विकासन्युज

प्रभु बैंकले ल्यायो गुडलक सेभिङ निक्षेप योजना

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपिओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

कमलादीस्थित हेयर यन्ड शान्तिका ग्राहकलाई हेरचार डटकमकाे सेवामा दश प्रतिशत छुट

काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् । व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको कमलादीस्थित सैलुन हेयर यन्ड शान्तिबीच सो मात्रामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेयर यन्ड शान्तिका प्रबन्ध निर्देशक देवराज राजभण्डारी र हेरचार डटकमका प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार हेयर यन्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भारसम्बन्धि कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने भएका हुन् । अब छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाडौं बाहिर पनि हेरचारको सेवालाई विस्तार गर्न लागेको हेरचार प्रबन्धक भट्टराइले बताएका छन् ।

उडिरहेको हेलिकोप्टरबाट खस्याे जस्तापाता, स्थानीयवासी भए त्रसित र आक्रोशित

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गरेका छन् । उनले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ भने । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो रहेको छ । नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन भन्ने उल्लेख छ । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरुको क्षेत्राधिकारभित्र नभएको जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको विकल्प नभएको बताएका छन् । उनले ढुवानीको गर्दा सम्बन्धित कम्पनीले ध्यान दिन आग्रह गरे । जस्तापाता खसेको विषयमा छानबिन गर्न चालक गुन्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले भने, “हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौँ, अहिलेलाई ढुवानी बन्द गरिएको छ ।” यस विषयमा कैलाश एयरका व्यवस्थापक प्रतापजङ्ग पाण्डेसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । रासस

विनोद चौधरी भन्छन्ः अर्थमन्त्री हटाउने खेलमा म छैन, राख्ने हटाउने नेकपाको विषय हो

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफू अर्थमन्त्री डा. युवराज खतिवडा हटाउने खेलमा नलागेको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहित केही व्यवसायी अर्थमन्त्री डा. खतिवडालाई हटाउने खेलमा लागेको भन्ने गुनासो पार्टी बरिष्ठ नेता माधब कुमार नेपालसँग गरेको भन्ने समाचार सार्वजनिक भएपछि चौधरीको यस्तो टिप्पणी आएको हो । गत बुधबार नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गर्ने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको यस्तो निर्णयप्रति प्रधानमन्त्री ओली असन्तुष्ट थिए । उनी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने अडानमा थिए । प्रधानमन्त्री ओलीले सोही दिन साँझ बरिष्ठ नेता नेपाललाई निवासमै बोलाएर डा. खतिवडालाई अर्थमन्त्रीबाट हटाउने प्रयोजनका लागि गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न भनिएकोले आफू त्यसो गर्न नसक्ने जानकारी गराएका भन्ने समाचार सार्वजनिक भएको थियो । डा. खतिवडाले स्वच्छ व्यवसाय गर्न मात्रै दिने भएकोले गैरकानुनी रुपमा व्यापार व्यवसाय गरिरहेका केही व्यवसायी उनलाई हटाउने अभियानमै लागेको प्रधानमन्त्रीले बताएको समाचारहरुमा उल्लेख गरिएको थियो । केही संचारमाध्यमहरुले भने प्रधानमन्त्री ओलीले नेता नेपालसँग चौधरीसहित अर्का व्यवसायी अजेयराज सुमार्गी र गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि अर्थमन्त्री डा. खतिवडालाई हटाउने अभियानमा लागेका बताएका उल्लेख गरेका थिए । चौधरीले यही सन्दर्भलाई लिएर सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू अर्थमन्त्री डा. खतिवडा हटाउने अभियानमा नलागेको बताएका हुन् । ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन वा आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो,’ चौधरीले ट्वीटमा उल्लेख गरेका छन् । सम्बन्धित सामग्री निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार

प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्त रूपमा शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले राष्ट्रकै गौरवको रूपमा निर्माण भइरहेको रङ्गशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले वडास्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान तथा अण्डर–१९ टोलीका प्रशिक्षक दासले पर्यटकीय क्षेत्रको रूपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रूपमा विश्वले चिन्ने बताए । कार्यक्रममा भरतपुर–२१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकूद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका–१५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनियालगायतले भरतपुरलाई क्रिकेट खेलको केन्द्र बनाउन जोड दिएका थिए । प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वकप्तान खड्कालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले विजयी शुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा भरतपुर–५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले विजयी शुरुआत गरेको हो । निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर–५ ले १८ ओभरमा ९१ रन मात्र बनायो । प्रतियोगितामा महानगरका २८ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी तथा उपविजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस

