सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो
साङ्केतिक तस्विर काठमाडौं । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन । रासस
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ सय नाघ्यो
सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ । त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए । “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा खड्काले भने, “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।” यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसीआर परीक्षणमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एक/एक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनरायण तिवारीले जानकारी दिए । त्यस्तै, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको पिसीआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार बुधबार २४ जना थपिएसँगै अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १४ पुगेको छ ।
अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…
काठमाडौं । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ भन्दा बढी जहाज ग्राउण्डेड छन् । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्य मुलुकको अभ्यासलाई हेरेर उडान सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिरहेको बुझिएको छ । कोभिड–१९ सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ९ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान स्थगन गरिएको थियो । पछिल्लोपटक यही साउन ६ गते मध्यरातसम्मलाई उडान रोक लगाउने निर्णय भएको छ । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि अहिले चार्टर्ड उडान मात्र भइरहेको छ । जेहोस् कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ । यता एयरलाइन्सले पनि कोभिड महामारीपछि हुने व्यावसायिक उडानलाई मध्यनजर गरी आवश्यक तयारी गरेका छन् । आन्तरिक उडानमा दैनिक करिब छ हजार यात्रु आवतजावत गर्ने देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाईयात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरेको छ । बुद्ध एयरका क्वालिटी एस्युरेन्स डिपार्टमेन्ट प्रमुख उपेन्द्रलाल श्रेष्ठले उडान सञ्चालनमा आउँदा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड कसरी अपनाउने र यात्रुलाई परिपालना गराउने भन्नेबारे आवश्यक तयारी गरिएको बताए । उनले प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोटाको मार्गनिर्देशनका अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर अपरेटिङ प्रोसिउर’ बनाइएको जानकारी दिए । यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ । त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ । अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ । “स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी सञ्चालनको लागि पूर्ण तयारीको अवस्थामा छौँ, यात्रुहरुले समन्वय र सहकार्य गरिदिएको खण्डमा कोभिड महामारीबाट सुरक्षित हुन्छौँ, त्यसैले कम्पनीको गाइडलाइन्स पालना गरिदिनुहोला”, श्रेष्ठले भने । अबको उडान पहिलाको भन्दा विल्कुलै फरक तारिकाको हुनेछ । हिजो एक घण्टा पहिला एयरपोर्ट पुग्नुपर्ने थियो भने अब डेढ घण्टाअघि नै जानुपर्छ । यात्रुले सामाजिक दूरीमा बसेर भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने हुन्छ । अबको उडानमा यात्रुले ‘एयरपोर्ट अथोरिटी’ ले बनाएको ‘हेल्थ डिक्लिरेशन’ फारम र ‘प्यासेन्जर लोकेटर कार्ड’ भर्नुपर्नेछ । कम्पनीले यात्रुको सुरक्षाका लागि मास्क र फेससिल्डको व्यवस्था गरेको छ । कम्पनीले जहाजलाई तयारी अवस्थामा राख्न हरेक १४ दिनमा एक दिन करिब २० मिनेट जहाजको परीक्षण उडान गर्ने गरेको छ । सातामा एक दिन इन्जिन ‘रनअफ’ गरिरहेको छ । प्राविधिक हिसाबले पनि तमतयारी अवस्थामा रहेको कम्पनीले यात्रुलाई शिक्षित गर्ने डेमो उडानको भिडियो वेवसाइटमा राखेको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडानको तयारी गरिएको जानकारी दिँदै यात्रुलाई सुरक्षा सजकता अपनाउन आग्रह गरे । फरक तरिकाले उडान गर्नुपर्ने भएकाले यात्रुलाई सुसूचित गराउनुपर्ने अनिवार्यता रहेको उनले बताए । सरकारले उडान खोलिदिएको खण्डमा प्रोटोकल पालना गर्न हवाई कम्पनी तयार रहेको उनको भनाइ छ । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले आन्तरिक उडानमा अपनाइने सुरक्षा मापदण्डका साथ उडानको तयारी गरेको जनाइएको छ । कोभिड महामारीबाट कसरी जोगिएर सुरक्षित हवाईयात्रा गर्न सकिन्छ भनेर बुद्धले गत असार ११ गते एटिआर–७२ जहाजमा ‘डेमो’ उडान गरेको थियो । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको थियो । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् । यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात सामाजिक दूरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइन बसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दूरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनि त्यसलाई कम्प्युटराइज गर्छन् । कोभिड–१९ को महामारीबाट सुरक्षित रहनको लागि हवाईयात्रा अवधिभर मास्क र फेससिल्ड लगाउनुपर्नेछ । अति आवश्यक भए मात्र शौचालयको प्रयोग गर्न र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिन अनुरोध गरेको छ । बुद्धले अहिले एटीआर–७२, ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
नेपाल लाइफबाट विवेक झा विदा, सबै सूचकाङ्क उत्कृष्ट बनाउन सफल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत विवेक झा विदा भएका छन् । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिएको कम्पनीले जानकारी दिएको छ । संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी झाले साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएको कम्पनीले जनाएको छ । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ । सदैव आप्mना सहकर्मी कर्मचारीहरुलाई आफ्नाे मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले ‘अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको’ उनले बताए । उनले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे । सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिएका छन् ।
५ लाख रूपैयाँ घुस सहित मेयरकाे छाेरा पक्राउ
मेयर सूर्यनाथ मण्डल काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित सिरहा कल्याणपुर नगरपालिका मेयर सूर्यनाथ मण्डलका छोरा लगायत दुईजनालाई रङ्गेहात पक्राउ गरेको छ। अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लाहान २२ स्थित राजदेवी चोकबाट कमिसन लेनदेन गरिरहेकै बेला मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र सहयोगी जितेन्द्र महतोलाई पक्राउ परेका हुन्। अख्तियारका डिएसपी मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो दुबैलाई रङ्गेहात पक्राउ गरेको हो। कल्याणपुरका मेयर मण्डलले नगरपालिकाको डिपिआर गर्ने ब्यक्तिसँग भुक्तानी गरिदिए बापत ५ लाख रुपैयाँ घुस माग्दै आएका थिए। सो रकम लिन मेयरले आफ्नो छोरा सन्त मण्डललाई लाहान पठाएका थिए। लेनदेन गरिरहेकै बेला अख्तियार टोलीले मेयरका छोरालाई घुस रकमसहित पक्राउ गरेको थियो। घटनामा मेयर समेत तानिन सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ । अख्तियारले मेयरका छोरा सन्त कुमार मण्डललाई एक लाख र सँगै आएका निजका छोराको साथी जितेन्द्र महतोलाई चार लाख गरी जम्मा पाँच लाख घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
देशकाे बेरुजु रकम १ खर्ब ३२ अर्ब बढी, सबैभन्दा बढी अर्थ मन्त्रालयकाे, अरू कसकाे कति ?
काठमाडाैं । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै कुल बेरुजु रकम १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ रहेकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको महालेखापरीक्षकको ५७ औं प्रतिवेदनले साे मात्राकाे बेरुजु रकम भएकाे देखाएकाे हाे । जसमध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयको भएको देखाएको छ । महालेखापरीक्षक कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्लेले आर्थिक वर्ष २०७५/०७६ मा निष्किएको कुल बेरुजु रकम मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयमा रहेको बताएका हुन् । जसमध्ये सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको रहेको उनले बताए । उनका अनुसार अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब रुपैयाँ, रक्षा मन्त्रालयको ९ अर्ब रुपैयाँ, प्रधानमन्त्री कार्यालयको ४ अर्ब रुपैयाँ, खानेपानी मन्त्रालयको ४ अर्ब २८ करोड रुपैयाँ सहरी विकास मन्त्रालयको ३ अर्ब ३४ करोड रुपैयाँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २ अर्ब ९५ करोड रुपैयाँ, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २ अर्ब ६३ करोड रुपैयाँ, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको २ अर्ब १४ करोड रुपैयाँ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ अर्ब ३८ करोड रुपैयाँ बेरुजु देखिएको छ । यसबाहेक अन्य मन्त्रालयहरुको कुल बेरुजु ६ अर्ब ५४ करोड ६० लाख रुपैयाँ देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ सम्मको कुल बेरुजु