट सम्मानित हुने २५ व्यवसायी तस्विरमा (फोटोफिचर)

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो ।

फिलिपिन्सको निर्यात ७० अर्ब डलर, अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशत बढी

मनिला । फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए । अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए । हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो, लोपेजले भने । पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिएका छन् । गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ । फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ । रासस/सिन्ह्वा

सिटिजन्स बैंकका ग्राहकलाई एल्लो प्यागोडा होटेलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले एल्लो प्यागोडा होटेलमा विशेष छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच सम्झौता भएसँगै बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिँदा उक्त सुविधा पाउने भएका हुन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिईरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे । शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलि दिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुखप्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् । हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।