समाधान उन्मुख नेकपा विवादः राष्ट्रियसभामा बामदेव, युवराज मन्त्री नै रहने

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडान जोगिने र सचिवालयको निर्णय पनि कार्यान्वयन गर्ने गरी विकल्प निकाल्न नेताहरु सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषदले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई नै सिफारिस गर्ने तयारी छ । गौतमलाई राष्ट्रियसभा सांसद सिफारिस गर्न सरकारलाई सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आफूलाई घेर्ने योजनासहित गौतमलाई राष्ट्रियसभामा लान सिफारिस गर्ने निर्णय सचिवालयले गरेको भन्दै सो निर्णय आफूले कार्यान्वयन नगर्ने अडान लिएका थिए । राष्ट्रियसभामा रिक्त रहेको पदमा मन्त्रिपरिषदले गर्ने निर्णय सरकारको अधिकार भएको भन्दै सचिवालयको निर्णय मान्न आफू वाध्य नहुने तर्क अघि सारेका थिए । प्रधानमन्त्री ओली आफू विरुद्ध षडयन्त्र भएको भन्दै राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ति गर्ने अडानमा थिए । सचिवालयको निर्णय एउटा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अर्काे अडानमा रहदा नेकपामा समस्या उत्पन्न भएको थियो । नेकपाका दोस्रो तहका नेताहरुले शिर्ष नेतृत्वबीच देखिएको टकरावको अवस्था साम्य पार्न नयाँ विकल्प अघि सारेको नेकपा स्रोतले बतायो । संविधानले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने अवसर प्रदान गरेकोले सांसद नभए पनि डा. खतिवडालाई मन्त्री बनाइराख्न खोजिएको हो । ‘बामदेव कमरेडलाई राष्ट्रियसभामा लाने र युवराजजीलाई मन्त्री नै राखिराख्न सचिवालयले विरोध नगर्ने गरी विकल्प सुझाएका छौं, सचिवालयका अधिकांश नेताहरु यो विषयमा सहमत देखिनु भएको छ, यसो गर्दा कसैले पनि हारेको वा जितेको महसुस गर्नु परेन, पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने गरी नेताहरुलाई जुँगाको लडाईं नलड्न सुझाएका छौं,’ नेकपाको दोस्रो तहका एक नेताले भने । यस्तै, राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट सांसद बनेका एक व्यक्तिको मृत्यू भएको कारण सो स्थान खाली छ । रिक्त रहेको स्थानमा पछि डा. खतिवडालाई सांसद बनाएर ल्याउन सकिने सुझाव नेकपा दोस्रो तहका नेताहरुको छ । ‘प्रधानमन्त्रीलाई युवराजजी नै चाहिने हो भने पनि विकल्प छ, राष्ट्रियसभामा रिक्त रहेको एक पदमा उहाँलाई उम्मेदवार बनाएर ल्याउन सकिन्छ, बामदेव कमरेडलाई अहिले राष्ट्रियसभामा ल्याउने र रिक्त स्थानमा युवराजजीलाई ल्याउन सचिवालयले निर्णय गर्नु उचित हुन्छ भनेर सुझाएका छौं,’ ती नेताले भने । डा. खतिवडालाई अर्थमन्त्रालय नै दिने कि अर्काे कुनै मन्त्रालय दिने भन्ने विषयमा भने उनले प्रधानमन्त्रीलाई नै रोज्न दिनुपर्ने बताए । मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीको भएकोले उपयुक्त मन्त्रालयको जिम्मा उपयुक्त व्यक्तिलाई दिन प्रधानमन्त्री स्वतन्त्र रहेको उनको भनाइ छ । यता राष्ट्रियसभामा सांसद बनाएपछि गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको छ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणको लागि चाढै नै अमेरिका जाने र ३ देखि ४ महिना आराम गर्नुपर्ने भएकोले कार्यवाहक प्रधानमन्त्री बनाउन गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको हो । उपप्रधानमन्त्री इश्वर पोखलेलको काम सन्तोषजनक नभएको भन्दै प्रश्न उठेपछि पोखरेलभन्दा बरिष्ठ उपप्रधानमन्त्री बनाएर गौतमलाई ल्याउने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि गौतमलाई कार्यबाहक प्रधानमन्त्री बनाउनु पर्ने लविङमा रहेकी दाबी स्रोतहरुको छ ।

