काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताएका छन् ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले यस वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । आगामी वर्षहरूमा समेत सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उनले बताए ।
सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्ने उनको भनाइ छ । आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिने उनले बताए ।
वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गरे । उनका अनुसार अत्यन्त न्यून आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्छ भने योगदान गर्न सक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्छ ।
यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख गरिएको उनले बताए । सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टीको नीतिअनुसार सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै जाने उनको भनाइ छ ।
सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने उनले बताए । विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यममा समेत उत्पादकत्व वृद्धि हुने देखाएको उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनपछि विभिन्न मुलुकमा यसको प्रभाव मूल्याङ्कन गरिएको छ । त्यस्ता मूल्याङ्कनहरूले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा उत्पादकत्वमा समेत वृद्धि हुने गरेको देखाएका छन् । विशेषगरी साना तथा मझौला उद्यमहरू (एसएमई) मा पनि यसको सकारात्मक प्रभाव परेको पाइएको छ । त्यसैगरी, छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत संरचनामा रूपान्तरण गर्दै दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक संरचना निर्माणका विभिन्न विकल्पहरूमाथि पनि छलफल भइरहेको छ ।’
सामाजिक सुरक्षामा गरिने खर्चलाई आर्थिक उत्पादकत्वसँग पनि जोडेर हेर्नुपर्ने बताउँदै वाग्लेले सामाजिक न्यायका क्षेत्रमा गरिने लगानी आफैँमा महत्त्वपूर्ण उद्देश्य भएको बताए । सामाजिक सुरक्षाले समृद्धिको सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्याउने उनले बताए ।
नयाँ पुस्तामा समेत राज्यको उपस्थिति र सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यका भौतिक पूर्वाधारसँग जोड्ने विषयमा पनि सरकारले काम गरिरहेको बताए ।
अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकमलाई ध्यानमा राख्दै कोषको न्यूनतम दायित्व भुक्तानी गर्न सकिने गरी ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारबारे छलफल भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा पनि विभिन्न विकल्पमाथि छलफल भइरहेको उनले बताए । स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको र आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ।