एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क
काठमाडौं । २०६९ साल भदौ ३१ गतेदेखि गैरआवासीय नेपालीमा रहेको पुँजी र सीपलाई नेपालको विकासमा लगाउने हेतुले स्थापना भएको कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी । काठमाडौंको चावहिलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनी पब्लिक लिमिटेडको रुपमा दर्ता भई ‘कम्पनी ऐन २०६३’ अन्तर्गत काम कारोबार गर्दै आएको छ । कम्पनीको मुख्य उद्देश्य जलविद्युत उत्पादन तथा अन्य पूर्वाधार सम्बन्धि कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने रहेको छ । जलविद्युत उत्पादन, प्रसारण तथा वितरणका साथै अन्य पूर्वाधार सम्बन्धि आयोजनाहरुको निर्माण, संचालन र व्यवस्थापन गर्ने कम्पनीहरुमा लगानी गर्ने उद्देश्यले स्थापित संस्था भएको हुँदा नेपाली लगानीकर्ताको लागि यो लाभदायक र उपयुक्त क्षेत्र रहेको छ । सञ्चालनमा आएको ७ वर्षपछि कम्पनीले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गरेको छ । कम्पनीले साउन १६ गतेबाट एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको छ । सेयर जारी गर्नुको उद्देश्य कम्पनीले जारी पुँजीको ७० प्रतिशत सेयर संस्थापक सेयरधनी र ३० प्रतिशत सेयर सर्वसाधारण(कर्मचारी समेत) मा निष्काशन तथा बिक्री गरी बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेको छ । सोही बमोजिम जारी पुँजीको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । इच्छुक सर्वसाधारणले साउन १६ देखि छिटोमा साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । यदि संस्थाले माग गरेजति आवेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीमा ७ सय ९५ जना संस्थापक सेयरधनी रहेका छन् । हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । कुनै सहायक कम्पनी नभएकोले कम्पनीको कारोबार र समष्टिकृत कारोबार एउटै रहेको छ । आर्थिक वर्ष २०७५/७६मा कम्पनीको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ रहेको छ । जुन वार्षिक रुपमा बढेर आगामी तीन वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९मा ४.३ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय ४ रुपैयाँ पुग्ने छ कम्पनीको प्रक्षेपण रहेको छ । कम्पनीकाे प्रक्षेपण लगानीकर्तालाई लाेभ्याउने खालकाे छैन । त्यस्तै, कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि यता हालसम्म नोक्सान व्यहोरेको छैन । आर्थिक वर्ष २०७५/७६मा एक करोड ६३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले आगामी तीन आवमा ४ करोड ९४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । एक अर्ब रूपैयाँ भन्दा बढीकाे चुक्ता पुँजी भएकाे कम्पनीले ३/४ कराेड रूपैयाँ नाफा गरेमा लगानीकर्ताले खुशी हुने लेवलकाे प्रतिफल पाउँदैनन् । विगत तीन वर्षको नेटवर्थमा कम्पनीको औषत प्रतिफल २.३८ प्रतिशत रहेको छ । कम्पनीले आव २०७३/७४ मा ४.२१ प्रतिशत र आव २०७४/७५ मा ३.१८ प्रतिशत बोनस सेयर जारी गरेको थियो । जतिबेला बैंकहरूले निक्षेपमा १० प्रतिशत वा साे भन्दा बढी व्याज दिएका थिए, त्यतिबेला कम्पनीले सेयरधनीलाई ५ प्रतिशत भन्दा कमकाे प्रतिफल दिनुले लगानीकर्तालाई लाभ भएकाे मान्न सकिदैन । सेयर निष्काशनको लागि कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र पाएको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा कमजोर रहेको जनाउँछ । सर्वसाधारणहरुले कम्पनीको आइपीओमा किन लगानी गर्ने ? ‘समग्रमा कम्पनीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ । आगामी दिनमा पनि निकै सोचेर मात्रै कम्पनीले लगानी बढाउँदै लानेछ । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि पनि एउटा राम्रो अवसर हो । