नवनियुक्त गभर्नर अधिकारी भन्छन्ः सबैसँग मिलेर काम गर्छु
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले अहिलेको विषम परिस्थितिमा सबैसँग मिलेर काम गर्ने बताएका छन् । सरकारले गभर्नरमा नियुक्त गरेलगत्तै विकासन्युजसँग कुरा गर्दै अधिकारीले अहिले विषम परिस्थिति रहेकोले सबैसँग मिलेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् । ‘अहिलेको परिस्थिति नै अलिक भिन्न प्रकारको छ, कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण विश्व आर्थिक मन्दीको अवस्था छ, यसको आर्थिक असर नेपालमा पनि देखिएको छ, यो परिस्थितिमा सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला सवैसँग समन्वय गरेर अघि बढ्छु,’ अधिकारीले भने । आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरको कार्यकाल ५ वर्षको हुन्छ । गत ५ चैतमा तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले अवकाश पाएपछि सो पद रिक्त थियो ।
लकडाउन थप ८ दिन लम्बियाे
काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) संक्रमण राेकथामका लागि नेपाल सरकारले लकडाउन ८ दिने थप्ने निर्णय गरेकाे हाे । अब लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म रहनेछ । अहिले बसकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय अनुसार नै मन्त्रिपरिषद्काे बैठकले निर्णय गरेकाे हाे । पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो ।
नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा महाप्रसाद अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् । गभर्नरमा नियुक्त भएसँगै उनी लगानी बाेर्डबाट विदा भएका छन् । आजै लगानी बाेर्डका कमर्चारीसँग विदा हँदै सहयाेगकाे लागि सबैलाई धन्यवाद दिएकाे छन् । कर्मचारीसँग विदा भएपछि उनी साेझै अर्थमन्त्री युवराज खतिवडालाई सिंहदरवार पुगेका छन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडा र अधिकारीबीच धेरै पुरानाे र निकट सम्बन्ध रहेकाे जानकारहरू बताउँछन् । अरूकाे प्रभावमा नपर्ने, दवावमा काम नगर्ने तर अत्यान्तै नरम स्वभावका अधिकारीलाई बैकिङ क्षेत्रले पनि रूचाएकाे छ । कर्पाेरेट क्षेत्र भने उनीप्रति धेरै खुशी नभएकाे जानकारहरू बताउँछन् । तर विकासन्युजसँगकाे संक्षिप्त कुराकानीमा समग्रमा वित्तिय क्षेत्रकाे स्थायीत्वकाे लागि काम गर्ने बताए । सरकारकाे नीतिलाई सघाउँदै निजी क्षेत्रकाे हित र वित्तिय क्षेत्रकाे स्थायीत्वमा जाेड दिने उनले बताए ।
सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपताललाई वितरण गर्यो पीपीई
काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र ५०० थान माक्स हस्तान्तरण गरेका छन् । साथै, तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका छन् । हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
चेम्बर अफ कमर्सद्धारा विभिन्न स्थानमा नगदसहित स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । धादिङ चेम्बर अफ कमर्सद्धारा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु ५५ हजार ५ सय ५५ हस्तान्तरण गरेका छन् । चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको छ । गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरियो । हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारृन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ । काभ्रे चेम्बर अफ कमर्सले माक्स, सेनिटाइर र पञ्जा वितरण गरिएकोे छ ।
ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनले पिपिइ सेट ११० थान पर्ठाए । प्रयाप्त पिपिइको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै पञ्जा एक हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थान रोल्पा पठाइएको छ । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जानकारी दिए । रोल्पाका १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री सङ्कलन गरिएको हो । जिल्लाबाट सङ्घीय संसद्मा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपत्का समयमा मतदातासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् । यसअघि पहिलो चरणमा ४० थान पिपिइ, चार हजार थान मास्क र १० थान ज्वरो नाप्ने थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन् । रासस
गृहमन्त्री थापाले भने,‘समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौं’
काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए । राष्ट्रिय समाचार समिति ९रासस० लाई विशेष अन्तरवार्ता दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जनाए । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो । लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रासससँगको कुराकानीका क्रममा गृहमन्त्री थापाले भने, “लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।” उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी ९लकडाउन० को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो । समग्र अवस्थाको मूल्याङ्कन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए । कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड– १९ को सङ्क्रमण भएको छ । यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ । यस्तै सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको उल्लेख गर्दै गृहमन्त्री थापाले विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने बताए । अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको, स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको जानकारी दिँदै उनले विपद्को समयमा नागरिकको सुरक्षा र अन्य प्रबन्धका लागिसमेत सुरक्षा निकाय नै अग्रमोर्चामा रहेर काम गर्ने स्पष्ट पारे । लकडाउनको समयमा अनावश्यक आवागमन रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप परिचालन गरिएको उल्लेख गर्दै उनले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक मात्रामा परिचालन गरिएको बताए । नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लङ्घन नगर्न सबैलाई आग्रह गरे । “आफ्नो र परिवारको स्वास्थ्यका लागिसमेत सबै नागरिक आफू आफैँमा जिम्मेवार हुनुपर्छ । कुनै अत्यावश्यक सामग्री खरिद तथा अन्य कुनै अत्यावश्यक काम परेको खण्डमा नजिकको सुरक्षाकर्मीको सहयोग लिन म आग्रह गर्दछु”, गृहमन्त्री थापाले भने । खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न र सहज आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका अनुमगन समिति बनाइएको र सो समितिले दैनिक जसो नै प्रतिवेदन दिने गरेको र सोही प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णयसमेत गर्ने गरेको उनको भनाइ छ । गृहमन्त्री थापाले लकडाउनको समयमा देशभित्रको समग्र शान्ति सुरक्षाको अवस्थासमेत मजबूत रहेको बताए । रासस
मेगा बैंकको सहयोग जारी, बागमती र कर्णाली प्रदेशलाई दियाे ५-५ लाख रूपैयाँ
काठमाडाैं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ । कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५-५ लाख रुपैंया सहयोग गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गरे । मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५-५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५-५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।