गोरखापत्र संस्थानका तत्कालिन महाप्रबन्धक कोइरालासहित चार जनाविरुद्द भ्रष्टाचारकाे मुद्दा
काठमाडौं । गोरखापत्र संस्थानका तत्कालिन महाप्रवन्धक सुशिल कोइरालासहित चार जना विरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्द शुक्रबार विशेष अदालतमा मुद्दा २६ लाख १६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै दायर गरेको हो । गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्दै उनीहरु विरुद्द मुद्दा दायर गरिएको बताइएको छ । संस्थानका तत्कालिन महाप्रवन्धक कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी संस्थानलाई हानि नोक्सानी गराउने कार्य गरेकोले उनी विरुद्द मुद्दा दायर भएको हो । यस्तै, संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, संस्थानकै तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी, कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसाली विरुद्द पनि मुद्दा दायर गरिएको हो । उनीहरु चारै जना विरुद्द छब्बीस लाख सोह्र हजार दश रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
काेराेना सङ्क्रमितलाई हृदयाघात भए कहाँ लैजाने ?
काठमाडौं । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ । सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए/नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ । बन्दाबन्दीका अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ । केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६०० सम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २४५ र यही जेठ २२ गतेसम्म ५१० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७०० सम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ । केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डा सुजीव राजभण्डारीका अनुसार उक्त अवधिमा यहाँ उपचारमा आएकामध्ये २४० जनाको आरडिटी गर्दा पाँच जनाको पोजेटिभ देखिएकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो । यहाँ मुटुरोगीमध्ये ४२ जनामा पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरी त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्काे भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ । गत पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकाले समूहगत र अस्पतालको खुला स्थानमा परीक्षणका लागि व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । हाल यहाँ आकस्मिकका कूल ३४ शय्या छन् । नेपाल सरकारले तोकेबमोजिम केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न एवं गरीब बिरामीलाई निःशुल्क उपचार गरिन्छ । उमेर खुल्ने कागज र स्थानीय तहको सिफारिसका आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सिएजी, इपिएस–आरएफए, डायग्नोष्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ हाल सय चिकित्सक र ३०० नर्सिङ स्टाफ कार्यरत छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम स्थानका बिरामीका लागि भरपर्दाे टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ । आगामी आवका लागि संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख छ । चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ नेपाल सरकारबाट रु ४६ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ भने नियमित खर्च केन्द्र आफ्नै आम्दानीबाट हुने गरेको छ । सामान्यावस्थामा केन्द्रको मासिक आम्दानी रु १३/१४ करोड हुने गरेको छ । ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७’ अनुसार स्थापित सो केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदेन अध्यक्ष र प्रशासकीय प्रमुखका रूपमा दैनिक प्रशासन सञ्चालन गर्नका लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । कूल ५२ रोपनी जग्गामा तीन भवनमा रहेको केन्द्रका संस्थापक अध्यक्ष डा अरुण सायमी छिन् । हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रका रूपमा सो संस्थाको स्थापना गरिएको हो । यसले मुलुकको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन हृदयरोगसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने काम पनि गर्दै आएको छ ।
कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार
काठमाडौं । कोरोना बीमा फेरि सुरु हुने भएको छ । यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण स्थगित गरिएको कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि पुनः सुरु हुन लागेको हो । अर्थमन्त्रालयको असयोगले रोकिएको कोरोना बीमामा सरकारले दाबी भुक्तानीमा सहयोग गर्ने जनाएको छ । नयाँ सहमति अनुसार पहिलो १० हजार बिमितको दाबी भुक्तानी बीमा कम्पनीहरु आफैले गर्नेछन् । यो दाबी भुक्तानी सबै बीमा कम्पनी मिलेर गर्ने हो । त्यसपछिको १० हजार बिमितको दाबी भुक्तानी गर्नु परेमा नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । सोभन्दा बढी ५ हजार बिमितलाई दाबी भुक्तानी गर्नुपरेमा बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोष प्रयोग गरेर दाबी भुक्तानी दिइनेछ । यसरी दाबी भुक्तानी गर्दा २५ हजार बिमितको दाबी भुक्तानी हुनेछ । त्यसभन्दा बढी १० हजार बिमितको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा बीमा समितिले आफ्नो कोषमा रहेको रकमबाट भुक्तानी दिनेछ । यसरी दाबी भुक्तानी दिदाँ कोरोना बीमा गरेका मात्रै ३५ हजार नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भइसकेको (पीसीआर परीक्षणबाट) हुनेछ । सोभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा सरकारले दाबी भुक्तानी दिने गरी व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस्तो बीमाको अवधि एक वर्ष भनिएकोमा आगामी चैत मसान्तसम्म मात्रै कायम गरिएको छ । सम्बन्धित सामग्री अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने
कन्ट्याक्ट ट्रेसिङ गर्न थप टोली परिचालन, उपत्यकामा बढी निगरानी गरिने
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्टीका आधारमा सङ्क्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ । इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैँ पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि खटाइरहेको छ । अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी सङ्क्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बताए । ‘पहिले हामी १०० जनासम्म सङ्क्रमित भएको अवस्थामा हामी आफैँ नै जाने गथ्र्यौं । उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौँ’, उनले भने, ‘अहिले सङ्क्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन । हामीले प्रदेश र स्थानीय तहका चिकित्सलाई तालिम दिएर खटाइरहेका छौँ ।’ स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा दुई टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ । ती टोलीमा तीनजना रहनेछन् । जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन् । चार सय ६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन् । सङ्क्रमित पृष्टि भएपछि ती सङ्क्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । तीनदेखि ११० जनामा ट्रेसिङ कोभिड-१९ सङ्क्रमितसँग नजिक रहेकासँग गरिने कन्ट्याक्ट ट्रेसिङ तीनजनादेखि ११० जनासम्म गरिएको छ । कोभिड-१९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीनदेखि ११० जनासम्ममा कन्ट्याक्ट ट्रेसिङ गरिएको महाशाखाको सर्भेलेन्स तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । महाशाखाले एकजना सङ्क्रमितमा रहेका नजिकका व्यक्ति थोरैमा तीन र धेरैमा ११० जनासम्म कन्ट्याक्ट ट्रेसिङ गरेको छ । सर्भेलेन्स शाखा प्रमुख अधिकारीले सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर, फोनबाट उसको नजिकको रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ सङ्क्रमितलाई सङ्क्रमण हुनुभन्दा १४ दिन अगाडि र सङ्क्रमितको लक्षण नदेखिएमा ६ हप्तासम्म अगाडि व्यक्तिमा नजिक रहेका गरिन्छ । ‘रोगको पहिचान भएको लक्षण देखिएको मान्छेको भने सङ्क्रमण देखिएको दिनदेखि १४ दिन पछाडि गएर कन्ट्याक्ट ट्रेसिङ गर्छौं’, उनले भने, ‘त्यो अवधिमा सङ्क्रमितले कहाँ गयो, कसकसलाई भेट्यो । कुन गाडी चढ्यो । सबै कुराको सूचना लिएर उसँग आएका मानिसलाई पहिचान गर्छौं ।’ कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिलाई पनि छुट्याएर क्याजुअल कन्ट्याक्टमा रहेका १५ मिनेटभन्दा कम समय भेटेको, टाढाबाट भेटेको व्यक्तिलाई रोग सर्ने सम्भावना धेरै नहुने उनको भनाइ रहेको छ । सङ्क्रमितसँगै घरमा बसेका व्यक्ति भने उच्च जोखिममा रहने भएकाले विशेष निगरानीमा राखिन्छ । त्यस्ता व्यक्ति बिरामीसँग सम्पर्क भएको दिनदेखि १४ दिनसम्म घरमै बस्न भनेर अनुगमन गरिने उनले बताए । सङ्क्रमितसँगै पाँचदेखि १० दिनसम्म क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई आरडिटी वा पिसिआर परीक्षण गरेको शाखा प्रमुख अधिकारीले बताए । उपत्यकामा बढी निगरानी उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी आफैँले गर्ने गरेको छ । इपिडिमियोलोजीले स्थानीय तहसँगैको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । ‘देशभित्रका मानिस यहाँ आउने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि तयारी अवस्थामा राखिएको छ’, शाखा प्रमुख अधिकारीले भने, ‘यहाँ सङ्क्रमित भएपछि हामी आफैँ जाने गरेका छाैं ।’ रासस
काठमाडौं महानगपालिकाले करिब २ हजारकाे गरायाे काेराेना बीमा
काठमाडाैं । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । कारोना भाइरस (कोभड–१९) को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने । सम्झौताबमोजिम आगामी वर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख रूपैयाँ प्राप्त हुनेछ । प्रतिव्यक्ति ६०० रूपैयाँ शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो । हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत रहेका छन् । रासस
उद्योग वाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा, लागुऔषध ओसारपसारको आरोप
काठमाडाैं । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर-अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य सङ्घको रहेको छ । तुलसीपुरबाटै बिहीबार तुलसीपुर-५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशङ्का गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो । उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका-६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुङ्गा प्रहार हुँदा घाइते हुनु भएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका-५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरेको उनले बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ । योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् । मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् । भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् । रासस/एएनआई
नेपाली सेनाले तयार पार्याे एक हजार क्षमताको होल्डिङ सेन्टर
भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड-१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । पहिलो उडानका रूपमा म्यान्मा सेनाको जहाजबाट आएका नेपालीमध्ये प्रदेश नं १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् । सो सेन्टरमा नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका स्वयंसेवक प्रदेश नं १ का नागरिकलाई होल्डिङ गर्ने सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेट र प्रदेश नं २ को नागरिक होल्डिङ गर्ने मध्यपुरथिमि नगरपालिका-४ राधेराधेस्थित हेरिटेज बैंक्वेटमा खटिएको छ । नेपाली सेनाको टोलीले हिजो नै दुवै सेन्टरमा विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा कसरी व्यवस्थापन गर्ने र के-के प्रक्रिया कसरी पूरा गर्ने भन्नेबारेमा अभ्याससमेत गरेको थियो । सो गणका गणपति एवं कर्नेल शिव पौडेल म्यानमारबाट आउने नागरिकलाई लिन सेनाको गाडीसहित त्रिभुवन विमानस्थल गएको जानकारी दिए । उनका अनुसार होल्डिङ सेन्टर आवश्यक सबै तयारी पूरा गरी सेना, सशस्त्र र नेपाल प्रहरीको टोली, भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक, सिमकार्ड वितरण गर्ने, व्यक्तिगत विवरणसहितको फाराम भराउने, आराम गराउने, खानाको व्यवस्थापन गर्नेलगायत टोली तयारी अवस्थामा रहेको छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार म्यान्मा रहेका नेपाली नागरिक लिएर आएको टोलीमा प्रदेश नं १ का एक जना मात्रै रहेपछि उनलाई काठमाडौंकै सेन्टरमा पठाए पनि आजै अपराह्न अन्य मुलुकबाट आउने नागरिकलाई भने यहाँका दुईवटै होल्डिङ सेन्टरमा राखिने भएको छ । ती दुई प्रदेशका एक हजार व्यक्तिलाई राख्न सकिने गरी व्यवस्थापन गरेको, प्रदेशले व्यवस्था गरेको बसमा राखेर नपठाएसम्म बस्ने, आराम गर्ने र २० जनासम्म सुत्न मिल्ने गरी श्ययाको व्यवस्था गरिएको छ । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने राधेराधेको इजी वे ट्रायल सेन्टरमा ल्याएर राखेर त्यहीबाट जिल्लाका चारवटै नगरपालिकाले आ-आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ । विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिसीएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुई बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको छ । रासस