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौं’- सीईओ उषा खतिवडा बताउँछिन् । सेयर पूर्ण रुपमा बिक्री नभएमा के हुन्छ ? उक्त निष्काशित सेयर पूर्ण रुपमा बिक्री नभएपनि प्रत्याभुतिकर्ताद्वारा सकारिने कम्पनीले जनाएको छ । जसको लागि हिमालयन क्यापिटल लिमिटेड, कुमारी क्यापिटल लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कूल ३३ लाख ९८ हजार ४६ कित्ता सेयरको निष्काशनको लागि प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ । उनीहरुलाई प्रत्याभुति शुल्क बापत कूल ६७ लाख ९६ हजार ९२ रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ । यदि निष्काशन गरिएको सेयर पुरै बिक्री भएमा उक्त प्रत्याभुतीकर्तालाई ३३ लाख ९८ हजार ४६ रुपैयाँ भुक्तानी गरिने छ । कुनै पनि नेपाली तथा गैह्र आवासिय नेपाली नागरिकले सेयर खरिद गर्न आवेदन दिन सक्नेछन् । प्रत्येक आवेदकले कम्तीमा १० कित्ता र बढीमा ३१ लाख ६० हजार एक सय ८० कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । आईपीओबाट उठेको रकम कम्पनीले कुन क्षेत्रमा कसरी प्रयोग गर्छ ? सेयर निष्काशनबाट उठेको कुल रकमलाई कम्पनीले विभिन्न जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने परियोजनामा सेयर वा ऋण लगानी गर्ने छ । जुन कम्पनीको प्रमुख उद्देश्य नै हो । त्यस्तै, कम्पनीले विभिन्न जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने परियोजना संचालन गर्ने कम्पनीहरु र अन्य पूर्वाधार विकास गर्ने परियोजना संचालन गर्ने कम्पनीहरुमा समेत सेयर वा ऋण प्रवाह गर्नका लागि उपयोग गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७मा १० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८मा २५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९मा ४० करोड रुपैयाँ संचित लगानी गर्ने जानकारी गराएको छ । उक्त लगानी रकमलाई ठूलो खोला हाइड्रोेपावर, जुम खोला हाइड्रोपावर र मिडिल कालिगण्डकी हाइड्रोपावर परियोजनामा लगानी गर्ने कम्पनीको योजना रहेको छ । कुन परियाेजनामा कति ? हालसम्म स्वपुँजीको रुपमा लगानी गरेको हिमालयन पावर पार्टनर लिमिटेडद्वारा प्रबद्र्धित दोर्दी खोला जलविद्युत आयोजना २७ मे.वा., सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित मिडिल तमोर जलविद्युत आयोजना ७३ मे.वा., स्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडद्वारा प्रबद्र्धित तल्लो लिखु जलविद्युत आयोजना २८.१ मे.वा., माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडद्वारा प्रबद्र्धित माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना १४.३ मे.वा. का जलविद्युत आयोजनाहरु रहेका छन् । साथै, अन्य आयोजनाहरु पनि छनौटको क्रममा रहेको कम्पनीले जनाएको छ । यस्ता छन् जोखिमहरूः कम्पनीलाई वित्तीय साधनको अभावबाट हुने जोखिम जस्तै, सेयर लगानीमा भुक्तानी गर्न समस्या पर्ने छ । कम्पनीले गरेका लगानी र ऋण खराब हुन गएमा हुने जोखिम र व्याजदरमा आउने परिवर्तनबाट जोखिम हुन सक्छ । त्यस्तै, कम्पनीले लगानी गरेको अन्य कम्पनीहरुको परियोजना विभिन्न परिस्थितिले गर्दा समयमा नै निर्माण हुन नसकेमा जोखिम उत्पन्न हुन सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीले लगानी गरेको गरेको अन्य कम्पनीको परियोजनाहरुमा मूल्य अभिवृद्धि हुँदा लगानी रकम बढ्ने र प्रतिफल आउन ढिलाई हुने जोखिम रहने छ । विदेशी विनिमय कारोबार गर्दा विनिमय दरमा हुने परिवर्तन तथा देशको वैदेशिक ब्यापार नीतिमा हुने परिवर्तनबाट जोखिम उत्पन्न हुन सक्ने छ । त्यस्तै, पुँजी बजारको अवस्थामा आउने उतार चढावबाट र अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने आर्थिक मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट आर्थिक जोखिम हुन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी सरकारी नीति तथा नियमहरुमा हुने परिवर्तन, नयाँ नयाँ सूचना प्रविधिहरुको विकाससँगै उत्पन्न हुन सक्ने जोखिम रहेका छन् । तर, हाल कम्पनीले पुरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरिसकेको र प्राप्त गर्नुपर्ने सम्पुर्ण इजाजतपत्रहरु प्राप्त गरी सकेकोले सो जोखिम नरहेको कम्पनीले जनाएको छ । सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ? कम्पनीको कर्जा तथा लगानी खराब भई हुनसक्ने जोखिमहरुको लागि कम्पनीले कर्जा तथा लगानी जोखिम कोषको व्यवस्था गर्ने छ । कम्पनीले वित्त बजारमा हुने प्रतिस्पर्धाको साथै क्षेत्रीयकरण र विश्वब्यापीकरणका कारणबाट उत्पन्न हुन सक्ने जोखिमहरु न्युनीकरण गर्नका लागि जनशक्ति विकासमा ध्यान पुर्याउनको साथै अन्य व्यावसायिक जोखिमहरुबाट उत्पन्न हुन सक्ने हानि नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानि नोक्सानी कम गर्न सक्षम र प्रतिवद्ध रहेको कम्पनीले आफ्नो विवरण मार्फत जानकारी दिएको छ । त्यस्तै अन्य विभिन्न जोखिमहरु न्युनिकरणका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, समयानुसारको आधुनिक प्रविधि, स्पष्ट नीति तथा नियमहरुको निर्माण एवम् समयानुसार आफ्नो सेवा तथा सुविधाहरुमा परिवर्तन गर्दै लगिने कम्पनीको नीति रहेको छ । सञ्चालक समितिमा को को छन् ? कम्पनीको सञ्चालक समितिमा कूल ११ जना रहेका छन् । संस्थापक समूहका सेयरधनीको तर्फबाट ६, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट ३ र स्वतन्त्र सञ्चालकको तर्फबाट २ जना रहेका छन् । यी सबैको कार्यकाल ४ वर्षको हुने छ । कम्पनीको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष जीवनाथ लामिछाने तथा सञ्चालकमा कृष्ण प्रसाद पाण्डे, महेश कुमार श्रेष्ठ, रामेश्वर शाह, शेष घले र बालकृष्ण गुरुङ्ग रहेका छन् । उनीहरू सबै एनआरएनका नेता हुन् । यस कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहेका लामिछानेले एमएससी(सिभिल इन्जिनियरिङ्ग) सम्मको अध्ययन पुरा गरेका छन् । उनी सानिमा हाइड्रोपावर लि., मेडीकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर लि., सानिमा बैंक लि., कान्तिपुर टेलिभिजन नेटवर्क प्रा.लि., कान्तिपुर/एक्मी इन्जिनियरिङ्ग कलेज, सोपान मल्टिपल, होटल अकामा प्रा.लि. र नेक्टार इन्टरनेशनल लगायतका संघ संस्थामा आवद्घ रहेका छन् । उनी गैर आवासिय नेपाली संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् । कम्पनीमा कसको सेयर स्वामित्व कति ? कार्यकारी अध्यक्ष लामिछानेको यस कम्पनीमा ८० हजार ६ सय ४३ कित्ता सेयर स्वामित्व रहेको छ । संस्थापक सेयरधनीमा १० जना रहेका छन् । जसमध्ये कृष्ण प्रसाद पाण्डे, विश्वनाथ पौडेल, कमल लामिछाने, विनोद कुँवर, केशव प्रसाद सापकोटा, उदय राज कँडेल, उर्मिला उप्रेतीको प्रतिव्यक्ति एक लाख ७ हजार ५ सय २४ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, कुमार प्रसाद पन्त, महेश कुमार श्रेष्ठ र उपेन्द्र महतोको प्रतिव्यक्ति ८० हजार ६ सय ४३ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसैगरी, संचालक शेष घलेको ५३ हजार ७ सय ६२ कित्ता, बाल कृष्ण गुरुङ्को ६ हजार ४ सय ५२ कित्ता र रामेश्वर शाहको ५ हजार ३ सय ७७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, एनआरएन अष्ट्रेलिया हाइड्रो ग्रुपको ६ लाख ५८ हजार २ सय ६२ कित्ता र नेपाल इन्भेष्टमेन्ट कम्पनीको ३ लाख ४१ हजार ५ सय ५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तो छ व्यवस्थापकीय टीम हाल कम्पनीको म्यानेजमेन्ट (व्यवस्थापकीय टीम)मा प्रमखु कार्यकारी अधिकृत उषा खतिवडा, कम्पनी सचिव बद्री विशाल घिमिरे र स्वतन्त्र वित्तीय परामर्शदाता प्रशिद्ध न्यौपाने गरी तीन जना रहेका छन् । डेढ वर्षदेखि यस कम्पनीको सीईओको रुपमा कार्यरत रहेकी खतिवडासँग हाइड्रो पावर क्षेत्र र विभिन्न प्रशासनिक क्षेत्रमा १५ वर्षको लामो अनुभव रहेको छ । उनी पटक-पटक नेपाललाई प्रतिनिधित्व गर्दै विदेशमा हुने सभा सम्मेलनमा पनि सरिक रहेकी छिन् । यसै वर्ष कन्सियस कम्पनी-सोनोमा, १३२५ ब्रोडवे, यूएसए सोनोमाले खतिवडालाई वर्ल्ड चेन्जिङ वुमेन अवार्डबाट सम्मानित गरेको थियो । त्यस्तै, २०२० मा आरएसटीसीएले खतिवडालाई ‘कर्पाेरेट वोमेन अफ दि इयर-२०२०’ र ‘मस्ट इन्फ्युयन्सियल वोमेन’ बाट सम्मानित गरेको थियो । उता व्यवस्थापकीय टीममा रहेका कम्पनीका सीईओ खतिवडा, कम्पनी सचिव घिमिरे र स्वतन्त्र वित्तीय परामर्शदाता न्यौपाने कसैको पनि एनआरएन इन्फ्राइस्ट्ररको एक कित्ता पनि सेयर छैन । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा
