काठमाडौं । स्थिर सरकारको उपमा दिईएको ओली सरकारको अर्थमन्त्री को होला ? यतिबेला ठूलै चर्चाको बिषय बनेको छ । अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री बन्छन् वा ओलीले आफु निकटका नेता रोज्छन् ? यो पनि अर्काे प्रश्नका रुपमा खडा भएको छ । एमालेका चार जना हस्तीहरु यतिबेला मुलुकको ढुकुटीको साँचो हात पार्ने दाउमा छन् । ती हुन एमाले महासचिव ईश्वर पोखरेल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र बिष्णु पौडेल तथा एमाले सचिव प्रदिप ज्ञवाली ।

एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक सन्तुलन र अर्थतन्त्रको दिगो विकासका लागि पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई रोज्ने सम्भावना रहेको छ । माधव नेपाल प्रधानमन्त्री हुँदा पाण्डेले सफलरुपमा अर्थमन्त्रालय चलाएका थिए । उनी माधव नेपाल समुहका हुन र पछिल्लो समय ओली–नेपाल सम्बन्ध सुधारको बाटोमा अघि बढेकाले पाण्डेको सम्भावनालाई नकार्न सकिन्न ।
त्यसो त एमाले महासचिव ईश्वर पोखरेल पनि लामो समयदेखि मन्त्री नबनेका शक्तिशाली नेता हुन् । ओलीले उनलाई अर्थमन्त्री बनाउन सक्ने सम्भवना पनि छ । ओलीले अघिल्लो प्रधानमन्त्री कार्यकालमा अर्थमन्त्री बनाएका एमाले उप महासचिव विष्णु पौडेललाई रोज्न सक्ने सम्भावना पनि छ । तर पौडेल यसपाली पार्टी काममा सक्रिय बन्ने तर्फ लाग्न सक्ने आंकलन पनि गरिएको छ ।
पछिल्लो समय एमाले वृतमा सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्रीको प्रबल दावेदार मानिँदै आएको छ । ओलीका विश्वास पात्र भित्रै पर्ने ज्ञवालीलाई ओलीले बिहिबार नै मन्त्री बनाउने तयारी गरेर अन्तिम समयमा निर्णय बदलेका थिए । ‘चार जना नेताको सम्भावना छ, अध्यक्षले कसलाई रोज्नु हुन्छ, हेर्न बाँकी छ’, एमाले उच्च श्रोतले ।