म्याग्दीको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार एक कार्यक्रमकाबीच विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा
काठमाडौं । एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले संयुक्त रुपमा गरेका हुन् । २४ वर्षदेखि ग्राहक सेवामा समर्पित बैंकले आफ्नो नविनतम सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ । बैंकले हाल १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणाली समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कर पुस्तकमा लगाइएको हो, ज्ञानमा होइन: डा खतिवडा
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले पुस्तक व्यापारमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता मन्त्री खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने सो कूरा बताएका हुन् । पुस्तकमा अन्य मुलुकमा पनि कर लाग्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पुस्तक व्यापारमाथि कर लगाइएको बताए । ‘छापाखाना उद्योगमा कर लाग्छ, कागजमा कर लाग्छ, मेसिनमा कर लाग्छ भने पुस्तक पनि व्यापार हो, व्यापारमा कर लगाउनु स्वाभाविकै हो।’, उनले भने ।
डिजेल र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले कर बृद्धि, अब मूल्य बढ्ने
काठमाडौं । डिजेल र पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढ्ने भएकाे छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएकाे हाे । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।
२१ गते सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाको आग्रह
काठमाडौं । फागुन २१ गते आफ्नो सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् । बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहणमा उपस्थित हुन आग्रह गरेका हुन् । २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने उनकाे भनाइ छ । उनी राष्ट्रियसभा सदस्यबाट दुई बर्षको अवधि सकेर फागुन २० गते बाहिरिँदैछन्। तर त्यसपछि पनि आफू नै अर्थमन्त्री हुने संकेत देखाएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । ‘मेरै बारेमा कुरा उठाउनुभएछ, राष्ट्रियसभा । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ । २१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ,’ उनले भने ।
बागलुङकाे एउटै मन्दिरमा १४ करोडको पूर्वाधार
गलकोट । धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ । मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती बालाजिधाम मन्दिर निर्माण गरिएको छ । भू–गर्भभित्र ७६ मिटर लामो शालिग्राम सङ्ग्रहालय, गरुड स्तम्भ तथा ताम्रा पत्रले छाएको सभाहल निर्माण, मुक्तिनाथ वेदविद्याश्रम, आवास, शौचालय लगायतको दर्जनौँ संरचना अहिले तयार छन् । केही संरचना अब निर्माणको अन्तिम चरणमा छन् । शून्यताबाट शुरु भएको अभियानमा सरकारीस्तरबाट रु तीन करोड र अरु दाताबाट स्वतःस्फूर्त प्राप्त सहयोगबाट यति बृहत्तर संरचना निर्माण गर्न सफल भएको श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा शुरुमा एक मन्दिर, एक सभाहल र मुक्तिनाथ वेद विद्याश्रम मात्र थिए । श्रीधराचार्यले तपस्या गरेको स्थानमा २०४० सालमा मन्दिर स्थापना भएको थियो । मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूूर्ण मानिँदै आएको छ । पछिल्लो समय श्रीधराचार्यको नाममा झण्डै रु छ करोड खर्च गरेर निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय हेर्न आउने पर्यटक बढ्का छन् । शनिबार १०० देखि २०० हाराहारी शालिग्राम सङ्ग्रहालय तथा कलात्मक शैलीमा निर्माण गरिएको बालाजीधामको मन्दिर हेर्न आउने गरेको प्रपन्नाचार्यले जानकारी दिए । रु पाँच करोडको लागतमा श्रीराम लेखेको ढुङ्गा तथा कलात्मक काठबाट नौ वर्ष लगाएर बालाजीधामको मन्दिर निर्माण गरिएको छ । जहाँ १०० किलोग्रामको शालिग्राम राखेर पूजा आरधना गरिँदै आइएको छ । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षणको लागि सङ्ग्रहालय निर्माण गरिएको हो । “हामीले पछिल्लो १० वर्षमा रु १४ करोडको संरचना तयार पारेका छौँ”, प्रपन्नाचार्यले भने, “जसमध्ये नेपाल सरकारका विभिन्न तहमार्फत रु तीन करोड सहयोग भएको छ अन्य दाताकै भरमा संरचना निर्माण गरेका छाैं, पछि फर्किएर हेर्दा हामी दङ्ग पर्ने गरेका छौँ ।” मन्दिर परिसरमा अत्यन्तै कलात्मक तरिकाले ताम्रापत्रले छाएको २०० भक्तजन क्षमताको सभाहल निर्माण भएको छ । बागलुङका समाजसेवी सहदेव राजभण्डारीका परिवारले रु एक करोड ५० लाख खर्चेर निर्माण गर्नुभएको थियो । सभाहल छेउमै १५ लाख रुपैयाँको लागतमा २५ फिट अग्लो गरुढ स्तम्भ निर्माण गरिएको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ सवा लाख शालिग्राम, दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मको कालीगण्डकी सभ्यताको नमूना चित्रणसमेत गरिएको छ । “कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम चोरी पैठारी हुँदा भविष्यमा यो हराउँदै जाने भन्दै संरक्षण गरिएको हो”, प्रपन्नाचार्यले भने, “सबैको सहयोगले यस्तो पवित्र कार्य सम्पन्न भएको छ ।” हिन्दू धर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । वैष्णव र सनातनीले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालिग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उनको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तरीलगायत दुई दर्जन बढी कृति प्रकाशित छन् । रासस
चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ: डा. खतिवडा
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने ।
स्व. अधिकारीको पूर्णकदको शालिक अनावरण
पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व. अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरे। उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताए । उनका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गराए । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताए । संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा राखेका छन् । सांसद खगराज अधिकारीले स्व. अधिकारीका सपनालाई पुरा गर्न अविचलित रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्व अधिकारीले देखाएको बाटोलाई आत्मसात गर्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिएका छन् । पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उनले जानकारी दिए । महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए । रासस