रकम भने ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । नायब महालेखापरीक्षक महेश्वर काफ्लेले आर्थिक वर्ष २०७४/०७५ मा भन्दा आर्थिक वर्ष २०७५/०७६ मा कुल बेरुजु रकम घटेको बताए । नायब महालेखापरीक्षक काफ्लेले आर्थिक वर्ष २०७४/०७५ मा सरकारी निकायहरुको कुल २० खर्ब ८ अर्ब ८४ करोडको लेखापरीक्षण भएकोमा १ खर्ब ६ अर्ब ३४ करोड रुपैयाँ बेरुजु देखिएको र आर्थिक वर्ष २०७५/०७६ मा कुल १७ खर्ब ५६ अर्ब ४ कारोडको लेखापरीक्षण हुँदा बेरुजु रकम ७१ अर्ब ६ करोड भएको बताए । आर्थिक वर्ष २०७४/०७५ मा लेखापरीक्षण भएको रकमको ५ दशमलव २९ प्रतिशत बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/०७६मा लेखापरीक्षण रकमको ४ दशमलव शुन्य ५ प्रतिशत बेरुजु देखिएको काफ्लेले बताए। उनले सबैभन्दा धेरै बेरुजु सार्वजनिक खरिद र आयोजना व्यवस्थापनमा देखिएको बताए । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा कुल ५ हाजर ६ सय १९ निकायको ५१ खर्ब ७१ अर्ब ६४ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरेको हो । जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार १ सय २० कार्यालयहरु, जिल्ला समन्वय समिति ७७, प्रदेश मन्त्रालयको १ हजार कार्यालय मध्ये ९ सय ९८ कार्यालय र स्थानीय तह ७ सय ५३ तह मध्ये ७ सय ४३ तहको लेखा परीक्षण भएको छ । त्यस्तै ४ वटा स्थानीय तहले बक्यौता लेखापरीक्षण गराएका छन् । यस्तै समिति तथा अन्य संस्थाहरु ५ सय ७७, संगठीत संस्था ९३ निकायको वित्तीय लेखा परीक्षण भएको महालेखापरीक्षकको कार्यालयको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।
६ कम्पनीले प्रिमियममा एफपीओ बेचेर ७ अर्ब १३ करोड लाभांश बाढ्दा २ अर्ब १३ करोड राजस्व गुम्यो
काठमाडौं । महंगोमा सर्वसाधारणलाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेरे सेयरधनीले लाभांश खाने गरेको तथ्य नेपालका लागि नौलो होइन । नौलो त के भयो भने यसरी वितरण गरिएको लाभांशमा सरकारी करसमेत गुमेको रहेछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ६ कम्पनीले महंगो मूल्यमा एफपीओ विक्री गरेर लाभांश बाढेको र त्यसरी लाभांश वाडिदा सरकारी राजस्व समेत गुमेको तथ्य सार्वजनिक भएको छ । ती कम्पनीले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा बोनस सेयर वितरण गर्दा राजस्व नतिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको लेखापरीक्षण गर्दा यस्तो तथ्य फेला परेको बताएको छ । ती कम्पनीले ७ अर्ब १३ करोड २३ लाख रुपैयाँ बराबरको लाभाश वितरण गरेका थिए । यसरी लाभांश वितरण गर्दा २ अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजस्व गुमेको महालेखाको भनाइ छ । ‘बोनस सेयरको रुपमा ७ अर्ब १३ करोड २३ लाख लाभांश वितरण गरेकोले सो रकमलाई आयकर ऐन २०५८ को दफा ७ (२) (ज) बमोजिम आयमा समावेश गरी ३० प्रतिशतले हुने कर २ अर्ब १३ करोड ९७ लाख शुल्क एवम् व्याजसमेत छानविन गरी असुल गर्नुपर्छ,’ महालेखाले भनेको छ ।
टेलिकमकाे अफरः १० रूपैयाँमै डे प्याक, भ्वाइस प्याककाे समय बढ्याे, अन्य के के ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर उपलब्ध गराएको हो । समर अफर अन्तर्गतको सेवा मिति २०७७ साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ । यस्ता छन् अफरहरुः कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ । सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ । नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु. १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु. १५ मा ३ रातका लागि २०० मिनेट र रु. ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ । अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु. ६० मा ३ दिनका लागि ४०० एमबी, रु. १०० मा ७ दिनका लागि ८०० एमबी, रु. २८० मा २८ दिनका लागि २.५ जीबी, रु. ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ । डे डाटा प्याक अन्तर्गत अब रु. १० मा ८० एमबी र रु. १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ । वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु. २० मा उपलब्ध हुनेछ । डे भ्वाइस प्याक अन्तर्गत रु. १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ । रु. १५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ । लार्ज डाटा प्याक अन्तर्गत अब रु. १,६०० मा ६० दिनका लागि ३० जीबी प्याक र रु. ३००० मा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ । फोरजी/एलटीई अफर अन्तर्गत रु. १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ । साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुनेछ ।