विकासन्युज

हुण्डीमार्फत कारोबार एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले हुण्डीमार्फत ५७ लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौं महानगरपालिका- १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत बढी ५७ लाख ४७ हजार ३५०  रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी सोमबार (आज) सार्वजनिक गरेको हो । पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।  

एनसेलको डेटा सेन्टर अवलोकन गर्दै सञ्चारमन्त्री खरेलले गरे सहयोगको प्रतिबद्धता

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डेटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् ।  खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ)  माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरे । अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेनजी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए ।  उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो । मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍‍याएको योगदानको प्रशंसा गरेका छन् ।  उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् । त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेनजी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसासमेत गरे । बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।  फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए ।  सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए ।  विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पुर्‍यायाउँदै एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ । नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याएको छ ।  

कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ । सम्झौतामा बैंकतर्फ मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई बुझाए ४० पृष्ठको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनका लागि तयार पारेको विस्तृत अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित कार्यालय पुगेका पोखरेलले आफू निकट नेताहरूको उपस्थितिमा उक्त अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे । अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई आफ्नो अवधारणापत्र बुझाएका हुन् । अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढिरहेका पोखरेलले सार्वजनिक गरेको यो अवधारणापत्र ४० पृष्ठको रहेको छ । नेताहरूका अनुसार उक्त दस्तावेजले पार्टीभित्र नेतृत्व परिवर्तनको स्पष्ट निष्कर्ष प्रस्तुत गरेको छ । महाधिवेशनमा बहसका लागि तयार पारिएको दस्तावेजमा नीति, कार्यदिशा र नेतृत्वमा आवश्यक देखिएको रूपान्तरणका एजेन्डा अघि सारेको बताइएको छ ।

सौर्य ऊर्जाबाट सञ्चालन हुने नेपालकै पहिलो नुडल्स उद्योग बन्यो 'करेन्ट नुडल्स’

काठमाडौं । करेन्ट नुडल्स उत्पादन गर्ने यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटामा ८६५ केडब्ल्यूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेको छ । कम्पनीले २३ नोभेम्बर देखि यस सौर्य ऊर्जाबाटै उद्योग सञ्चालन गर्न थालेको जनाएको छ । यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ । कम्पनीले आफूलाई 'नेपालकै पहिलो ग्रीन नुडल्स उत्पादन केन्द्र' का रूपमा स्थापित गरेको घोषणा गरेको छ । कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा जडान गर्ने पहिलो उद्योग यही हो । कम्पनीका अनुसार यस प्रणालीले उद्योगको करिब ८० प्रतिशत विद्युत आवश्यकताहरू पूरा गर्नेछ । साथै ६५ प्रतिशत विद्युत खर्च घट्ने, प्रयोगविहीन छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ । यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा प्रदान गरेको थियो । साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले जर्मन अनुदान डीकेटीआई कार्यक्रम अन्तर्गत व्याज अनुदानसहित अतिरिक्त आर्थिक सहयोग गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी साहले भने, 'हामी नेपालकै पहिलो सौर्य प्रणालीयुक्त नुडल्स प्लान्ट सञ्चालन गर्न पाएकोमा निकै गर्वित छौँ । ८५६ केडब्ल्यू क्षमताको यो प्रणालीबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुनेछ र करिब २ हजार टन कार्बन–डाइ–अक्साइड उत्सर्जन बचत हुनेछ । यसले उत्पादन लागत घटाउँछ र हामीलाई बजारमा अझ प्रतिस्पर्धी बनाउँछ ।' त्यसबेला एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशन (कार्बन घटाउने) दिशामा अघि बढाउन सहयोग गर्ने बताए । प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गका अनुसार परियोजना तीन महिनाभित्रै सम्पन्न गरिएको हो । यो प्रणालीमा उच्च कार्यक्षमताका दुइतर्फी (बाइफेसियल) सौर्य प्यानल, नवीन सौर्य पीभी प्रविधि र कृत्रिम बुद्धिमत्तायुक्त (एआई–सक्षम) स्मार्ट इनभर्टर प्रयोग भएको उनको भनाइ छ । विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री र कम खर्चिलो ऊर्जा विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका उद्योगहरूले पनि छानामाथिको सौर्य ऊर्जा प्रणालीलाई सस्तो विद्युत स्रोत र कार्बन उत्सर्जन घटाउने उपायका रूपमा तीव्र गतिमा अपनाइरहेका छन् । एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले यस्तो प्रणाली जडान गरिसकेका छन् । यो संख्या दैनिक बढ्दै छ । नेपाल जलविद्युतमा धनी भए पनि सौर्य ऊर्जा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको छ । त्यसैगरी, नेपाल विद्युत प्राधिकरणले नेट–मिटरिङ सुविधा उपलब्ध गराएको हुँदा उद्योगहरूलाई अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउने अवसर पनि मिल्दछ । यसले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउँछ र पूर्वाधार खर्च पनि कम हुन्छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले सबै ग्राहकलाई स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार आयकर ऐन–२०५८ बमोजिम खातामा भएका सबै करकट्टीको विवरण सरकारद्वारा सञ्चालित पान प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने भएकाले पान र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको हो । यसका लागि बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको पान अपडेट विकल्पमार्फत छिटो–छरितो रूपमा अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।  साथै नजिकैको कुनै पनि शाखामा गएर पनि प्यान अपडेटको निवेदन दिन सकिन्छ। बैंकले जनाएको अनुसार निक्षेपकर्ताको ब्याजमा काटिएको करलाई ईटीडीएस रेकर्डमा देखाउन पान अत्यावश्यक हुन्छ ।  पान अद्यावधिक गरेपछि ग्राहकको करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीको अनुसूची १० मा मिलान हुन्छ, जसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सहायता गर्छ र प्रमाणपत्र लिन बैंक धाउनु पर्ने झन्झट समाप्त हुन्छ । बैंकले पान नम्बर अद्यावधिक नगरे त्यसपछिको परिस्थितिमा आफू जिम्मेवार नहुने पनि चेतावनी दिएको छ ।  यदि पहिले नै पान बुझाएको भए पनि विवरण नदेखिएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न, गुणात्मक कर्जा विस्तारमा जोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्‍याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता, चुनौतिहरू र बैंकले निभाउनुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि, बैंकमा रहेका प्रचुर निक्षेपलाई गुणात्मक कर्जामा रूपान्तरण गर्ने उपाय, तथा सम्भावित ग्राहकहरूको अवस्था विश्लेषणसहित शाखा कार्यालयहरूले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्व दिनुपर्ने र क्षेत्रगत सम्भावनालाई समेटेर रणनीति बनाउनुपर्ने निर्देशन दिए । उनले सरकारी बैंकप्रति सर्वसाधारणको धारणा थप सकारात्मक बनाउन, सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्न र गुनासोमुक्त सेवा सुनिश्चित गर्न शाखाहरूलाई आग्रह ग रे। सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जावान रहेको उल्लेख गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा रूपान्तरण गर्न निर्देशन दिए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा रहेको निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणात्मक कर्जा वृद्धि, सेवा प्रवाहमा सुधार र शाखा प्रबन्धकहरूको नेतृत्वदक्षता महत्वपूर्ण रहने बताए। उनले सेवाग्राहीसँगको व्यवहार सकारात्मक बनाउन, कर्जा विस्तार लक्ष्यअनुसार अघि बढ्न र गुनासो न्यून बनाउन ध्यानाकर्षण गराए । खनालले शाखा, प्रदेश तथा केन्द्रीय कार्यालयका कर्मचारीको क्षमता अभिवृद्धि तथा कर्जा गुणस्तरीयता सुधारका लागि नियमित तालिममा बैंकले विशेष जोड दिने पनि स्पष्ट पारे । कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक कार्यक्रम विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए । नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपकार्यकारी अधिकृत विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, रामकुमार थापा, विभागीय प्रमुख तथा प्रादेशिक प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

महाधिवेशनअघि ईश्वर पोखरेल समूहले गर्यो छुट्टै दस्तावेज दर्ता, ओलीसँग प्रतिस्पर्धाको तयारी तीव्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनलाई लक्षित गर्दै छुट्टै नीतिगत दस्तावेज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दर्ता गराएका छन् । महासचिव शंकर पोखरेललाई भेटेर उनले आफ्नो समूहका नेतासहित दस्तावेज बुझाएका हुन् । मंसिर २७ देखि सुरू हुने महाधिवेशनमा छलफलमा ल्याउने उद्देश्यले संस्थापनइतर पक्षले तयार पारेको यो दस्तावेजले आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको एक नेताले बताए । दस्तावेज बुझ्दै महासचिव पोखरेलले यसलाई सचिवालय तहमै पेस गरिएको भए उपयुक्त हुने टिप्पणी गरेका थिए । महासचिव पोखरेलले दस्तावेज बुझ्दै ‘सचिवालय तहको बैठकमा बुझाएको भए पनि हुन्थ्यो नि’ भनेका थिए । यसअघि उक्त दस्तावेज केही सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेपछि पार्टीलाई औपचारिक रूपमा बुझाउन ल्याइएको भन्दै आलोचना भएको थियो । तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने दस्तावेज विधिअनुसार दर्ता गरिएको जिकिर गरेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको जनाउँदै उनका निकट नेताहरूले यो दस्तावेज पार्टीको नीति तथा दिशानिर्देशनमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको बताएका छन् ।