पूरानै लयमा फर्कियो एमाले
काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काएको छ । दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान ११औं महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । दोस्रो विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको थियो । चालू केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । टिम मिलाउन विधान संशोधन गर्दै ओली, वरिष्ठ उपाध्यक्षको पद ब्यूँत्याएर पदाधिकारीको संख्या थप्दै
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । 'अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्', महानगर प्रमुख सिंहले भने । यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब ७० करोड रुपैयाँ रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए । आइतबार बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो, जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
१० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
खिमलालको प्रस्तावविरुद्ध सुरेन्द्रको काउन्टर प्रस्ताव– अब ७० वर्षे पनि ब्यूँताऔं
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउनेगरी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अघि सारेको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकमा प्रस्तुत संशोधन प्रस्तावले नेतृत्व संरचना विस्तार गर्ने विषय समेटिएपछि त्यसबारे पार्टीभित्र फरक–फरक धारणा देखिएको छ । पोखरेल समूहले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउँदा संगठनात्मक सन्तुलन र कार्यक्षमतामा असर पर्न सक्ने भन्दै आपत्ति जनाएको हो । विधान संशोधन प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा थप छलफल जारी छ भने विभिन्न नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । आफ्नो धारणा राख्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी थप्ने प्रस्तावको काउन्टर प्रस्ताव अगाडि सारे । पाण्डेले दशौं महाधिवेशनको विधान कायम गर्नेगरी पदाधिकारी संख्या बढाउने हो भने ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि कायम गर्ने प्रस्ताव गरेका हुन् ।
इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए । पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।
भट्टराईले प्रस्तुत गरे केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अघि सारेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानलाई नै आधार मानेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको स्रोतले जानकारी दिएको छ । दशौं महाधिवेशनको सम्भवतः अन्तिम बैठकमा भट्टराईले आवश्यक परे सोही विधानमा थप संशोधन गर्दै जान सकिने उनको सुझाव दिएका छन् । उनको उक्त प्रस्तावलाई समर्थन गर्दै केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले बैठकमा आफ्नो धारणा राखिरहेको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।