काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलबाट दुई विधामा अवार्ड प्राप्त गरेको छ ।
भिसाले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मान गरिएको हो ।
ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा विकास तथा विस्तार गरेको भन्दै बैंकलाई अवार्ड प्रदान गरिएको हो ।
बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नयाँ बैंकिङ समाधानको प्रयोग तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराएको कदरस्वरूप अवार्ड प्राप्त गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि पाएको थियो ।
त्यस्तै, बैंकले सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स तथा सन् २०२४ मा बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयर अवार्ड पनि प्राप्त गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन् ।
बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । साथै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ ।