विकासन्युज

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

कलैया । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका छन् । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् । गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।रासस

परीक्षा सञ्चालन तथा पठनपाठन बन्द गर्ने निर्णय फिर्ता

कैलाली । धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आज फिर्ता लिएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आज पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ । रासस

पञ्चकन्या ग्रुपले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे । कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरुसमेत कार्यक्रममा प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल किन बन्द गर्दैन सरकार ?

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ । कोरोना फैलिएको देशबाट नेपाल आउने विमानलाई नेपाल सरकारले किन रोक्दैन ? किन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दैन ? अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा वा विदेशीहरु प्रवेश गर्ने नाका बन्द गर्दा के नेपाली भोकै मर्छन् ? सरकारको प्राथमिकता कोरोना महामारी रोक्ने हो कि अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्छ, विश्व सम्बन्धमा खलल पर्छ भनेर विमानस्थल चालु राख्ने ? किन सरकारले महामारीलाई प्रवेशको लागि ढोका खुला राखेको छ ? सर्वसार्धारणले प्रश्न गरिरहेका छन् । तर सरकार महामारीको ढोका बन्द गर्न तयार छैन । ‘नेपाल कोरोनामुक्त देश हो । विदेशीलाई नेपाल ल्याएर सुरक्षित बाँच्न दिनुपर्छ’ भन्ने पर्यटन मन्त्री योगेश भट्टराईको विचारपथमा सरकार हिडिरहेको आभास सर्वसाधारणलाई भईरहेको छ । सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ । तर अदालतको आदेश समेत सरकारले मानिरहेको छैन । सरकारी अधिकारीको तर्क अन्तर्राष्ट्रिय नागरिक उड्यन संस्था (आईकाओ), विश्व स्वाथ्य संगठन र अन्तर्राष्ट्रिय हवाई उडान सम्बन्धि सम्झौताहरुको आधारमा हवाई सेवा बन्द गर्न नसकिने सरकारी अधिकारीहरुको भनाई छ । ‘सर्बोच्च अदालतको आदेश वा सर्बसाधारणको भावनालाई मात्र आधार मानेर हामीले अन्तर्राष्ट्रिय उडानहरु बन्न गर्न सक्दैनौ । आईकाओ, डब्लुएचओ, अन्तराष्ट्रिय हवाई उडान सम्झौताले के भन्छ ? अन्तराष्ट्रिय अभ्यास के छ ? त्यसका आधारमा हामीले निर्णय लिनुपर्छ’ एक उच्च सरकारी अधिकारीले भने । नेपालबाट उडान जाने सबै देशमा कोरोना देखिएको तर नेपालले एक्लै चाहेर ती देशबाट हवाई सेवा बन्द गराउन नसक्ने उनको तर्क छ । विमानस्थलबाट कोरोना भाइरस नेपाल छिर्न सक्ने आशंकासहित त्यसलाई रोक्ने विषयमा मन्त्रालयमा नागरिक उड्यन प्राधिकरण प्रतिनिधि र विज्ञसँग पटक पटक छलफल भएको तर विमानस्थल बन्द गर्ने निर्णय नभएको स्रोतले बतायो । अरु देशले गरेको अभ्यास कोरोना भाइरस उत्पत्तिको देश चीन जाने सबै उडान अमेरिकाले बन्द गरेको तर अमेरिकाले चिनियाँ जहाज आउन नरोकेको उनले बताए । त्यस्तै, भारतले चीनतर्फको सबै उडान बन्द गरेको तर चीनबाट भारत जाने उडान भारतले नरोकेको उनले बताए । नेपालको हिमालयन एयरलाईन्सले चीनतर्फ साताको १५ वटा उडान भर्ने गरेकोमा कोरोना प्रकोपपछि सबै बन्द गरिएको तर चिनियाँ जहाज नेपाल आउने काम नरोकिएको उनले बताए । ‘पहिला चीनबाट सातामा ५० जहाज नेपाल आउँथे, अहिले सातामा ८ वटामा सीमित भएको छ’ उनले भने । दक्षिण कोरियाबाट सातामा ५ विमान नेपाल आउने गरेकोमा हाल ४ वटामा झरेको छ । नेपाल एयरलाईन्सले भने जापानमा अहिले पनि सातामा ३ वटा उडान जारी राखेको छ । धेरै देशले आफ्ना नागरिकलाई अत्यावश्यक पर्दा मात्र विदेश भ्रमणमा जान भनेकोले हवाई उडानको संख्यामा उच्च गिरावट देखिएको छ । विकसित देशहरुले हवाइ जहाजमा एक जना मात्र कोरोना संक्रमित यात्रु प्रवेश गरेमा विमानका सबै यात्रु, चालक तथा कर्मचारीलाई समेत कोरोना संक्रमणको जोहिम हुने भन्दै कडा स्वास्थ्य जाँच गरिरहेका छन् । विदेशी एयरपोर्टमा यसरी गरिने चाँजमा विश्वस्त हुँदै नेपाल सरकारले कडा कदम नचालेको जानकारहरु बताउँछन् । बन्द गर्दा नराम्रो सन्देश विमानस्थल बन्द गर्दा झन् नराम्रो सन्देश जाने सरकारी अधिकारीहरुको तर्क छ । ‘विदेशमा ६० लाख भन्दा बढी नेपाली छन् । उनीहरु नेपाल आउन चाहेको अवस्थामा फिर्ता हुन सरकारले सहयोग गर्नुपर्छ । यस परिवेशमा विमानस्थल बन्द गर्ने निणर्य गर्दा नराम्रो सन्देश जान्छ’ उनले भने । कोरिया, मलेसिया, जापान लगायत देशमा जाने नेपालीहरु कोरोनाको त्राससँगै नेपाल फर्कन चाहेका छन् । ‘हामीले विदेशी नागरिकलाई मात्र हेरेर भएन, आफ्नै देश फर्कन चाहाने नेपालीलाई पनि हेर्नुपर्छ’ उनले भने ।  सरकारले पछिल्लो समय विदेशीलाई दिने भिषमा कडाई गरेको, बढी जोखिम भएको देशका नागरिकलाई अनअराईवल भिषा बन्द गरेको, भिषा पाएका विदेशीले स्वास्थ्य परिक्षणको रिपोर्ट पेस गर्नु पर्ने लगायतको व्यवस्था गरिएको ती अधिकारीले बताए ।