मौलाकाली केबलकारलाई जग्गा प्राप्ति गर्न सरकारले दियाे स्वीकृति

काठमाडाैं । सरकारले विभिन्न आयोजना तथा संरचनाको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । यही फागनु १२ गतेको मन्त्रिपरिषद् बैठकले मौलाकाली केबलकार आयोजनाको क्षेत्रभित्र पर्ने (१०-१० मिटरसहित केही टावर संरचना रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैँडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिद्धार्थ केबलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका साविक आरुबोटे गाविस-५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापना, गोरखाको पालुङटार नरगपालिका साविक च्याङ्ली गाविस-५ को एक रोपनी जग्गा प्रहरी चौकी भवन, साविक खोप्लाङ गाविस-८ को ३-१-०-० रोपनी पर्यटकीय पूर्वाधार, साविक पालुङटार गाविस-७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस-४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए। सिरहाको नराहा गाउँपालिका-५ को ०-८-० बिघा जग्गा प्रशासकीय भवन, साविक बर्छवा गाविस-६ को ०-३-१ बिघाा दिनाभद्री प्राविको भवन र वडा नं ८ को ०-५-९ बिघा एक विद्यालयको भवन निर्माणको प्रदान गरिएको छ । बाराको देवताल गाउँपालिका साविक रौवाही गाविस-७ को ३-१२-१० बिघा बहुउद्देश्यीय रङ्गशाला निर्माण, झापाको गौरीगङ्ज गाउँपालिका-२ को ३-०-० बिघा ‘ल्याण्डफिल साइट’ निर्माण, गोरखाको धार्चे गाउँपालिका-५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ । बैठकले बागलुङको गलकोट नगरपालिका साविक मल्म गाविस-३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि, रौतहटको राजपुर नगरपालिका साविक राजपुर गाविस-३ को ०-१०-० बिघा नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ५ को ०-५-० बिघा स्वास्थ्य चौकी भवन निर्माणको लागि स्वीकृति दिएको छ । यसैगरी बैठकले स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गरेको छ । यस्तै संस्था दर्ता (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत र काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिए । रासस

नेकपा कार्यकर्तासँग प्रधानमन्त्रीको प्रश्नः दूरगामी महत्वका काम गर्दा आत्मभत्र्सना किन ?

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीब्र आर्थिक विकास गर्ने १० वटा देशमध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको बताएका हुन् । ‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीब्र गतिमा भइरहेका छन्, संसारका तीब्र आर्थिक बृद्धि गर्ने १० वटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ तर, यहाँ आफ्नै भित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रबृत्ति बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताए । तेह्रथुमको आफ्नो जन्मगाउँमा करिव ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ् सेवा सुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगबश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुश्प्रचार गरिएको उनको भनाई छ । ‘पुस्तौंदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरु भएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन, आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगबश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुइँचालो नै ल्यायो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना देशलाई समृद्ध र जनतालाई सुखी बनाउन गरिएको बताउँदै अनावश्यक विवादले नभई वैचारिक स्पष्टताले पार्टी बलियो हुने धारणा राखे । पार्टी आफैंमा साध्य नभएको भन्दै उनले देश निर्माणका लागि पार्टी महत्वपूर्ण साधन भएको पनि बताए । ‘पार्टी निर्माण नै गन्तब्य होइन, गन्तब्य देश निर्माण हो, त्यसका लागि पार्टी चाहिएको हो, पार्टीले निर्माण गरेको यस सरकारले दूरगामी महत्वका काम गरिरहेको छ,’ उनले भने । दशौंवर्ष अघिदेखिका जघन्य अपराध र भ्रष्टाचार अन्त्य गर्न सरकारले अग्रसरता लिएको वताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कदम विरुद्ध अन्य केही पार्टी माइतीघर मण्डलामा आउन थालेको बताए । ‘१२ वर्ष अघिदेखि पावरका भरमा लुकाइराखेका भ्रष्टाचारमा धमाधम कारवाही भइरहेका छन्, हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानविनका लागि राजीनामा दिन्छन्, अरु पार्टी माइतीघर मण्डलामा जुलुश निकाल्छन्, भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारवाही गरिन्छ,’ उनले भने ।