कोरोनाले बीमा क्षेत्रमा कति असर गर्यो ? अध्ययनमा जुट्यो बीमा समिति
काठमाडौ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा निकै असर पुर्याएको छ । त्यो असरले सीमित क्षेत्र मात्र नभई देशको अर्थतन्त्रलाई समेत निकै प्रभावित बनाएको छ । कोरोना भाइरसले बीमा क्षेत्रलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वभाविक असर नै परेको छ । यसले बीमा क्षेत्रमा के कति असर पर्यो ? त्यसको सही विवरण तथा तथ्यांक हालसम्म यकिन नभएपनि यसको बारेमा विस्तृत जानकारीका लागि बीमा समिति अध्ययनमा जुटेको छ । बीमा समितिका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) ले नेपाली बीमा क्षेत्रमा परेको असरका बारेमा अध्ययन गर्न जुटेको हो । समितिका अनुसार समितिले कोरोना महामारीको असर बीमा क्षेत्रमा तत्काल नभई निकट भविष्यमा देखिने भन्दै अध्ययन थाल्ने भएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर अहिलेभन्दा भविष्यमा बढी हुने भएकोले यसले पारेको वास्तविक असरको फिगर निकाल्न समितिले अध्ययन गर्न लागेको बताए । ‘हामीले कोरोना महामारीको असर जीवन बीमा क्षेत्रमा तत्काल असर देखेका छौं, निर्जीवन बीमा क्षेत्रमा आगामी वर्षहरुमा धेरै रहने हाम्रो अनुमान छ’, उनले भने । कोरोना महामारीका कारण जीवन बीमा क्षेत्रमा अभिकर्ताहरुले बिमितसम्म पुगेर बीमा गराउन पाएनन् । अभिकर्ताहरुले सम्बन्धित कम्पनीको नाम लिएर बीमा सम्बन्धि जानकारी दिने, बीमा गराउने तथा दाबी भुक्तानीको बेलामा समेत सहजिकण गर्छन् । तर कोरोना महामारी तथा लक डाउनले अभिकर्ताहरुले काम गर्न समस्या परेको उनको भनाई छ । कार्यालयमा बिमित पु्ग्नपनि कठिन भएकाले जीवन बीमा व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको उनको भनाई छ । यस्तै, निर्जीवन बीमा क्षेत्रमा भने आगामी वर्षमा असर देखिने समिति बताउँछ । तत्कालका कोरोना महामारीले बीमा क्षेत्रमा के कस्तो असर पार्यो भन्ने कुरा एक किसीमको अनुमान मात्र रहेको बीमा समितिले बताएको छ । अध्ययन नगरीकन वास्तविक अवस्था थाहा पाउन नसकिने समितिको ठहर छ । बीमा समितिले विभिन्न कम्पनीहरुमा कोरोनाले पुर्याएको असर अध्ययन गरेर भोलिका दिनमा आवश्यक मापदण्ड बनाएर अघि बढ्ने जनाएको छ । बीमा समितिले सो विषयमा कम्पनीहरुसँग छलफल गरी सकेको छ । आगामी दिनमा कम्पनीहरुसँग कसरी समन्वय गर्ने भनेर पनि बीमा समितिले मापदण्ड तयार गरेकोे छ । सो मापदण्ड अनुसार बीमा कम्पनीहरुलाई समितिले आवश्यक निर्देशन दिने बताइएको छ ।
गाडीवालाले सरकारको नियमलाई टेरेनन्, भाडा दोब्बर, न मुखमा मास्क न गाडीमा स्यानिटाइजर
काठमाडौं । यातायात व्यवसायीहरुले यात्रुहरुबाट दोब्बर भाडादर लिइरहेकाे गुनासो आएकाे छ। कोरोना भाइरसको कारण उत्पन्न ४ महिना लामो लकडाउनपछि सञ्चालन भएका सार्वजनिक सवारी साधनले दोब्बर भाडा लिएको यात्रुले गुनासो गरेका हुन् । सरकारले विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी र ५० प्रतिशत बढी भाडा लिएर जिल्ला भित्रैका सवारी साधनहरु चलाउन पाइने गरी निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने गाडीमा चढ्ने यात्रुहरुबाट दोब्बर भाडा लिइरहेको गुनासाे यात्रुहरुबाट आएकाे हाे । असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको थियो । त्यो सँगै उपत्यका भित्रका तीन जिल्ला र अन्य जिल्लाहरुमा पनि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएका थिए । नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि मापदण्ड नै तयार गरेर त्यही स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सवारी साधन चलाउनु पर्ने बताएको थियो । विभागको मापदण्डमा सवारी साधनको सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउने, व्यवसायीले सगाडीमा स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने प्रावधानहरु उल्लेख गरेका छन् । मन्त्रिपरिषद्को बैठकले नै यातायात व्यवसायीहरु लकडाउनको समयमा धेरै आर्थिक संकटमा परेको भन्दै ५० प्रतिशत भाडा बढाएर गाडी सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायी अर्थात गाडीवालाहरुले भने अहिले यात्रुहरुबाट पहिलेको भन्दा दोब्बर भाडा उठाइरहेको बुझिएको छ । सार्वजनिक सवारी साधनहरुले १ किलोमिटरदेखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा लिनु पर्ने प्रावधान छ । तर, व्यवसायीहरुले यात्रुहरुबाट २५ देखि ३० रुपैयाँसम्म भाडा लिँदै आएका छन् । सीमित सवारी साधनमा सीमित यात्रुहरुबाट दोब्बर भाडा लिए पनि उनीहरुले सवारी साधनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षामा विधिहरु भने अवलम्बन गरिएको देखिँदैन । सरकारले गाडीमा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै यात्रुले मास्क लगाउनु पर्ने, गाडी चालक, सह–चालकले माक्स ग्लोभ्स लगाउनु पर्ने भनिएपनि त्यसको कार्यान्वयन भने सीमित सवारी साधनहरुमा मात्र देखिन्छ । सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको छ वा छैन भनेर नियमित अनुगमन गर्दै आएको बताए पनि ट्राफिकले पनि खासै वास्ता नगरेको सवारी साधनमा देखिएको स्वास्थ्य सुरक्षा व्यवस्थाले प्रष्ट पार्छ । महानगरीय ट्राफिक महाशाखा भने पहिले त्यस्ता खालका गुनासाहरु निरन्तर आएपनि अहिले गुनासाे गर्नेहरुकाे संख्या पनि कम हुँदै गएको बताउँछ । महाशाखाका प्रवक्ता बामदेव गौतमले अहिले ट्राफिकले सार्वजनिक सवारी साधनहरुको अनुगमनलाई तीव्रता दिएकोले सवारी साधनहरु पनि सजग हुँदै गएको बताए । ‘पहिले सवारी साधनहरुले यात्रुहरुबाट बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरु कार्यान्वयन गर्ने गरेका थिएनन्, त्यसपछि हामीले अनुगमन बढायौं, अहिले त्यसमा कमि आउँदै गएको छ,’ उनले भने । अहिले यात्रुहरुबाट त्यस्तो खालको गुनासो पनि कम आइरहेको उनको भनाई छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै फेरि देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । त्यसमाथि पनि काठमाडौं उपत्यकामा त कोरोनाको जोखिम धेरै छ । विश्वभर कोरोनाको यति ठूलो जोखिम हुँदा हुँदै पनि बसमा चड्ने यात्रुहरुले पनि सर्तकता नअपनाएको बुझ्न सकिन्छ ।
बालुवाटारमा प्रदर्शन गर्ने इनफ इज इनअफ समूहका युवा पक्राउ
काठमाडौँ । इनफ इज इनअफ समूहले बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् । साे प्रदर्शनमा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । प्रदर्शनमा जाने क्रममा बाटोबाट नै प्रहरीले रन्जु दर्शना, आलोक सुवेदी, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिएको बताइएकाे छ ।
नेपाल टेलिकम सर्भर ह्याकः २४ हजार रुपैयाँ नोक्सान, अभियुक्त ५० हजार धराैटीमा छुटे
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसाले नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको खुलेको छ । नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान गरेको विभिन्न अनुसन्धानहरुले खुलाएको हो । देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो । विभिन्न समयमा आर्थिक चुहावट हुँदै आएको देखिएपछि नेपाल टेलिकमले असार १२ गते उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । घटना बारे बुझ्दै जाँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो । प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक–पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्दै आएको साइबर ब्युरोले बताएको छ । ब्युरो स्रोतका अनुसार उनले टेलिकमका विभिन्न प्याकेज प्रयोग तथा बिक्री गरी २४ हजार जतिको रिचार्ज गरेका छन् । उनी त्यसबाट मासिक रुपमा लाभ लिँदै आएको ब्युरोले बताएको छ । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई सो दिननै सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो । सो मुद्दा काठमाडौं जिल्ला अदालतले हेरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्याधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोडेको छ ।
सुधिर बस्नेतले भने-निक्षेपको प्रमाण लिएर आउनुस्, पैसा लैजानुस्
काठमाडौ । ओरेयन्टल को-अपरेटिभ लिमिटेडले निक्षेपकर्तालाई प्रमाण लिएर आउन र पैसा फिर्ता लैजान भनेकाे छ । सहकारीका अध्यक्ष सुधिर बस्नेतले उक्त आग्रह गरेका हुन् । पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेलसँग २०७५ असार २६ गते त्रिपक्षीय सम्झौता र २०७६ वैशाख ३१ गते द्धिपक्षीय सहमति सम्झौता समेतको आधारमा जग्गा बेचेर निक्षेपकर्तालाई पैसा फिर्ता गर्न लागेकाे उनले बताएका छन् । ओरेयन्टल विल्डर कम्पनी घरजग्गा व्यवसाय डुबेपछि ओरेयन्टल सहकारी पनि संकटमा परेकाे थियाे । सहकारीमा बचत गर्नेले साँवा व्याज पाएका थिएनन् । ओरेयन्टल को-अपरेटिप साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दावी गर्न निक्षेपकर्तालाई सार्वजनिक सूचना नै जारी गरेकाे छ । निक्षेपकर्ताले सहकारीकाे वेवसाइटमा गइ निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बरसहितकाे फारम भर्ने आग्रह गरेकाे छ । काेभिड संक्रमणकाे जाेखिम रहेकाेले कार्यलयमा भिडभाड नगर्न र अनलाइनबाट निक्षेप दावी गर्न आग्रह गरिएकाे बस्नेतले बताए । निक्षेपको विषयलाई लिएर मुद्दामा गएका निक्षेपकर्तालाई अदालतकाे पैसला आएपछि मात्र भुक्तानी गर्ने उनले बताए । सहकारीका निक्षेपकर्ता र घरजग्गाकाे लागि अग्रिम भुक्तानी गरेका पीडितले उजुरी गरेपछि उनी लामाे समय जेलमा समेत परेकाे थिए । जेलबाट निष्किएपछि उनी व्यवसाय बचाउने प्रयासमा छन् ।
टेक्कन बाइकले चिनाएको मोटरहेड सर्भिस सेन्टर विस्तारमा आक्रामक बन्दैछः साइमन रसाइली
एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनी द्वारा सञ्चालित मोटरहेडको मार्केटिङ म्यानेजर हुन् साइमन रसाइली । रसाइली अटो मोबाइल क्षेत्रमा विगत ६ वर्षदेखि कार्यरत छन् । विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी लिएर आवद्ध भएका रसाइली अहिले मोटरहेडमा आवद्ध भएर काम गरिरहेका छन् । कोरोना भाइरसको सन्त्रास उत्पन्न भएसँगै सामाजिक दुरी कायम गर्न पनि मानिसहरुको ध्यान निजी सवारी साधनमा गएछ । मोटरहेड पनि अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल भएको छ । मोटरहेडको टेक्कन २५० मोटरसाइकलले लगातार ३५ हजार कुदाएर २०१४ मा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएको छ ।मोटरहेड कम्पनीको हालको बजारको अवस्था, मोटर हेडले बिक्री गर्ने बाइक र कम्पनीको आगामी योजनाका बारेमा विकासन्युुजका सन्ताेष राेकायाले रसाइलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । पछिल्लो समय मोटरहेड कम्पनीका केही मोटरसाइकलहरु ग्राहकले धेरै रुचाएका छन्, धेरैले खरिद पनि गरिरहेका छन्, यसभित्रको कथा के हो ? सुरुमा हामीले नेपालको भौगलिक बनावट र यहाँका ग्राहकलाई के चाहिन्छ भन्ने कुरा अध्ययन गर्यौं । ग्राहकहरुको त्यो चाहनालाई हामीले आपुर्ति गर्नको लागि हामीले मोटर हेडका बाइकहरु नेपालमा भित्र्याएका हौं । यो मोटर हेडका बाइकहरु नेपालमा ल्याएको पनि ३ वर्षभन्दा भयो । अहिलेको पनि हामीले ग्राहकको रोजाइलाई नै ध्यान दिन्छौं । ग्राहकले चाहेको र यहाँको भौलिक बनावट अनुसार चाहिने बाइकहरु हामीले आयात गर्दै आएका छौं । ग्राहकको चाहना अनुसार नै हामी अगाडि बढ्ने भएकोले हामीलाई ग्राहले रुचाएका हुन् । हामीले ३ महिनाभन्दा बढी समय लकडाउनमै व्यतित गर्नुपर्यो । अहिले बजार खुलेको पनि १ महिना भइसकेको छ । यो अवधिमा बजार विस्तार तथा व्यापार के कस्तो भइरहेको छ ? हामीले ४ महिना बन्दाबन्दीको अवस्थामा पनि हाम्रा ग्राहकलाई सेवा दिइरहेका थियौं ।अन्य क्षेत्रका डिलरहरु मार्फत सेवा दिन नसके पनि उपत्यकामा भने हामीले सेवा दिँदै आएका थियौं । हाम्रो कम्पनीबाट प्राविधिकहरुलाई जुनसुकै पनि समयमा सर्भिसका लागि तयार पारिरहेका हुन्थ्यौं । लकडाउनको समयमा पनि हामीले सर्भिसमा धेरै ध्यान दियौं ।