काठमाडौं । निर्माण उपकरण निर्माता कम्पनी डुसान बोबक्याट इन्कले नेपाल सरकारलाई थप ५० वटा निर्माण उपकरण सहयोग गरेको छ ।
प्राकृतिक विपद्पछिको उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले यी उपकरण उपलब्ध गराएको हो ।
यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि कम्पनीले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका निर्माण उपकरण सहयोग गरेको थियो ।
थप सहयोग गरिएका उपकरणमा ४ थान बोबक्याट मिनी एक्स्काभेटर ई३३, १३ थान ई१८, ३ थान ई२७ र ७ थान ई२० रहेका छन् । त्यस्तै, ३ थान स्किड स्टियर लोडर एस७० र २० थान टावर लाइट पी१४० पनि उपलब्ध गराइएको छ ।
एफजी इन्कर्पोरेटेड प्रालि नेपालको सहकार्यमा उपकरणहरू परिचालनका लागि तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष पवनकुमार गुप्ता, एफजी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक केदार लामिछाने र निर्देशक पारितोष गुप्ताले संयुक्त रूपमा नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई एक समारोहबीच उपकरण हस्तान्तरण गरेका हुन् ।
कम्पनीले यस सहयोगमार्फत नेपालको विपद्पछिको पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।