विकासन्युज

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडा‌ैं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूवर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घर घरमै बकर इद मनाउने छन् । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने गरिन्छ । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्त मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जनन्तमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

दमौली । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।

नेपाल –चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज दुईवटा छुट्टाछुुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उनीहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् । गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् । पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल–चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उनले बताएका छन् । चीनले अघिसारेको एकक्षेत्र एकमार्ग (वेल्ट एण्ड रोड) परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य अंशले नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई पठाएका बधाई सन्देशमा दुवै देशले एकअर्कालाई ससम्मान समान व्यवहार गर्दै आएका बताएका छन् । उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताएका छन् । चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका बृहत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गरेका छन् । यसैगरी प्रधानमन्त्री लीले आफ्ना नेपाली समकक्षी ओलीलाई पठाएकाे सन्देशमा चीन र नेपाल पर्वत र नदीले जोडिएका छिमेकी हुन् भन्दै बितेका ६५ वर्षमा चीन र नेपालबीचको सम्बन्ध र सहयोग सन्तुलित एवं सुव्यवस्थित ढङ्गले अविच्छिन्न रुपमा विकसित भएको बताएका छन् । चिनियाँ प्रधानमन्त्रीले एकक्षेत्र एकमार्ग परियोजना प्रवद्र्धनलगायत विविध क्षेत्रमा बहुआयमिक आपसी सहयोगलाई सबल बनाउन तथा द्विपक्षीय सम्बन्धलाई नवीन चरणमा पु¥याउन नेपाली पक्षसँग सहकार्य गर्ने चाहना व्यक्त गरेका छन् । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई पठाएकाे बधाई सन्देशमा द्विपक्षीय सम्बन्ध विस्तारमा उनले निर्वाह गरेकाे भूमिकाको प्रशंसा गरेका छन् । भविष्यमा नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गरेका छन् । त्यसैगरी विदेशमन्त्री वाङले विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन–नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति–समझदारीको कार्यान्वयनका निम्ति मन्त्री ज्ञवालीसँग सहकार्य गर्ने अभिलाषा सन्देशमा व्यक्त गरेका छन् । रासस

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमकाे सहयाेग

काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरुलाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बु सम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरुलाई उपलब्ध गराईएको छ । सामाजिक उत्तरदायित्वलाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । एसईई तयारी कक्षा देखि लकडाउनको समयमा विद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ । नेपालको एक मात्र डि टि एच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य संगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडी बढाइरहेको छ ।

सनराइज बैंक र हङ्गकङ्गको एटी सर्भिसेसबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेस् मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेस् मार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । एटी सर्भिसेस् मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजा। भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भयो: पाेखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताए । अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडी बढ्नुपर्ने रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडी बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसै अनुसार अगाडी बढ्न आग्रह गर्दछु । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेला बेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् ।’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उनले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति हुन नसकेको बताए । राष्ट्रिय गौरबका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनले बताए । आयोजनाहरुको काम अगाडी बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए । शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षाका लागि एनसेलले ल्यायाे विशेष याेजना

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा उक्त याेजना ल्याएकाे हाे । एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ । यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ-लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ-लर्निङमा सहयोग पुर्याउने बताएका छन् । एनप्याब्सनका अध्यक्ष ऋतु राज सापकोटाले भने “विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी छौं ।” ‘कोभिड-१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने । यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

सर्वाधिक परिणामको व्यापार लगानी गरेकाे आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई सम्मान गर्याे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ‘सर्वश्रेष्ठ साझेदार-२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको छ । बैंकले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार पाएको हो । आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ । आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ । यो सञ्जाल (नेटवर्क)ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ । अन्तर्राष्ट्रिय विकाश संघ(आईडीए इन्टरनेशनल डेभलपमेन्ट एशोसियसन), चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ, विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामा दिगो र समावेशी विकास, मानव पुँजी विकास तथा बहनशीलताका लागि यो महत्वपूर्ण छ । एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।