यो बिचमा सबै नागरिकहरु घरभित्रै भएको कारणले पनि व्यापार त्यति हुन सकेन । लकडाउनमा सोरुमहरु त्यति खुलेका पनि थिएनन् । लकडाउन खुलिसकेपछि यो एक महिनाको अवधिमा अटो मोवाइल क्षेत्रमा दुई पाँग्रे सवारी साधनको माग बढेको अथार्त अफ रोड मोटरसाइकलहरुमा ग्राहकको चाहना बढेको हामीले पायौं । लकडाउनकाे समयमा व्यापार त्यति हुन सकेन तर अबकाे याेजना भने बजार विस्तारकाे छ । लकडाउनकाे समयमा पनि ग्राहकको सेवामा तल्लीन रह्यौं भन्नुभयो । सुरक्षाको बिधि के कसरी अपनाउनु भयो । अहिले पनि कसरी काम गरिरहनु भएको छ ? हामीले सुरक्षाको विधिलाई एकदमै प्राथमिकता दिइहरेका छौं । फिल्डमा खटिनेहरुको कोरोना परीक्षण गर्ने , विभिन्न समयमा स्यानिटाइजरको प्रयोग, माक्सको प्रयोग गरेर हामीले स्वास्थ्य सुरक्षा विधिहरु अपनाइरहेका छौं । ग्राहकहरुसँग पनि सामाजिक दूरी कायम गरेर हामीले सेवा सुविधाहरु दिइरहेका छौं । हाम्रो सर्भिस सेन्टरहरुमा पनि हामीले त्यसरी नै काम गरिरहेका छौं । अहिले सबैको ध्यान निजी सवारी साधनतर्फ गइरहेकाे छ । त्यसलाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले पनि सवारी साधनमा स्कीम ल्याएका छन् । ती स्कीमहरुमा ग्राहकहरुको चासो कतिको छ ? यतिबेला सबैको व्यापार कम नै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था छ । यतिखेर नै धेरैले निजी सवारी साधन खरिद गर्ने चाहना पनि स्वभाविक राखेका छन् । तर वित्तीय अवस्थाले समस्या सिर्जना गरेको छ । निजी सवारी साधन खरिद गर्ने चाहना हुँदा हुँदै पनि त्यो चाहना वित्तीय अवस्थाले पुर्ति गर्न नसकिरहेको अवस्था छ। त्यही कुरालाई अध्ययन गरेर अर्थात बुझेर हामीले विभिन्न अफरहरु ल्याएका छौं । ग्राहकहरुका लागि वित्तीय व्यवस्थापन गरिदिएका छौं । त्यसैले ती स्कीमले ग्राहकहरुलाई धेरै नै सहज भएको छ । ग्राहकहरुले आफ्ना चाहना तथा आवश्यकता पुरा गर्ने उचित समय पनि यति बेला नै ठानिरहेका छन् । अहिले ग्राहकहरुका लागि मोटरहेडले के कस्ता स्कीम ल्याएको छ ? हामीले विभिन्न मोडेलहरुमा स्कीम ल्याएका छौं । हामीले स्क्याम्बलर र एमएच १५० मा २० हजार रुपैयाँ छुट दिएका छौं । यस्तै,टेक्कन, एक्स–ट्रक,स्पोर्टस् एमएच २०० लगायत चार मोडेलहरुमा १५ हजार नगद छुट दिएका छौं । यसका साथ साथै अहिलेको परिस्थिती बुझेर ग्राहकहरुका लागि १ लाख रुपैयाँको निःशुल्क कोभिड–१९ बीमा गर्ने गरेका छौं । त्यसपछि १ वषको रोड ट्याक्स, फुल हेल्मेट र बाइकको बीमा हामी गर्ने गरेका छौं । ग्राहकहरुले पनि यी स्कीमहरु मन पराएका छन् । यो स्कीमहरु कहिले सम्मको लागि हो ? हामीले साउन मसान्तसम्मको लागि यी स्कीमहको समयावधि राखेका छौं । पहिले लकडाउन भरिनै स्कीम गर्ने योजना बनाएका थियौं । अब लकडाउन समाप्त भएसँगै साउन मसान्तसम्मका लागि यी स्कीम ल्याएका छौं । यी स्कीमहरु सकिने बित्तिकै फेरि हामी चाडपर्व लक्षित स्कीमहरु ल्याउने योजनामा छौं । कोरोना भाइरस आउनु भन्दा अगाडिको समय र अहिलेको समयमा ग्राहकको आवागमन के कस्तो छ ? पहिलेको भन्दा अहिले ग्राहकको संख्यामा अवश्य पनि कमि आएको छ । अहिले पहिलेको भन्दा ३०/४० प्रतिशत ग्राहक मात्र आइरहेका छन् । अहिले सहज वातावरण नभएको कारणले पनि हुन सक्छ होला ग्राहक त्यति धेरै आउने गरेका छैनन् । तपाईहरु बजारमा जानुहुन्छ । ग्राहकको मनसाय पनि बुझ्नुहुन्छ । अहिलेको यो बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्ला ? अहिलेको यो परिस्थितीमा बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्छ भन्न एकदमै गाह्रो छ । किनकि अहिले पनि कोरोना भाइरसको जोखिम अझै पनि कायम नै छ । यदि अहिले नै कारोना भाइरस न्यूनिकरण भएपनि अझै बजार पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्न सक्ने अवस्था छ । बजारमा मोटरहेड जस्ता धेरै बाइक बिक्रेता कम्पनीहरु छन् । आम ग्राहकहरुले मोटरहेडकै बाइक मात्र किन रोज्ने । यसको विशेषता के छ ? सर्वप्रथम त हामीले ग्राहकको मनोविज्ञान