विकासन्युज

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

काठमाडौं । रुपन्देहीको बुटबलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । ‘समृद्ध नेपान निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा आधुनिक स्तरका स्टलहरु राख्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मेला मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले भने– ‘उद्योग संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेका जानकारी गराउन चाहन्छु । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाई १० वटा ‘पेभिलियन’ हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन । पसलको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।’ मेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता प्रर्दशनीले अर्थतन्त्र चलायमान बनाउन र माग बढाउन सघाउ पुग्ने बताए । उनकाअनुसार स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदनप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरु र सरकारी निकायबीच अन्तरसंवाद, आन्तरिक तथा वाह्य ओद्योगिक बातावरणको जानकारी दिने उद्देश्यले गर्न लगिएको मेलाले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्नेछ । परिसंघ अध्यक्ष पाण्डेले भने–‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । माग बढाउनुपर्ने पनि छ । यो किसिमको प्रदर्शनीले त्यसमा महत्वपूर्ण भुमिका खेल्नेछ । रुपन्देही उद्योग संघको अगुवाईमा निरन्तर प्रदर्शनि भइरहेको कार्यक्रम हो । यसले छुट्टै किसिमको माहोल बनाउनेछ । डिमाण्डलाई हामीले कसरी हुन्छ बढाउनुपर्छ । यही शिलशिलामा पुषको ३ देखि १७ गतेसम्म बुटवलमा मेला हुन लागेको छ ।’ प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिनेछन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५ सय स्टलहरु रहनेछन् । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । 

१२ हजारभन्दा बढी दर्ता : मुम्बईको घर–जग्गा बजारले बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा नोभेम्बर महिनामा सम्पत्ति (प्रोपर्टी) बिक्रीका सबै रेकर्ड ब्रेक भएका छन् । मुम्बई भारतकै सबैभन्दा ठूलो र सबैभन्दा महँगो प्रोपर्टी बजार मानिन्छ ।  सहरमा भइरहेको ठूला पूर्वाधार (इन्फ्रास्ट्रक्चर) र कनेक्टिविटी प्रोजेक्टहरूको कारण सहरको स्वरूप बदलिँदै गएको छ, जसले गरेर प्रोपर्टीको माग पनि तीव्र रूपमा बढेको छ । नोभेम्बरमा मात्रै सहरमा १२ हजार २१९ प्रोपर्टीहरूको दर्ता (रजिष्ट्रेशन) भयो, जुन गत वर्षको तुलनामा २० प्रतिशत बढी हो । यसले सरकारी आम्दानीमा पनि ठूलो लाभ पु‍र्याएको छ ।  रजिष्ट्रेशन र स्टाम्प ड्युटीमार्फत राज्य सरकारले १ हजार ३८ करोड भारु राजस्व आर्जन गरेको छ, जुन गत वर्षभन्दा १२ प्रतिशत बढी हो । यो विवरण महाराष्ट्रका इन्स्पेक्टर जनरल अफ रजिष्ट्रेशन एण्ड कन्ट्रोलर अफ स्ट्याम्प्सका तथ्यांकबाट पत्ता लागेको हो । द इकोनोमिस्ट टाइम्सको एक रिपोर्टअनुसार नाइट फ्र्यांक इन्डियाका सीएमडी शिशिर बैजल भन्छन्, ‘मुम्बईको आवासीय बजार नोभेम्बरमा पनि राम्रो गतिमा नै छ । सबै सेग्मेन्टमा माग बलियो छ र मानिसहरू उच्च श्रेणीका तथा महँगा घरतर्फ बढी आकर्षित भइरहेका छन् । पहिलो ११ महिनामा १ लाख ३५ हजारभन्दा धेरै युनिट दर्ता भइसकेका छन्, जसले बजारलाई धेरै सबल स्तरमा पुर्‍याएको छ । प्रत्येक महिनाको गतिविधि स्थिर र सन्तोषजनक छ । भोल्युम र राजस्व दुबैमा देखिएको स्थिरता मुम्बईमा परिपक्व माग चक्र र घर किन्नेबाहरूको विश्वासलाई देखाउँछ ।’ यस वर्षका पहिलो ११ महिनामा मुम्बईमा १ लाख ३५ हजार ८०७ प्रोपर्टी डिल भएका छन् । जसबाट सरकारले १२ हजार २२४ करोड रुपैयाँ राजस्व पाएको छ । यो वर्ष सम्पत्ति बिक्रीका हिसाबले ‘रेकर्ड ब्रेकिङ’ वर्ष साबित भएको छ । रजिष्ट्रेशन गत वर्षको तुलनामा ५ प्रतिशत बढेको छ भने राजस्व ११ प्रतिशतले बढेको छ ।  नोभेम्बरमा दर्ता भएका जम्मा प्रोपर्टीमध्ये ८० प्रतिशत आवासीय (रेजिडेन्सियल) थिए । ठूला र प्रिमियम घरहरू प्रति आकर्षण बढेको छ । ५ करोड रुपैयाँभन्दा बढी मूल्यका घरहरूको हिस्सा ७ प्रतिशत पुगेको छ जुन गत वर्ष ५ प्रतिशत थियो । १–२ करोड मूल्यका घरहरूको हिस्सा ३३ प्रतिशत रहेको छ भने १ करोडभन्दा कम मूल्यका घरहरूको हिस्सा घटेर ४२ प्रतिशत मात्र रहेको छ ।  २–५ करोड मूल्यका घरहरूको हिस्सा १८ प्रतिशत स्थिर यसले कम मूल्यका घरहरू महँगिँदा किन्न कठिन भइरहेको संकेत गर्छ । 

