काँठमा नयाँ शहरः कतै उत्साह, कतै निरासा

<p>काठमाडौं । उपत्यकाको काँठ क्षेत्रमा निर्माण गर्ने भनिएका चार वटा नयाँ शहरले कतै उत्साह त कतै निरासा उत्पन्न गराएको छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्वमा एक लाख रोपनीको एउटा र बाँकी १०/१० हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माणको प्रारम्भिक कार्य अघि बढाएको छ । त्यसका लागि चार वटै शहर क्षेत्रमा जग्गा कित्ताकाँट देखि भौतिक [&hellip;]</p>

काठमाडौं । उपत्यकाको काँठ क्षेत्रमा निर्माण गर्ने भनिएका चार वटा नयाँ शहरले कतै उत्साह त कतै निरासा उत्पन्न गराएको छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्वमा एक लाख रोपनीको एउटा र बाँकी १०/१० हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माणको प्रारम्भिक कार्य अघि बढाएको छ ।

त्यसका लागि चार वटै शहर क्षेत्रमा जग्गा कित्ताकाँट देखि भौतिक संरचना निर्माणमा रोक लगाइएको छ ।‘नयाँ शहर निर्माण गर्ने भनिएको छ, प्राधिकरणका प्राविधिकहरुसँग छलफल गरिरहेका छौ, तर हामी जन प्रतिनिधी नै अझै अन्यौलमा छौं, नागरिकले के बुझेका होलान र’,चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले विकासन्युजसँग भने । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखाली नेतृत्वको समुहले भक्तपुरका चारवटै नगरपालिकाका मेयरहरुलाई नयाँ शहर निर्माणबारे ब्रिफिङ गरेका थिए ।

नगरपालिकाका मेयरहरुले शहर निर्माण गर्ने जिम्मा लिएको उपत्यका विकास प्राधिकरणले सिमाङ्कन मात्र गरेर छोडेकोले नागरिकका दैनिक काममै असहजता आएकाले तत्काल ठोस काम अघि बढाउन आग्रह गरेका थिए ।

जग्गा कित्ताकाँटमा रोक लगाइएकाले अंशबण्डा गर्न नपाएको, भूकम्प पीडितले समेत घर बनाउन नपाएको मिश्रले बताए । यद्यपी आफुहरु नयाँ शहर निर्माण मार्फत नयाँ सभ्यताको जग बसाउन सहयोगी भूमिकामा रहने मिश्रले स्पष्ट पारे । ‘नयाँ शहर बनाउने योजनाले तत्कालका लागि नागरिकका काममा केहि असहजता देखिएको छ तर पनि हामी व्यवस्थित शहरीकरणको योजनामा सहयोग गर्छाै, नयाँ शहरले नयाँ सभ्यताको विकासमा सहयोग गर्छ’, मेयर मिश्रले भने ।

उता, शङखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले पनि नयाँ शहरले केहि अन्यौलता बढाएको बताइन । ‘नयाँ शहरको घोषणा भएपछि जग्गाको भाउ बढेको छ तर कारोबार घटेको छ, नागरिकमा केहि अन्यौलता देखिन्छ तर हामी चिर्ने प्रयासमा छौं ।’ उनले नागरिकको गुनासोलाई संकलन गरेर सम्बोधनका लागि विकास प्राधिकरणमा पठाउने काम अघि बढाएको पनि जानकारी दिईन् ।

तारकेश्वर नगरपालिकामा भने नयाँ शहरले उत्साह थपिदिएको मेयर रामेशवर बोहराले बताए । ‘नयाँ शहर बन्ने कुराले नागरिक उत्साहित छन्, व्यवस्थित शहरीकरण, बाटो, बिजुली, ढल, खेल मैदान लगायतका संरचनाले दैनिक जीवन सहज बनाउने आशमा जनता उत्साहित छन्’, मेयर बोहराले भने । नगरपालिका कार्यालयमा आउने अधिकांश नगरबासीले नयाँ शहरबारे जिज्ञासा राख्ने गरेको पनि बताए । अंशबण्डामा केहि समस्या देखिएको भएपनि नागरिकले नयाँ शहरलाई उत्साहका साथ हेरिरहेको र नगरपालिकाले पनि प्राधिकरणलाई डीपीआर निर्माणको प्रक्रिया चाँडो अघि बढाउन अनुरोध गरेको मेयर बोहराले जानकारी दिए । तारकेश्वर नगरपालिका हुदै सिम्लेश्वर, झोर, फुलबारी मार्ग भई टोखा बाइपास सम्मको १० हजार रोपनी क्षेत्रमा नयाँ शहर बन्दै छ ।

यता, उपत्यका विकास प्रधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने योजना बन्नेक्रम जारी रहेको र योजना निर्माणमा नगरपालिका समेतलाई सहभागिता गराउने जानकारी दिए । सरकारले आगामी दश बर्ष भित्रै नयाँ शहर तयार पारिसक्ने तिवारीले जानकारी दिए ।

यसअघि प्राधिकरणले भक्तपुरको १० हजार क्षेत्रफलमा निर्माण हुने ‘काठमाडौं आग्नेय’ र ललितपुरको १० हजार क्षेत्रफलमा निर्माण हुने ‘काठमाडौं नैऋत्य’को नयाँ डिपीआर निर्माणको जिम्मा इआरएमसी एनइएमसी एडीए जेभी कम्पनीलाई जिम्मा दिइसकेको छ । कम्पनीले १ वर्ष भित्रमा काम सक्ने बताइएको छ ।

त्यसैगरी अरु बन्ने नयाँ शहरहरु ‘इशान काठमाडौं’ र ‘काठमाडौं उत्तर’को डीपीआरको लागि एक महिनाभित्रमा कम्पनी छनौट हुने प्राधिकरणका इन्जिनियर खोखालीले जानकारी दिए ।

 

Share News