काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले ६१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो । यसका लागि मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म रकम प्रस्ताव गर्न सकिनेछ । रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिँदै कुल आह्वान रकमसम्म निक्षेप बाँडफाँट गर्नेछ । समान ब्याजदरमा माग गरिएको रकम आह्वानभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ ।
यसरी संकलन गरिएको निक्षेप तोकिएको भुक्तानी मितिअघि फिर्ता गर्न पाइने छैन ।