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबारबाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । कम्पनीका अनुसार यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो । 'बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं । आवश्यक तयारी पश्चात नयाँ नम्बर रेन्जका नम्बरहरु वितरण थालिएको छ । साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरुले उपझोक्ताका साथै सेवा प्रदायकहरुलाई समेत लाभ प्रदान गर्नेछ,' एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने । नयाँ नम्बरहरु वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्ट्रिगेटरअपडेट गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ । दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ । सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बनेको छ ।  

श्रम संस्कृति पार्टीले गर्यो काठमाडौंमा पहिलो औपचारिक शक्ति प्रदर्शन

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ । निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेपछि काठमाडौंमा आयोजना गरिएको यो सभा पार्टीको संरचना विस्तार र औपचारिक उपस्थितिको रूपमा अर्थ्याइएको छ । ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको उक्त सभामा धरान उपमहानगरपालिकाका मेयर तथा पार्टी अध्यक्ष हर्कबहादुर साम्पाङ स्वयं उपस्थित रहेका थिए । साम्पाङले भाषण सुरु गर्नु अघि गीतसमेत गाएका थिए। कार्यक्रममा पार्टीका सक्रिय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक सुरुवात साम्पाङले परम्परागत शैलीमा पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा श्रम, इमानदारी, सुशासन र स्थानीय स्तरबाट सुरु हुने राजनीतिक–सांस्कृतिक परिवर्तनका एजेन्डामा जोड दिइएको थियो । सभामा बोल्ने अधिकांश वक्ताहरूले श्रम–केन्द्रित राजनीति, भ्रष्टाचारविरुद्धको जनअभियान, स्थानीय विकासमा जनसहभागिताको भूमिका र वैकल्पिक राजनीतिक संस्कृतिका पक्षमा धारणा राखेका थिए । साथै, कार्यक्रममार्फत काठमाडौं उपत्यकामा पार्टीको संगठन विस्तार, नयाँ सदस्य भर्ना गर्ने योजना तथा आगामी राजनीतिक अभियानका कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट, न्यादी  ग्रुपको सबैभन्दा धेरै कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेर २६०६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सागर डिस्टीलरीको २३ करोड, पियोर इनर्जीको ९ करोड ७६ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९ लाख र झपा इनर्जीको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर स्याङ्गे हाइड्रो, स्वत्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशतले बढेका छन्  । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशतले घटेका छन् ।

सचिवमा बढुवाका लागि तीन सहसचिव सिफारिस, पौडेलको सम्भावना प्रबल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा शाखाले सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।  लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । सिफारिस सूचीमा परेका मध्ये सहसचिव राजेन्द्रकुमार पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन् ।  सहसचिव कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । यस्तै, इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठता आधारमा बढुवा हुने प्रचलन रहेकाले पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बढी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ । सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको सोमबार (आज) बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले जानकारी दिए । स्व. सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

कांग्रेसले एकैपटक सुरु गर्‍यो आमनिर्वाचन र महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचन र पार्टी महाधिवेशन दुवैको तयारीलाई एकैसाथ गति दिएको छ । पार्टीभित्र लामो समयदेखि रोकिएको सक्रिय सदस्यता नवीकरण र नयाँ वितरण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।  जिल्लाबाट प्राप्त विवरण समेटेर केन्द्रीय कार्यालयले सदस्यता सूचीको फाइनल तयारी गरिरहेको एक नेताले जानकारी दिए । यससँगै कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस प्रक्रिया पनि सुरु गरिसकेको जनाएको छ ।  संगठन विभागमार्फत जारी गरिएको परिपत्रमा स्थानीय तह, प्रदेश र जिल्ला समितिहरूलाई आ–आफ्नो क्षेत्रअनुसार योग्य, सक्षम तथा जित्ने सम्भावना भएका व्यक्तिहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय पठाउन निर्देशन दिएको छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभाका लागी उमेदवार छनौट गरेर पठाउन निर्देशन आएकोले जिल्लाले उम्मेदवार सिफारिस तयारी गरेको धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीनजना सिफारिस गर्ने केन्द्रको निर्देशन रहेको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीले विधानअनुसारका सबै संरचनालाई सक्रिय बनाउने उद्देश्य राखेको बताएको छ ।  संगठन सुदृढीकरण, आन्तरिक एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकतामा राख्दै कांग्रेसले द्वन्द्वपूर्ण राजनीतिक वातावरणबीच समयमै महाधिवेशन सम्पन्न गर्ने र आमचुनावमा प्रभावकारी रूपमा प्रस्तुत हुने रणनीति अगाडि सारेको केन्द्रीय सदस्य प्रकाश रसाइलीले जानकारी दिए । कांग्रेसभित्र सदस्यता नवीकरण र सिफारिस प्रक्रियाले चहलपहल बढाएको छ । विभिन्न समूह र नेताहरू पनि महाधिवेशनमा प्रभाव जमाउन सक्रिय देखिन थालेका छन् । आगामी केही साताभित्र अधिकांश प्रक्रियाहरू औपचारिक रूपमा सकिने पार्टी नेताहरूले बताएका छन्।