प्रोफिट बुकिङको कस्तो प्रभाव रहला नेपाल लाइफको सेयरमा ? (समग्र विश्लेषण)

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ । गत साताअघिको बुलिश बजारमा समेत यी कम्पनीको सेयरमा उछाल आयो । अहिले प्रोफिट बुकिङ दर पनि यिनै कम्पनीमा उच्च छ । गत साताको सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भयो । यो कम्पनीको कारोबार बढ्दा अझै किन्ने कि बेच्ने ? यो कम्पनीको अहिले वित्तीय अवस्था के छ ? प्राविधिक विश्लेषणले लगानीसम्बन्धमा के भन्छ ? यिनै पाटोलाई यो विश्लेषणमा हेरिने छ । परिचय २०५८ साल बैशाखदेखि सञ्चालनमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हाल यो क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको छ । जर्मनीको ह्यानओभर री–लाइफ री–इन्स्योरेन्स कम्पनीबाट नेपाल लाइफ कम्पनी कै समेत बीमा गरिएको छ । कम्पनीमा ४ सय ३० कर्मचारी कार्यरत छन् भने १ लाख १० हजार ६ सय १२ अभिकर्ताले कम्पनीको लागि बीमा पोलिसी बिक्री गरिदिने काम गर्दै आएका छन् । कम्पनीले नौलो धन वर्ष, जीवन उन्नति योजना, जीवन साहारा, नौलो जीवन सम्वृद्धि, सदाबाहर जीवन बीमा, स्मार्ट जीवन बीमालगायतका योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २०१८ मा नेपाली राष्ट्रिय आर्थिक पत्रिका कारोबार दैनिकबाट सो वर्षको लागि बेस्ट इन्स्योरेन्स कम्पनी अफ दी इयर अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीमा संघइ, अग्रवाल र गोल्यान समूहको पकड छ । यी सूमहको कम्पनीमा ४६ प्रतिशतभन्दा बढी सेयर लगानी छ । कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी छ । गोविन्दलाल संघइ कम्पनीका अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृतमा विवेक झा छन् । अन्य लगानी कम्पनीले ५५ कम्पनीको सेयरमा लगानी गरेको छ । हालको बजार मूल्यको आधारमा यो लगानी रकम २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ६६ अर्ब रुपैयाँ बराबर दीर्घकालिन तथा अल्पकालिन लगानी र कर्जा लगानी गरेको छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । सो अवधिसम्म ५ वर्षमा कम्पनीले बार्षिक औसत ४७.९२ प्रतिशत लाभांश वितरण गरेको छ । बोनश दर बीमा योजना खरीद कर्ताहरुलाई कम्पनीले प्रतिहजार रुपैयाँ बराबर ६५ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । बीमा योजना अनुसार भने बोनस दर फरक फरक हुने गर्छ । हाल नयाँ कम्पनीहरुबाट समेत उच्च बोनस दर दिइन थालेकोले कम्पनीले दिने बोनस दर दोस्रो स्थानमा छ । जीवन बीमा कोषहरुले सञ्चालन गरेको बिभिन्न योजनाहरुबाट भएको आम्दानीहरु पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडालगायतका शिर्षकहरुमा राखिएको हुन्छ । यी आम्दानीहरु (बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आय) बाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकमलाई बीमा कम्पनीहरुमा बचत भनिने चलन छ । यही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ । बर्ष अन्त्यमा यस्तो कोषको मूल्यांकन गरेर वास्तविक दायित्व निकालिन्छ र सोभन्दा बढि भएको रकम (दायित्वमुक्त रकम) को १० प्रतिशत नाफामा र बाँकी बीमा योजना खरिद गरेका ग्राहकहरुलाई बोनस दर दिन प्रयोग हुन्छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ पहिलो स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी पहिलो स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा २५ प्रतिशतले वृद्धि भएर ३५ करोड रुपैयाँ पुगेको छ । हरेक वर्षमा बीमांकीय मूल्यांकन हुने भएकोले यस्तो मूल्यांकनपछि