र खरिद गर्न सक्ने क्षमता बुझ्नु पर्छ । हाम्रा ग्राहकहरु पनि धेरै हाई लेभलका हुनुहुन्न । हामी नर्मली एउटा जागिर गर्ने मानिस हौं । हामीले नेपालीहरुको चाहना आवश्यकतालाई मध्येनजरलाई ध्यानमा राखेर अर्थात बुझेर बाइकहरु आयात गरिरहेका छौं । नेपाली बजारमा जुन फ्याम्ली इनकमलाई आधार बनाएर नै हामीले बाइक आयात गदै आएका छौं । एउटा न्युन वर्गको मानिसले पनि बाइक चलाउन सक्ने कुरालाई ध्यानमा राखेर हामी बाइक ल्याउने र खरिद गर्ने काम गरिरहेका छौं । तपाईहरुले कति मोडेलका बाइकहरु बिक्री गरिरहनु भएको छ ? हामीले अहिले ६ मोडेलका बाइकहरु बिक्री गरिरहेका छौं । छ वटा मोडेल नै डट सेग्मेन्टका बाइक हुन् । केही बाइकहरु अफ रोड र केही अन रोडका लागि हामीले ल्याएका छौं । केही बाइक दुवै खालका विशेषता भएका पनि छन् । ६ वटा मोडेलहरुमा टेक्कन, स्ट्र्याम्बलर, एक्स–ट्रक, स्पोर्टस्, एमएच १५० र एमएच २०० रहेका छन् । यी ६ वटा मोडेलहरु मध्ये सबैभन्दा चलेको अर्थात ग्राहकले मन पराएकाे मोडेल चाहिँ कुन हो ? आजभन्दा ३ वर्ष अगाडि हामीले नेपालमा एउटा मोडेल मात्र भित्र्याएका थियौं । जुन टेक्कन बाइक हो । टेक्कन बाइकलाई ग्राहकहरुले एकदमै रुचाउनु भएको छ । त्यो बाइकको लेभल हेर्दा त्यसको नेपालमा १२/१३ लाख रुपैयाँ हुनु पर्थ्यो । तर, हामीले त्यसलाई भित्र्याउँदा खेरि साढे ३ लाख रुपैयाँ परेको थियो । ग्राहकले रुचाएर नै एउटा मोडेलले मात्र हुँदैन र उनीहरुको नै चाहनाले हामीले अरु मोडेलहरु पनि भित्र्याएका हौं । अहिले हाम्रा सबै बाइकहरु ग्राहकले मन पराएका छन् । टेक्कन बाइकको विषेशता के हो ? टेक्कन बाइक अफ रोड र अन रोडका लागि एकदमै राम्रो छ । त्यसको पफमेन्स पनि रामो हुन्छ । सबैलाई चलाउन पनि सहज हुन्छ । बाइकको पछाडि बस्न पनि सकिन्छ । पछिल्लो समय मानिसहरुमा सोचको पनि विकास हुँदै गएको छ । अहिले मानिसहरु घुम्न पनि रुचाउँछन् । नेपालको भोगलिक बनावट अनुसार हाम्रा ग्राहकले पनि एकदमै मन पराएका छन् । यो बाइकको माग पनि धेरै छ । यी ६ वटै माडेलहरुको मूल्य चाहिँ कस्तो छ ? अहिले टेक्कन बाइकमा धेरे अपग्रेड गरेर ल्याएका छौं । पहिले ३ लाख ५० हजार रुपैयाँ थियो । अहिले त्यसको मूल्य ३ लाख ९२ हजार रुपैयाँ मात्र छ । यस्तै, स्क्राम्बलर २५० को ४ लाख ५० हजार, स्पोर्टस् २५० को ३ लाख ६५ हजार, एक्स–ट्रक २५० को ३ लाख ८० हजार, एमएच २०० एक्स को ३ लाख ७२ हजार र एमएच १५० आरको २ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको छ । यो ३ वर्षको अवधिमा १३ वटा डिलर स्थापना गरिसकेका छौं । अहिले ती १३ वटै डिलरहरुमा सर्भिस सेन्टर विस्तार भइसकेका छन् । मोटरहेड कम्पनीको आगामी योजना के छ ? मोटरहेड कम्पनीले बितेको समय र वर्तमान समयलाई मध्य नजर गरेर कम्पनीले काठमाण्डौंमा सहज र उचित वातावरणमा आफ्ना ग्राहकहरुलाई बिक्रिपछिको सेवा दिनको निम्ति विभिन्न ठाउँहरुमा सर्भिस सेन्टर सँगै पार्टस् उपलब्ध गराउने र ग्राहक सन्तुष्टि वरकरार राख्न दलजन शक्ति परिचालन गर्ने लक्ष लिएको छ । यसका साथै मोटरहेड संगको हरेक यात्राहरुलाई सुरक्षित र सहज बनाउन कम्पनीले राजमार्गका विभिन्न स्थानहरुमा आधिकारिक सर्भिस तथा पार्ट्सको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको छौं । यस्तै, हामीले रोड साइड एसिस्ट्यान्स सेवा पनि कम्पनी लागिरहेको छ । कुनै पनि ठाउँमा कुनै पनि बेला असहज स्थिति आउन नदिन कम्पनीले आफ्ना दक्ष प्रविधिका चेलीलाई तयार राखि ग्राहकको अनुरोध अनुरुप सेवा प्रदान गर्ने व्यवस्थामा पनि कम्पनी लागि परेको हुन्छ ।
एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि खुल्यो, कति भर्ने ?
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) आज(साउन १६ गते) देखि बिक्री खुला भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले आजदेखि छिटोमा साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन्। यदि संस्थाले माग गरेजति आवेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा