काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरूसँग कुनै छलफल नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसहित कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।
प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरूसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरू बेवास्ता गरिएको बताएका छन् ।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुद्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए । सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने उनले चेतावनी दिए । अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको मार्ग निर्धारण गर्ने कँडेलले बताए ।
उनले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरे ।
अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप रोक्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन उनीहरूले माग गरेका छन् ।
त्यस्तै, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न, कर्मचारीलाई थर्काउने, धम्क्याउने र मनोबल गिराउने काम बन्द गरी विश्वासमा लिन पनि उनीहरूको माग छ ।
देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिन, विद्यमान संरचना ध्वस्त पारेर विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्नुको सट्टा सुदृढ बनाउन तथा नयाँ संरचनामा अनावश्यक खर्च गर्नुभन्दा नास्टका सबै प्रयोगशालालाई सबल बनाई अनुसन्धान बजेट बढाउनुपर्ने उनीहरूले बताएका छन् ।
संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरूले कुनै दबाबबिना अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्ने मागसमेत कर्मचारीहरूले गरेका छन् ।