बार्षिक नाफा थप वृद्धि हुन सक्छ । कम्पनीको बचत शतप्रतिशतले वृद्धि भएर ११ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ अर्ब ६९ करोड जीवन कोषमा सारिएको छ भने १७ करोड ८४ लाख नाफा नोक्सान हिसाबमा सारिएको छ । योसँगै जीवन बीमा कोष ३७ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा समेत २८ प्रतिशतले रकम बढेर ४७ करोड पुगेको छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । –एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँबाट घट्दै –समग्र क्षेत्रगत उतारचढावभन्दा कम, नेप्सेमाभन्दा अधिक वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अझै १२ कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधामा कम्पनी पहिलो स्थानमा छ । यस बर्ष जारी भएका बीमा लेखहरुबाट कम्पनीले १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्मको कुल यस्तो आर्जन भने १ खर्ब ५ अर्ब छ । कम्पनीले हालसम्म २१ हजार ३ सय ४७ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ३ अर्ब १९ करोड ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबीमध्ये भुक्तानी हुन बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकनपछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । गत आवको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको पर्सिसटेन्सी रेसियो उच्च (९२.१२ प्रतिशत) छ । यसले ग्राहकहरुले कम्पनीको बीमा लेख ( बीमा योजना) लाई कत्तिको निरन्तरता दिएका छन् भन्ने देखाउँछ । यो दर उच्च हुनु राम्रो संकेत हो । हाल कम्पनीमा १२ लाख ५८ हजार बीमालेख कायम छ । कायम बीमा लेख संख्याको आधारमा कम्पनी दोस्रो स्थानमा छ । रिलायबल लाइफ नयाँ कम्पनी भएपनि पहिलो स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ७८ प्रतिशतसम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ७८ रुपैयाँसम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । यद्यपि बीमा कम्पनीमा केही वर्षदेखि नै यो प्रवृत्ति देखिएको छ र यसलाई नेपाली सेयर लगानीकर्ताहरुले पचाइरहेका छन् । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा उच्च उतारचढाव नै रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २१ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी १७.७१ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी २४.२१ छ । तर, यही समूहको सूचकको परिवर्तित अंकको आधारमा भने यो कम उतारचढाव सहितको रहेको छ । जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ५४.१८ छ । बुलिश प्रवृत्ति कायमै कम्पनीको सेयर मूल्य एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँ पुगेर घट्ने क्रममा छ । यद्यपि मूल्य बुलिश प्रवृत्ति मै रहेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा छ । हाल यो स्केलको ५५.७९ मा आएको छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि नै छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । यदी ७ दिने रेखालाई काटेर २१ दिने रेखामाथि लागेमा मूल्य घट्न सक्छ । मूल्य अन्तिम दिन बढेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य १ हजार ४ सय ५९ को पहिलो लिएर अगाडी बढ्ने र घट्न थालेमा १ हजार ७९ मा समेत टेवा परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन डोजी आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्यमा सुधार आउने संकेत गर्छ । यो दरिलो संकेत भने होइन । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ ।

आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुग्यो हिंसापीडित आश्रयस्थल

रोल्पा । जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाको लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो । साविकको महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो आश्रयस्थल पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढ्दै गएको छ । हालसम्म ३१२ ले आश्रय लिइसकेका छन् । तीमध्ये आठ पुरुषसमेत रहेको सहकारी संस्थाले जनाएको छ । बीसदेखि ४९ वर्ष उमेर समूहका हिंसापीडित भएर आश्रय लिएको देखिन्छ । सो उमेर समूहका २०२ जनाले सेवा लिएका छन् । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ५१ र ४९ देखिमाथि उमेर समूहका ५९ जनाले यो सेवा लिएको संस्थाका सचिव भावना शर्माले जानकारी दिएकी छन् । जातिगत रूपमा सबभन्दा धेरै दलित हिंसाबाट पीडित भएर आश्रय लिन आएको देखिन्छ । ब्राह्मण क्षेत्री ५९, जनजाति ८६ र दलित १६७ जनाले आश्रय लिएको उनले बताइन् । जिल्लामा जनजातिको बाहुल्य रहे पनि कम सङ्ख्यामा रहेका दलित नै हिंसामा पर्ने देखिएको संस्थाले जनाएको छ । हिंसाको मूल कारण अशिक्षा र गरिबी भएकाले यसको मारमा गैरदलितभन्दा दलित नै बढी देखिएको शर्माले बताएकी छन् । आश्रय लिनेमध्ये ठूलो सङ्ख्याका हिंसापीडित घरेलु हिंसाका छन् । शारीरिक हिंसा १२, मानसिक हिंसा ६१, सामाजिक हिंसा १७ र बालबाविवाहका आठ जनाले आश्रय लिँदा घरेलु हिंसाका २१० जनाले आश्रय लिएको सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । बलात्कृत आठ र इँटाभट्टा जाने आठ जनाले समेत आश्रय लिएका छन् । आश्रयस्थललाई बन्द हुन नदिन आफूले सक्दो समन्वय गरिरहेको जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले जानकारी दिए । प्रदेश सरकार तथा स्थानीय सरकारसँग यसको निरन्तरताका लागि आफूले बजेट विनियोजन गर्न समन्वय गरेको उनले बताए । आश्रयस्थल सञ्चालक समितिका अध्यक्ष तुलसी आचार्यले आश्रयस्थलको निरन्तरता जरुरी भएकाे बताए । रासस

 बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो । मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ ।

झापाको आम्दा अस्पताल बन्द हुने अवस्थामा

भद्रपुर । पूर्वोत्तर झापाको १५ श्ययाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गरेकाे जग्गामा सो अस्पताल निर्माण भएको थियो । आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायको सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ । स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्याउने यो अस्पतालको लक्ष्य थियो । साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउँछन् । “सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्याउन नसकेको हो”, उनी भन्छन्, “भवन, जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।” स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिनाले बताए । अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी दिए । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनले बताए । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउँछन् । अस्पतालले आव २०७२/७३ मा एक हजार १७०, २०७३/७४ मा एक हजार ८६३, २०७४/७५ मा ७१८, २०७५/७६ मा एक हजार ८६५ र चालू आव २०७६/७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको बताउँछन्। उनले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिए । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पूरै खाली रहेको पाइएको छ । स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पु¥याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पुर्याएको देख्दा दुःख लागेको बताए । उनले प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउँछन् । रासस